
काठमाडौं । नेकपा एमालेमा ७० वर्षे उमेरहदको विषय पेचिलो बन्दै गएको छ । पार्टीको दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनको समय नजिकिएसँगै एमालेमा ७० वर्षे उमेरहदको विषय झन् पेचिलो बन्न थालेको हो । बहस चर्कदै जाँदा एमाले नेता कार्यकर्ताहरूमा ७० वर्षे उमेरहदको विषयमा स्पष्ट दुई भागमा विभाजन मात्र भएका छैनन् सार्वजनिक सवाल जवाफमै केन्द्रित हुन थालेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको बढ्दो राजनीतिक भेटघाट र सक्रियताले पनि पार्टीभित्र उमेरहद र नेतृत्व परिवर्तनको मुद्दाले थप तरंग सिर्जना गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहदले फेल खाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेतृत्व तहमा उमेरहद र नेतृत्व परिवर्तनको विषयको बहस उत्कर्षमा पुगेको छ । २०७८ असोजमा सम्पन्न पार्टीको पहिलो विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो । त्यो बेला एमालेले आफ्नो विधानमा ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान पनि समेटेको थियो ।
तर, विधानको यो व्यवस्था सचिवालय हुँदै २०८० जेठमा बसेको केन्द्रीय कमिटी बैठकले हाललाई भन्ने शब्द राखेर निलम्बन गरेको थियो । एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन निलम्बन गरिएको भनिएको यो व्यवस्था आगामी भदौ महिनामा हुने दोस्रो विधान महाधिवेशनले छिनोफानो नगर्दै नेताहरूले ७० वर्षे उमेरहदको विषय बहसमा ल्याएका हुन् । यही बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने आकांक्षासहितको गतिविधिमा संलग्न हुनु र अध्यक्ष ओलीमा तेस्रो कार्यकाल पनि आफैँले नेतृत्व गर्ने चाहना प्रकट गर्नुले एमालेभित्र उमेरहदलाई पक्षविपक्षमा तर्क-वितर्क गर्न सघाउ पुर्याएको छ । उमेरहद र नेतृत्वको सवालमा ओली र भण्डारीका पछिल्ला विपरीत अभिव्यक्तिले पनि विषय थप पेचिलो बनाएको छ ।
विधान अधिवेशनमै एक-अर्कालाई रोक्न खोज्दै ओली र विद्या
पार्टी महाधिवेशनको मिति तय नभए पनि आगामी २०-२३ भदौमा हुनेगरी एमालेले विधान महाधिवेशनको मिति तय गरिसकेको छ । एमालेको आगामी नेतृत्व महाधिवेशनबाट चयन हुने भए पनि अध्यक्षमा पुनः केपी शर्मा ओली नै आउनुहुन्छ वा नेतृत्व परिवर्तन हुन्छ भनेर अहिले नै अनुमान गर्न सकिँदैन । तर, भदौमा हुने विधान महाधिवेशनपछि भने नेतृत्वको अनुमान गर्न सकिने अवस्था आउँछ ।
निलम्बनको अवस्थामा रहेको ७० वर्षे उमेरहद आगामी विधान महाधिवेशनले फेरि ब्युँतायो भने ओली नेतृत्वबाट बिदा लिन बाध्य हुनुहने छ । तर, उमेरहदको निलम्बनले निरन्तरता पायो भने फेरि अध्यक्षमा प्रतिस्पर्धा गर्ने अवसर ओलीले पाउनुहुने छ । ७० वर्षे उमेरहद लागू हुँदा एमाले नेतृत्वबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि बिदा हुनुपर्छ । तर, पोखरेलले समेत उमेरहदको वकालत गरिरहनु भएको छ । विगतमा ओलीलाई अपरिहार्य ठान्नेहरू अब ओली अध्यक्ष नभए पनि एमाले चल्छ भन्ने निष्कर्षमा पुगेका कतिपयको विश्लेषण छ ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै एमालेमा ओलीको अपरिहार्यता सकिएको छ । अर्थात् अध्यक्ष ओली अहिले एमालेमा सर्वेसर्वा होइनन् । उमेरहद हटाउन सफल भइहाले पनि अध्यक्षमा दोहोरिन ओलीलाई पहिलेजस्तो सहज भने छैन । ओली-भण्डारीबीचका पछिल्लो समय सुरु भएको सार्वजनिक सवाल-जवाफले एमाले नेतृत्वका लागि दुईबीच नै प्रतिस्पर्धा हुने आंकलन गर्न थालिएको छ । ओलीलाई पूर्वराष्ट्रपति भण्डारीसँग प्रतिस्पर्धा गर्न विगतमा माधवकुमार नेपाल र झलनाथ खनालसँग गरेको प्रतिस्पर्धाभन्दा कठिन हुने देखिन्छ । त्यसैले, महाधिवेशनअघि नै भण्डारीका लागि एमालेको ढोका वैधानिक रूपमा नै बन्द गर्ने आँकलन एमाले वृत्तमा छ । सम्भवतः राष्ट्रपति–उपराष्ट्रपतिजस्तो सम्मानित पदमा पुगिसकेको व्यक्ति त्यो पदको गरिमाका लागि पार्टी सदस्य बन्न नसक्ने व्यवस्था पार्टी विधानमै राख्ने प्रयास ओली पक्षबाट हुनसक्ने एमालेकै नेताहरूको आशंका छ । विधान महाधिवेशनमै ओली र भण्डारीले एक-अर्काको बाटो छेक्ने प्रयास हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
विद्या गुटको तरंग तल्लो तहसम्म फैलिँदै
एमालेबाट माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल र तिनको समूह बाहिरिएपछि ओली प्रतिस्पर्धीविहीन जस्तै हुनुभएको थियो । तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा होमिन थालेपछि ओली कमजोर बन्दै जानुभएको छ । नेताहरूले एमालेमा गुट नै छैन भनेर बाहिर प्रचार गर्न खोजेको भए पनि एकपछि अर्को गर्दै गुटको तरंग तल्लो तहसम्म पुगेको छ । पार्टीको भ्रातृ संगठन अनेरास्ववियुको नेतृत्व चयन पार्टी नेतृत्वको चाहनाविपरीत चुनावबाटै भयो । यसअघि पार्टीको युवा संगठन राष्ट्रिय युवा संघमा पनि ओलीको चाहनाविपरीत निर्वाचनबाटै नेतृत्व चयन भयो । पार्टीको जिल्ला कमिटी पनि ओलीले सर्वसम्मत गर्न दबाब दिँदै आइरहनु भएको छ । तर, पछिल्लो समय मोरङ जिल्लाको १०औँ महाधिवेशन सर्वसम्मत भएन । यसअघि प्रदेश कमिटीको नेतृत्व पनि ओलीको चाहनाविपरीत चुनावबाटै भएको थियो । पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै एमालेमा एकपछि अर्को गरी गुट मौलाउँदै गएको छ ।
ओलीकै अगुवाइमा उमेरहद ल्याइएको हो : पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै अगुवाइमा नेतृत्व दुई कार्यकाल र ७० वर्षे उमेरहद ल्याइएको बताउनुभएको छ । ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै पोखरेलले भन्नुभयो, ‘सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टीकाटिप्पणी एवं छलफल गर्ने समय भएको छैन । हाम्रो पार्टीभित्र लोकतान्त्रिकीकरणको अगुवाइ गर्दै सिंगो पार्टी पंक्तिलाई सचेत गराउने कामको नेतृत्वदायी भूमिका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो । सोही मान्यतालाई अघि बढाउने सिलसिलामा नेतृत्व दुई कार्यकाल र ७० वर्ष उमेरहदका विषय ल्याइएको हो ।’
विद्या भण्डारीले एमालेको अध्यक्ष हुन्छु भन्नुभएको छैन : राई
नेकपा एमालेको स्थायी समिति सदस्य एवं कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना व्यक्त नगरेको दाबी गर्नुभएको छ । भण्डारीका सवालमा अनेक अनुमान गरेर मिडियामा समाचार आइरहेको प्रति आपत्ति प्रकरण गर्दै राईले भन्नुभयो, ‘नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग एक प्रकारले जिल्लावासीको नाताले पनि पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ । आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदै छु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ । बजारमा अहिले यस प्रकारका हल्लाले ठाउँ पाएका छन् । यसले पार्टीमा अन्योल सिर्जना गर्ने काम भएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच