
व्यक्तित्व हुनु एउटा कुरा हो, देखिनु अर्को कुरा । व्यक्तित्व नै नहुनु अलग कुरा हो, देखिनु अर्कै कुरा । साहित्यिक अनुभूति हुँदै नभएर वा नभएकाहरू यस क्षेत्रमा भाइरल हुनु नेपाली साहित्यको सामयिकता हो । वर्तमान हो र विडम्बना पनि हो । साहित्यिक आयाम नै नभएका विषयवस्तुलाई ससाना शाब्दिक कसीका सीमा लगाएर आविष्कारको शिरपेच पहिरी भिड जम्मा गर्दै भयानक हल्ला गर्नेहरू अहिले चर्चाका शिखरमा छन् । व्यक्तित्वका विविध विशाल आयाम भएर पनि, थुप्रै कृतिहरू प्रकाशित गरेर पनि नामै नसुनिएका सायद इतिहासमा पनि नलेखिएका÷नलेखिने व्यक्तिहरू खोज गर्ने हो भने प्रशस्त भेटिने सम्भावना रहन्छन् तर खोज गर्ने कसले ? सफा वस्तु वा विषयका खोजमा टाउको दुखाउने फुर्सद कसलाई ?
सिर्जनात्मक व्यक्तित्व भएर पनि, सिर्जना गरेर पनि यस क्षेत्रको सुनसानमा झैँ, सन्नाटामा झैँ, अबोल मौनतामा झैँ जागिरदास बनेर, जागिरकै शिरपेच शिरमा सजाएर तातो घाममा जन्मी अहिले शीतको पोखरीमा पौडी खेल्दै देखापरेका नहाँसी बस्ने गम्भीर व्यक्तित्वको नाम हो प्रा.कपिल अज्ञात । कृत्याकारका हिसाबले एक्काइस, साहित्यिक कृति मात्र प्रकाशनका हिसाबले पनि उन्नाईस कृतिहरू नेपाली साहित्य भण्डारलाई सुम्पिसक्दा समेत गुम्नाम अवस्थामै रहेको कविव्य क्तित्वको नाम हो कपिल अज्ञात ।
प्राध्यापन पेशामा लागेपछि समालोचक बन्नु, समीक्षक हुनु कुनै अनोठो साहित्यिक दक्षताको अनुहार होइन । यो पनि नहुने जीवित मुर्दाको सङ्ख्या त अझ आङ्किक सङ्ख्याभन्दा पनि बढी छ नै तिनका कुरा नै नगरौँ । जागिर जोगाउनकै धुनमा पुराना टेपरेकर्डहरू पल्टाउँदै टिपोट गरिन्छ पैसाकै लागि । यिनै टिपोट समालोचनाका ग्रन्थ सहज बन्छन् ।
प्राध्यापकीय क्षेत्रमा होला एउटा सानो समूह जो जागिरदासको धुन नै जीवन ठान्छ, प्रमोसनको पाइलो नै चरमानन्द मान्छ, कुर्सीप्राप्ति नै विश्वविजयको धरोहर हो भन्ने मात्र जान्दछ तिनका समूहमा कपिल कवित्व देखिएको होला । चिनिएको पनि होला । जो आफैँ अपरिचित छ चौडा परिधिका पाटामा त्यहाँ परिचित हुनुको अर्थ नै के रहन्छ र ? जागिर आफैँमा दासता हो । त्यसलाई नै जीवन ठान्नेको झुण्डमा रम्नु जीवनको अर्थ कहाँ हुन सक्छ र ?
अनजान अवस्थामा नै जागिरका सिँढीलाई दासताका पिँढी ठानेर माथि उठ्ने प्राध्यापकको सङ्ख्या पनि छ तर सानो । अलि अलि अभि सुवेदी, वासुदेव त्रिपाठी, कुमारबहादुर जोशी, माधव पोख्रेल हाम्रा सामु देखिन्छन् भने जागिरलाई वा कुर्सीलाई दासता ठानेर जागिर खाएर पनि यस क्षेत्रमा बढी समर्पित व्यक्तिको झट्ट नामलिँदा चट्ट जिब्रोमा आउँने हुन्-प्राडा.गोविन्दराज भट्टराई, प्राडा.लक्ष्मणप्रसाद गौतम आदिका नामोल्लेख अतिरञ्जित हुँदैनन् । आन्तरिक रूपले प्रयास गरेर पनि आफैँ निस्कौँको सोच चाहिँ दासतामुक्तिको अवसर वा अवकाश प्राप्त भएपछि मात्र चेतनाखुलेको व्यक्तित्वको नाम हो- कवि कपिल अज्ञात ।
प्राध्यापन पेशामा लागेपछि समालोचक बन्नु, समीक्षक हुनु कुनै अनोठो साहित्यिक दक्षताको अनुहार होइन । यो पनि नहुने जीवित मुर्दाको सङ्ख्या त अझ आङ्किक सङ्ख्याभन्दा पनि बढी छ नै तिनका कुरा नै नगरौँ । जागिर जोगाउनकै धुनमा पुराना टेपरेकर्डहरू पल्टाउँदै टिपोट गरिन्छ पैसाकै लागि । यिनै टिपोट समालोचनाका ग्रन्थ सहज बन्छन् । सर्जकका पुच्छर समाएर गरिने समालोचनात्मक अक्षरका खेतीबाट विश्वमा कुनै व्यक्ति अमर भएको, शरीर ढलेर पनि स्वर्गीय नभएको इतिहास मैले मात्र नभएर कतै कसैले पाउन सक्दैन । यसको राम्रो ज्ञान अर्धचेतन मनोलोकमा भएर पनि जीवनको निर्णयात्मक जोखिम भूमिका खेल्न वा उठाउन नसक्ने कवि व्यक्तित्वको अर्को नाम हो कपिल अज्ञात । सम्भवतः ज्योतिषका गेडा गन्ने ज्ञानको खप्पिस दिमाख भएर पनि यस्तो भएको हुनसक्छ ।
ज्योतिषका दुई पाटामध्ये एउटा भाग्यवादी अध्यात्म पाटामा पर्दछ भने अर्को विज्ञानसम्मत गणितमा । एउटा भनाइ छ ज्योतिषशास्त्रमा त्यो कपिललाई अवश्य कण्ठ हुनु पर्दछ-‘जैसीकी पनि छोरी हुन्छे विधवा त्यो ज्योतिष जान्दैन कि ?’ ईश्वर, ज्योतिष, भोलिवाद जस्ता वा यथास्थितिवाद जस्ता दर्शनहरू भाग्यवादी सोचका पङ्गु पक्षहरू हुन् । यस अन्तर्गत सञ्चरित/प्रवाहित जीवनगति सधैँ अन्ध आस्थालाई सजाएर सन्तुष्टिका बाटामा रहन्छन् । यस खालका आस्थाले जीवनलाई सधैँ जोखिमीसँग जुध्नबाट टाढै राखेको हुन्छ । जहाँ जोखिम मोल्ने हिम्मतको अभाव हुन्छ त्यहाँ नवउद्घोषका वैचारिक हुन् वा भावनात्मक तीव्र ज्वारहरू बल्न सक्दैनन् । यसले नै जीवनलाई प्रयोगशीलतामा होम्न पनि रोक्छ र लङ्गडो बनाउँछ । लगभग यी सङ्केतहरू अनुहारको गम्भीरता हेर्दा कपिलमा यत्रतत्र छरिएका पाइन्छन् र नै यतिबिघ्न कृतिको सर्जक मेरा शब्दमा सन्नाटाभित्र हराएको छ । भाग्यवाद, परम्परावाद, सामाजिक संस्कार, देशका सीमा, कानुनव्यवस्थाका उल्झनसँग भयभीत मान्छेहरू प्रतिभाका खानी भएर पनि प्रकाशका बिहानी बन्नुको साटो आफ्नै मनका दुर्बल खरानी भएर रहेका हुन्छन् ।
कवि/समालोचक/सम्पादक/प्राध्यापक/अन्वेषक/निबन्धकार/गजल मुक्तककार कपिल अज्ञातमा म यसकै आभास पाइरहेको छु । यसको ज्वलन्त उदाहरण अझ उनकै पङ्क्तिमा-‘
सुधारमै जुटेका छन् सेवाकर्मीहरू सबै
जोगिएरै रही आफू जोगाउनु छ जीवनै’ पाउन सकिन्छ ।
सङ्क्रामक आक्रमणदेखि डराएर प्रकृतिस्थित सहज सौन्दर्य जो दृश्यमा पाउन सकिन्छ, श्रवणमा पाउन सकिन्छ, अवलोकनमा अनुभूत गर्न सकिन्छ वा हुन्छ त्यसलाई रोक्ने आग्रहीपथमा लागी पलायनपथ अवलम्वन गर्नु कपिलको यसै सामाजिक/परम्परित भयग्रस्त मनोग्रन्थीको उपज हो । सङ्क्रामक आक्रमण जो भूकम्पका रूपमा, कोरोनाका आकारमा वर्तमानमा देखियो । ठेउला, हैजा, बिफर, टिबीका नाममा इतिहासमा पाइयो । क्यान्सरका नाममा उहिल्यैदेखि अनन्तसम्म पाइने सम्भावनाका सङ्केतहरू विद्यमान छन् तिनका विरुद्ध सङ्घर्षरत रहेका ऊर्जाशील अनुभूतिको साटो कपिलको कलम पलायनतातिर दुगुर्छ । यो उनको सिर्जनात्मक कायरता हो । वर्तमान र भोलिको पनि समयको माग यो होइन । कहिल्यै सिर्जनात्मक गतिमा यस्तो मति हुनु पनि हुँदैन ।
पूर्णरूपको सर्जक स्वतः समालोचक हुन्छ तर मात्र समालोचक कहिल्यै सर्जक बन्न सक्दैन । त्यसैले त यहाँ कैयौँ मै हुँ भन्ने समालोचकले जुन् विधाविशेषको समालोचना गर्छ त्यस समालोचकीय ठम्याइका आधारमा सिर्जना गर्न सक्दैन भने त्यो ढोँगी हो सच्चा समालोचक होइन । यो महत्वपूर्ण विशेषता सर्जक प्रा.कपिल अज्ञातमा मजाले पाइन्छ ।
‘भुमरीको बतास’ शीर्षक सङ्ग्रहका अधिकांश कविताहरू यसै सिर्जनात्मक कायरताका उदाहरण बनेर देखापरेका छन् । यो एउटा पाटो मात्र हो । सामन्त र निरीह शोषितलाई खुला चहुरमा ओरालेर एउटै ओच्छ्यानमा उस्तै बनाएर समतावादी दर्शनको सिद्धान्तमा सुताउने यही महामारी भूकम्प होइन र ? तानाशाह र पीडित जनतालाई यसले नै उस्तै स्वरूपमा उभ्याएको छ । निरङ्कुशलाई अङ्कुश लगाएर एउटा कोठामा एक्लो र हतप्रभ बनाउन पनि त कोरोना जस्ता महामारीका जीवाणु सफल भएका हुन् नि । यस किसिमका सोच यति राम्रा कविता लेख्ने अज्ञातमा नजन्मनु दुःखद् पीडा हो । उनै देशका सीमा, तिनै कानुनी राज्यका सङ्कीर्ण मान्यता, उही ईश्वरीय मूर्तिपूजाप्रतिका निराधार आस्था । यसले लेखनमा नयाँ गति ल्याउँदैन ।
कवितात्मक क्षेत्रका अन्य प्रविधा- गजलमुक्तक समेतमा राम्रो लेखन अभ्यास भएका कपिल अज्ञात विषयगत नवीनता र सामाजिक परम्परित भयबाट मुक्त भएर सिर्जना लेखनमा निरन्तर रहनु अनिवार्य छ । ज्योतिषका गेडा गनेर सिर्जनात्मक अक्षरको खेतीमा निस्किने होइन, सिर्जनात्मक हिलोमा मजाले दाँदे लगाएर हिलो सम्यो कि सम्मिएन त्यसपछि मात्र ज्योतिषका गेडा गन्ने । भाग्यमा जीवन देखिन्न र भविष्य देखिन्न पनि । कर्मको धारमा जीवनको विजयोपहार फर्फराएको हुन्छ भन्ने मान्यतामा कपिलको अन्तर चाक्षुस ज्ञाता उघ्रनु अपरिहार्य छ ।
समालोचनात्मक लेखनधार कपिलको नयाँ अवतार हो । त्यहाँ न परम्परित भूमिकाको झञ्झट छ, न विषयवस्तु प्रवेशको पहाड । न विश्लेषणको उपकथन छ, न मूल्याङ्कनको ढर्रा । समालोचना भन्नासाथ जम्मै स्वाभाविक रूपमा लेखनभित्रै पर्दै जाने कुरा हुन् । त्यहाँ किन यी टाउका झुण्ड्याइरहनु पर्यो ? कवि कपिल अज्ञात समालोचनाका क्षेत्रमा यस नवीनतालाई सहज रूपमा बोकेर आएका छन् । यो स्वागतयोग्य कुरा हो तर समालोचना आफैँमा पूर्णसिर्जना होइन ।
पूर्णरूपको सर्जक स्वतः समालोचक हुन्छ तर मात्र समालोचक कहिल्यै सर्जक बन्न सक्दैन । त्यसैले त यहाँ कैयौँ मै हुँ भन्ने समालोचकले जुन् विधाविशेषको समालोचना गर्छ त्यस समालोचकीय ठम्याइका आधारमा सिर्जना गर्न सक्दैन भने त्यो ढोँगी हो सच्चा समालोचक होइन । यो महत्वपूर्ण विशेषता मेरा कायर सर्जक प्रा.कपिल अज्ञातमा मजाले पाइन्छ । जेमा जसको समालोचना गर्छन् त्यसमा त्यसैगरी सिर्जना गर्न सक्नु अत्यन्त राम्रो सकारात्मक गुण हो ।
जमानाप्रतिस्पर्धाको छ र स्वार्थको पनि । अब कसैले कपिलकहाँ छ ? भनेर खोज्दैन । म यहाँ छु भनेर नेताले झैँ, सडकमा तुल टाँग्ने भूल पनि निरर्थक छन्, बुटपोलिस झैँ, झर्रावाद झैँ, तरलवाद झैँ विनानिरन्तरताका उफ्राइ उफ्रनु पनि निरर्थक छ । अबका सिर्जनामा अन्धविश्वासका पर्खाल भत्काएर मूर्तिका ठाउँमा मस्तिष्क, अक्षताका ठाउँमा चेतना र आरतीका ठाउँमा आगोले शरीर कँपाउँछ जस्ता सिर्जनात्मक आँधी ओकलेर उकालो एक्लै उक्लन सक्नुपर्दछ । यस नवीनताको आलोकबाट कवि कपिलको कवितात्मक ज्वाला द्यौराली उक्लोस् भन्ने अन्तर विश्वासका साथ गालीका शब्द बिस्कुनलाई यहीँ विश्राम दिन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच