
मेरा प्रिय सन्तति
तिमीले छोडेर हिँडेपछि
तिमीले भन्ने गरेकी तिम्रै हृदयकी
म खुला विश्वविद्यालय
तिम्री आमा !
तिम्रो प्रतीक्षा गर्दागर्दा थाकेको मन
वियोगको वेदनामा जीर्ण तन
यी दुवैका संयोगलाई
कति दिन सहौँला र ?
कति दिन थेगौँला र ?
म थाकिसकेँ नानी !
अनुभवको पहाड बोक्दा बोक्दा थाकेका
केवल यी ज्येष्ठ नागरिकको भरमा
यी हिमाल, पहाड र तराई सबैका
तिम्रो अभावमा सुस्ताएका सुस्केरालाई
म एक्लैले कसरी झेल्न सकौला र ?
तिम्रो शैक्षिक योग्यता भन्दा अझ
अनुभवै अनुभवका यी पोख्त निधिहरू
पर्खिरहेछन् तिमीलाई नै सोच्दै
आउँछौ र हस्तान्तरण गरौ भन्दै
दीक्षित ज्ञान र शिल्पका भण्डारहरू
प्रतिदिन पल-पल र क्षण-क्षण गनेर
र, अहोरात्र जपिरहेछन् तिमीलाई
यो शरदमा अवश्य फर्कन्छौ भनेर ।
हरेक वर्षा पछिको आकाशमा
बर्सदा बर्सदा थाकेको मेघ
शरद आउँने बित्तिकै हराएझैँ
हरेक दशैँ तिहारको आगमन सँगसँगै
हराउने छन् मेरा विछोडका वेदनाहरू
र, फर्कने छन् तिम्रै भनाइका
मेरा शरदीय सुदिनहरू
तिम्रो यही आश्वासनमा
यही पूरा हुने कामनामा
बर्षौ बर्ष वितेछन् मेरा दिनहरू
म द्विविधायुक्त भए नानी !
खै कहाँ आयौ तिमी ?
तिमी आउने प्रतीक्षामा म
उल्टै उपहास्य बनेँ ।
सुन्छु
फर्कनुको बदलामा अझसम्म
तिमी त बगाउँदै छौ रे
मोतीसरि ती अमूल्य तिम्रा पसिना
प्रवासी मुलुकको डलरको खेतीमा
त्यहाँ तिम्रो पसिनाको सिञ्चनले
मरुभूमि आवाद भएको छ रे
बालुवाको हरेक कण कणमा
तिम्रो पसिनाको जलप लागेको छ रे
यहाँ मेरा खेत र फाँटहरू
बाँझिएर आगन भएका छन्
शहर र गाउँहरू खण्डहर बनेका छन्
समृद्धिका सम्भावनाको भारी बोकेर पनि
तिम्रो अभावमा
आज म आमा भिखारी भएकी छु ।
त्यसो नगर नानी
अब आउ
मलाई फेरि जीवन्त बनाउ ।।
भो अति भयो !
अब आउ र
कृषिमा प्रविधिको सोचमै परिवर्तन ल्याउ
बालीहरूका नयाँ–नयाँ प्रविधि पत्ता लगाउ
पर्यटन व्यवशायलाई उन्नत बनाउ
पूर्वाधारहरू तयार गर
पर्यावरण, संस्कृति र आफ्नो कला जोगाउ
आउ मलाई फेरि जीवन्त बनाउ ।।
प्रवासको महामारीमा
मलाई सम्झेर आयौ
सशस्त्र द्वन्द्वमा ढाल मान्यौ
केवल दुःखमा मात्र आमा सम्झने
र, सानु सफलतामा आमा भुल्ने
तिम्रो निकृष्ट प्रवृत्तिमा माफी गर्छु
अब मिलेर चेतनाको विगुल फुक्नै पर्छ
तिमीले आमाको आब्रु बाचउनै पर्छ
त्यसैले भन्छु तिमी आउ
मलाई फेरि जीवन्त बनाउ ।।
आज तिम्रो अनुपस्थितिमा
हिजो तिमीले पौडी खेलेको
खरयान खोला
तिम्रै यादमा सुसाइ रहेछ
त्यो क्रिडास्थल गैरी खेत
तिम्रो पदध्वनी सुन्न नपाएर उदास छ
तिमीले खेल्दा खाने भूइँकाफल र तिजु
तिम्रो पारखको पर्खाइमा छन्
म्यालपोखरा, खलक, माझटोलासँगै सिंगो बस्ती
केवल तिम्रो प्रतीक्षामा टोलाएका छन्
यति धेरै निष्ठुरी कसरी भयौ
तिमी बाबु !
आउ फेरि हामीलाई जीवन्त बनाउ ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच