कालीकाेट । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट मध्यरातमा सार्वजनिक गरेको छ । दिउँसो ३ बजे बजेट पेश गर्ने कार्यसूची तय भए पनि विपक्षी दल माओवादी केन्द्र, राप्रपा र नेकपा एसको अवरोधका कारण बजेट राति ११:४७ बजे मात्र प्रदेशसभा बैठकबाट बजेट सार्वजनिक गरिएको हो ।
विपक्षी सांसदहरूले जिल्लाबाट सिफारिस गरिएका योजना समावेश नगरिएको र आयोजना बैंकले छनोट गरेका कार्यक्रमहरूसमेत जानकारी नदिइएको भन्दै सभामा अवरोध गरेका थिए ।
प्रदेश सरकारले बजेटको आकार चालु वर्षको तुलनामा ५ प्रतिशतले बढाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले चालु आवको तुलनामा बजेट ५ प्रतिशतले बढाएर उत्पादन, रोजगारी, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ ।
कुल बजेटमध्ये ७ अर्ब ७९ करोड चालु खर्चतर्फ, १९ अर्ब ९८ करोड पुँजीगततर्फ, ४ अर्ब ५८ करोड स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ र ६१ करोड ५० लाख वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ ।
प्रमुख खर्च स्रोतमा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, सशर्त र विशेष अनुदान, वित्तीय समानीकरण अनुदान तथा आन्तरिक आम्दानी, बचत रकम लगायत छन् । बजेट अनुसार ९६ करोड ७४ लाख आन्तरिक आयबाट उठाउने लक्ष्य लिइएको छ भने सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड रुपैयाँ परिचालन गरिने छ ।
मन्त्री शाहले बजेटमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राख्दै आयआर्जन बढाउने र गरिबी न्यूनीकरण गर्ने स्पष्ट पार्नुभयाे । दिगो र प्रतिफलमुखी भौतिक पूर्वाधार निर्माण, रोजगारी सृजना, निजी लगानी प्रोत्साहन, सूचना प्रविधि, कृषि, उद्योग, पर्यटन र उद्यमशीलता विकासलाई बजेटले जोड दिएको छ ।
उहाँले भौगोलिक विशेषता, जलवायु उत्थानशीलता र दक्ष जनशक्तिको उपयोगमार्फत समावेशी र सन्तुलित विकासलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
बजेटमा सबै सरोकारवाला पक्षसँग समन्वय गरी बजेट, आयोजना र वित्तीय अनुशासन प्रणालीलाई सुदृढ बनाउने उल्लेख छ । साथै, राजस्व अधिकारको प्रभावकारी प्रयोग, करको दायरा विस्तार र कर तिर्ने संस्कृतिको विकासमार्फत आन्तरिक आय वृद्धि गर्ने नीति समावेश गरिएको छ ।
प्रदेशलाई लगानीमैत्री वातावरणमार्फत आकर्षक लगानी केन्द्रको रूपमा विकास गर्ने लक्ष्यसहित बजेट तयार पारिएको कर्णाली सरकारको दाबी छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच