
नेपालको वामपन्थी राजनीति र त्यसमा पनि एमालेमा एकाएक ध्रुवीकरण भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको एमालेभित्रको राजनीतिक गुट एउटै हो भन्ने यसपूर्वका उहाँहरूका राजनीतिक अभियानबाट देखिँदै आएको थियो । तर, हाल एकाएक एमालेभित्रको राजनीतिक ध्रुवीकरण बदलिएको हो कि जस्तो देखिन आएको छ । पूर्वराष्ट्रपति भण्डारी मित्रराष्ट्र चीनको सप्ताहव्यापी भ्रमण गरेर हालैमात्र स्वदेश फर्किनुभएको छ । उहाँ चीनको भ्रमणका क्रममा त्यहाँ रहँदा र त्यहाँका कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरूले नेपालमा कम्युनिष्टहरू एक भएको हेर्न चाहेको र त्यसको अगुवाइ भण्डारीबाटै हुनसक्ने भनेर उहाँलाई प्रोत्साहित गरेका हुँदा त्यही भावना र प्रतिबद्धता बोकेर उहाँ नेपाल फर्किनुभएको छ ।
त्यस उत्साहले उहाँलाई नेपाल फर्किएपछि आफ्नो राजनीतिक थलो झापा र मोरङतिर डोहोर्यायो । उहाँ यसरी ती क्षेत्रहरूमा जानुभन्दा पहिले पार्टी र पार्टी अध्यक्षलाई त्यसको जानकारी नगराई जानुभएका कारण आलोचनामा पर्नुभएको छ । विचार, व्यवहारले निकट रहेका ओली र भण्डारीबीच भण्डारीले भ्रमणको जानकारी नगराई यसरी देश दौडाहा गरेको हुँदा ओलीको मनमा चिसो पसेको र उहाँ झस्किनुभएको हुनसक्छ । यही कारणले एमालेमा एकाएक तरंग पैदा भएको छ । तर, यो वास्तविक हो कि देखावटीमात्र हो भन्ने प्रश्न आमनागरिकबीच उठेको छ । आफ्नो मर्यादा नराखी चीनबाट फर्किनासाथ भण्डारी पूर्वाञ्चलको भ्रमणमा जानुभएले ओलीले यसरी सार्वजनिक रूपमै भण्डारीको अलोचना गर्नुभएको हुनसक्छ ।
भण्डारीलाई पार्टीमा सक्रिय गराउने, अध्यक्षपछिको दोस्रो ठूलो पद उपाध्यक्ष बनाउने र राष्ट्रपति जस्तो गरिमामय पदमा पुर्याउनेलगायत उहाँलाई सम्पूर्ण रूपमा राजनीतिक रूपमा सहयोग गर्ने ओली र भण्डारीबीच हाल आएर एकाएक मनमुटाव र आलोचना प्रत्यालोचनाको अवस्था आएको भनेर सजिलै पत्यार गर्न सकिँदैन । विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दुई जनाको मिलेमतोमा संविधान र कानुनसमेत मिचेर गरेको संसद् विघटनदेखिका अनेकौं सहकर्म अहिलेसम्म पनि टड्कारै छन् । भण्डारीले आफू राष्ट्रपति बनेका बेलामा पनि नेकपा एमालेकै कार्याकर्ता जस्तो बनेर गरेको व्यवहारले अहिलेको परिदृश्यलाई पत्यार गर्न सकिँदैन । त्यस बेला उहाँले प्रधानमन्त्रीमा ओलीलाई शपथ ग्रहण गराउँदा ओलीले भण्डारीको भनाइ नदोहोर्याई ‘त्यो पर्दैन’ भनेको भनाइ उपहासको विषय बनेको थियो ।
यसबाट उहाँहरूको अभियान एकै थियो र यही एकै विचार र व्यवहारले राज्यसत्तालाई उहाँहरूले खेलौंना बनाउनुभएको थियो भन्ने देखिएकै हो । उहाँहरूको शपथ ग्रहण सामाजिक सञ्जालको टिकटकको मसलासमेत बनेको र परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर जाँदा राष्ट्रपति भण्डारीले बधाईसमेत नदिएको कुरा त्यसबेला चर्चामा आएकै हो । त्यसस्तरको पार्टी नेताले राजनीति छोडेर पूर्वभिभिआइपी बनेर बस्न नसक्नुलाई त्यति आश्चर्य मान्नु पर्दैन र ओली र भण्डारीबीच गुट सिर्जना हुने भन्ने कुरामा पनि त्यति सजिलै पत्यार गर्न सकिँदैन । बरू भण्डारीलाई राजनीतिमा पुनस्र्थापित गर्नमा ओलीकै हात रहेको कुरा भने यथार्थ हो ।
अहिले वैश्विक राजनीतिमा पनि ध्रुवीकरण भइरहेको छ । विशेषतः संयुक्त राज्य अमेरिकाको पछिल्लो पटकको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछि एकाएक विश्वभरि नै तरंग पैदा भएको छ । अमेरिकाले व्यापार साझेदार राष्ट्रलाई त्यस्ता सामग्रीहरूमा कर बढाउने, युद्धरत राष्ट्रहरूसँग युद्धको अवरणत गराइदिने तर त्यसबापत खजानाहरू उपहार माग्ने, सार्वभौम राष्ट्रहरूलाई पनि आफ्नो देशमा मिलाउने चेतावनी दिने जस्ता ट्रम्पका अनेकौं हरकतले गर्दा अरू राष्ट्रहरूबीच निकटताको अवस्था सिर्जना भएको छ । चीनले एशियाली राष्ट्रहरू एक हुनुपर्छ भनेको छ । दक्षिणी छिमेकी राष्ट्र भारत हाम्रो आर्थिक, सामाजिक, रानीतिक, सांस्कृतिक रूपमा समेत बढी निकटमा रहेको छ । पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण र त्यहाँबाट भण्डारीलाई भएको मन्त्रणाका कारण भारत पनि झस्किएको छ ।
केपी ओली प्रधानमन्त्री बनेको लामो समय बितिसक्दा पनि उहाँलाई भारत भ्रमणको निम्तो नदिई बसेको भारतले अब भने चीनलाई काउन्टर स्वरूप प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने संकेत देखिएको छ । नेपालका लागि यो सकारात्मक कुरा हो । भूराजनीतिक कारणले समेत हामीले भारतलाई चिड्याउनु हुँदैन र चीन र भारत दुबै देशसँगको सम्बन्ध सन्तुलित रूपमै कायम राख्नुपर्ने हुन्छ । चीनको मन्त्रणा नेपालमा कम्युनिष्ट एकता भए पनि तत्कालका लागि त्यो सम्भव नभएको स्वयं भण्डारीले नै बताइसक्नुभएको छ । यो वास्तवमा यथार्थ पनि हो । नेपालमा यसको सम्भावना देखिँदैन । भइसकेका एकताहरू टुटफुट र भंग भएका उदाहरण देखिइरहेको अवस्थामा यसको सम्भावना छैन ।
भारतले आफूलाई महत्व नदिइरहेका बेला भण्डारीको चीन भ्रमणलाई कारण देखाएर भारतसँग निकट बन्ने मौकाका रूपमा यसलाई सदुपयोग गर्न ओलीले भण्डारीसँग आलोचना र प्रत्यालोचनाको मैदान खडा गरेको पनि नहोला भन्न सकिँदैन । हुन त त्यस्तो सम्भावना कमै छ तैपनि असम्भव भन्ने कुरा केही पनि छैन भन्ने नै हो भने भण्डारीले गुट नै बनाएर ओलीलाई अवज्ञा गरेरै अगाडि बढ्ने हो भने ओलीले लत्याएका नेताहरू भण्डारीसँगै जोडिन पुग्ने सम्भावना रहन्छ । वामदेव र भीम रावल जस्ता नेताहरूलाई समेटेर भण्डारी अगाडि बढ्ने हो भने ओली गुटभन्दा भण्डारी गुट शक्तिशाली नबन्ला भन्ने छैन ।
त्यतिमात्र होइन ओलीकै कारण प्रताडित बनेर छुट्टै पार्टी बन्नपुगेको माधव नेपालको पार्टीका सुनौलो भविष्य बोकेका अधिकांश नेताहरू पनि एमालेमै फर्किने र भण्डारी गुटको निकट रहने सम्भावना रहन्छ । त्यतिमात्र होइन भावी अध्यक्षका रूपमा समेत भण्डारीलाई ओलीले नै अगाडि बढाइरहनुभएको भन्ने अवस्थामा ओली भण्डारी गुटगत ध्रुवीकरण हुने सम्भावनालाई स्वीकार गर्न सकिँदैन । यो उहाँहरूबीचको कार्यशैलीको सामान्य आलोचनामात्र हो र अर्कातिर ओलीको यो भारत रिजाउने राजनीतिक शैली पनि हुनसक्छ भन्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच