काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गत नेपालको आर्थिक सुधार कार्यक्रमको छैटौं किस्ताबापत नेपालले करिब चार करोड २७ लाख अमेरिकी डलर अर्थात् झण्डै छ अर्ब अर्थात् पाँच अर्ब ८३ करोड रुपैयाँ बराबरको वित्तीय सहयोग प्राप्त गर्ने भएको छ । आइएमएफको कार्यकारी बोर्डबाट छैटौं समीक्षा पूरा हुन कर्जा लगानीको समीक्षामा थप प्रगति गर्ने पूर्वशर्त पूरा गर्न आवश्यक रहेको जनाइएको छ । उक्त सहमतिसँगै इसिएफअन्तर्गत नेपालले हालसम्म प्राप्त गरेको कुल वित्तीय सहायता २५ करोड ११ लाख एसडिआर अर्थात् लगभग ३३ करोड १८ लाख अमेरिकी डलर पुग्नेछ, जुन कुल २८ करोड २४ लाख एसडिआरमध्येको अंश हो ।
आइएमएफले इसिएफअन्तर्गत नेपालको आर्थिक सुधार कार्यक्रमको छैटौं किस्ताबापत झण्डै छ अर्ब रुपैयाँ बराबरको वित्तीय सहयोग प्रदान गर्ने भएको छ ।
आइएमएफको टोलीले जेठ १३ देखि २८ सम्म काठमाडौंको भ्रमण गरेको थियो । अन्त्यमा जारी गरिएको विज्ञप्तिमा नेपालले इसिएफको सहयोगमा सञ्चालित कार्यक्रमको कार्यान्वयनमा निरन्तर प्रगति गरिरहेको र कार्यक्रमको कार्यसम्पादन सन्तोषजनक रहेको उल्लेख छ । जनवरी २०२५ का लागि बालबालिका कल्याण अनुदानको सूचकबाहेक सबै परिमाणात्मक कार्यसम्पादन मापदण्ड पूरा भएको आइएमएफले उल्लेख गरेको छ । आइएमएफले वित्तीय क्षेत्रका जोखिमहरू अझै कम नभएका भन्दै अप्रिल २०२५ मा खराब कर्जा बढेर ५.२ प्रतिशत पुगेकाले बैंकको पुँजीमा असर पारेको जनाएको छ । आइएमएफ टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायतसँग भेटघाट र छलफल गरेको थियो ।
विश्व अर्थतन्त्र खस्किने विश्व बैंक प्रक्षेपण
विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमान घटाएको छ । विश्व बैंकद्वारा मंगलबार सार्वजनिक ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदनअनुसार हाल देखिएको अस्थिर अवस्थाले विश्वको करिब ७० प्रतिशत अर्थतन्त्रमा वृद्धिदर घटाउने प्रभाव पारेको छ । प्रतिवेदनअनुसार सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ भने सन् २०२६ का लागि उक्त दर २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशतमा झारिएको छ । विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ तर पनि अघिल्लो अनुमानभन्दा कम हो ।
विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रमा सन् २०२५ को वृद्धिदर ३.८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन पूर्वानुमानभन्दा ०.३ प्रतिशत अंकले कम हो । संयुक्त राज्य अमेरिकाको वृद्धिदर २०२५ मा १.४ प्रतिशतमात्र रहने सम्भावना देखिएको छ, जुन अघिल्लो पूर्वानुमानभन्दा कम हो । सन् २०२४ को २.८ प्रतिशत वृद्धिको तुलनामा आधामात्र हो । युरोप क्षेत्र र जापान दुवैको वृद्धिदर ०.७ प्रतिशत रहने अनुमान गरिएको छ भने चीनको वृद्धिदर अघिल्ला पूर्वानुमानअनुसार रहनेछ ।
प्रतिवेदनअनुसार केही महिनाअघि सहज सुधारको आशा गरिएको विश्व अर्थतन्त्र फेरि चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरिरहेको छ । शीघ्र उपयुक्त नीतिगत कदम नचालिएमा जनजीवनमा दीर्घकालीन असर पर्न सक्ने चेतावनीसमेत दिइएको छ । विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री तथा वरिष्ठ उपाध्यक्ष इन्डर्मिट गिलले भन्नुभयो, ‘एसियाबाहेकका क्षेत्रहरूमा विकासको गति सुस्त बन्दै गएको छ, जसले विकासशील राष्ट्रलाई थप चुनौतीमा पार्ने सम्भावना देखिन्छ ।’ उहाँका अनुसार विकासशील राष्ट्रहरूमा लगानीको दर अपेक्षाकृत कम भएको र ऋणको भार उच्च रहेकाले आय असमानता हटाउने तथा गरिबी घटाउने प्रयासमा प्रगति पर्याप्त छैन । भविष्यको आर्थिक स्थायित्व मुख्यतया वैश्विक व्यापार नीतिको दिशामा निर्भर रहनेछ ।
प्रतिवेदनले २०२६ र २०२७ मा केही सुधारको संकेत गरे पनि समग्रमा आर्थिक उत्पादनस्तर अघिल्लो अनुमानभन्दा अझै तल रहने उल्लेख गरेको छ । व्यापार प्रतिबन्धहरू तीव्र रूपमा बढ्ने वा नीतिसम्बन्धी अन्योलता निरन्तर रहने हो भने आर्थिक वृद्धिमा थप गिरावट आउन सक्ने भन्दै विश्व बैंकले सचेतसमेत गराएको छ ।







भोटेकोशी बाढीले रसुवामा ४१ किलोमिटर
भोटेकोशी बाढीमा मृत्यु भएका सशस्त्र
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
राज्यका निकायहरू अन्योलमा छन्, सरकारको
वीरता र इतिहास सम्झाउँदै पाल्पामा
भोटेकोशी विपद्मा उद्धारमा खटिएका सुरक्षाकर्मीको