
काठमाडौं । मुलुकका प्रमुख सञ्चार माध्यमका सञ्चालकहरूको साझा संस्था मिडिया अलाइन्स नेपालको प्रतिनिधिमण्डलले नेपाल रिपब्लिक मिडिया नेतृत्वसँग सोमबार छलफल गरी मिडियाविरुद्ध भइरहेका गतिविधि रोक्न ऐक्यबद्धता गर्ने बताएको छ । अलाइन्सको टोली नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सञ्चार संस्था र यसका सञ्चालकलाई धरासायी गराइदिने भनी धम्की दिएको घटनाबारे बुझ्न र ऐक्यबद्धता गर्न आएको हो । अलाइन्स अध्यक्ष भाष्करराज राजकर्णिकार, आर्थिक दैनिकका प्रकाशक प्रहृलाद रिजाल र राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष सचिन शेरचन संस्थाको प्रतिनिधित्व गर्दै नेपाल रिपब्लिक मिडियाको सुन्धारास्थित मुख्यालयमा पुगेर छलफल गर्नुभएको थियो ।
छलफलका क्रममा उहाँहरूले पछिल्लो समय आमसञ्चार माध्यममाथि भइरहेको प्रहारविरुद्ध ऐक्यबद्धता जनाउनुभयो । पत्रकार दिलभूषण पाठकमाथि भएको गिरफ्तारी वारेन्ट जारी, दुई अनलाइन माध्यम नेपाल खबर र बिजमाण्डूविरुद्ध भएको समाचार हटाउने अदालती आदेशलगायतका घटनाक्रम समग्रमा प्रेसमाथि भइरहेका आक्रमणको सिलसिला रहेको समेत उहाँहरूले छलफलका क्रममा संज्ञानमा लिनुभयो ।
छलफलका क्रममा समग्र सञ्चार जगत्मा देखिएका समस्या, यसमाथि भइरहेका प्रहारविरुद्ध भावी रणनीति बनाउन सबैबीच छलफल आयोजना गर्नुपर्ने आवश्यकतासमेत उहाँहरूले औंल्याउनुभयो । मुलुकको लोकतान्त्रिक आन्दोलनमा प्रेसजगत्ले गरेको योगदानलाई बेवास्ता गर्दै यसविरुद्ध योजनाबद्ध ढंगले भइरहेका आक्रमणप्रति सतर्क हुनुपर्ने अवस्थाबारे पनि छलफल भएको थियो ।
रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवालीले घटनाबारे जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच