
बहुदलीय व्यवस्था भन्नु नै विधिको शासन हो न कि हठको । विधिको शासनमा सत्तासीनहरू पनि कानुनको अगाडि निरीह हुन्छन् किनकि विधिको विशेषता समानता हो । सर्वोपरि हो । सत्तासँग शक्ति हुन्छ । शासक विधिद्वारा नियन्त्रित भएन भने ऊ शक्तिले उन्मत्त हुन्छ । विकृति र विसंगति फैलन्छन् । भ्रष्टाचार र कुशासन त्यसका परिणाम हुन् । शासकीय उन्मत्ततालाई नियन्त्रण गर्ने सूत्र विधि हो । विधिको आविष्कार जनतालाई नियन्त्रण गर्नमात्रै नभएर सत्ता र शक्ति दुवैलाई नियन्त्रित र व्यवस्थित गर्ने सशक्त औजार हो । शासकीय हठको अन्त्यका लागि विधिको प्रादुर्भाव भएको हो । विधि निमुखाले मात्रै मान्नुपर्ने कि बलियाले पनि ? यो प्रश्न सधैं अनुत्तरित हुनसक्दैन । कानुनको दृष्टिमा सबै समान भनिए पनि निर्धाहरू जहिले पनि विधिको फन्दामा पर्छन् ।
बलियाहरू किन उम्कन्छन् ? यसलाई विधिको विडम्बना भन्नुपर्छ । विधिको शासनले निमुखालाई न्याय र गरिबलाई आयको व्यवस्था गर्छ भन्ने नारा जप्दै सत्तामा पुग्नेहरू निमुखालाई अन्याय र आफू भ्रष्टाचारमा तल्लिन रहँदा नेतृत्व बद्नाम छ । भ्रष्टाचारले अहिले नेतृत्वमात्र होइन पद्धतिसमेत संकटग्रस्त छ । जनताको असन्तुष्टि नेतृत्वको भ्रष्ट प्रवृत्ति र चरित्रले उत्पादन गरेको कुशासनसँग हो नकि व्यवस्थासँग । व्यवस्थामा विद्यमान कमजोरीहरूलाई संशोधन गर्न सकिन्छ तर शासकको प्रवृत्ति र चरित्र व्यवस्था र व्यक्ति फेरिँदा पनि फेरिएन । फेरि भ्रष्टाचारको धनको खेलले यहाँ राज्यसञ्चालनमा राइँदाइँ गर्नेलाई आवधिक निर्वाचनले पनि फेर्न नसक्दा निर्वाचन निकम्मा भयो ।
प्रश्न उठ्छ ‘पद्धतिले व्यक्ति बिग्रियो कि व्यक्तिले पद्धति बिग्रियो ?’ शासकहरूको भ्रष्टाचार, कुशासन र अनियमितता रूपी चरित्रगत विकृतिको सिकार देश र जनता कहिलेसम्म हुने ? के नेपालमा भ्रष्टाचार, अनियमितता, कुशासन जस्ता रोगको निवारणमा नेपाली राजनीति असफल भएको हो ? आवधिक निर्वाचन व्यक्ति फेर्न असफल हुँदा निर्वाचन फगत निर्वाचनका लागि निर्वाचन भयो नकि परिवर्तन, सुशासन र विकासका लागि ? बेलाबखतमा सत्तासीनहरूमा देखिने घमण्ड, उत्ताउलोपन वास्तवमा शक्ति र सत्ताको उन्मत्तता हो । उन्मत्तताले न्याय, कानुन र जनताका हक–अधिकारलाई अपहरण गर्छ ।
अहिले पनि बोलेको र लेखेको भरमा विनाअध्ययन, अनुसन्धान पत्रकार, लेखक, स्तम्भकार तथा विचारकहरूको कलम र आवाजको मुख श्री ३ को शैलीमा प्रहरीले बन्द गर्छ र पुर्जी थमाउँछ भने संविधानको मौलिक हकको महलमा लेखिएको वाक तथा प्रकाशन स्वतन्त्रताको के अर्थ ?
वाक र प्रकाशन स्वतन्त्रताको अपहरण गर्नेहरू प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित भए पनि उनीहरू वास्तवमा निरंकुशतन्त्रकै अवशेष हुन् । निरंकुशता भनेको तानाशाही प्रवृत्ति हो । नेपालको दुर्भाग्य बहुदलीय व्यवस्थाका सबै प्रधानमन्त्रीहरू निरंकुश भए । तसर्थ सबै सत्तामा रहँदा भ्रष्टाचारमा चुर्लुम्म डुबे । वंशानुगत तानाशाहहरू भविष्यसँग आशावादी हुन्छन् । त्यसैले वंशानुगत तानाशाहहरू तुलनात्मक रूपमा त्यति कठोर र निर्दयी हुँदैनन् जति निर्वाचित तानाशाहहरू । भोलि मेरो सन्ततिको शासकीय हक हरिन्छ कि भन्ने डरले निर्वाचित तानाशाहहरूमा जस्तो भ्रष्ट आचरण, छाडापन र उन्मत्त प्रवृत्ति वंशानुगत तानाशाहमा देखिएन । अनुभवले के प्रमाणित गरेको छ भने वंशानुगत तानाशाहभन्दा निर्वाचित तानाशाह बढी भ्रष्ट देखिए ।
निर्वाचित तानाशाह वास्तवमा छाडा, उन्मत्त र चरम विलासी हुन्छन् भन्ने कुरा हाम्रा कांग्रेस-कम्युनिष्ट नामको बर्कोले ढाकिएका वर्तमान र पूर्वप्रधानमन्त्रीहरूका आलिशान महल, लाखौं-करोडौंका घडी र यिनीहरूको र परिवारको विलासी जीवनशैलीले प्रमाणित गरेको छ । अहिले सत्तामा हुने कांग्रेस, कम्युनिष्ट सबैले लखनउका नवाबको जीवनशैली र चरित्र अवलम्बन गर्दा भ्रष्टाचार चुलियो । भनिन्छ राजनीतिमा सादगी नैतिकता, इमानदारी साथै इन्टिग्रिटी नभएको नेतृत्वबाट जनताका दुर्दिनहरूको सुरुवात हुन्छ । भ्रष्ट र विलासी नेतृत्वका कारण सिर्जित विसंगतिको परिणाम हुन् भ्रष्टाचार र कुशासन । २०४६/०४७ र २०६२/०६३ पछि सत्तामा हुनेहरू सबै काण्डैकाण्डमा मुछिएको घटनाले प्रजातान्त्रिक पद्धतिको दुर्गुण भनेको नै भ्रष्टाचार र कुशासन हो भन्ने भाष्य निर्माण भएको छ ।
नेतृत्वमा हुनेहरू सबैले सत्तालाई भ्रष्टाचारको क्रीडास्थल बनाए । तसर्थ जिम्मेवारीमा रहने सबै भ्रष्टाचारका काण्डमा मुछिएका छन् । वास्तवमा यो प्रजातान्त्रिक पद्धतिको दुर्भाग्य हो । हिजो डेरामा परालको गद्दामा उपियाँसँग खेल्दै दिन गुजार्ने शेरबहादुर जसको न जागिर, न खेती, न उद्योग न ठेक्कापट्टा, न पुस्तौनी सम्पत्ति उनीसँग अहिले काठमाडौंमा १३ रोपनीको कम्पाउण्ड र आलिशान महल कसरी बन्यो ? छोराको नामको सम्पत्ति कहाँबाट भन्ने प्रश्न जनताले गर्न पाउने कि नपाउने ? हिजो काठमाडौंमा विद्यार्थीको डेरा र भान्सा बिना आर्थिक साझेदारी अधियाँ गर्ने रामचन्द्र पौडेल एण्ड कम्पनीहरूका अहिले बनेका महल र राजसी ठाँटको स्रोत के भनेर जनताले प्रश्नसम्म गर्न पाउँदैनन् भने पञ्चायत र अहिलेको शासनको तात्विक अन्तर के ?
सिपी र राधाकृष्ण मैनालीका शब्दहरू सापटी लिँदा केपी ओलीको आर्थिक अवस्था सबैको भन्दा दयनीय थियोे । उनका काठमाडौंका महलहरू न उद्योग, न व्यापार कसरी बने ? पुष्पकमल दाहालको द्वन्द्वकाल र द्वन्द्व व्यवस्थापनसम्मका भ्रष्टाचारको विषय बाबुरामले सार्वजनिक गरेका छन् । सत्तासीनहरूको सम्पत्तिको स्रोत के हो भन्नेलाई पक्राउ पुर्जी काटिन्छ भने संविधानमा लेखिएको कानुनी शासनको र प्रेस स्वतन्त्रताको औचित्य के ? अहिले सत्तामा बस्ने र सत्ता सुखभोग गर्नेहरूको सन्दर्भमा पूर्वमन्त्री लालबाबु पण्डितको मन्त्री पाँचपटक भए पनि बेइमानी नगरीकन काठमाडौंमा घर बन्दैन भन्ने भनाइले २०४७ को परिवर्तनपछि बनेका नेताहरूका घरहरू भ्रष्टाचार र बेइमानीका प्रमाण हुनभन्दा अत्युक्ति हुँदैन ।
अब नेताहरूको सम्पत्तिको विषयमा प्रश्न गर्न बाध्य किन र कसले बनायो ? यस विषयमा गहिरिएर छानविन गर्न र दोषीलाई कारबाही गर्ने इमानदार तर बहादुर प्रधानमन्त्री देशले खोजेको छ । पञ्चायतलाई हामीले अपदस्त गर्नुको मुख्य कारण वाक तथा प्रकाशन स्वतन्त्रतामा बन्देज र भ्रष्टाचार हो तर अहिले भ्रष्टाचार पञ्चायतमा खासै नभएको प्रतीत हुन्छ । वाक तथा प्रकाशन स्वतन्त्रताका पक्षधर वाक तथा प्रकाशन स्वतन्त्रताका लागि भएको संघर्षको क्रममा सहादत भए । त्यही इतिहासको जगमा अहिले हामी शासनमा छौं भन्ने कुरा भुल्नु नै निरंकुशता हो । अहिले पनि वाक तथा प्रकाशन स्वतन्त्रतामा ठाडो हस्तक्षेप यदि हुन्छ भने ती शहीदको रगतको होली हो नकि वाक तथा प्रकाशन स्वतन्त्रताको बन्देज ।
अब अहिले पनि बोलेको र लेखेको भरमा बिनाअध्ययन, अनुसन्धान पत्रकार, लेखक, स्तम्भकार तथा विचारकको कलम र आवाजको मुख श्री ३ को शैलीमा प्रहरीले बन्द गर्छ, पुर्जी थमाउँछ भने संविधानमा लेखिएको वाक तथा प्रकाशन स्वतन्त्रताको के अर्थ ? राजा ज्ञानेन्द्रको शासनकालमा लेखेकै कारण पत्रकार युवाराज घिमिरे घरपकडको सिकार बने । अहिले पनि विचार व्यक्त गरेका कारण, प्रश्न गरेका कारणमात्रै होइन हास्य व्यंग्य र प्रहसन प्रसारणका कारण सोधपुछ, घरपकड र हिरासतको पुर्जी थमाइन्छ भने वर्तमान राजनीतिक पद्धति र ज्ञानेन्द्रको शासनमा अन्तर के ? कारबाही नै गर्नुपर्ने अवस्थामा सरकारले पनि प्रेस काउन्सिलमा उजुरी दिएर प्रेस काउन्सिल वा अदालतमार्फत विधिवत् न्यायको भिख माग्ने हो न कि सोझै धरपकड ?
निर्वाचित तानाशाहले कानुन मान्दैनन् र भ्रष्टाचार, अनियमितता र नातावादको अनुसरणबाहेक सुशासनको विधिविधानको पालना गर्दैनन् भन्ने नजिर हो अहिले टेलिभिजन प्रस्तोता दिलभूषण पाठकलाई जारी भएको पक्राउ पुर्जी । सत्ताधारीले हाम्रो भ्रष्टाचार र कुशासनको विरुद्धमा नबोल्न र नलेख्न गरिएको खबरदारी हो सञ्चारकर्मीहरूको धरपकड र प्रक्राउपुर्जी । शान्तिपूर्ण जुलुसमा भएको निर्मम दमनको घाउँमा खाटा नबस्दै पूर्वप्रधानमन्त्री र वर्तमान परराष्ट्रमन्त्रीको छोराको व्यापार व्यवसायमा भए गरेको अनियमिततासँग सम्बन्धित समाचारको निहुँमा पत्रकार दिलभूषण पाठकलाई पक्राउपुर्जी जारी हुनुभनेको नागरिकको वाक तथा प्रकाशन स्वतन्त्रताप्रतिको ठाडो हस्तक्षेप हो ।
यो पक्राउपुर्जी दिलभूषण पाठकको नाममा जारी भए पनि यो वास्तवमा नेपाली नागरिकहरूको वाक तथा प्रकाशन स्वतन्त्रतामा बन्देज गर्ने षड्यन्त्र हो । यो निरुंकुशताको उत्कर्ष हो । यो वास्तवमा संविधान र कानुनलाई सुरक्षा गर्ने निकायले नै तिमीहरू सबै असुरक्षित छौं भन्ने सन्देश हो । प्रजातान्त्रिक सरकारले राणा र शाही शासनकै शैलीमा लेखक, पत्रकार, स्तम्भकार र टेलिभिजन प्रस्तोतालाई समाचार र विचार सम्प्रेषण गरेको निहुँमा पक्राउपुर्जी जारी हुने विषय बुढी मर्नुभन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो । यस्ता वाक तथा प्रकाशन स्वतन्त्रतामा बन्देज लगाउने काम निन्दनीय र भत्सर्नायोग्य छन् । आफ्नो आङको भैंसी नदेख्ने अर्काको आँङको जुम्रा देख्ने प्रवृत्ति हो ।
अहिले जिम्मेवारीमा रहने भ्रष्टाचार नगर्ने कोही पनि छैनन् । भ्रष्टाचारको सत्य र तथ्यबारे बेखबर हुन चाहने सरकारले जुन दमनको नीति अख्तियार गरेको छ यसले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कमजोर बनाएको छ भने भ्रष्टहरूको मनोबललाई उच्च बनायो । पत्रकारलाई समाचार प्रकाशन गरेको कारणले थुनुवापुर्जी थमाउने काम सत्ताको उन्मत्तता हो । कलम र आवाजलाई पक्राउपुर्जी जारी गर्ने प्रजातन्त्रको मुकुण्डो लगाएका तानाशाह हुन् । यो प्रजातान्त्रिक पद्धतिको बद्नाम हो । देशमा लुटतन्त्र मच्चाउने र जनतालाई तर्साएर शासन गर्ने रणनीति हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा दैनिक पचासौं लाखको घुस असुलीमा उच्चपदस्थसमेत संलग्न भएको घटनाले एकातिर देशलाई भ्रष्टहरूले दिनहुँ लुट्दैछन् भन्ने प्रमाणित भएको छ भने अर्कोतिर खोज पत्रकारितामा अनुभवी र अब्बल पत्रकारलाई एक्कासि घडपकडको पुर्जीले निर्वाचित तानाशाहहरूको उन्मत्तताले प्रजातान्त्रिक पद्धतिको उपहास हुँदा जनतामा निराशा छाएको छ ।
यस्तो क्रियाकलाप प्रजातान्त्रिक पद्धतिमा किमार्थ शोभनीय मानिँदैन । वंशानुगत तानाशाहहरूको तुलनामा निर्वाचित तानाशाहहरू भोका हुने भएकोले सत्ता र शक्तिको आडमा यिनीहरूको भ्रष्टाचार, दमन, उत्पीडन, विलासिता र उन्मत्तता खपी नसक्नु हुन्छ । धनको भोक मार्ने साधन यिनीहरूले भ्रष्टाचारलाई बनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा दैनिक पचासौं लाखको घुस असुलीमा उच्चपदस्थसमेत संलग्न भएको घटनाले एकातिर देशलाई भ्रष्टहरूले दिनहुँ लुट्दैछन् भन्ने प्रमाणित भएको छ भने अर्कोतिर खोज पत्रकारितामा अनुभवी र अब्बल पत्रकारलाई एक्कासि घडपकडको पुर्जीले निर्वाचित तानाशाहको उन्मत्तताले प्रजातान्त्रिक पद्धतिको उपहास हुँदा जनतामा निराशा छाएको छ ।
त्रिभुवन विमानस्थल अन्तर्गतको अध्यागमनमा घुस संकलन गर्ने र घुसबाट संकलित रकम बाँड्ने छुट्टै सफ्टवेयरको व्यवस्थाले यसको लहरो सर्वोच्च पदसम्म पुगेको छैन भन्न सकिँदैन । सत्तासीन कांग्रेस र एमाले दुवैले यस प्रकरणमा संसद्मा उठेको आवाजलाई उच्चस्तरीय छानविन आयोग बनाएर सम्बोधन गर्नुपर्नेमा गृहमन्त्री लेखकलाई चोखो प्रमाणित गरेर घुस संकलन र वितरणमा प्रयोग हुँदै आएको सफ्टवेयरलाई दण्डित गर्नुको साटो वैधानिकता दिने क्रियाकलाप राष्ट्रमा भ्रष्टाचारको साम्राज्य खडा गरेर नेपाललाई विश्वमै धेरै भ्रष्टाचार हुने राष्ट्रमा दर्ता गर्ने प्रयसको जतिसुकै निन्दा र भत्सर्ना गर्दा पनि कम हुन्छ ।
अहिले नेपालमा व्यवस्था प्रजातान्त्रिक तर शासकहरू निरंकुश र तानाशाही छन् । प्रजातान्त्रिक संविधानअन्तर्गत निर्वाचित पदाधिकारीले नै प्रजातान्त्रिक मूल्य र मान्यताविपरीतका क्रियाकलापका कारण नेपाली शासक अहिले इतिहासमै अत्यधिक बद्नाम र अलोकप्रिय छन् । करको दर अत्यधिक हुने, करबाट संकलित राजस्व दुरुपयोग हुने अवस्था र व्यवस्थाले नेपाली जनता वर्तमान सत्तासँग रुष्ट छन् । प्रजातान्त्रिक शासन पद्धति भनेको व्यक्ति शासित नभएर विधि शासित हुन्छ तर नेपालमा अहिले विधिको शासन नभएर व्यक्तिको शासन छ । शासकहरू नियम, कानुन र व्यवस्थालाई सधैं खेलौना सम्झन्छन् । भ्रष्टको अगाडि कानुन निरीह छ ।
फेरि भ्रष्टाचारले अहिले सत्तामा हुनेहरूमा सत्ताको मात्रै मात नभएर यिनीहरू धनमत्त पनि छन् । भ्रष्टाचारको धनले यिनीहरूको सोच र मस्तिष्कमा बादल लागेको छ । तसर्थ यिनीहरू जनभावनाविरुद्धको निर्णयमा रमाउँछन् । यिनीहरूले इमानदारी र नैतिकतालाई राजीनामा गरेका कारण यिनीहरूबाट इमानदारीता र सुशासनको अपेक्षा गर्नु भनेको मरुभूमिमा पानीको कुवाको कल्पना गर्नु जस्तै हो । चाहे निर्वाचित तानाशाह हुन् वा वंशानुगत ती सबैको निसाना प्रेस र कलमजीवी हुन्छन् । जहाँ विचारलाई दमन गर्ने धृष्टता सत्ताले गर्छ त्यहाँ पद्धति नै असफल हुने सम्भावना उच्च हुन्छ । राणा र शाहहरू सत्ताचुत हुनुको कारण नै विचारको दमन हो ।
प्रजातान्त्रिक शासनबाट विधि, पद्धति र संस्कृतिलाई यदि अलग गर्ने हो भने त्यो जीवबाट प्राणलाई अलग गरे जस्तै हो । प्रजातान्त्रिक शासनको प्राण नै विधि, पद्धति हो, प्रजातान्त्रिक संस्कार र संस्कृति हो भन्ने विषयलाई बेवास्ता गर्ने हठवादी शासक निर्वाचनका माध्यमले सत्तासीन भए पनि तिनीहरू प्रजातन्त्रको मुकुण्डोधारी तानाशाह हुन् । सबै तानाशाहको प्रवृत्ति नै हठको शासन हो नकि विधिको । अबको युगमा हठको शासनको भविष्य छैन विधिको शासनको विकल्प छैन । यसलाई आत्मसात नगर्ने नेतृत्व र पार्टीको पनि भविष्य छैन । भविष्य खोज्नेले समयमा नै सोच ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच