
नेपाल विश्वमै चिनिएको एउटा सुन्दर, शान्त र सांस्कृतिक धरोहरले भरिएको मुलुक हो । यस्तै विशेषतामध्ये एक अमूल्य पक्ष हो, नेपाल भगवान् बुद्धको जन्मभूमि । यही कारण नेपाल केवल एक भौगोलिक देशमात्र नभई विश्व शान्तिको स्रोत र आस्थाको केन्द्रको रूपमा चिनिएको छ । लुम्बिनी केवल बौद्ध धर्मावलम्बीहरूलाई मात्र नभई, यसले सम्पूर्ण मानव जातिलाई करुणा, दया, अहिंसा र सहअस्तित्वको सन्देशसमेत दिन्छ । यस स्थानले ‘शान्ति’ भन्ने शब्दलाई मूर्त रूप दिएको छ । ‘माया देवी मन्दिर’, ‘अशोक स्तम्भ’, ‘पुस्करिणी’ सहितका प्राचीन पोखरीहरू, र अन्तर्राष्ट्रिय बौद्ध विहारहरूले लुम्बिनीलाई विश्वकै अनौठो सांस्कृतिक र धार्मिक केन्द्र बनाएको छ । लुम्बिनीको अर्को पक्ष, जुन प्रायः थोरै मात्रामा चर्चा गरिन्छ, त्यो हो, यहाँको समृद्ध जैविक विविधता । यही विविधता भित्र पाइने एक अनुपम, आकर्षक चरा हो, सारस क्रेन ।
सारस क्रेन केवल एक चरामात्र नभई यसको जीवनशैली, जोडीमा बस्ने परम्परा, शान्त रूपमा खेतबारीमा हिँड्ने बानी र सौन्दर्यले यसलाई विशेष बनाएको छ । लुम्बिनीको पर्यावरणीय सन्तुलन र सांस्कृतिक महत्वका लागि सारस क्रेनको उपस्थिति अत्यन्त महत्वपूर्ण छ । बुद्धको शिक्षाले हामीलाई सबै प्राणी प्रतिको करुणा र सहअस्तित्व सिकाउँछ र यही शिक्षा सारसको अस्तित्वसँग गाँसिएको छ ।
बुद्धका शिक्षाहरू र प्रकृति-जीवजन्तुप्रतिको दृष्टिकोण
गौतम बुद्धका शिक्षाहरू मानव सभ्यता र सामाजिक चेतनाका लागि अमूल्य योगदान हुन्, तर यी शिक्षाहरू केवल मानव कल्याणमा मात्र सीमित छैन् । बुद्ध दर्शनले सम्पूर्ण जीवन चक्र, त्यसमा सहभागी सबै प्राणी, वनस्पति र प्राकृतिक तत्वलाई समेत गहिरो रूपमा समेटेको छ । उहाँले जीवनभर ‘अहिंसा’, ‘करुणा’ र ‘सहअस्तित्व’ को शिक्षा दिनुभयो, जुन केवल मानव-मानवबीच मात्र नभई मानव र अन्य जीवबीचको सम्बन्धमा पनि लागू हुन्छ । बुद्धले देखाउनु भएको बाटोले जनावर, चराचुरुंगी, वनस्पति, पानी, माटो, हावा, सबैप्रति सम्मान, समर्पण र जिम्मेवारीको भावना विकास गर्न सिकाउँछ ।
योगदान भए पनि हाल सारसको अस्तित्व संकटमा छ । जलवायु परिवर्तन, बासस्थानको विनाश र मानवीय हस्तक्षेपका कारण सारसको संख्या घट्दो छ । नेपालमा सारस क्रेन मुख्यतः तराई क्षेत्रका दलदली जमिन, खुला मैदान, पोखरी छेउ र बाली लगाइने क्षेत्रहरूमा पाइन्छ । विशेषगरी लुम्बिनी, कपिलवस्तु, रूपन्देही, नवलपरासी आदि स्थानमा यसको राम्रो उपस्थित देखिन्छ । सारस केवल चरा होइन; यो प्रेम, प्रकृति, संयमता र सन्तुलनको जीवित प्रतीक हो । त्यसैले यसलाई केवल जैविक दृष्टिले मात्र होइन, सांस्कृतिक र नैतिक दृष्टिकोणबाट पनि संरक्षण गर्नु अत्यन्त आवश्यक छ ।
आजको यन्त्रयुगमा हामीले प्राविधिक विकासको नाममा जथाभावी जंगल फडानी, जलाशय सुकाउने, चराचुरुंगीे तथा जीव-जन्तुहरूको बासस्थान मास्ने र उनिहरूको अस्तित्व नै संकटमा पार्ने कार्य गरिरहेका छौं । यस्तो अवस्थामा बुद्धका शिक्षाले हामीलाई यो चेतना दिन्छन् कि हामीले माटो, पानी, वनस्पति, चरा, जनावर, कीरा-फट्यांग्र्रा सबैलाई उत्तिकै सम्मान गर्नुपर्छ । किनभने तिनीहरूको अस्तित्व विनाको मानव जीवन अधुरो हुन्छ । बुद्धले देखाएको बाटो केवल ध्यान र साधनाको कुरा होइन यो व्यवहारिक रूपमा सम्पूर्ण प्रकृति-परिवारसँग शान्तिपूर्वक बाँच्ने कला हो । यसैले बुद्धका शिक्षाहरूमा समावेश सहअस्तित्वको भावना आजको पर्यावरणीय संकट समाधान गर्ने एक आधारभूत दर्शन बन्न सक्छ ।
सारस क्रेनको परिचय
सारस क्रेन (न्चगक ब्लतष्नयलभ) एक अद्भूत र आकर्षक चरा हो, जसलाई नेपालमा मात्र होइन, विश्वभरमा सौन्दर्य, सहअस्तित्व र निष्ठाको प्रतीकको रूपमा हेर्ने गरिन्छ । यो चरा विश्वकै अग्ला उड्ने चराहरूमा जनिन्छ, जसको उचाइ पाँचदेखि ६ फिटसम्म र पखेटाको फैलावट आठ फिटभन्दा बढी हुन्छ । सारस क्रेनको शरीर सेतो-खैरो रंगको हुन्छ भने टाउको र घाँटी रातो रंगको हुन्छ, जसले यसलाई अझ विशिष्ट र मनमोहक बनाउँछ । लामो खुट्टा, गजवको चाल, सन्तुलित आकाशीय उडान र सौम्य बानी-व्यवहारले यसलाई हेर्ने जो-कोहीलाई पनि लोभ्याउँछ । सारस क्रेनको सबैभन्दा विशेष पक्ष यसको सामाजिक र पारिवारिक जीवनशैली हो । यो जोडीमा बस्ने चरा हो र जब एक पटक जोडी बनाउँछ, प्रायः जीवनभर त्यो जोडी स्थायी रहन्छ । यस्तो निष्ठा र वफादारी अन्य जिवमा कमै पाइन्छ । भाले र पोथी मिलेर गुँड बनाउँछन्, अण्डा कोरल्छन्, सँगै बच्चा हुर्काउँछन्, र आकाशमा समेत एक-अर्कासँग ताल मिलाएर उड्छन् । यो सजीव उदाहरण हो-प्रेम, समझदारी र सहअस्तित्वको ।
यसले मानव समाजलाई पनि शान्तिपूर्ण पारिवारिक जीवन र दायित्वबोधको पाठ सिकाउँछ । सारस क्रेन केवल सुन्दरमात्र होइन, कृषि प्रणालीसँग प्रत्यक्ष सम्बन्धित उपयोगी चरा पनि हो । यसले खेतबारीमा रहेका विभिन्न हानिकारक कीरा, साना जीवहरू र जीवाणुहरू खाने हुनाले किसानलाई हानि हुने सम्भावना कम हुन्छ । यसरी सारस किसानको सहयोगी साथी पनि हो । विशेषगरी धान, गहुँ, मकै, कोदो आदि खेती हुने तराई क्षेत्रमा यो चराको उपस्थिति निकै लाभदायक मानिन्छ । तर, यति धेरै योगदान भए पनि हाल सारसको अस्तित्व संकटमा छ । जलवायु परिवर्तन, बासस्थानको विनाश र मानवीय हस्तक्षेपका कारण सारसको संख्या घट्दो छ । नेपालमा सारस क्रेन मुख्यतः तराई क्षेत्रका दलदली जमिन, खुला मैदान, पोखरी छेउ र बाली लगाइने क्षेत्रहरूमा पाइन्छ । विशेषगरी लुम्बिनी, कपिलवस्तु, रूपन्देही, नवलपरासी आदि स्थानमा यसको राम्रो उपस्थित देखिन्छ । सारस केवल चरा होइन यो प्रेम, प्रकृति, संयमता र सन्तुलनको जीवित प्रतीक हो । त्यसैले यसलाई केवल जैविक दृष्टिले मात्र होइन, सांस्कृतिक र नैतिक दृष्टिकोणबाट पनि संरक्षण गर्नु अत्यन्त आवश्यक छ ।
लुम्बिनी क्षेत्र र सारसको बासस्थान
लुम्बिनी क्षेत्र नेपालको पश्चिमी तराईमा अवस्थित एक समथर, हरियालीले भरिएको र ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भूभाग हो । यस क्षेत्रको भौगोलिक बनावट, मौसमीय स्वरूप र मानव-प्रकृति सहजीवनको सन्तुलनले गर्दा यो स्थान जैविक विविधताका दृष्टिले पनि अति नै संवेदनशील र समृद्ध मानिन्छ । लुम्बिनीको न्यानो र आद्र्र जलवायु, खुला खेतबारी, दलदली भूभाग, साना ठूला पोखरी, पानी जम्ने डोबाहरू र सिमसारयुक्त जमिनहरू विशेषगरी सारस क्रेनजस्ता चराको बासस्थानका लागि अत्यन्त उपयुक्त मानिन्छ । सारसजस्तो पानी र खुला जमिन खोज्ने चरालाई यस्ता वातावरणले सुरक्षा, आहार र प्रजनन्को भरपूर अवसर दिन्छ ।
हाल नेपालमा करिब २०० देखि ३०० जोडी सारस क्रेन रहेको अनुमान गरिएको छ, र तीमध्ये ठूलो संख्या लुम्बिनी क्षेत्र वरिपरिका बासस्थानहरूमा पाइन्छ । विशेषगरी लुम्बिनी विकास क्षेत्र, मायादेवी मन्दिर परिसर वरिपरिका खुला खेतबारी, मछराहा ताल, गायतोल सिमसार, कमलपुर क्षेत्र आदिमा सारसको राम्रो उपस्थित देखिन्छ । लुम्बिनीमा मात्र करिब १०० भन्दा बढी सारस क्रेनले नियमित रूपमा बसोबास गर्ने तथ्यांकले प्रमाणित गरेका छन् । यस कारण लुम्बिनी क्षेत्रलाई ‘सारस संरक्षण क्षेत्र’का रूपमा विकास गर्ने प्रयासहरू विभिन्न तहमा भइरहेको पाइन्छ, जसमा स्थानीय निकाय, संरक्षणकर्मी, वातावरणविद् र जनसमुदायको मिलनले गति लिएको छ ।
सारस एक संवेदनशील प्रजाति हो-यसले अनावश्यक आवाज, मानिसको अत्यधिक उपस्थिति र जैविक क्षेत्रको ह्रास सजिलै सहन सक्दैन । जसरी लुम्बिनीको मूल मर्म शान्ति हो, सारस पनि शान्त वातावरणमा बस्न रुचाउने प्राणी हो । तर यदि यस क्षेत्रको जैविक विविधता संरक्षण गरिएन भने, सारसमात्र होइन, अन्य थुप्रै दुर्लभ चराहरू, वनस्पति र जलचर प्रजातिहरू पनि संकटमा पर्न सक्छन् । यस्तो अवस्थामा लुम्बिनीको वास्तविक स्वरूप, जसमा बुद्धको जन्म, शान्ति सन्देश र प्रकृति-जीवजन्तुको सहअस्तित्व समेटिएको छ–त्यो बिग्रने खतरा हुन्छ । त्यसैले आज लुम्बिनीलाई शान्तिको केन्द्र बनाउन चाहने हरेक निकाय, व्यक्तित्व र संस्थाले सारसको बासस्थान संरक्षणलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने समय आएको छ ।
लुम्बिनीमा जैविक विविधता संरक्षणको आवश्यकता
लुम्बिनीलाई आज पनि धेरैले केवल एक धार्मिक स्थलका रूपमा मात्र बुझ्ने गर्छन्-बुद्धको जन्मस्थल, मायादेवी मन्दिर, अशोक स्तम्भ र बौद्ध विहारहरूको थलो भनेर । तर, लुम्बिनीको विशेषता केवल आध्यात्मिक वा ऐतिहासिक पक्षमा सीमित छैन । यस क्षेत्रको वास्तविक पहिचान यसको प्राकृतिक सौन्दर्यता, शान्त वातावरण र जैविक विविधताको अद्भूत संगममा पनि रहेको छ । लुम्बिनीमा पाइने दलदली जमिन, साना-ठूला पोखरी, घाँसेमैदान, डोबाहरू र खुला खेतबारीहरूले विभिन्न वन्यजन्तु र चराचुरुंगीका लागि अनुकूल बासस्थान प्रदान गर्छन् । यस्तै विविधता यहाँ पाइने सारस क्रेन, भ्यागुता, माछा, चराचुरुंगी र विभिन्न वनस्पति प्रजातिहरूमा झल्किन्छ । यी जैविक तत्वहरू लुम्बिनीको वातावरणलाई जीवन्त बनाउने अविभाज्य अंग हुन् ।
बुद्धका शिक्षाले सबै जीव-जन्तुप्रति दया, माया र सहअस्तित्वको भावना जगाउँछ भने जैविक विविधताले त्यस शिक्षालाई व्यावहारिक रूप दिन्छ । यदि यी प्रजातिहरूको संरक्षण गरिएन भने लुम्बिनीको शान्त वातावरण कृत्रिम मात्र बन्न पुग्छ-जहाँ मन्दिर, स्तम्भ र विहार त हुन्छन्, तर प्रकृतिको आत्मा हराउँछ । कल्पना गर्नुहोस्, मायादेवी मन्दिर अघिल्तिर उभिएर ध्यान गरिरहँदा पृष्ठभूमिमा चराहरूको चिरबिर आवाज नआउँदा, लुम्बिनी कति खाली लाग्ला !
जसरी हामी ऐतिहासिक सम्पदाहरूको संरक्षणमा सतर्क छौं-माया देवी मन्दिरको पुनःनिर्माण, अशोक स्तम्भको सुरक्षा, विहारहरूको सौन्दर्यीकरण-त्यसरी नै जैविक सम्पदाहरूको संरक्षण पनि उत्तिकै महत्वपूर्ण र अत्यावश्यक छ । ताल-तलैया, खेतबारी र अन्य प्राकृतिक संरचनाहरू जसमा चराहरू बास बस्छन्, अण्डा पार्छन् र सन्तान हुर्काउँछन्, ती संरचनालाई नष्ट गरिएमा लुम्बिनीको जैविक सन्तुलन टुट्छ ।
लुम्बिनीलाई आज पनि धेरैले केवल एक धार्मिक स्थलका रूपमा मात्र बुझ्ने गर्छन्-बुद्धको जन्मस्थल, मायादेवी मन्दिर, अशोक स्तम्भ र बौद्ध विहारहरूको थलो भनेर । तर, लुम्बिनीको विशेषता केवल आध्यात्मिक वा ऐतिहासिक पक्षमा सीमित छैन । यस क्षेत्रको वास्तविक पहिचान यसको प्राकृतिक सौन्दर्यता, शान्त वातावरण र जैविक विविधताको अद्भूत संगममा पनि रहेको छ ।
यदि यी जैविक तत्वहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिइएन भने यहाँ पाइने दुर्लभ प्रजाति क्रमशः हराउँदै जान्छन्, जुन केवल लुम्बिनीको सौन्दर्यमा मात्र होइन, सम्पूर्ण पर्यावरण प्रणालीमा समेत असर पुग्दछ । पर्यावरणीय सन्तुलन विग्रनु भनेको वर्षा चक्रमा प्रभाव, कृषिमा असर, रोगको बढोत्तरी र मानवीय जीवनमा प्रत्यक्ष असर पर्नु हो । यसैले, लुम्बिनीलाई धर्म, संस्कृति र प्रकृतिको समग्र संगमस्थलको रूपमा हेरेर यहाँको जैविक विविधता सुरक्षित राख्नु आजको आवश्यकता हो ।
अन्त्यमा, बुद्ध, लुम्बिनी र सारस क्रेनबीचको सम्बन्ध केवल सांस्कृतिक वा धार्मिक श्रद्धामा सीमित विषय होइन यो सम्बन्ध मानव जीवन, प्रकृति र सम्पूर्ण जीव जगत्सँगको सहअस्तित्वको गहिरो चिन्तन र व्यवहारसँग गाँसिएको जीवन–दर्शन हो । बुद्धको शिक्षा केवल मन्दिरभित्र सीमित रहने कुरा होइन, ती शिक्षाहरू प्रकृतिसँगको हाम्रो सम्बन्धमा, चराचुरुंगीप्रतिको हाम्रो व्यवहारमा र वातावरणप्रति हाम्रो जिम्मेवारीमा झल्किनु आवश्यक छ । लुम्बिनीमा हरेक वर्ष लाखौं श्रद्धालु र पर्यटक पुग्छन् तर त्यहाँको तालतलैया, चराहरूको बासस्थान, डोबोहरू र हरियाली जोगाउन तिनै मानिसहरू सँगसँगै नजोडिएसम्म लुम्बिनीको वास्तविक सन्देश अधुरो रहन्छ । बुद्धले हामीलाई सहिष्णुता, संयमता, करुणा र शान्तिको मार्ग सिकाउनुभएको थियो र सारस क्रेन त्यही मार्गको एक जीवन्त उदाहरण हो–जुन प्रकृतिको मौन तर प्रभावशाली आवाजमार्फत त्यो दर्शन हामी समक्ष ल्याउँछ ।
अब समय आएको छ कि हामी लुम्बिनीलाई केवल पूजास्थलको रूपमा मात्र होइन, एक समग्र जीवन प्रणालीको प्रतीकस्थलको रूपमा बुझौं । हामीले सोच बदल्नुपर्छ-जहाँ पूजा, ध्यान र भक्ति जस्तै प्रकृति-संरक्षण, वातावरणीय संवेदनशीलता र जैविक विविधताको संरक्षण पनि धर्मको अभ्यासको अनिवार्य अंग होस् । आजको यन्त्रयुग, उपभोक्तावाद र तीव्र शहरीकरणको समयमा, यदि हामीले सारस क्रेनजस्ता संवेदनशील प्राणीको बासस्थान जोगाउन सकेनौं भने, लुम्बिनी भौतिक रूपमा त बाँकी रहन सक्छ तर यसको आत्मा मर्दै जान्छ । बुद्धको सन्देश भनेको केवल अतीतको गौरव होइन, त्यो वर्तमान र भविष्यको दिशा हो ।
यदि हामीले लुम्बिनीको प्राकृतिक सम्पदालाई समयमै जोगायौं भने, यो स्थल बुद्धको आदर्श, शिक्षाले निर्देशित समाज र प्रकृतिप्रतिको सम्मानको केन्द्र बन्न सक्छ-जहाँ धर्म, विज्ञान, शिक्षा, पर्यटन र संरक्षण एकसाथ अगाडि बढ्छन् । यस्तो समन्वयात्मक प्रयासबाट लुम्बिनी केवल नेपालको होइन, सम्पूर्ण विश्वको लागि सहअस्तित्व, शान्ति र प्रकृति-मैत्री जीवनशैलीको प्रेरणास्रोत बन्न सक्नेछ । यसैले, बुद्धको शिक्षा हामीले केवल ग्रन्थहरूमा पढ्ने कुरा होइन, सारसको जीवनशैलीजस्तै शान्त, समर्पित, सन्तुलित र दीर्घकालीन व्यवहारमा उतार्न जरुरी छ । (लेखक लुम्धिनी सारस संरक्षण संस्थाका अध्यक्ष हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच