
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति सांसदहरूले तीव्र असन्तुष्टि जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले असन्तुष्टि जनाएका हुन् । सत्तापक्षकै सांसदहरूले समेत बजेटप्रति असन्तुष्टि जनाएका छन् । सत्तापक्षका कतिपय सांसदहरूले भने बजेटको बचाउ गरेका छन् । प्रतिपक्षी सांसदहरूले भने बजेटको विरोध गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदहरूले समग्रमा बजेट प्राथमिकतामा आधारित तथा स्रोतको प्रक्षेपण ठिकसँग गरिएकाले बजेटबाट उत्पादन र उत्पादकत्व बढ्ने विश्वास व्यक्त गरेका छन् । विपक्षी दलका सांसदहरूले भने उत्पादन वृद्धि, गरिबी निवारण जस्ता कुरा गीत गाउने मात्र भएको भन्दै भौतिक मन्त्रालयको बजेटमा पनि समेट्न निर्वाचन क्षेत्र र जिल्लाका दर्जनौँ योजना पारिएको आरोप लगाए ।
भूमि बैंक बिचौलिया पोस्न ल्याइएको हो : बस्नेत
नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफलमा सांसद बस्नेतले पिँधमा रहेका किसानको आर्थिक जीवनस्तर उकास्न नभई सीमित व्यक्तिको हितलाई ध्यानमा राखेर भूमि बैंकको व्यवस्था गरिएको आरोप लगाउँदै भन्नुभयो, ‘गरिब किसानहरूलाई उत्पादनमा सहभागी गराउने, उनीहरूको माध्यमबाट भूमिको उत्पादकत्व वृद्धि गर्ने, किसानको वास्तविक जीवनमा परिवर्तन ल्याउने, सामाजिक न्यायलाई स्थापित गर्ने आजको आवश्यकता हो । तर, सीमित व्यवसायीहरूलाई अझ तीभित्र पनि बिचौलियाहरूको पक्षपोषण गर्ने बढी सम्भावना देखिरहेको छु ।’
बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे : ज्वाला
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाउनुभएको छ । बजेटमाथिको छलफलका क्रममा सांसद ज्वालाले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसंगठनका नाममा कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गर्दै भन्नुभयो, ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ । मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसंगठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ । जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’
दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत : पूर्वअर्थमन्त्री कार्की
पूर्व-अर्थमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको दाबी गर्नुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले भन्नुभयो, ‘बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ । यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन् । बजेटले उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको छ ।’
अनुशासनको सीमाभित्र रहेर बजेट आएको छ : गिरी
नेकपा एमालेका सांसद पदम गिरीले अनुशासनको सीमाभित्र रहेर सरकारले बजेट ल्याएको दाबी गर्नुभएको छ । अनुशासनले भोलिका दिनहरूमा योजनालाई कार्यान्वयन गर्ने, पुँजीगत खर्च बढाएर परिणाममुखी बनाउने र उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा विश्वास दिलाएको दाबी गर्दै गिरीले भन्नुभयो, ‘१९ खर्ब ७५ अर्बको सीमाभित्र बसेर १९ खर्ब ६४ अर्ब बजेट ल्याउने काम सरकारले गरेको छ । त्यो अनुशासन कायम गर्ने कुराले भोलिका दिनहरूमा यो योजनालाई कार्यान्वयन गर्न सकिन्छ । नेपालको संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार तीन करोडभन्दा साना आयोजनाहरू संघीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीतिअनुरूप बजेट प्रतिविम्बित भएर आएको छ । यो निकै ठूलो उपलब्धि हो ।’
नाराबाजी र बहिष्कारबीच सदन सञ्चालन
सभामुख देवराज घिमिरेले विपक्षी दल रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारबीच सोमबार पनि प्रतिनिधिसभा बैठकको कार्यसूची जबरजस्ती अघि बढाउनुभएको छ । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिनुभएको थियो । यसपछि बोल्नुभएका रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा छानविन समितिको माग गर्नुभयो । दुई दलका सांसदहरूले बोलेपछि सभामुखले कार्यसूची अगाडि बढाउनुभयो । लगत्तै रास्वपाका सांसदहरू वेल घेराउमा उत्रिएका थिए भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।
प्रमुख प्रतिपक्ष बोल्दा रास्वपा सांसद वेलमा मौन
प्रमुख प्रतिपक्ष दल माओवादीबाट शक्ति बस्नेतले बोल्ने क्रममा रास्वपा सांसदहरू सदनमा नाराबाजी रोकेर मौन बसेका छन् । सत्तापक्षका सांसद बोल्दा वेलमा नाराबाजी गरेका उनीहरू प्रमुख प्रतिपक्षीका सांसद बोल्दा भने मौन बसेका हुन् । सत्तापक्षसँग संसद् सञ्चालन र भिजिट भिसा प्रकरणको छानविनमा सहमति भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले रास्वपा र आफूहरूबीच आरोप–प्रत्यारोप नहुने बताएका थिए ।
पलेँटी कसेर बसेको प्रति सूर्य थापाको नियमापत्ति
नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपाका सांसदहरू वेलमा पलेँटी कसेर बसेको प्रति आपत्ति जनाउनुभएको छ । बैठक कक्षको भुइँमा पलेँटी कसेर बस्नु प्रतिनिधिसभा सञ्चालन २०७९ को दफा २० को विपरीत भएको जिकिर गर्दै थापाले भन्नुभयो, ‘हामी सबै सदस्यहरूले कस्तो मर्यादा पालन गर्नुपर्ने हो, कस्तो मर्यादाका बीचमा बैठक सञ्चालन गर्नुपर्ने हो ? हामी रत्नपार्कमा छौँ कि, शहीदगेटमा छौँ कि, कलंकीमा छौँ कि, पोखरा चिप्लेढुंगामा छौँ ?’ एमालेकै सांसद दामोदर अर्यालले सभामुखको आसनअगाडि रास्वपाका सांसदहरू जुत्ता चप्पल खोलेर विरोध गर्नु संसदीय मर्यादाविपरीत भएको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।
सभामुखले अनुचित काम गरे : अध्यक्ष लिङ्देन
राप्रपाले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले संसदीय परम्पराविपरीत सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अगाडि बढाएको आरोप लगाउँदै भन्नुभयो, ‘बजेटसम्बन्धी छलफलमा सहभागी हुने वातावरण नै सभामुखले बनाउनुभएको छैन । कुनै पनि सांसदले उठेर आफ्नो असहमति जनाइरहेका बेला संसद् अवरुद्ध मानिन्छ । अहिले दुईटा महत्वपूर्ण पार्टीहरूले भिजिट भिसा प्रकरणमा फरक मत राखिरहेका बेला वार्ता र संवादबाट समाधान खोज्नुको सट्टा सभामुखले जबरजस्ती भद्रगोल तरिकाले संसद् अगाडि चलाउनुभएको छ ।’ अध्यक्ष लिङ्देनले बैठकमा सहभागी नभएको दिनको भत्ता पनि नलिने घोषणा गर्नुभएको छ ।
सरकार ढाल्ने योजना सफल हुँदैन : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस र एमालेबीच खेल्न खोज्ने विपक्षीको योजना पूरा नहुने दाबी गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले सरकार ढल्छ भन्ने कोसिस सफल नभएको र फेरि पनि असफल हुने दाबी गर्दै भन्नुभयो, ‘अहिले सरकार ढल्छ भनेर नयाँ गीत गाइएको छ । उनीहरूको कोसिस कामयाव भएको छैन । बजेटमा पनि त्यस्तै कोसिस कायम राखेका छन् । बजेट एमालेलाई कांग्रेसजस्तो भयो, कांग्रेसलाई एमालेजस्तो भयो भनेर टिप्पणी गर्नुको अर्थ छैन । कांग्रेस र एमालेबीच खेलेर व्यर्थमा समय खेर नफाल्नुस् । अरू नै रचनात्मक काममा लगाउनुस् । कांग्रेस-एमालेभित्र बजेटमा छिरेर दुई दलबीच खेल्न नखोजे हुन्छ, त्यो हर्कत पूरा हुँदैन ।’ प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सामान्य छलफल सकिएको छ । छलफल सकिएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सभामा प्रस्तुत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच