वासिङटन । केही समयअघि युइएफए च्याम्पियन्स लिगको उपाधि चुमेर आफूलाई अब्बल साबित गरेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकप प्रतियोगितामा पनि सुखद सुरुवात गरेको छ ।
अमेरिकामा जारी क्लब विश्वकपको आफ्नो पहिलो खेलमा पिएसजीले बलियो स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । सोमबार बिहान सम्पन्न खेलमा प्रारम्भदेखि नै पिएसजीले एट्लेटिको म्याड्रिडलाई दबाबमा राखेको थियो । पिएसजीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा पनि दुई गोल गरेको थियो । रोज बाउल स्टेडियममा ८० हजारभन्दा बढी दर्शकमाझ खेलिएको उक्त खेलमा पिएसजीका लागि पहिलो गोल १९औँ मिनेटमा फाबियन रुइजले गर्नुभएको थियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा भिटिन्हाले पिएसजीको अग्रता दोब्बर बनाउनुभयो । एट्लेटिको म्याड्रिड भने खेल अवधिभर निरीह देखियो । त्यसैले दोस्रो हाफमा पनि पिएसजीले दुई गोल थप्यो । निर्धारित समयको ८७औँ मिनेटमा पिएसजीका लागि सेनी मायुलुले तेस्रो गोल थप्नुभयो । उहाँ परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गर्नुभएको थियो । दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा ली काङ–इनले टोलीका लागि चौथो गोल गर्नुभएको थियो ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको पिएसजी तालिकाको पहिलो स्थानमा छ । पिएसजीले पहिलो खेलबाटै तीन अंक बटुलेको हो । क्लब विश्वकपको आठवटै समूहमा चार-चार टोली छन् । समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
यसैगरी, जर्मन च्याम्पियन बायर्न म्युनिखले क्लब विश्वकपको आफ्नो पहिलो खेलमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई फराकिलो अन्तरले पराजित गरेको छ । टिक्युएल स्टेडियममा २१ हजार १५२ दर्शकमाझ भएको खेलमा बायर्नले सिटीलाई १०-० ले हराएको हो । क्लब विश्वकप इतिहासकै यो अहिलेसम्मकै फराकिलो अन्तरको नतिजा हो । बायर्नका जमाल मुसियालाले दोस्रो हाफको १७ मिनेटको अन्तरालमा हृयाट्रिक गर्नुभयो । उहाँले ६७औँ, ७३औँ (पेनाल्टी) र ८४औँ मिनेटमा गोल गर्नुभएको थियो । मुसियाला ६१औँ मिनेटमा हृयारी केनको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
थोमस मुलर, किङ्स्ले कोमन र माइकल ओलिसेले समान दुई गोल गर्नुभयो । खेलको छैटौं मिनेटमा कोमनले गोल गर्दै बायर्नलाई अग्रता दिलाउनुभएको थियो । बायर्नले खेलभर १७–१ को सट्स अन टार्गेटको स्पष्ट अग्रता लिएको थियो ।
बायर्नले पहिलो हाफको मध्यसम्ममै ४-० को अग्रता बनाइसकेको थियो । साचा बोएले १८औँ, ओलिसेले २०औँ, कोमनले २१औँ, मुलरले ४५औँ मिनेट र ओलिसेले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै अग्रता ६–० बनाउनुभयो । ‘आजको खेल सबैका लागि उत्कृष्ट रहृयो । हामीले आक्रामक र द्रुत खेल देखायौं,’ बायर्नका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पानीले भन्नुभयो । प्रभावशाली देखिएको बायर्नको अर्को खेल शुक्रबार बोका जुनियर्ससँग र जुन २४ मा बेनफिकासँग हुनेछ । अकल्याण्ड सिटीले अब बेनफिकासँग शुक्रबार र बोका जुनियर्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर