
ढुकुरको अनुहारका बाज
संसारका कुनै पनि देशमा सरकार हुन्छ । शासन पद्धति हुन्छ । देश भएपछि जनता पनि हुने नै भए । नेपाल पनि यी तीन कुराबाट वञ्चित कहिल्यै पनि भएको इतिहास छैन । तर शासक, शासित र देश जस्तो किन छैन ? आज पनि देश, देश बनेको छैन सरकार छ तर सरकार जस्तो छैन । जनता छन् तर तीनले जनताको चरित्र विकास गर्न सकेका छैनन् । जनतामा विवेक, विचार तथा स्वतन्त्र चिन्तन हुनुपर्छ । यस्तो भएन भने सभ्य देशमा सरकार, राजनीतिक दल सबै मिलेर जनतालाई आवश्यक पर्ने सुखसुविधा र शिक्षादीक्षाको सहज व्यवस्था मिलाउन लाग्छन् ।
यस देशमा यस्तो गरेको कहिल्यै किन देखिँदैन ? किनभने नेपालमा कांग्रेस, एमाले, मधेसवादी, प्रान्तवादी, खुकुरी दल, बञ्चरो दल जति पनि दलहरू छन् ती सबै ढुकुरको अनुहारका बाज रहेछन् सबै कमाउन, थुपार्न र लुट्न केन्द्रित रहेका देखिन्छन् । गीतकारले ‘लुट्न सके लुट्’ भनेर गीत बनाए । गायकले गाए तर सरकारले सुनेन सरकारमा पुगेका रक्त चन्दन, वन, पाखापखेरालगायत सबै बेचविखन गर्दा पनि नअघाएर भिजिट भिसामा जनता बेच्न पनि लागेका रहेछन् लामै समयदेखि । यहाँ राजतन्त्र रहँदा पनि भाइभाइका बीचमा मारकाट हुन छाडेन । राणातन्त्रमा त त्यसले पराकाष्ठा नै छोएको थियो ।
नेपाली जनता सधैं गरिब, लोभी विवेकहीन लिनमात्रै जान्ने देखिएका छन् भने यो देशको शासन गर्न जाने त दलीय पद्धतिमा राजनीतिक दलबाटै हो भने त्यहाँ जहिले पनि शारीरिक बल नभएको सिकार खेलेर खान नसक्ने अवस्थामा पुगेको वृद्ध तर हिंस्रक वृत्तिको निष्करुण बाघका भूमिकामा रहेको देखिन्छ ।
कांग्रेस काल, एमाले काल, माओवादी काल, मधेसवादीका लगायत जुन-जुनकाल आए पनि राजनीति मारकाट, छलछाम, घूसघास, ठगठागका प्रतिस्पर्धामा कमी भएन । यस कलामा नयाँ-नयाँ तरिका र शैली अनि स्वरूप निर्माणमा भने नेपाललाई विश्वमा नै एक बनाएका हुनाले ट्रम्प जस्ता व्यापारी नेताले पनि ‘नेपाली नेताहरू फटाहा र भ्रष्ट छन्’ भन्न विवश बन्नुपर्यो । देशमा घडियाल गोही जताततै भएका कारण रुस र युक्रेनका लडाइँमा गएर पनि नेपाली युवक बत्तीको पुतली बन्न विवश भए । शासकले कहिल्यै जिम्मेवारी बोध गर्नुपरेन । शासनमा गएका मानिस सेवक या रूपान्तरक होइन मालिक, धुताहा, लुटाहा र अमानवीय शक्तियुक्त जहिले पनि देखिए या देखिने प्रयास सबैले गरे ।
अछुतो कोही पनि भएनन् । भाषणमा चाहिँ ‘स्वीच थिच्नेबित्तिकै प्रत्येक नेपालीका भान्सामा ‘भ्वार्र’ ग्याँस बल्ने, नेपालका ठाडा खोलाखोल्सामा पानीजहाज चल्ने, हिमाल छेडेर रेलमार्ग बनाउने, हावाबाट बिजुली बालेर देशै झिलिमिली बनाउने स्वप्न पनि बाँडे कसैले’ तर ‘धाकभन्दा धक्कु ठूला हिँड्ने बेलामा खुट्टा लुला’ देखिए । देशका तीन–तीनवटा पूर्व र वर्तमान प्रधानमन्त्री मिलेर भूमाफियामा बिकेका खबरमात्र होइन तथ्यकै आधारमा न्यायालयका ढोकामा नै मुद्दा पु¥याइयो । आपूर्ति, निर्णय, आचरण र क्रियान्वयन क्षमताका दृष्टिले सबै निकम्मा सावित भए ।
सोच्ने कि भिड्ने ?
यति हुँदा पनि यस देशका न जनता सचेत भएका छन् न त नेता भनाउँदा बाजले नै आफ्नो ढुकुरे चरित्रमा फर्कने प्रचेष्टा गरेका छन् । अहिले पनि हामी ढुकुर हौं भन्न व्यस्त छन् बाजहरू भने ढुकुर वृत्तिका जनता बाजलाई अविश्वास गर्नै सक्दैनन् । दैनिक लाखौं ढुकुरका बचेरा ५५ डिग्रीका भुत्भुतेमा रोजगारी खोज्न जान्छन् र कतिपय बाकसमा बन्द भएर फर्केको देख्दा पनि यी बाज रहेछन् भनेर कसैले सञ्चेतना प्रदर्शन गरेको छैन । पञ्चतन्त्रमा एउटा कथा छ बुढो बाघ र लोभी ब्राहृमणको । नेपाली जनता सधैं गरिब, लोभी विवेकहीन लिनमात्रै जान्ने कन्धने पुरोहितका रूपमा देखिएका छन् भने यो देशको शासन गर्न जाने त दलीय पद्धतिमा राजनीतिक दलबाटै हो भने त्यहाँ जहिले पनि शारीरिक बल नभएको सिकार खेलेर खान नसक्ने अवस्थामा पुगेको वृद्ध तर हिंस्रक वृत्तिको निष्करुण बाघका भूमिकामा रहेको देखिन्छ ।
जहानियाँ शासन आरम्भ गर्ने कुँवर होस् या एउटी विधवामा आसक्त भएर देशका प्रसिद्ध मठमन्दिरका देवमूर्तिमा मानवीय विष्टा दल्ने राजा भनाउँदा हुउन् । विनाकारण प्रजातन्त्रको घाँटी रेटेर एक व्यक्ति, एक शासक, एक भेष, एक देश, एक नियम एक कानुन निर्दलीयताका नाममा लागू गर्ने हुउन् । आफूले भनेको नहुने अवस्थामा बारम्बार मध्यावधिमात्र देख्ने हुन् कि मध्यावधि घोषणा गरेर चुनाव नगराउने हुन् यी सबै बुढो बाघकै चरित्रका हुन् भन्न सकिन्छ । पञ्चतन्त्रमा एउटा अर्को पनि कथा छ वनराज सिंहको र भासुर नामक गधाको । नेपालका वर्तमान प्रधानमन्त्री र मन्त्री तथा तिनको आधार दलका सबै भासुर नामक गधाको भूमिकामा रहेका देखिन्छन् ।
बुद्धि, विवेक, आचरण र स्मृति, मेधाविनाको मान्छेलाई गधा भनेर गाली गर्ने प्रचलन नेपाली समाजमा पनि छ । पटकपटक निकम्मा साबित भएका पनि पुनः पुनः देश चलाउने ठाउँमा पुग्न अनेकौं तिगडम गर्छन् तर कर्तव्य भुलेर आफ्नो र आफन्तको पेट भर्ने धन्दातिर मात्र ध्यान दिन्छन् त्यस्तालाई संकेत गर्ने भासुर गधाको कथा एकपटक हाम्रा राजनीतिकर्मीलाई पढ्न अनुरोध नेपाली बौद्धिक समुदायले पनि गर्नु आवश्यक भएको देखिन्छ । नियम कानुन नमानेर आफ्नै हट लागू गर्न चाहने र त्यस्ता क्रियाकलापको विरोध नगर्ने अनुयायी यस देशका राजनीतिक दलमा भरमार छन् । के यो पनि व्यवस्थाको दोष हो ? आजको संसदीय दृश्य मौलिक चरित्र हो कि ?
मान्छे काट्नु खुकुरीको दोष हो कि खुकुरी चलाउनेको ? कि खुकुरी बनाउने बिचरो त्यो शिल्पीको ? यो देशका मान्छेमा किन विवेक हरायो ? यस्ता कुरा सोचेर सुध्रन प्रयास गर्ने कि एउटा गीतमा ‘आमा मलाई त्यही केटी चाहिन्छ’ भने झैँ मैले जे गरेँ जे बोलेँ त्यही सत्य र ठीक हो भनेर जग हँसाउने ? आजका दिनमा नेपाली संसद्, नेपाली सरकार अनि नेपाली राजनीतिक दलका हठ र मूर्खतालाई नियाल्ने विश्व मानव हाँसिराखेका होलान् भन्ने चेत कहिले पलाउने ? हुन त बाख्रा चराउन वनमा गएका बेला अर्की गोठाल्नीले गाएको गीतमा ‘हुइवा’ (हुर्रा) लाएर मनको धोको पूरा गर्नमात्र जानेका व्यक्ति देशको प्रधानमन्त्री बनेपछि यसभन्दा गतिला कुराको आस कसरी गर्ने ?
अति भयो अब जागौं
अन्याय गर्नेभन्दा अन्याय सहने बढी अन्यायी हुन्छ भन्ने भनाइलाई सम्झेर नै भए पनि अबका दिनमा नेपाली जनता ब्युँझनुपर्ने बेला भएको छ । अब पनि नब्युँझने हो भने आफ्नै लागि बियाँलो हुन्छ । मकैका धानचमरलाई चामल बनाउन रावणले बियाँलो गर्दा जगत् ठगियो । उसैले स्वर्ग जाने भ¥याङ बनाउन पनि बियाँलो गर्दै भोलिपर्सि गरौंलाभन्दा भन्दै त्यो भोलिपर्सि नै उसका जीवनमा आएन रे भनेर बुढापाका मलाई सुनाउँथे, कतै त्यस्तै हामीलाई पनि नहोस् । हुन त आजको हाम्रो संसद् हाम्रो संसारको ठ्याक्कै प्रतिरूप छ । हाम्रो संसारमा लुटेरा, ज्यानमारा, ठग, चोर, डाका, आचरण पतीत, विचारभ्रष्ट, असल चिन्तन र आचरण भएका, उपकारी, दानशील, ढोंगी, गोठाला, बौद्धिक, देख्दाका डाल ढिँडाको काल, अनेकौं प्रकारका कर्म, आचरण र क्षमता भएका छन् ।
विचार गर्दा ‘जेहने बाप तेहने बेटा, जेहने बाँस तेहने सोटा’ भनेर मैथिली समाजले भनेको र दूध गुन बुद्धि बीज गुन जात भनेर नेपाली उखानले पनि त भनेको भेटिन्छ । समाज जस्तो छ त्यस्तै संसद् हुनुभनेको अहोभाग्य मान्न किन नसकेका हामीले ? अनि हामीले हाम्रो संसद्मा, मन्त्रिमण्डलमा त्यसको प्रतिरूप देखिँदा मन किन कुँड्याउने ? गोठाला खेतालाले देशविदेश नजान्लान् तर खेतबारी खन्ने, कान्ला भत्काउने, हुर्केका छोरीचेली कुदाउने, कसका राम्रा बुहारी छन् भनेर चियो गर्ने कलामा त तिनै निपुण हुन्छन् नि । गोठालाले दूध तताएर एक डाडु लुकाएर टुँडेसो लायो भनेर किन आँखा लाउने ? मखुण्डी बुहारीलाई ताल्चासाँचो दिएपछि घरको ढिकुटी रित्तन्छ भन्ने अनुभव पुर्खाले सुनाएकै थिए ।
दूध गुन बुद्धि बीज गुन जात भनेर नेपाली उखानले पनि त भनेको भेटिन्छ । समाज जस्तो छ त्यस्तै संसद् हुनुभनेको अहोभाग्य मान्न किन नसकेका हामीले ? अनि हामीले हाम्रो संसद्मा, मन्त्रिमण्डलमा त्यसको प्रतिरूप देखिँदा मन किन कुँड्याउने ?
अनि अहिले आएर भ्रष्ट पत्नीको परिगणना सामाजिक सञ्जालमा किन निकालेको ? ‘विवेक भ्रष्टानां भवतिविनिपातोशतमुखः’ जसको विवेकै भाँच्चिएको हुन्छ त्यसको ओरालो लाग्ने मार्ग गणना गर्न सकिन्छ र ? सिंगो समाजको बाहृयान्तरिक संरचना र संस्कार चिन्तन नबदलेसम्म हाम्रो समाजको प्रतिरूपकै बन्छ हाम्रो संसद् पनि र सरकार पनि । आँपका रूखमा स्याउ फल्दैन । कागतीमा सुन्तलाको गुलियोपना छैन भन्दैमा कागती त्याज्य हुन्छ र ? सुन्तला मीठो छ भन्दैमा त्यसलाई ओखतीमा प्रयोग गर्न मिल्छ र ? खेतबारी जोते, खनेर अन्न, फलफूल लाए उदासे र भालुझारले उम्रने ठाउँ पाउँछन् र ? क्रान्तिका नाममा आएका घसेटा, दलका रूपमा जम्मा भएका पतिंगर पूजा गर्ने संस्कारले ठूला उद्योगको विकास गर्न कसरी सकोस् ?
मौरी मिहिनेती हुन्छ तर आफू सुखी हुन्छ र ? बाघ चान्द्रायणव्रती बनेको कहिल्यै कतै सुनिएको छ ? हामी कामै त्यस्तै गर्छौं बाघ र बाख्रासँगै चराउन या एकै खोरमा राख्न खोज्छौं अनि हामीले हानी नबेहोरे कसले बेहोर्छ त ? गधालाई धोएर गाई बन्दैन भनेर वीरबलले सिकाएका थिएनन् र ? हो, चोरलाई चाबी दिएपछि बाकस फोर्नु पर्दैन । अहिले हामीले भिजिट भिसामा गरेको धन्दा जस्तै स्वेतव्यापार गरेर चर्तिकला देखाउन पाइन्छ । व्यापारे वसते लक्ष्मीः कति राम्रो बुद्धि मान्छे बेचेर भए पनि लक्ष्मीको पूजा त गरेछन् हाम्रा सांसद र मन्त्रीले भनेर गौरव गर्न किन कन्जुस्याइँ ?
जस्तो आफू उस्तै च्यापु
‘पिता वै जायते पुत्र रूपेण’ भनेर उपनिषद्ले पनि भनेको छ । पितापत्नीका गर्भबाट पुत्रका रूपमा जन्मन्छ रे । स्थानीय भैंसीमा लाहुरी राँगो लाएर लाहुरी भैंसीको विकास हाम्रै घरमा बाले गर्नुभएको थियो । दूध पनि त्यत्तिकै दिन्थ्यो । अहिले भारतले दिएका राँगाबाट पनि त दूधालु भैंसी विकास गर्न खोजिँदै छ । जुर्रा कि फुर्रा ल्याएका होइनन् प्रचण्डले ? अब नेपाली पनि कलमी बन्दै छन् । गँवारपना र संस्कारहीनताको लक्षण हो जात, थर, कुल परम्परा भन्ने शिक्षा त आजको राष्ट्रिय शिक्षाले नै दिएको छ । उडेर चन्द्रमा छुन जाने कुरो देवकोटाले गर्दा भविष्य द्रष्टा कहलिने विचरा देशका आठ कक्षा असफल ठूला मान्छेले नेपालका खहरे खोल्सामा पानीजहाज चलाउने सपना देख्दा चाहिँ आलोचनै आलोचना ?
ठूला मान्छे बनाएपछि उनले विदेशमा देखे, देखेका कुरा बोले के बिराए बबुराले ? ओखल्ढुंगातिरबाट नुन लिन आएको एउटा ढाक्रेले गोदारको नुन साहुका पसलमा मर्करी बलेको देखेर यस्तो लट्ठी पनि एउटा दिनुस् भनेर साहुलाई भनेछ । साहु त व्यापारी न हो मोल लियो राखिदियो । बेलुका भएपछि लट्ठी बाल्न खाजेछ ढाक्रेले बलेन छ । अनि त फनक्क फर्केर गोदारतिर झरेथ्यो रे भान्सामा ‘स्विच’ थिच्दा ‘भ्यार्र’ बाल्न के, कति, के के चाहिन्छ भन्ने कुरो ठूला मान्छेलाई के थाहा ? त्यसै आलोचनामाथि आलोचना गर्ने ? ऐनामा आफ्नो अनुहार पनि हेरौँ । राडीमा सातु न मुछ्नु, मुछेपछि खान नघिनाउनु चुनाव जिताएर गठबन्धन गरेपछि परिणाम भोग्नुपर्छ । माला त काउछाकै न हो ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच