
काठमाडौं । महानगर यातायातकै नक्कल गरेर सोही रुटमा अन्य बसहरू सञ्चालन भएको भन्दै महानगर यातायात प्रालिले आपत्ति जनाएको छ । महानगर यातायातको नाम, रङ, डिजाइन र आकारसमेत हुबहु भएका बसहरू सञ्चालन हुँदै आए पनि सरकारको सम्बन्धित निकायले कारबाही नगरी उन्मुक्ति दिँदै आएको पनि उक्त कम्पनीको दाबी छ ।
महानगर यातायातकै नक्कल गरेर सोही रुटमा अन्य बसहरू सञ्चालन भएको भन्दै महानगर यातायात प्रालिले आपत्ति जनाएको छ । महानगर यातायातको नाम, रङ, डिजाइन र आकारसमेत हुबहु भएका बसहरू सञ्चालन भएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महानगर यातायात प्रालिका अध्यक्ष सन्तोष खतिवडाले यात्रुहरू झुक्याउने, दुर्घटना गराउने र प्रतिष्ठामा आँच पुर्याउने घटनामा नक्कली बस संलग्न रहेको बताउनुभयो । उहाँका अनुसार नक्कली बसका कारण यात्रुहरू आफ्नो सामान छुटाउने, गन्तव्यमा नपुग्ने, अप्ठ्यारो पर्ने जस्ता समस्यामा परेका छन् । साथै नक्कली बसले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितले ‘सक्कली महानगर यातायात’को कार्यालयमा उजुरी दिने गरेका छन् । एउटै नाम र रङका बस सोही रुटमा चल्दा यात्रुमात्र नभई सञ्चालकहरू हैरान छन् । नक्कली बसले गराएका दुर्घटनामा वास्तविक तथ्य पत्ता लागे पनि गाडी नचिनिँदा पीडितहरू न्यायबाट वञ्चित हुने गरेका छन् । नक्कलीका कारण कम्पनीको व्यवसायका साथै कम्पनीको प्रतिष्ठामा समेत गम्भीर धक्का लागेको सञ्चालकहरूले गुनासो गरेका छन् ।
महानगर यातायात प्रालिले प्रहरी प्रशासन, यातायात कार्यालय र यातायात व्यवस्था विभागमा पटक-पटक उजुरी दिए पनि बेवास्ता गरिएको भन्दै कम्पनीले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न पुनः आग्रह गरेको छ । अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ ।
यसैबीच कम्पनीले इभी बस ल्याउने भएको छ । आगामी दुर्ई साताभित्रै १२ वटा इभी बस सञ्चालनमा आउने कम्पनीले जनाएको छ । नौ मिटरका प्रतिबसको मूल्य एक करोड २७ लाख रुपैयाँ पर्ने बताइएको छ । साथै कम्पनीले काठमाडौं उपत्यकाबाहिर पनि सेवा सुरु गर्ने भएको छ ।
नौ वर्षअघि एकैपटक ३९ वटा ठूला सिटी बसबाट सेवा सुरु गरेको कम्पनीले हाल काठमाडौंमा विभिन्न रुटमा ८९ बसमार्फत् यात्रुलाई सेवा दिँदै आएको छ । राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको कम्पनी निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीका रूपमा सर्वसाधारणका लागि पनि सेयर जारी गर्ने तयारीमा समेत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच