
सिन्धुपाल्चोक । ख्यातिप्राप्त गायक तथा संगीतकार स्व.प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा चार संगीतकर्मीलाई नगदसहित सम्मान गरिएको छ । उहाँकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले सम्मान अर्पण गरेको हो ।
एक लाख एक रुपैयाँ नगदसहित प्रेमध्वज प्रधान राष्ट्रिय संगीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो । गायिका राणाकी पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उहाँको भाई विजेन्द्र मिश्रले ग्रहण गर्नुभएको थियो । प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई ५० हजार नगद रुपैयाँसहित सम्मानित गरिएको थियो ।
यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई ५० हजार नगद रुपैयाँसहित सम्मानित गरिएको थियो भने प्रेमध्वज-किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्रसिंह घलेलाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो । सम्मान र पुरस्कार कार्यक्रमकी सभापति, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथिहरू सो नगरपालिकाकी उपप्रमुख सीता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्फबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउँदै त्यसप्रति खुशी व्यक्त गर्नुभयो । गीतकार दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सांगीतिक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रूपमा पनि निकै सरल र असल स्वभावको रहेको बताउनुभयो । उहाँले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधि गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानीय सरकारलाई सुझाउनुभएको थियो । नगर प्रमुख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतिका साथै सिन्धुका निधि भएको चर्चा गर्दै उहाँको नाममा चोक चौतारा निर्माण गर्न वा उहाँको योगदानको कदर गर्न कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिंह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरू प्रस्तुत गर्नुभएको थियो भने स्थानीय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।
गायक प्रधानको चार वर्षअघि २०७८मा निधन भएको थियो । प्रधानको नाममा उहाँको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृति प्रतिष्ठानको स्थापना गरेको हो । जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ ।
समारोहमा सहभागिताका लागि काठमाडौंबाट विशिष्ट संगीतकार राजु सिंह, विशिष्ट संगीतकार जुगल डंगोल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्याशी थापा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, कला पत्रकार विदुर गिरी, तुलसी गिरी ‘भावुक’, युमास शेर्पा, रश्मी थापालगायत व्यक्तित्वहरू चौतारा पुग्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच