
राधेश्याम जोन्छें- एक यस्तो नाम, जुन केबल भक्तपुर जिल्लामै सीमित रहेन, त्यो नामले राष्ट्रिय आन्दोलनको भित्री चक्रमा महत्वपूर्ण तर गहिरो प्रभाव छाड्यो । जोन्छें मात्र नाम थिएन, त्यो एउटा विचार थियो, एउटा दृढ अडान थियो, र एउटा अविचलित यात्राको पर्याय थियो । प्रजातन्त्र र राष्ट्रियताको पक्षमा जीवन समर्पण गर्ने, अनेक अपमान र आक्रमण सहेर पनि सिद्धान्त नछोड्ने एउटा युगको प्रतिनिधित्व गर्ने पात्र हुनुहुन्थ्यो- राधेश्याम जोन्छें ।
विसं २००० साल फागुन ४ गते भक्तपुरको ऐतिहासिक नगरभित्र पर्ने मंगलाछेमा जन्मिनु भएका जोन्छें साधारण परिवारमा हुर्किनुभयो । पिता पूर्णलाल जोन्छें र आमा प्रेम जोन्छेंको कोखबाट जन्मनुभएका राधेश्यामले किशोरावस्थामै समाज र राजनीति बुझ्न थाल्नुभयो । भक्तपुर वंशगोपालमा रहेको तत्कालीन शान्तिभक्त मिडिल स्कुल (हाल मेघा मावि) मा पढ्दै गर्दा उहाँको भेट भयो नेपाली कांग्रेसका त्यतिबेलाका नेता विष्णुभक्त भुजुसँग । यही भेटले जोन्छेको जीवनको मोडलाई दिशानिर्देश गर्यो । प्राचार्य भुजुको प्रभाव र संगतले राधेश्याममा राजनीतिक चासो जाग्यो । तर, त्यो केबल चासोमा सीमित रहेन, त्यो लगाव बन्यो र पछि उद्देश्य ।
राधेश्याम जोन्छेंले आफूलाई इतिहास र राजनीति दुवैको विद्यार्थी बनाउनु भएको थियो । अध्ययन, संघर्ष र नेतृत्व उहाँको पहिचान थियो । उहाँले जीवनको हरेक मोडमा लोकतन्त्र र समाज सेवालाई प्राथमिकता दिनु हुन्थ्यो । उहाँको जीवनले नेपाली राजनीति र समाजमा एउटा अमिट छाप छाड्यो ।
प्रारम्भिक दिनहरूमा उहाँ सक्रिय विद्यार्थी नेता बन्नुभयो । त्यो बेलामा प्रजातन्त्रको पक्षमा बोल्नु, आन्दोलन गर्नु सजिलो थिएन । पार्टी प्रतिबन्धित अवस्थामा थियो । तर, कांग्रेसको चेतनाले भरिएका जोन्छेले २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा समेत भाग लिनुभयो । त्यसको ठीक एक वर्षपछि, २०१५ को आमनिर्वाचनमा कांग्रेसका उम्मेदवार जगन्नाथ आचार्यलाई विजयी गराउन उहाँले खेलेको भूमिका अहोरात्रको थियो । उहाँलाई उमेरले युवा बनाइरहेको थियो, तर विचार र दृढताले परिपक्व राजनीतिक कार्यकर्ताको छाप दिइसकेको थियो ।
राजनीतिक चासोमात्र होइन, जोन्छें बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो । २०१० देखि २०१७ सालसम्म भक्तपुरमा ‘ख्याल खलः’ नामक प्रजातान्त्रिक कलाकार समूह सञ्चालनमा थियो । उक्त संस्थाले समाजका विकृति र विसंगतिविरुद्ध नाटक, प्रहसन, व्यंग्य प्रस्तुत गथ्र्यो । यो संस्था नेतृत्व गरिरहेका थिए कांग्रेसका तिनक प्रकाश कायस्थ, जो पछि जिल्ला सभापति पनि बन्नुभयो । यही संस्थाका लोकप्रिय कलाकार हुनुहुन्थ्यो राधेश्याम जोन्छें । हसाउने भूमिकामा उहाँको उपस्थिति अविस्मरणीय थियो । एकैपटक जनता हाँस्थे, अनि घोच्ने व्यंग्यको असरले सोच्थे पनि । उहाँको कलाले आमजनतामा चेतना भर्ने काम गर्यो ।
उहाँले राजनीतिलाई केबल नारामा होइन, संगठन निर्माणमा रूपान्तरण गर्नुभयो । २०२० सालमा प्रतिबन्धित अवस्थामा नेविसंघको स्थापना भयो । त्यही बेला उहाँ संगठन निर्माणमा लाग्नुभयो । उहाँका पहलमा रामशरण साखः भक्तपुर संयोजक बनाउनुभयो । विद्यार्थी आन्दोलन अघि बढाउँदै उहाँले केन्द्रीय सदस्य, महामन्त्री हुँदै कार्यवाहक सभापति बन्नुभयो । नेविसंघभित्र उहाँको योगदान अझै पनि सम्झिइन्छन् ।
पार्टी प्रतिबन्धित रहँदा पार्टीका नीतिगत निर्णयले संगठन विस्तार गर्न शिक्षक बन्नुभयो । उहाँ विसं २०३० मा शिक्षक सेवामा प्रवेश गर्नु भयो । भक्तपुरको विभिन्न विद्यालयमा अध्यापन गर्दै उहाँले विद्यार्थीसँगै अभिभावकमा पनि प्रजातान्त्रिक चेतना विस्तार गर्नु भयो । विक्रम कायस्थसँगै संगठनको गोप्य आधार तयार गर्दै कांग्रेस पुनर्संरचना गर्नु भयो । शिक्षक बन्नु उहाँका लागि जागिर होइन, त्यो त साधन थियो संगठन फैलाउने ।
२०३४ सालमा उहाँले नेपाली कांग्रेसको औपचारिक सक्रिय सदस्यता प्राप्त गर्नु भयो । तर, पार्टी खुलेको थिएन । उता आन्दोलन भने सशक्त बन्दै गइरहेको थियो । २०४३ सालमा कांग्रेसले पञ्चायतभित्रैबाट चुनौती दिने नीति ल्यायो । यही नीतिअनुसार उहाँ भक्तपुर नगरपञ्चायतको प्रधानपञ्च उम्मेदवार बन्नुभयो । त्यसबेला यो एउटा साहसिक निर्णय थियो । एकैपटक उहाँ पूर्णकालीन राजनीतिमा प्रवेश गर्नु भयो । त्यसपछि ०४६ को जनआन्दोलनसम्म उहाँले आन्दोलन परिचालनमा अग्रपंक्तिमा खटिनु भयो ।
तर, प्रजातन्त्रको पक्षमा अडान राख्नुको मूल्य पनि थियो (कठोर मूल्य) । ०३५/३६ सालको आन्दोलनमा उहाँलाई विद्यार्थी भड्काएको आरोपमा पक्राउ गरियो । जेल चलान गरियो । २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा भएपछिको आममाफीमा उहाँ छुट्नुभयो । तर, जेलबाट फर्किँदा अवस्था भयावह थियो । भक्तपुरमा उहाँको विरुद्धमा षड्यन्त्र रचियो । विद्यालयका भित्तामा कालोमोसो, अलकत्रा पोतिएको थियो । ‘गद्दार राधेश्याम जोन्छुें’, भारतीय दलाल मुर्दावाद् लेखिएको थियो । यसले एक स्पष्ट सन्देश दियो- उहाँ शत्रु घोषित हुनुभएको थियो, विचारको शत्रु ।
के प्रजातान्त्रको पक्षमा वकालत गर्नु गद्दारी थियो ? तत्कालीन सत्ताधारीसँग नझुक्नु उहाँको गद्दारी थियो ? कि कम्युनिष्ट अधिनायकवादी सोच राख्नेसँग साँठगाँठ नराख्नु गद्दारी थियो ? बडो अनुचित तरिकाले अन्यौलपूर्ण वातावरण सिर्जना गर्दै षड्यन्त्रपूर्वक उहाँलाई कालोमोसो दलेर जुत्ताको माला लगाएर नगर परिक्रमा गराउने थुष्टता गरे प्रजातन्त्रविरोधीहरूले । सोही क्रममा नेमकिपाका कार्यकर्ताले उहाँलाई भारतीय दलाल मुर्दावाद भन्न लगाउँदा उहाँको प्रत्युत्तर थियो, ‘भारतीय दलालमात्र किन, रसियन दलाल, चाइनिज दलाल र सम्पूर्ण दलाल मुर्दावाद भन्नुभयो ।’
तर, त्यो उहाँको अन्त्य थिएन । त्यो त सुरुवात थियो । उहाँलाई नगर परिक्रमा गराउँदै जुत्ताको माला लगाएर बेइज्जती गर्ने काम भयो । कालोमोसो दलियो । तर, त्यही बेला उहाँ बोल्नुभयो, भारतीय दलालमात्र किन ? रसियन दलाल, चाइनिज दलाल र सम्पूर्ण दलाल मुर्दावाद ।’ त्यो साहस थियो, जुन सामान्य मानिसमा हुँदैन ।
जसोतसो ज्यान जोगाउन सफल भएका नेता जोन्छें त्यस घटनाको २५ वर्षपछि प्रजातन्त्र पुनःस्थापना पश्चात् पनि अर्को तत्कालीन माओवादीको तारो बन्नुभयो र मिति २०५९ भाद्र १६ गते बेलुकी उहाँलाई गोली हानियो । गोली लागेपश्चात तत्काल अस्पताल पुर्याउन सकेका कारण उहाँको मृत्यु त भएन तर कम्मर मुनिको कुनै पनि अंग नचल्ने भई उहाँ शारीरिक रूपमा अशक्त हुनुभयो । शारीरिक रूपमा अशक्त रहे पनि उहाँले करिब दश वर्ष भक्तपुरमा प्रजातन्त्र र पार्टीलाई नेतृत्व दिइरहनुभयो । तर, जीवनभरका लागि अशक्त भए पनि त्यो गोलीले उहाँको हिँड्ने गोडा त रोक्यो, तर विचारको यात्रा रोक्न सकेन ।
जब प्रजातन्त्रको मूल्य, नेता बन्ने प्रतिबद्धता र जनसेवाको आदर्शको चर्चा हुन्छ, तब राधेश्याम जोन्छें नाम एक प्रेरणादायी उदाहरणको रूपमा उभिनुहुन्छ । उहाँ एउटा यस्ता नेता हुनुहुन्थ्यो, जसले जीवनभर अविचलित यात्रामा आफूलाई समर्पित गर्नुभयो ।
अशक्त शरीर लिएर पनि उहाँ दश वर्ष पार्टी नेतृत्वमा सक्रिय रहिरहनु भयो । जनतासँग साक्षात्कार गरिरहनुभयो । प्रशिक्षण, छलफल, संगठन निर्माण, सबैमा निरन्तरता दिइरहनुभयो । २०४८ र २०५१ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नुभयो । २०५३ देखि १२औं महाधिवेशन (२०६७) सम्म तीन कार्यकाल भक्तपुर कांग्रेसको सभापति बन्नुभयो । संगठनको सुदृढीकरण, आन्तरिक लोकतन्त्र र युवालाई प्रशिक्षित गर्नमा उहाँले खेलेको भूमिका उदाहरणीय थियो ।
उहाँको राजनीतिक यात्राको अलौकिक पाटो यतिमात्र होइन । उहाँ व्यवहारमा निकै शालिन, बोलीमा सादा तर विचारमा कठोर हुनुहुन्थ्यो । वैचारिक बहसमा निडर, स्पष्ट वक्ता हुनुहुन्थ्यो । तसर्थ, उहाँको आलोचक पनि उत्तिकै थिए, जति प्रशंसक । उहाँ प्रजातन्त्र पक्षधरमात्र होइन, निरंकुशताको घोरविरोधी पनि हुनुहुन्थ्यो । त्यसैले उहाँको विरुद्धमा बारम्बार अमानवीय क्रूरता भइरहृयो तर उहाँ डगमगाउनु भएन, विचलित हुनु भएन । विचार त्यही थियो- लोकतन्त्र, समाजवाद र राष्ट्रियता ।
२०३५ साल वैशाख १० गते पाटनका श्याम गोविन्द अमात्य र सानुमैयाँ अमात्यकी छोरी रजनी अमात्यसँग विवाह गर्नुभयो । उहाँका तीन छोराहरू हुनुहुन्छ । जोन्छे पारिवारिक जीवनमा पनि जिम्मेवार पिता र जीवनसाथी हुनुहुन्थ्यो । अशक्त भइसकेपछिको एक दशकमा रजनी अमात्यको समर्पण र सेवा अभूतपूर्व रहृयो ।
अन्ततः ६९ वर्षको उमेरमा विसं २०६९ जेठ २४ गते राति ११ः४५ बजे महाजगञ्ज अस्पतालमा राधेश्याम जोन्छेंले संसार छाड्नुभयो । उहाँको मृत्युसँगै एउटा युगको अन्त्य भएको महसुस भक्तपुरले गरे । हजारौं मानिस भक्तपुर अस्पताल प्रांगणमा उहाँको अन्तिम दर्शनका लागि उपस्थित भए । कांग्रेसका केन्द्रीय नेताहरू शवयात्रामा सहभागी भए । उहाँको पार्थिव शरीर भक्तपुर अस्पतालमै राखिएको थियो, जहाँ उहाँले सयौं घण्टा प्रजातन्त्रको पक्षमा बोल्दै बिताउनुभएको थियोे ।
राधेश्याम जोन्छेंले आफूलाई इतिहास र राजनीति दुवैको विद्यार्थी बनाउनुभएको थियो । अध्ययन, संघर्ष र नेतृत्व उहाँको पहिचान थियो । उहाँले जीवनको हरेक मोडमा लोकतन्त्र र समाज सेवालाई प्राथमिकता दिनु हुन्थ्यो । उहाँको जीवनले नेपाली राजनीति र समाजमा एउटा अमिट छाप छाड्यो ।
आज पनि जब प्रजातन्त्रको मूल्य, नेता बन्ने प्रतिबद्धता र जनसेवाको आदर्शको चर्चा हुन्छ, तब राधेश्याम जोन्छें नाम एक प्रेरणादायी उदाहरणको रूपमा उभिनुहुन्छ । उहाँ एउटा यस्ता नेता हुनुहुन्थ्यो, जसले जीवनभर अविचलित यात्रामा आफूलाई समर्पित गर्नुभयो ।
यसैबीच, शहीद राधेश्याम जोन्छेंको १३औं स्मृति दिवसका अवसरमा भक्तपुरमा एक करोड १० लाख रुपैयाँ लागतमा स्मृति भवन र शालिक निर्माण गरिएको छ । गत आइतबार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सो भवनको उद्घाटन गर्नुका साथै स्व.जोन्छेंको प्रतिमा अनावरण गर्नुभएको थियो ।
(स्व.जोत्छेंको श्रीमती रजनी जोत्छें र शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानका महासचिव जगन्नाथ कार्कीसँगको कुराकानीमा आधारित)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच