
महामहिम राष्ट्रपतिले कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र बलियो हुन्छ भन्ने विचार व्यक्त गर्नुभएको छ । उहाँको यस विचारबाट एकातिर कर्मचारीतन्त्र, अर्कोतिर नागरिक र अर्कोतिर लोकतन्त्र अर्थात् राज्यप्रणाली रहेको देखिन आएको छ । प्रणाली पृथक विषय हो । यो राज्य सञ्चालनका लागि अपनाइएको व्यवस्था हो । यो राष्ट्रको विद्यमान संविधान अनुसार निर्दिष्ट गरिएको हुन्छ । संविधानको भावना प्रतिबिम्बित हुनेगरी राज्य प्रणालीका दरिला खम्बा बनेर अन्य ऐन नियमसमेत निर्माण भएका हुन्छन् । हाल देशमा संघीय लोकतान्त्रिक गणतन्त्र विद्यमान छ । यो संसारको सबैभन्दा उत्तम राज्यप्रणाली हो भन्नेमा दुई मत छैन । यसको विकल्पमा कुनै पनि प्रकारको प्रजातान्त्रिक प्रणाली हुनै सक्दैन । यसको विकल्प खोज्नु भनेको राष्ट्र निरंकुशतातर्फ फर्कनुमात्र हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको आसय पनि यही लोकतन्त्रलाई सुदृढ बनाउनुपर्छ भन्ने नै हो । नेपालमा लोकसेवा आयोग स्थापना भएको र यस आयोगको हीरक जन्मोत्सव सन्दर्भमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । लोकसेवा आयोग कर्मचारीहरूको छनौट, सरुवा, बढुवा, विभागीय कारबाहीलगायत काम गर्नका लागि स्थापना भएको निकाय हो । यसले आफ्नो स्थापनाकालदेखि नै निष्पक्ष भएर विश्वसनीयताका साथ काम गर्दै आएको छ । बाहिर रहेका क्षेत्रीय कार्यालयहरूबाट केही अनियमिता भएका सामान्य घटना बाहिर आउने गरेका भए पनि राजपत्रांकित कर्मचारीहरूको छनौटमा कुनै प्रकारको अनियमिता भएको भन्ने सुनिएको छैन ।
राणा शासनकालमा जसलाई जति बेला पनि जागीरमा राख्न र खोस्न सकिने चलन थियो । वर्षैपिच्छे कर्मचारी राख्ने र निकाल्ने अधिकार कोही पाँडे थरका मानिसलाई दिएको र उनले मनलागी कर्मचारी पजनी गर्ने गरेको कारण हालका दिनमा कर्मचारीहरूको सरुवा, बढुवामा अनियमितता भयो भने ‘पाँडे पाजनी’ भन्ने गरिन्छ । त्यस्तो अवस्था प्रजातन्त्रमा सुहाउने कुरो होइन । त्यसैले प्रजातन्त्र आएपछि कर्मचारीतन्त्रलाई व्यवस्थित गर्न ‘पब्लिक सर्भिस कमिसन’ को नाममा लोकसेवा आयोग स्थापना गरिएको थियो । यसको स्थापनाको ७५ वर्ष भएको छ र अस्ति आइतबार राष्ट्रपति तथा प्रधानमन्त्रीले समेत उपस्थित भएर सम्बोधन गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्रीले पनि लोक सेवा आयोगको कामको प्रशंसा गर्नुभयो ।
उहाँले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदान प्रशंसनीय रहेको धारणा राख्नुभएको थियो । आयोगमा वर्तमान अध्यक्ष तथा अन्य आयुक्तहरूको भूमिका पनि प्रशंसनीय रहेको देखिएको पनि छ । आयोगले कर्मचारीहरूको छनोट गर्ने हो । यसरी गर्ने छनौटमा अनियमिता भयो भने योग्यले पाउनुपर्ने ठाउँ अयोग्यले पाउँछ । जसले गर्दा गर्नुपर्ने कामको उचित सम्पादन हुन सक्दैन । त्यसले गर्दा परिणाम गलत वा विपरीत देखिन आउँछ । यसले कर्मचारीतन्त्रप्रति नागरिकहरूको दृष्टिकोण गलत बन्न जान्छ । कर्मचारीहरू आपूmले सम्पादन गर्नुपर्ने काम सम्पादन नगरी नागरिकहरूका काममा ढिलासुस्ती वा रिसवतमुखी व्यवहार गर्ने गरेका कारण सबै कर्मचारी घुस्याहा हुन्छन् भन्ने आमनागरिकको सोचाइ विकसित बन्न पुगेको अवस्था छ अहिले ।
आरक्षण सुविधा पाएर छनौट भएकाहरूले लोक सेवाको खुला प्रतिस्पर्धाको मिहिनेत थाहा पाएका हुँदैनन् । तिनले सीमित प्रतिस्पर्धामात्र गरेका हुन्छन् र कार्य दक्षता वा क्षमताको पनि कमी हुनेगरेका टिप्पणी जनस्तरमा हुँदै आएको छ । एकातिर कार्यक्षमताको कमी, अभाव पनि रहने र अर्कोतिर सहज रूपमा पदप्राप्तिको अहंकारसमेत रहेको कारण यस्ता कर्मचारीसँग काम लिन सेवाग्राहीलाई अझै कठिन हुनेगरेको छ भनिन्छ । तिनको दक्षता बढाउनुपर्ने आवश्यकता छ । कार्यालयहरूमा सिसीटिभी राखिएको हुन्छ, बडापत्र पनि राखिएको हुन्छ र हाजिर गर्ने विद्युतीय मेसिन पनि राखिएको हुन्छ तैपनि खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान चरितार्थ भइरहेको हुन्छ । केही कर्मचारीलाई घुस लिँदै गर्दा पत्रकारहरूले रंगेहात फेला पारेर सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेर देखाउने र प्रहरीलाई बुझाउने पनि गर्छन् । अर्कोतर्फ यस्ता मामिलामा अख्तियारले दिनकादिन भ्रष्टाचारका मुद्दा दायर गरेकै छ । तर, अनियमिततामा कमी आएको छैन ।
यस्ता अनियमितताका लागि कम्प्युटरको सफ्टवयर नै छुट्टै बनाउने गरिन्छ भन्ने कुरा चर्चामा रहेको अध्यागमन भिजिट भिसा सन्दर्भमा भनिँदै छ । कर्मचारीतन्त्रभित्र असाध्यै राम्रा मानिस पनि होलान् तर बद्नियत राख्ने मानिसको बाहुल्य भएकाले कर्मचारीतन्त्रप्रति नागरिकहरूको विश्वास दिनप्रतिदिन खस्किइरहेको छ । लोक सेवा आयोगले कर्मचारी भर्ना, सरुवा र बढुवाका साथै विभागीय कारबाहीलाई अझै कडा गर्नुपर्ने अवस्था छ । कर्मचारीको सोझो सम्बन्ध नागरिकहरूसँग रहने गर्दछ । नागरिक र कर्मचारीतन्त्रबीचको सम्बन्ध बिग्रिनु भनेको लोकतन्त्रप्रतिको जनधारणा बिग्रिनु हो । वर्तमान दिनहरूमा भएको त्यही हो । त्यसैले राष्ट्रपतिले संकेत गर्न खोज्नुभएको सन्दर्भ पनि त्यही हो ।
अहिले लोकतन्त्रका विरुद्धमा जनमत बढ्दै गएको छ । लोकतन्त्रका विपक्षमा नागरिकहरूमा जति नै असन्तुष्टि भए पनि सडकमा आएका थिएनन् तर केही महिनादेखि नागरिकहरूको ठूलो जमात लोकतन्त्रान्त्रिक गणतन्त्रको विरोधमा नाराबाजी गर्दै सडकमा आइरहेको छ । राजनीति गरेर खारिएका राष्ट्रपतिलाई यो कुरा थाहा भएरै लोकतन्त्रप्रति नागरिकमा आस्था खस्किनुको पहिलो कारण कर्मचारीतन्त्र नै हो भनेर उनीहरूलाई सचेत गराउनुभएको हो । उहाँको यो अभिव्यक्ति सामान्य होइन । यसको अन्तर्य सबैले बुझ्नुपर्छ र त्यसमा पनि कर्मचारीतन्त्रले एकातिर आफ्नो कमजोरी केलाएर त्यसलाई सुधार्ने र अर्कातिर लोकतन्त्रलाई जोगाउने हात आप्mनै रहेछ भनेर गौरव गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच