
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होङ्बोबीच भेटवार्ता भएको छ । ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा जेनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताउँदै रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिनुभयो । उहाँले आइएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘नेपाल सन् २०२६ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुँदैछ, त्यसपछि नयाँ व्यापार नियमहरू लागू हुनेछन् । यसले हाम्रो निर्यात क्षमतामा र त्यससँग जोडिएका रोजगारीमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हाम्रा लागि सहयोगको खाँचो छ ।’
उहाँले नेपालजस्ता देशहरूका लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायताजस्ता उपायहरू अवलम्बन गर्नुपर्ने विषयलाई आइएलओले अन्तर्राष्ट्रिय छलफलहरूमा उठाउनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताउँदै रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिनुभएको थियो ।
नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । उहाँले यस वर्षको आइएलओ प्रतिवेदनलाई स्वागत गर्दै भन्नुभयो, ‘यसको केन्द्रबिन्दुमा रहेको औपचारिकीकरण, श्रमिक सुरक्षाको मजबुतीकरण र मर्यादित रोजगारी सिर्जना यी सबै कुराहरू नेपालका लागि प्रत्यक्ष रूपमा सान्दर्भिक छन् ।’
उहाँले श्रमिक संगठनहरूसँगको सहकार्य मजबुत बनाउन महासंघले सामाजिक संवादका लागि संरचित मञ्चहरू स्थापना गरेको, द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको र औद्योगिक सम्बन्धमा सुधार ल्याउने प्रयास गरेको उल्लेख गर्नुभयो ।
आइएलओसँगको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्दै अध्यक्ष ढकालले काठमाडौंस्थित आइएलओ कार्यालयबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवद्र्धनमा ‘ग्लोबल च्याम्पियन’ देशमध्ये एकका रूपमा चयन गरिएको स्मरण गर्दै उक्त मान्यताले महासंघको वर्षौंको प्रयासलाई सम्मानित गरेको विचार व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले नेपालको निजी क्षेत्रमा युवा, दक्ष जनशक्ति, बढ्दो डिजिटल सीप तथा जलविद्युत्, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा राम्रो सम्भावना रहेको उल्लेख गर्नुभयो ।
आइएलओका महानिर्देशक गिल्बर्ट एफ होङ्बोले महासंघसँगको आपसी सहयोग र सहकार्यका विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । महासंघ सचिवालयका अनुसार ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा जेनेभामा रहनुभएका अध्यक्ष ढकालले रोजगारदाताहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ इम्पोलयर्स (आइओई) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्युटिओका उपमहानिर्देशक झाङ शियाङछेनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच