
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचिएको दिन सोमबार राती नेदरल्याण्ड्सले नाटकीय जित हासिल गरेको छ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सले तेस्रो सुपर ओभरमा नेपाललाई पराजित गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि कुनै पनि टी-२० खेल तेस्रो सुपर ओभरमा पुगेको थिएन । तर, सोमबार राती टिटउट रंगशालामा सम्पन्न नेपाल र नेदरल्याण्डसबीचको खेल तेस्रो सुपर ओभरमा धकेलिएको थियो ।
निर्धारित २० ओभरको खेल बराबरीपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले बाजी मारेको हो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएको थियो । दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल फेरि तेस्रोपटक सुपर ओभरमा गएको थियो । तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन । १ रनको लक्ष्य नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्यो । यो नेपालका लागि १००औँ टी-२० अन्तर्राष्ट्रिय खेल पनि थियो । तर, अब यही कारणमात्र नेपालले तीनदेशीय टी-२० शृंखला सम्झिनुपर्ने कारण हुने छैन । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमै यो पहिलो तीन सुपर ओभरको खेलका रूपमा सधैं रहनेछ ।
पहिलो सुपर ओभरमा कप्तान रोहित पौडेलले पहिलो बलमा १ रन लिएपछि स्ट्राइकमा आउनुभएका कुशल भुर्तेलले २ छक्का र १ चौकासहित १८ रन जोडेर ओभरको अन्तिम बलमा आउट हुनुभयो । जवाफमा नेदरल्याण्ड्सबाट माइकल लेभिटले पहिलो बलमा छक्का प्रहार गर्नुभयो भने तेस्रो बलमा लेग बाईबाट १ रन लिनुभयो । त्यसपछि स्ट्राइकमा आउनुभएका म्याक्स ओडडले अन्तिम ३ बलमा १२ रन जोड्नुभएको थियो । जसमा अन्तिम २ बलमा छक्का र चौका प्रहार गर्नुभएको थियो ।
दोस्रो सुपर ओभरमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डसले १० रन बनाई ओभरको अन्तिम बलमा आउट हुनुभयो । म्याक्स ओडड ७ रनमा रिटायर्ड हुनुभयो । जवाफमा नेपालबाट रोहितले पहिलो बलमै केयल क्लेइनलाई छक्का प्रहार गर्नुभयो भने दोस्रो बलमा १ रन बनाउनुभयो । तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गर्नुभयो । चौथो र पाँचौं बलमा कुनै रन प्रहार गर्न नसक्नुभएका दीपेन्द्रले छैटौंमा छक्का प्रहार गरेपछि स्कोर पुनः बराबर भएको थियो ।
तेस्रो सुपर ओभरमा रोहित पहिलो बलमै आउट हुनुभयो । त्यसपछि आउनुभएका रूपेश सिंहले दोस्रो र तेस्रो बलमा रन बनाउन सक्नुभएन भने चौथो बलमा आउट भएपछि नेपालले कुनै रन बनाउन सकेन । माइकल लेभिटले पहिलो बलमै सन्दीप लामिछानेलाई छक्का प्रहार गरेपछि नेदरल्याण्ड्सले खेल जितेको थियो ।
यसअघि निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि स्कोर बराबर भएर खेल सुपर ओभरमा गएको थियो । कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए पनि फिनिस गर्न सक्नुभएन । उहाँले ३५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काउनुभएको थियो । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३४ रन बनाउनुभयो । उहाँले केवल २३ बलमा पाँच चौका पनि हिर्काउनुभयो । रूपेश सिंहले १९ रन बनाउनुभयो । किरण ठगुन्नाले पनि १५ रन बनाउनुभयो । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त रूपमा आठ रन पाएको थियो ।
नेपाललाई अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा सन्दीप लामिछाने र नन्दन यादव क्रिजमा हुनुहुन्थ्यो । सन्दीपले पहिलो बलमा २ रन लिनुभयो भने दोस्रो बलमा १ रन लिएर नन्दनलाई स्ट्राइक दिनुभयो । तेस्रो बलमा नन्दनले चौका प्रहार गर्नुभयो । चौथो र पाँचौं बलमा २-२ रन लिएर अन्तिम बलमा ५ रन आवश्यक हुँदा नन्दनले चौका प्रहार गर्नुभएको थियो ।
नेदरल्याण्ड्सका डानियल डोरामले ४ ओभरमा १४ रनमात्र दिएर ३ विकेट लिनुभयो । विक्रमजित सिंहले ४ ओभरमा ३० रन दिएर २ विकेट लिनुभयो । काइल क्लेइन, बेन फ्लेचर र जाच लायनले १-१ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउँदै नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाउनुभयो भने विक्रमजित सिंहले ३० तथा साकिब जुलफिकरले अविजित २४ रन बनाउनुभयो । ओपनर माइकल लेभिटले २० तथा म्याक्स ओडउडले १९ रन बनाउनुभयो । जाच लायन काचेटले ११ रन बनाउनुभयो । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिनुभयो । नन्दन यादवले २.५ ओभरमा १८ रन दिएर २ विकेट लिनुभयो । ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिनुभयो । यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२० आईमा ब्याटर किरण ठगुन्ना र बलर रूपेश सिंहले डेब्यु गर्नुभएको थियो । आइतबारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्ड्स घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । तीन टोलीले डबल राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच