
वासिंटन डीसी । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले हाल नेपाल र विश्वका विभिन्न मुलुकहरूमा पत्रकारहरूमाथि भइरहेको दमन, दुव्र्यवहार तथा प्रेस स्वतन्त्रतामाथि भइरहेका हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै यस्ता घटनाहरू प्रति गहिरो असहमति र खेद प्रकट गर्दै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
‘नेपालको संविधानको प्रस्तावनादेखि नै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको छ । संविधानले लेख, रचना, समाचार वा विचार प्रकाशनमा कुनै प्रतिबन्ध नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, पछिल्ला दिनमा पत्रकार सुजित केसी र दिलभूषण पाठकलाई समाचार प्रकाशनकै कारण पक्राउ गर्नेे समाचार सार्वजनिक हुनु, विभिन्न मिडियालाई प्रकाशित सामग्री हटाउन निर्देशन दिइनुजस्ता घटनाहरूले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार भएको महसुस गराएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रेससँग सम्बन्धित विवाद र उजुरीहरू समाधान गर्ने संवैधानिक तथा कानुनी निकाय प्रेस काउन्सिल नेपाल हो भन्दै महासंघले कानुन अनुसार पीडित पक्षले सबैभन्दा पहिले यही निकायमा उपचार खोज्नुपर्ने बताएको छ । तर, प्रहरी प्रशासन र न्यायालयबाट हचुवाका भरमा आदेश दिइनु, राज्य शक्तिको मनोमानी प्रयोग हुनु लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारितासँग मेल नखाने क्रियाकलाप भएको महासंघले उल्लेख गरेको छ । यस्ता कदमहरूप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि पनि पत्रकार सुरज खड्कामाथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेकै कारण माओवादी कार्यकर्ताद्वारा कुटपिट भएको घटना सार्वजनिक भएको थियो भन्दै नेपालमा विभिन्न राजनीतिक दल, तिनका कार्यकर्ता तथा सुरक्षाकर्मीहरूबाट पनि पत्रकारहरूमाथि दुव्र्यवहारका घटनाहरू बढ्दो रहेकोप्रति महासंघले चिन्ता व्यक्त गरेको छ ।
महासंघले अमेरिका र बेलायतलगायतका मुलुकमा पनि पत्रकारहरू दुव्र्यवहारको सिकार भएको घटनाहरूप्रति खेद प्रकट गरेको छ । लस एञ्जेलसमा समाचार संकलन र प्रत्यक्ष प्रसारण गरिरहेकी पत्रकारमाथि रबरको गोली प्रहार गरिएको, अन्य पत्रकारहरूमाथि पनि आक्रमण गरिएकोजस्ता घटनाले प्रेस स्वतन्त्रता विश्वव्यापी रूपमा दबाबमा परेको सन्देश दिने महासंघले भनेको छ ।
त्यसैगरी, रुस-युक्रेन युद्ध, इजरायल-हमास द्वन्द्व र अन्य देशहरूमा युद्ध, सत्ता र शक्ति संघर्षका बीचमा पत्रकारहरूमाथि भइरहेको दमन र ज्यादतीप्रति महासंघले गहिरो चिन्ता व्यक्त गर्दै यस्ता कार्यको निन्दा गरेको छ ।
महासंघले पत्रकारहरू तथा सञ्चारकर्मीहरूको अधिकार र सुरक्षाको सुनिश्चितता गर्न सबै सरोकारवाला निकाय, सरकार र नागरिक समाजलाई संवेदनशील हुन आग्रह गरेको छ । साथै, पत्रकारिता पेशा स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने भन्दै पत्रकारहरूलाई सत्यनिष्ठ अभ्यास, पाठक–श्रोता–दर्शकप्रति उत्तरदायित्व र पत्रकारिताको धर्मप्रति प्रतिबद्ध रहन पनि आहृवान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच