
काठमाडौं । सामाजिक रूपान्तरणः ललितकलाको अभियान भन्ने मूल नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८२’ शनिबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका छ सय बढी कलाकारका छ सय ५० कलाकृति राखिएका थिए । आयोजकका अनुसार समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा-उपविधाका कलाकृति राखिएको प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट सुरु गरिएको प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारा उजागर गर्दै प्रदेश तथा स्थानीयस्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिने गरी कार्यक्रमसहित प्रदर्शनीको आयोजना गरिएको हो । यसले नेपाली कलालाई स्थानीयस्तरबाट केन्द्र हुँदै विश्वमा पुग्नका लागि महत्वपूर्ण सहयोग मिलेको अनुभव गरेका छौं ।’
प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको ललितकलाको बहुआयामिकता चिनाउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदर्शनी समय सापेक्षित रूपमा अघि बढेको छ । नेपालका रैथाने, मौलिक कला, शिल्प-ज्ञान मूलधारमा ल्याई अन्तर्राष्ट्रियकरण गर्न सफल भएको छ । सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरी त्यसबाट छनोट भएका कलाकृति समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ आयोजना गरिएकाले यसले प्रतिभाको पहिचान गर्न सहज भएको छ ।’
करिब ३० हजारले अवलोकन गरेको प्रदर्शनीको मुख्य ध्येय मौलिकताको जगेर्ना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने रहेको प्रतिष्ठानका सदस्य-सचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो । उहाँले प्रदर्शनीले मौलिकताको जगेर्नासँगै नेपाली सभ्यता र सांस्कृतिक वैभवलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानसँगै ललितकला क्षेत्रको संरक्षण, संवद्र्र्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलाप गर्दै/गराउँदै आएको छ । प्राज्ञसभा सदस्य तथा प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले २०८० र २०८१ को प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भावमा समर्पित रहेको र अहिलेको प्रदर्शनी पनि सो भावनालाई आत्मसात गर्दै गरिएको बताउनुभयो ।
यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकार डा. सीमा शर्मा शाह र मंगल लामा (साइँला) लाई प्रदान गरिएको छ । पुरस्कार राशि एक लाख ५० हजार र सम्मानपत्र रहेको थियो । राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ । उक्त पुरस्कार राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०/३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासंघ र प्रतिमा पाण्डेलाई प्रदान गरिएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डंगोल (परम्परागत चित्रकला) लाई प्रदान गरिएको छ । उक्त पुरस्कार राशि एक लाख र सम्मानपत्र रहेको थियो । राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक/आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प-हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत कला फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको थियो ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिएको छ । उक्त पुरस्कार राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको थियो । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोशीबाट भावना गुरुङ, मधेसबाट निरूपम जयसवाल, बागमतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिएको छ । उक्त पुरस्कार राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको थियो ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोशीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला), बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सीता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरिएको छ । उल्लेखित पुरस्कार राशि ५० हजार र सम्मानपत्र रहेको थियो ।
प्रदर्शनीमा नेपाल प्रज्ञा-प्रतिष्ठान, सांस्कृतिक संस्थान, सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश), बेलबारी नगरपालिका, बेलबारी प्रज्ञा-प्रतिष्ठान, मैथिली विकास कोष, गण्डकी प्रज्ञा-प्रतिष्ठान, नेपाल व्यावसायिक कलाकार संघ (रूपन्देही), बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, नेपाल कमर्सियल आर्टिस्ट संघ (सुर्खेत), जननमुना माध्यमिक विद्यालय (वीरेन्द्रनगर, सुर्खेत), थारु कल्याणकारिणी सभा, सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान, संवाद फाउण्डेसनले सहकार्य तथा मिडिया पार्टनरका रूपमा राष्ट्रिय फोटो पत्रकार समूह र प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच