
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो । यस्तै, सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।
सरकारले २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने ‘मुनि वल्र्ड एक्स्पो-२०२५’ मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । आगामी असार १० देखि १२ सम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, आगामी असार २ गतेदेखि ६ गतेसम्म ल्हासामा आयोजना हुने नेपाल-चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३औँ बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी, निर्माण व्यवसायसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाली सेनाका एकजना महासेनानीको सरुवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्कै निर्णयमा शान्तिनगर गाउँपालिका दाङको केन्द्र वडा नं ४ चिराघाटबाट परिवर्तन गरी वडा नं ४ जुम्लेकुला कायम गर्ने, महालक्ष्मी नगरपालिका ललितपुरको केन्द्र वडा नं ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नं ८ लुभु देवीस्थान कायम गर्ने उल्लेख छ ।
नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने र नेपाल गुणस्तर (प्रमाण चिहृन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : गुरुङ
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको जिकिर गर्नुभएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा एमाले उपमहासचिवसमेत रहनुभएका गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर आफ्नो पार्टी अघि बढेको जिकिर गर्नुभएको हो ।
नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरवबोध गर्नुपर्ने धारणा राख्नुभयो । ‘आजको जनताको बहुदलीय जनवादलाई एमालेले अहिलेको लोकतन्त्रलाई हामीले त्यसको वृहत रुपमा ‘किन्प्रिहेन्सिभ डेमोक्रेसी’ भनेका छौँ । त्यो झोलाको सिद्धान्त बोकेको कार्यकर्ताको पार्टी हो एमाले,’ उपमहासचिव गुरुङले भन्नुभयो, ‘एमालेको राष्ट्रियता, कूटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको ‘गुड गभर्नेन्स’ कसरी चलाउने, गुड गभर्नेन्स नभइकन सामाजिक आर्थिक रुपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन । हाम्रो दर्शन, फिलोसिपी, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो ।’ पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि रहेको बताउँदै उहाँले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको सुनाउनुभयो ।
यस्तै उहाँले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताउनुभयो । उहाँले गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन विषय भएको भन्दै एउटा कर्मचारीले गरेको कार्यमा सबै मन्त्रीले राजीनामा दिने स्थीति आउँछ भने सरकार चलायमान हुन गाह्रो हुने बताउनुभयो । गृहमन्त्रीले राजीनामा दिने कुरा नहुने बताउँदै उहाँले संसदीय छानविन समिति के बनाउने र कसरी बनाउने भन्ने विषय महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच