
काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तीन सय ९९ अर्ब ८१ करोड अर्थात् ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार सय ४३ अर्ब आठ करोड अर्थात् ७.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाखमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.५, ३५.९ र ५०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.०, २९.१ र ५९.० प्रतिशत थियो ।
२०८२ वैशाखमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ । २०८१ वैशाखमा यस्तो निक्षेप अंश ३५.७ प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६८ अर्ब ६८ करोड अर्थात् ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुर्ई खर्ब २५ अर्ब २४ करोड अर्थात् ४.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाखमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६३.१ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ र ३६.३ प्रतिशत थियो ।
त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ७.६ प्रतिशत, विकास बैंकको ४.१ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको छ । वैशाखमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ । २०८१ वैशाखमा यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमशः १२.१ र ६८.५ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौ, निर्माण क्षेत्रतर्फको कर्जा १२.३, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.९, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.९, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.९ र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१, मार्जिन प्रकृतिको कर्जा ३९.३, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१, हायर पर्चेज कर्जा ४.१ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.१, निर्माण क्षेत्रतर्फको कर्जा ९.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.०, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.१, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.८, नगद प्रवाह कर्जा २५.६, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.८ र मार्जिन प्रकृतिको कर्जा १२.६ प्रतिशतले बढेको थियो भने ट्रष्ट रिसिट (आयात) कर्जा ०.५ र हायर पर्चेज कर्जा २१.८ प्रतिशतले घटेको थियो ।
सो अवधिमा केन्द्रीय बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या (लघुवित्त वित्तीय संस्थासमेत) एक सय सात रहेको छ । जसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्था(लघुवित्त वित्तीय संस्थासमेत) को शाखा संख्या २०८१ असारमा ११ हजार पाँच सय ३० रहेकोमा २०८२ वैशाखमा ११ हजार पाँच सय पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच