
पछिल्ला वर्षहरूमा विश्वको समाज तीव्र संक्रमणमा छ । विचार, संस्कार, संस्कृति, प्रविधि जस्ता विषयले मानव समाजलाई तीव्र गतिमा दौडाइरहेको छ । विकास क्रममा उत्पत्ति यता आफूलाई उन्नत बनाउन मानिसले जति समय खर्चियो, पछिल्लो पचास वर्षमा सबैभन्दा धेरै परिवर्तन व्यहोरेको छ । यद्यपि, विश्व समाज मूल रूपमा दुई वैचारिक धारमा विभक्त छ । खुला विचार र समाज चाहने बहुलवादी तथा बन्द, कुनै पनि नाममा नियन्त्रित समाज चाहने एकतन्त्रवादीबीच रस्साकस्सी चलिआएको छ । बन्धन तोड्दै अघि बढ्ने क्रममा मानिसले एकपछि अर्को आविष्कार गर्यो तर सँगसँगै ऊ आफैंले गरेको आविष्कारको बन्धक वा गुलाम पनि बन्दै गएको छ । यस लेखको मूल केन्द्र त्यही गुलामीसँग सम्बन्धित छ । प्रविधिभन्दा पराश्रयी सोचका बारेमा ।
कोही कसैको अन्धभक्त भएको देखेमा मानिसहरूले फ्याट्टै भन्ने गर्दछन्, कस्तो ‘दास’ रहेछ । तर, असलमा उसले ‘गुलामी’ गरिरहेको हुन्छ । दास एउटा व्यवस्था या परिस्थितिमा बाध्यताको उपज थियो भने गुलामी एकहदसम्म व्यक्ति आफैंको छनौटसँग पनि सम्बन्धित देखिन्छ । सुन्दा उस्तै लाग्ने यो दुई शब्दबीचको अन्तर के हो ? के दास र गुलाम बन्नु एउटै प्रवृत्ति हो ? वा यसबीच तात्विक अन्तर छ ? सुरु गरौं शाब्दिक अर्थ अन्तरबाट । नेपाली शब्दकोशमा यी दुई शब्दलाई यसरी अथ्र्याइएको छ ।
दास : पहिले पहिले मालिकका किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर, कमारो । सेवक, नोकर । दासप्रथा : पशुधनसरह मान्छेलाई किनबेच गरेर काममा लाउने पुरानो सामन्ती प्रथा । कमारो प्रथा । (नेपालमा विसं १९८१ सालदेखि यो प्रथा कानुनी रूपले खारेज भएको छ ।)
आधुनिक सन्दर्भमा गुलामीका केही रूपहरूलाई हामी यसरी हेर्न सक्छौँ । राजनीति, धर्म, रोजगार/कर्पोरेट, परिवार÷समाजबाट सृजित गुलामी । जस्तो राजनीतिमा कार्यकर्ताहरू नेताको आदेशबिना नसोच्नु, पार्टीको निर्णय जेसुकै भए पनि समर्थन गर्न बाध्य हुनु, स्वार्थमा आधारित पद, प्रतिष्ठा वा अतिरिक्त लाभका लागि अन्धभक्तिमा उत्रनु ।
गुलाम : कमारो दास । अधिनस्थ व्यक्ति । ऐँचमा परेको मान्छे । गुलामी : गुलाम हुनुको भाव वा अवस्था । दासता ।
शब्दकोशले गरेको अर्थ हेर्ने हो भने त्यति फरक जस्तो देखिन्न । झन् यतिबेला वैयक्तिक पराश्रयीहरूको झुण्ड तयार गर्न नेपाली राजनीतिमा विशेषणयुक्त ‘झोले’ अभियान नै सुरु गरिएको छ । यस्तोमा दास र गुलामी व्यवस्था र सोचले के असर गर्दछ भन्ने केलाउनु महत्वपूर्ण छ । अझ लोकतान्त्रिक व्यवस्थामा यसबारे बहस, चर्चा र निचोड निकाल्नु आवश्यक छ । जे होस्, दासता र गुलामी दुबै शब्दले स्वतन्त्रताको गुमेको अवस्थालाई जनाउँछ । शब्दकोशको अर्थ झैँ ती दुईबीच गहिरो भिन्नता छ । दासता भौतिक नियन्त्रण र बाहृय बाध्यताको उपज हो भने, गुलामी प्रायः मानसिक समर्पण र विवेकहीनताको परिणाम हो । एकलाई जन्जिरले बाँध्छ, अर्कोले सोचाइमै ताला लगाउँछ ।
दासता भन्नाले त्यस्तो अवस्था बुझिन्छ, जहाँ व्यक्ति आफ्नो शरीर, श्रम, निर्णय र जीवनमाथि पूर्णरूपमा अरूको नियन्त्रणमा हुन्छ । यो प्रायः बलपूर्वक, कानुन वा शक्ति प्रयोग गरी, मानवताविरोधी व्यवहारमा आधारित हुन्छ । उदाहरणका लागि, अफ्रिकाबाट अमेरिका लगिएका दासहरू, रोमन साम्राज्यका बन्धकहरू, दक्षिण एशियामा ऋणमा बाँधिएका मजदुरहरू । यी सबै अवस्थामा व्यक्तिले आफ्नो स्वतन्त्रता गुमाएको हुन्छ । उसलाई ‘छनौट’ को अधिकार हुँदैन । ऊ केवल आदेश पालक बन्छ ।
गुलामीमा बाहृय बलको प्रयोग कम हुन्छ । हुँदैन नै त भन्न सकिँदैन । कतिपय अवस्थामा व्यक्ति आफैँले आफ्नो निर्णय गरेको देखिन्छ तर त्यो निर्णय स्वतन्त्र चेतनाबाट हो कि सामाजिक दबाब, डर वा लोभको उपज हो ? त्यो समर्थन विवेकसहितको हो कि अन्धानुकरणमा आधारित ? भन्ने जस्ता प्रश्नले गुलामीको स्वरूप स्पष्ट पार्छ ।
गुलामीका लक्षणहरू :
नेताको हरेक कार्यलाई समर्थन गर्नु, प्रश्न नगर्नु । धार्मिक गुरु वा संस्था जे भन्छ, त्यसैलाई अक्षरशः पालन गर्नु । संगठन वा राष्ट्रप्रति आलोचनाविहीन समर्थन गर्नु । व्यक्तिगत निर्णय लिने क्षमताको ह्रास हुनु । कहिलेकाहिँ गुलामी रोजेको जस्तो देखिए पनि व्यवहारमा त्यो प्रायः विवेक गुमाएर गरिएको निर्णय हो । डर, लोभ, मानसिक दबाब वा अज्ञानता जस्ता कारण यसमा हाबी हुन्छन् । जस्तो जागिर नहुने वा गुम्ने, बहिष्कृत हुने, दण्डित हुने डरले गरिएको समर्पण । लाभ, पद, पहुँच वा पैसा पाउने आशा वा लोभले गरिएको समर्पण । समाज, संस्कृति वा परिवारको दबाबमा मानसिक दबाब खेपेर विवेक गुमाउनु । वैकल्पिक सोच वा सूचना नपाएर अज्ञानतावश अन्धानुकरण गर्नु । अर्थात्, गुलामी रोजाइभन्दा पनि विवेकहीनता र आत्मसमर्पणको परिणाम मान्न सकिन्छ ।
आधुनिक सन्दर्भमा गुलामीका केही रूपहरूलाई हामी यसरी हेर्न सक्छौँ । राजनीति, धर्म, रोजगार/कर्पोरेट, परिवार÷समाजबाट सृजित गुलामी । जस्तो राजनीतिमा कार्यकर्ताहरू नेताको आदेशबिना नसोच्नु, पार्टीको निर्णय जेसुकै भए पनि समर्थन गर्न बाध्य हुनु, स्वार्थमा आधारित पद, प्रतिष्ठा वा अतिरिक्त लाभका लागि अन्धभक्तिमा उत्रनु । आमरूपमा असर गर्ने निर्णय पार्टी नेतृत्वले गर्दा पनि जनताको पक्षमा आवाज उठाउने साहस गर्दैनन् । एउटै विषयमा पनि आफ्नो पार्टी सत्तामा रहँदा अन्ध समर्थन र अर्को दल पुग्दा प्रतिशोधमा उत्रनु ।
धर्मगुरुका नाममा अवैज्ञानिक नै भए पनि आज्ञापालन भन्दै चरम समर्पण, प्रश्न गर्न नसक्नु, धार्मिक उन्मादमा हिंसा वा बहिष्कारमा संलग्न हुनु । धर्मका नाममा सामाजिक बहिष्कार, महिलामाथिको विभेद वा जातीय छुवाछुतको समर्थन जस्ता कृत्य यसमा पर्दछन् ।
रोजगार/कर्पोरेटका सन्दर्भमा हाकिम सधैं ठीक हुन्छ भन्ने मानसिकता बोक्नु, ज्यादती सहेर पनि प्रतिकारमा उत्रन नसक्नु । कम्पनीले रातारात जागिरबाट निकाल्दा वा कारबाही गर्दा पनि श्रमिकहरूले आफ्नो हकका लागि आवाज उठाउन नसक्नुलाई उदाहरणका रूपमा लिन सकिन्छ । परिवार र समाजले पनि मानिसलाई गुलामीको शिकार बनाइरहेको हुन्छ । परम्परा र सम्मानको नाममा विचार गुमाउने, अभिभावकको आज्ञा उल्लंघन गर्न नपाउने स्थिति, पाकिस्तानसहितका केही मुस्लिम मुलुकमा परिवारको इज्जतका नाममा हुने महिला हिंसा वा हत्या यसको विकृत उदाहरण हो । गलत हो भन्ने जान्दाजान्दै पनि लैंगिक विभेदलाई मौन समर्थन गर्नु ।
यसरी हेर्दा दासतामा स्वतन्त्रता पूर्णरूपमा गुमेको हुन्छ भने गुलामीमा व्यवहारतः गुमेको हुन्छ । दासतामा बाहृय (शक्ति, कानुन) को नियन्त्रण हुन्छ भने गुलामीमा आन्तरिक (भय, अज्ञान, लोभ) जस्ता कारण देखिन्छन् । एकातिर बाध्यता देखिन्छ भने अर्कातिर अन्धानुकरण कारक हुन्छ । दासताको प्रतिकार सम्भावना सीमित हुन्छ भने गुलामीमा सैद्धान्तिक रूपमा सम्भव देखिन्छ तर व्यवहारमा कठिन अवस्था हुन्छ । दासता भौतिक/शारीरिक रूपमै हुन्छ भने गुलामी मानसिक÷भावनात्मक देखिन्छ । दासताको अन्त्य वा समाधान विवेकको पुनःस्थापना र कानुनी रूपबाट मात्र सम्भव छ । गुलामीको अन्त्य भौतिक जन्जिर काटेर नभई मनको जन्जिर फुकाएर गर्न सकिन्छ । त्यसका लागि आफैंलाई सोध्न सक्नुपर्छ, म किन प्रश्न गर्न डराउँछु ?, मेरो मौनता अन्यायप्रति समर्थन हो ? जुन क्षणदेखि यस्ता प्रश्न सोध्न थाल्छ, त्यही क्षणबाट व्यक्तिको गुलामी अन्त्य सुरु हुन्छ ।
सचेत, जिम्मेवार र विवेकशील नागरिकलाई स्वस्थ लोकतन्त्रिक व्यवस्थामा मेरुदण्डका रूपमा लिइन्छ । जनताका समस्या बुझेर उनीहरू नीतिगत बहसमा संलग्न होइदिऊन् भन्ने चाहना यस व्यवस्थाको हुन्छ । लोकतन्त्र नागरिक सर्वोच्च हुने व्यवस्था हो । जिम्मेवार दल र नेता चुन्नु, खबरदारी, पहरेदारी गर्दै उनीहरूलाई जनताप्रति उत्तरदायी बनाउनु सचेत नागरिकको कर्तव्य हो । नागरिक निगरानीले नै लोकतन्त्रलाई बलियो बनाउने हो ।
दुर्भाग्य, हामीकहाँ बहुदलीय व्यवस्थाको पुनर्बहालीदेखि नै नागरिक सचेतता र खबरदारी क्षीण हुन पुग्यो । दल र नेता विशेषको कार्यकर्ता दरिँदा स्वतन्त्र नागरिकको हैसियत खुम्चियो । क्षमतामा ह्रास आयो । परिणाम नागरिक संस्थाहरू कमजोर बन्न थाले । पेशागत संस्थाहरू दल र नेताका झोला बोक्नमा सीमित देखिए । कुनै निकायमा नियुक्तिको आधार क्षमता र दक्षताभन्दा कुन नेताको दैलोमा कति उपस्थिति र कतिपटक जदौ ग¥यो भन्नेमा मापन हुन थाल्यो । पछिल्ला वर्षमा त यतिमात्र नभई थप, धनको थैलो कत्रो छ भन्ने हुन थालेको छ ।
पत्रकार, वकिल, प्राध्यापक, चिकित्सक, इन्जिनियर, शिक्षक, कर्मचारी जस्ता पेशा विशेष संस्थाहरूको स्वायत्तता मेटाउने गरी हस्तक्षेप निम्त्याउन अगुवा भन्नेहरूको तँछाडमँछाड भयो । भनौं, विवशताले दासता स्वीकार्नुपर्ने समय अलग्गै थियो । त्यो पार गरेरै यहाँसम्म आइपुगेका थियौं तर दल, नेता र व्यवस्थाको गुलामीका लागि हामी आफैंले परेड लगायौं । नागरिकको स्वतन्त्र स्वत्व र मर्यादा धुलिसात पार्न आफैं डोरिँदै गयौं ।
दासता इतिहासको घाउ हो भने गुलामी वर्तमानको चेतनाहीनता हो । दासता शारीरिक बन्धनबाट जन्मिन्छ तर गुलामी मानसिक पतनबाट । यदि हामी सोच्न, प्रश्न गर्न, प्रतिरोध गर्न डराउँछौ भने हामी स्वतन्त्र देखिएर पनि दास हौँ । हामीले आफूले रोजे जस्तो लाग्ने गुलामी, वास्तवमा रोजाइको भ्रम मात्र हो ।
नीतिभन्दा नेता, विवेकभन्दा चाकरी, विधिभन्दा बल, दक्षताभन्दा दौराको फेरमा विश्वास गर्न थाल्यौं । त्यसैले त न्यायाधीश जस्तो गरिमामय पदमा नियुक्ति पाउना साथ दलको दैलोमा हाजिरी जनाउन पुग्यौं । पैसोले पद किनेर पदासिन हुनेहरूले संविधानभन्दा धनको ध्याउन्न गर्नु कुन आश्चर्यको कुरा भो र ? व्यवस्था र नागरिकको पहरेदारीको भूमिका पाएका पत्रकार, वकिल जस्ता संस्थाको नेतृत्वमा जान दलीय सदस्यताको निस्सा र सिफारिश खोज्न थाल्यौं । अझ बढी भ्रातृ र शुभेच्छुक दज्र्यानीका लागि गोठेलौरी थाल्यौं । अनि रहन्छ, पेशागत मर्यादा । आमजनताको विश्वास र भरोसा ?
आफूले दलीय निस्सा लिएको दलको सरकार बनेमा तिनकै भजन गाउने मण्डलीमा सीमित हुन थाल्यो पहरेदारीको भूमिका । सत्य मेटिँदा, होचो थिचिँदा मुखमा पट्टी बाँधेर बस्यौं । बिस्तारै दलबाट गुट र नेताको दैलो प्रदक्षिणामा रम्न थाल्यौं । संविधान र कानुनको चीरहरण हुँदा, राज्यको ढुकुटी दोहन गरिँदा, बिचौलियासँग घाँटी जोडेर अकूत सम्पत्ति थुपार्दा प्रश्न होइन, प्रतिरोधका प्रशस्ती गाउन थाल्यौँ । विवेक खरानी बनाएर त्यहीँबाट बनायौं, गुलामीको पूर्ण गुलदस्ता ।
दलहरूभित्र पनि गुण दोष नछुट्टयाई नेताका हर निर्णयको अन्ध समर्थन गर्नु, आलोचना गर्न नसक्नु या प्रश्न उठाउनेलाई नै दुश्मन ठान्नु स्वामिभक्ति त मानिएला तर लोकतान्त्रिक चेतनाको भने पतन हो । जसले ती संगठनभित्र आलोचनालाई स्थान नै दिँदैन । सांगठनिक समानता होइन, ‘बा’ र ‘दाइ’ को गुलामी संस्कृतिको विकास गर्छ । दलभित्रको लोकतान्त्रीकरणलाई निषेध गर्छ । व्यक्तिपूजाले अधिनायकत्वतर्फ लैजान्छ । मौन समर्थन भ्रष्टाचार, पदलोलुपता र परिवारवाद मात्र मौलाउँदैन, अन्ततः व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठ्न थाल्छ । गुलामीमा लिप्त तिनिहरूलाई नै नेताले आफूअनुसार झुठ बोल्न, सामाजिक सञ्जालमा घृणा फैलाउन र आक्रमण गर्न दुरुपयोग गर्दछन् ।
विवेक गुमाएर, केवल आदेश पालन गर्ने, जयजयकार गर्ने र व्यक्तिगत लाभका लागि आँखा चिम्लिने अवस्था नै आधुनिक राजनीतिक गुलामी हो । लोकतन्त्रको मर्म बुझ्ने हो भने, कार्यकर्ता ‘गुलाम’ होइन, ‘नागरिक’ हुनैपर्छ । त्यसैले, दासता इतिहासको घाउ हो भने गुलामी वर्तमानको चेतनाहीनता हो । दासता शारीरिक बन्धनबाट जन्मिन्छ तर गुलामी मानसिक पतनबाट । यदि हामी सोच्न, प्रश्न गर्न, प्रतिरोध गर्न डराउँछौं भने हामी स्वतन्त्र देखिएर पनि दास हौं । हामीले आफूले रोजे जस्तो लाग्ने गुलामी, वास्तवमा रोजाइको भ्रम मात्र हो । हामी स्वतन्त्र नागरिक बन्न चाहन्छौँ भने, सोच्ने र प्रतिवाद गर्ने साहस राख्नुपर्छ । किनभने स्वतन्त्रता विवेकबिना सम्भव छैन । त्यसैले त भनिन्छ, ‘गुलामीको अन्त्य स्वतन्त्रताबाट होइन, चेतनाबाट सुरु हुन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच