
पश्चिम एसिया युद्धको आगोमा जल्न लागेको छ । यो आगो सिरिया, लेवनान, यमन हुँदै क्रमशः अहिले इरानसम्म फैलिएको छ । दुई वर्षअघि निर्दोष इजरायली नागरिकविरुद्ध हमासले गरेको क्रूर, निन्दनीय आतंककारी हमलाको मूल्य चुक्ता गर्दै गाजापट्टी क्षेत्रका साठी हजारभन्दा बढी निर्दोष नागरिकले आफ्नो अमूल्य जीवन गुमाइ सकेका छन् । हमास, हुतु, हिज्वुल्लाह जस्ता संगठनहरूले मध्यपूर्व एसिया वा पश्चिम एसिया सदा विचलित भइरहेको छ । यस्ता संगठनहरूलाई हातहतियार दिने, धनराशि जोहो गरिदिने, तालिम र सुरक्षार्थ जमिन दिनेहरू धर्म र राष्ट्रवादको आवरणमा धेरै देश र समाज पनि उत्तिकै छ । इजरायल सानो यहुदी देश चारैतिर इस्लामिक देशहरूको घेराबन्दीमा रहेर पनि आफ्नो अस्तित्व जोगाउन सफल भएको छ । सन् १९४७ मा मात्रै स्थापित भएको इजरायललाई महाशक्ति राष्ट्र अमेरिकाको बलियो समर्थन छ । अमेरिका मात्रै नभएर अमेरिकासम्बद्ध सहयोगी सबै राष्ट्रहरू इजरायलका पक्षमा छन् भन्ने तथ्य विगत असी वर्षको इतिहासमा प्रमाणित भएको विषय हो । अहिले युद्धको डढेलोका बीचमा हुँदै गरेको जी-७ को बैठकमा समेत इजरायलका पक्षमा खुलेर नेताहरू देखिनुले थप पुष्टि हुन्छ ।
प्यालेष्टाइनहरूले इजरायली खेलाडीहरूलाई असीको दशकमा क्रूरतापूर्वक हत्या गरेपछि इजरायल र इस्लामिक देशहरूबीच सम्बन्ध कहिल्यै पनि प्रिय देखिएको छैन । यासेर अराफातको नेतृत्वमा प्यालेष्टाइनहरूको संघर्ष निकै वर्ष चल्यो र अन्ततः सहमतिमा टुंगोमा पुग्यो । गाजापट्टी क्षेत्रमा प्यालेष्टाइनहरूलाई बसोवासको व्यवस्था गरी स्वतन्त्र भूमिका मिलेको हुनाले यो क्षेत्रमा केही हदसम्म शान्ति स्थापना भएको थियो । तर हमास, हुनु हिज्वुल्लाह जस्ता अतिवादी संगठनहरूले निरन्तर इजरायलविरुद्ध अभियान चलाएपछिको दुष्परिणाम अहिले इरानसम्म देखिएको छ ।
नब्बेको दशकमा इरान र इराकबीच भयानक युद्ध भयो । निरन्तर युद्धबाट आक्रान्त इरानले आत्म सुरक्षाका लागि आणविक क्षमता विकास गर्ने प्रयास गरिरहेको छ । पहिले पनि यस्तो प्रयास इरानले नगरेको होइन । तर, इजरायलले आकस्मिक आक्रमण गरी पहिलो प्रयास असफल बनाएको थियो । तर, विगत पन्ध्र वर्षयता इरानले आफूलाई मजबुत बनाइसकेको देखिन्छ । दुई दशकमा उत्तरकोरिया आणविक राष्ट्र भएको अवस्था छ भने इरान आणविक राष्ट्र घोषित हुने अन्तिम प्रयासमा थियो । एसियाली देशहरूमा भारत, चीन, उत्तरकोरिया, पाकिस्तान पछि इरान सशक्त हुने तयारीमा जुटेको हुनाले सम्भवतः अमेरिकाले समेत इरानलाई रोक्ने योजना बनाएको हुनुपर्छ । यसै पनि अमेरिकाविनाको इजरायलको हैसियत निकै नगण्य हुनेछ ।
जी-७ को बैठक बीचमा नै छाडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वदेश फर्किनु भएको छ । फर्कनुअघि उहाँले तेहरान खालि गर्ने चेतावनी र धम्कीसमेत दिन बिर्सनु भएको छैन । सत्तरीको दशकसम्म अमेरिका र इरान अत्यन्त नजिकका मित्र थिए र तत्कालीन राजा रेजा पहल्वी शाहसँग अमेरिकी मित्रताले इरानको सामाजिक र आर्थिक व्यवस्थामा इस्लामिक मान्यता विपरीत निकै परिवर्तनहरू गराएको थियो । अकस्मात् रेजा पहल्वीको शासनविरुद्ध इरानमा विद्रोह भयो र उनी परिवारसहित सत्ताच्युतपछि विदेशीन बाध्य भए । तर अमेरिकामा नै बसिरहेका धार्मिक गुरु नेता आयातोल्लाह रुल्लाह खोमेनीको नायकत्वमा इरानको बाटो परिवर्तन भयो र घोर अमेरिका विरोधी हुनपुग्यो । आजका दिनमा अमेरिकाका लागि उत्तरकोरिया र इरान समान देखिन्छन् ।
करिब नौ करोड जनसंख्या, प्रचुर तेल स्रोत, औपचारिक-अनौपचारिक गरी एक करोड सेना र इजरायलको तुलनामा विशालकाय भूमि भएको इरानसँग इजरायलले किन यसैबेला पौठाजोरी खेल्न लागेको हो ? त्यसमा पनि दुई वर्षयता निरन्तर युद्धमा नै अल्झिरहेको इजरायलसँग एक करोड जनसंख्या पुग नपुग छ । प्रतिरक्षा प्रणालीमा महाशक्ति राष्ट्रहरूको दाँजोमा रहेको भए पनि इजरायलसँग युद्ध लड्ने तागत कति छ भन्ने प्रश्न उठेका छन् । इरान र इजरायल युद्धको प्रभाव संसारभर देखिएको छ । केही देशहरू खुलेर पक्षविपक्षमा पुगेका छन् । दक्षिण एसियाको सीमा नजिक भइरहेको युद्धमा यस क्षेत्रका दुई ठूला राष्ट्रहरू भारत र पाकिस्तान भने अझै बोलेका छैनन् । युद्ध रोकिनुपर्छ र संवादबाट नै समस्याको समाधान हुनुपर्ने उनीहरूको धारणा छ । पाकिस्तानसँगको विवादमा इजरायलले भारतलाई सबैभन्दा बढी गुन लगाएको थियो । पाकिस्तानका पक्षमा इरानको सहानुभूति भए पनि टर्की जस्तो खुलेको थिएन ।
महाशक्ति राष्ट्र रुस र महाशक्तिकै दाँजोमा पुगेको चीन भने इरानका पक्षमा नरम देखिएका छन् । आणविक अप्रसार सन्धिमा सहभागी नभई इरानले आणविक कार्यक्रम सञ्चालन गरिरहेको हुनाले इजरायलमात्रै नभएर अरू इस्लामिक राष्ट्रहरू पनि सशंकित छन् । यो युद्धको आधार धर्मको विषय नभएको हुनाले इरानका धेरै इस्लामिक राष्ट्रहरू पनि इजरायलविरुद्ध खुल्ने सम्भावना न्यून छ । तर, इरानका पक्षमा समर्थन गर्नासाथ अमेरिकाले इजरायललाई पूर्ण सहयोग गन, उसको स्रोत–शक्तिको क्षय हुनेभएको हुनाले चीन र रुसको स्वाभाविक समर्थन इरानलाई हुनसक्छ । तर, पाकिस्तानले अहिले समर्थन गरेजस्तो देखाए पनि अमेरिकी सहयोगको भारी बोकिरहेको हुनाले धेरै अगाडि बढ्ने अवस्थामा छैन । तर, यो युद्ध रोकिएन र विस्तारित हुँदै गयो भने तेस्रो विश्वयुद्ध सन्निकट हुने विज्ञहरूको प्रक्षेपण छ ।
इजरायल नेपालीहरूको रोजगारीको एक प्रमुख गन्तव्यस्थल हो र इरानमा पनि केही नेपालीहरू रोजगारीमा पुगेका छन् । तत्काल नटुंगिने जस्तो गरी सुरु भएको इजरायल र इरान युद्ध अत्यन्त क्रूर देखिँदै छ । हजारौं मानिसहरूको ज्यान जाने, भौतिक संरचनाको विनाशलीला, अपांग हुने सम्भावना देखिँदैछ । यस्तो समयमा नेपालले तत्काल आफ्ना नागरिकहरूको सुरक्षार्थ उपाय खोज्नुपर्ने, सम्भव भएसम्म उद्धार गर्नुपर्ने हुन्छ । यसमा सरकार प्रतिक्षण सुसूचित हुनुपर्छ । यो सँगै युद्धबाट आमनेपालीलाई पर्नसक्ने असर खासगरी मूल्यवृद्धि भएकाले सरकार गम्भीर हुनुपर्छ । नेपाल संयुक्त राष्ट्र संघको वडा पत्र, असंलग्न राष्ट्रहरूको सिद्धान्त आदिको पक्ष हो । यद्यपि असंलग्नताको मान्यता त स्खलित भइसकेको छ । तैपनि नेपालले युद्ध रोक्न आग्रह गर्नु अनिवार्य छ । नेपालको परराष्ट्र नीति युद्धका पक्षमा हुनसक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच