
काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीवार इजलासमै कालोमोसो छ्यापिएको छ ।
नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो ।
प्रहरीकाअनुसार सेवाग्राहीको भेषमा नेकपा (बहुमत) का कार्यकर्ता अदालत प्रवेश गरी न्यायाधीशको इजलासमा पुगेका थिए । यो घटना नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने निर्णयसँग जोडिएको छ । न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिने फैसला गरेको थियो ।
आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इँटा भट्टामा जलाएको गम्भीर आरोप लागेको थियो । जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएपछि उनी रिहा भएका थिए । तर रिहाइ लगत्तै मस्तिष्कघातका कारण उनी अस्पताल भर्ना भएका छन् ।
आलमलाई सफाइ दिने निर्णयपछि न्यायाधीश थारू र महर्जन विवादमा परेका छन् । उनीहरूमाथि न्याय परिषद्मा उजुरी समेत परेको छ । यो घटनाले न्यायिक स्वतन्त्रता र सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला अदालत रौतहटबाट ज्यानमुद्दा दोषी ठहर भई कारागारमा रहेका पूर्व सांसद अफताब आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।
२०८१ वैशाख १३ गते रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इँटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेको आरोपमा अभियोग दर्ता भएको थियो । २०६४ चैत २८ गते भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो ।
प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो । उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको अभियोग थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच