
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अझै अनिश्चित छ । २०७८ को मंसिर अन्तिम साता भएको १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ को पुसको पहिलो साता पुग्छ । पार्टी महामन्त्री गगनकुमार थापाले अघि सारेको कार्यतालिका लागू भएको भए अहिले कांग्रेसलाई अब अधिवेशन लागिसक्नुपर्ने थियो । महामन्त्री थापाले गत फागुनमा भएको महासमिति बैठकमा २०८२ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्नुभएको थियो । वर्तमान कार्यसमितिको म्याद सकिनुअघि नै नयाँ कार्यसमिति चुन्नेगरी थापाले संगठनात्मक प्रतिवेदनमा वडा, गाउँ-नगरदेखि केन्द्रसम्मकै अधिवेशन कार्यतालिका पेस गर्नुभएको थियो । पार्टी विधानले तोकेअनुसार कांग्रेसको १५औँ महाधिवेशन २०८२ साल मंसिरमा हुनुपर्छ ।
नेतृत्वका आकांक्षी नेताहरूले महाधिवेशनलक्षित गुटगत भेलादेखि देश दौडाहसम्मका गतिविधि जारी छन् । असाधारण परिस्थितिमा एक वर्ष थप्नसक्ने वैधानिक व्यवस्थाकै प्रयोग गरेर सभापति शेरबहादुर देउवाले महाधिवशेन सार्न सक्नुहुने छ । विधानले तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको छ । तर, पार्टीको संस्थापन इतर समूहको नेतृत्व गर्दै आउनुभएका केन्द्रीय सदस्य डा.शेखर कोइराला लगायतका नेताहरू भने आगामी मंसिरभित्रै महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिइरहनु भएको छ । तर, महाधिवेशनको लागि गर्नुपर्ने प्राविधिक र व्यवस्थापकीय तयारी आधारभूत रूपमा नै भएको छैन । कांग्रेसले २०८२ को मंसिरमा महाधिवेशन गर्ने हो भने अहिलेसम्म तल्लो तहका अधिवेशन भइसक्नुपर्ने थियो । कांग्रेसका आठ तहका अधिवेशन हुन कम्तीमा पनि एक वर्षको समय चाहिन्छ । तीन वर्षअघि २०७८ मंसिरमा १४औँ महाधिवेशन गर्दा कांग्रेसका क्रियाशील सदस्य आठ लाख ८२ हजार ८१६ जना थिए । यीमध्ये अधिकांशले सदस्यता नवीकरण गरेका छैनन् । अहिलेसम्म महाधिवेशनका लागि मुख्य विषय क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन ।
कांग्रेसको केन्द्रीय महाधिवेशन गर्न पहिले वडादेखि प्रदेशसम्म सात तहको अधिवेशन भइसक्नु पर्छ । सिधै केन्द्रीय महाधिवेशन गर्न मिल्दैन किनभने प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट आउने प्रतिनिधिले केन्द्रीय सदस्य र पदाधिकारी चुन्ने व्यवस्था छ । त्यसकारण टोल, वडा, गाउँ–नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनपछि मात्रै केन्द्रीय महाधिवेशन हुन्छ । वडा अधिवेशन सुरु गर्नुअघि क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्छ । तर, अहिलेसम्म क्रियाशील सदस्यता नवीकरणको काम नै सकिएको छैन । दुईपटक थपिएको समयमा पनि क्रियाशील सदस्यता टुंगो नलागेपछि क्रियाशील सदस्यता नवीकरणको सूची दर्ता गर्न समयावधि थपेको छ । असार मसान्तभित्र सदस्यता नवीकरणको सूची दर्ता गर्नेगरी समयावधि बढाइएको छ । असार मसान्तसम्म नवीकरण नभए सदस्यको नाम दर्ता स्वतः निष्क्रिय हुनेछ । असारसम्म पार्टीले क्रियाशील सदस्यता टुंगो लगाएपछि पार्टीलाई बल्ल औपचारिक रूपमा महाधिवेशन लाग्नेछ । यसअघि महाधिवेशनको मिति घोषणा भएपछि क्रियाशील सदस्यताको विषय टुंगो लगाउने अभ्यास कांग्रेसको थियो । यसपटक सदस्यता टुंग्याएर मात्रै महाधिवेशनमा होमिने गरी महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम गरिरहेको छ । तर, समयमा सदस्यताको टुंगो लगाउन समितिलाई सकस परिरहेको छ ।
तयारी हेर्दा २०८३ मंसिरभित्र पनि कांग्रेसको १५औँ महाधिवेशन हुनेमा आशंका छ । तर, पार्टी महामन्त्री थापाले २०८३ को मंसिरअघि नै पार्टीको महाधिवेशन हुने दाबी गर्नुभएको छ । ०८४ सालको आमनिर्वाचनपछि अधिवेशन हुन्छ कि भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘हामी २०८३ साल मंसिरभन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नु पर्छ । तपाईंहरू कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस् ।’ महामन्त्री थापाले महाधिवेशन सार्न पार्टीले चाहेर मात्रै नहुने जिकिर गर्दै भन्नुभयो, ‘हामी सबै मिल्यौँ, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भूतपूर्व पदाधिकारीहरू एउटा समूह बनेको छ, सबै मिल्यौँ, शेखर कोइराला, शशांक कोइरला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भने पनि अदालतले लगेर देखाइदिन्छ । पाइँदैन । कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन । नयाँ नाम फेरे पाइन्छ । अधिवेशनका बारेमा कोही पनि कन्फ्युज नहुनुहोला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो ।’
अन्तिम मिति ०८३ को मंसिर भए पनि त्यहाँसम्म पु¥याउन नहुने जिकिर गर्दै थापाले भन्नुभयो, ‘त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ । सकेसम्म अगाडि तान्नुपर्छ । तपाईंहरूले जति छिटो क्रियाशील सकाइदिनु हुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौँ ।’ महामन्त्री थापा मात्रै नभई अधिकांश नेताहरू ०८३ सालको दशैँ वरिपरि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । २०८३ दशैँको आसपासभन्दा उता जाँदा पार्टीमा झगडा हुने र राजनीतिक रूपमा ठूलो नोक्सानी हुने जिकिर गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भन्नुभयो, ‘महाधिवेशनका लागि विलम्ब भइसक्यो । तर, उपसभापति र महामन्त्रीको मुख्य काम भए पनि उहाँहरू सचिवालयको रूपमा तयारीमा जुट्नुभएको छैन ।’
क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने प्रस्ताव
महामन्त्री गगन थापाले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्न प्रस्ताव गर्नुभएको छ । अघिल्लो महाधिवेशनमा आफूले पनि गुटको नामलिष्ट हेरेरै भोट हालेको स्वीकार गर्नुभएका महामन्त्री थापाले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने दाबीसमेत गर्नुभएको छ । कांग्रेसमा अहिले आठ लाख ६६ हजार क्रियाशील सदस्य रहेको र नयाँ थप्दा १२ लाख पुगे पनि सबैले सभापति चुन्न पाउनेगरी जानुपर्ने धारणा राख्दै महामन्त्री थापाले भन्नुभयो, ‘हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकैपटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौंमा हामी पाँच हजार मान्छेको महाधिवेशन गर्छौँ । १२ लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ, उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने ? सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न ।’
सानो त्रुटिले मात्रै पनि निर्वाचनमा जनमत घट्ने अवस्था छ : नेता पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक दलहरूले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बन्ने बताउनुभएको छ । आज सानो त्रुटिले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको उहाँको भनाइ छ । यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको आरोप लगाउँदै पौडेलले भन्नुभयो, ‘आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिन सक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय हुनसक्छ । आज सानो त्रुटि गरियो भने पनि हाम्रो भोट घट्छ । पार्टीको लोकप्रियता घट्छ । हाम्रो नेतृत्वले कहिलेकाहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ । यो आजको समय हिजोको जस्तो होइन । यो प्रविधिकरण भएको समय हो । आज भौतिक रूपमा भेटेर सबै कुरा गर्नुपर्छ भन्ने छैन । त्यसैले संसार धेरै साँघुरिएको छ । हाम्रो देश पनि साँघुरिएको छ । कांग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरूमाथि टीका टिप्पणीहरू हुने वा नहुने स्थिति निर्माण हुन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच