
त्यस्ता दिन देख्ने र भोग्ने पुस्ताको अवशान वा निष्क्रियतासँगै संघर्ष, निष्ठा, इमानदारीता, त्याग र बलिदान जस्ता शब्दहरूप्रतिको आकर्षण क्रमशः घट्दै गएको छ । परिवर्तनको मूल आधार प्रमाणित राजनीतिमा नै हो सर्वाधिक यी शब्दहरूको प्रयोग । राज्य, राजनीति, शासन, शासक, जनता, अधिकार, स्वतन्त्रता, मौलिक हक, सार्वभौम सर्वोच्चता यी सबैको प्रयोगस्थल राजनीति नै हो । अधिकार र न्याय राजनीतिकै देन हुन् । समानता वा समता राजनीतिकै अनुष्ठान हुन् । माक्र्सवादले भने जस्तो राज्यविहीनताको कल्पना हुनु जंगलीवास हो । प्लेटोको आदर्श राज्यको सपना पनि व्यवहारमा असम्भव नै छ । अहिलेको संसारले रामराज्य स्थापित गर्छु भन्नु कोरा कल्पना हुन्छ ।
तैपनि राजनीतिमा लाग्नेहरूले रामराज्यका गुणहरू बोक्न नसके पनि सरल, सहज, विवेकपूर्ण, न्यायशील अहंकाररहीत भइदिए पुग्छ । संघर्षमा स्वाभिमानको कुरा हुन्छ, स्वाभिमानको अर्थ अहंकार होइन । विनयशील अडान स्वाभिमानको पर्याय हो । अविवेकी अडान अहंकार । सामन्ती ढर्राको प्रयोग कुन समयदेखि भयो कसैले भन्न सक्दैन । इतिहासकारहरूले पुराना राज सभ्यताहरूको देन भन्छन् । तर, अहिलेको युग त्यही सामन्ती ढर्राविरुद्ध संघर्षको युग हो र यसैमा बलिदान, त्याग, निष्ठा जस्ता शब्दहरू प्रयोग हुँदै आएका हुन् ।
नेपालको सन्दर्भमा असल लक्ष्यका लागि विवेकपूर्ण संघर्षको मार्ग समातेर जीवन बलिदान गर्ने शहीदहरू हुन् संघर्षका पर्याय । शहीद नभएर पनि निरन्तर संघर्ष गर्नेहरू पनि सामन्ती आचरणविरुद्ध परिवर्तनका निष्ठावान् वाहकहरू हुन् । विस्तारै परिवर्तनको बाहक नेपाली पुस्ताको भौतिक अवशान हुँदै गएपछि निष्ठा, संघर्ष, विवेक, न्याय, जस्ता शब्दहरू पनि हराउने हुन् कि जस्तो देखिएको छ । नेपालको सन्दर्भमा संघीयताको अवधारणालाई प्रखर रूपमा राख्ने समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको भौतिक अवशान भयो । अस्तिमात्रै उहाँको यो अवशानले सम्भवतः थोरै अपवादबाहेक अब त्यो प्रथम पुस्ताको सक्रियतासमेत अन्त्य भएको छ । नौ दशक पार गरेका एका–दुईमात्रै राजनीतिमा होलान् ती पनि शारीरिक र मानसिक रूपले असक्त । यो पुस्ताको अवशानसँगै राजनीतिमा निष्ठा, विवेक, संघर्ष, इमानदारीता जस्ता धर्मवरण गर्नेहरूको खडेरी सुरु हुने हो कि भन्ने संशय पैदा भएको छ ।
ढुण्डीराज शास्त्री अर्घाखाँचीको ब्राहृमण परिवारको सदस्य । निर्दलीय निरंकुशकालको सबै खाले नियन्त्रणविरुद्ध लामो संघर्षले खारिएको । बहुदलीय व्यवस्था स्थापनालगत्तै केन्द्रीय मन्त्री भएपछि अरू समकालीन कतिपय जस्तो आर्थिक अपचलनमा असंलग्न । बहुदलीय पद्धतिको स्थापनाका ३५ वर्ष बितेका छन् । ३५ वर्षमा अनेक व्यक्तिहरू जिम्मेदार भएर दुर्नाम भए । तर, शास्त्री सदा सरल, सहज, शान्त, भद्र, संयम भएर नै देहमुक्त हुनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनको वटवृक्षको माथिल्लो पुस्ताको ढुण्डीराज शास्त्रीजी आचरणमा नै समाजवादी हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा स्वतन्त्रता र समाजवादको, राष्ट्रियताको सामयिक भाष्य गर्ने बीपी कोइरालाको निरन्तरतामा सीके प्रसाईं सर्वाधिक लिइने नाम हो । सीकेको विचार समाजवाद अध्ययनको सरल र सुलभ पाठ्यसामग्री हुन् । सीकेपछि त्यो पुस्तामा ढुण्डीराज शास्त्री नै हुनुहुन्थ्यो जो समाजवादको विचार र व्यवहारको संयोजनमा दत्तचित्त रहनुभयो । बीपी कोइरालाको विचारलतामा प्रदीप गिरि र डा.यज्ञप्रसाद अधिकारी मुख्य मानिन्छन् । हुन त रामचन्द्र पौडेलको वैचारिक योगदान नदेखिएको होइन यसमा । तथापि विचार र निष्ठाको समवेत प्रयोग देखिने र सुनिने गरी हुनपर्छ भन्ने उदाहरण हुन् ढुण्डीराज शास्त्री ।
नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ । निर्दलीय सत्ताको अन्त्य गर्न पुरानो पुस्ताले संघर्ष नगरेको भए अहिले नै यो परिवर्तन सम्भव थियो कि थिएन भन्न सकिँदैन । परिवर्तनपछि पनि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, मदन भण्डारी, शेख इदृश, भीमबहादुर तामाङ, बलबहादुर राई, विष्णुबहादुर मानन्धर, ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्य, प्रदीप गिरि केही हदसम्म सुशील कोइरालाजस्ता सज्जनहरूको सादगी, निष्कपटता, निश्छलता र सरल व्यक्तित्व नरहेको भए त्यो पद्धतिको आयाम अकैतिर हुने थियो होला । कमसेकम उदाहरण दिन योग्य परिवर्तनकारी पात्रहरू हामीले भेट्ने थिएनौं होला । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र राजसंस्थाको उन्मूलन आजको जीवित सत्य हो । यो जीवित सत्यको अवधिमा उदाहरण दिन योग्य पात्रहरू अत्यन्त कम छन् । दुर्लभ जस्तै भएको छ उदाहरणीय व्यक्तित्व । किन यस्तो भएको हो ? थाहा भएर पनि उदाहरणीय हुनुपर्छ भन्ने शासकीय समृद्धिको शिखरहोडमा लाग्नेहरूका मनमा किन पलाउँदैन । राज्यलाई कर तिरेर कमाएको आर्थिक समृद्धिको सम्मान हुन्छ । तर त्यही कर खाएर समृद्धिको अनन्त शृंखला खडा गर्नेहरूको सम्मान कसरी हुन्छ होला ?
परिवर्तनको जगमा हजारौं बलिदानीहरूको रगत पसिना भिजेको छ, हजारौंको हड्डी मक्किएर बसेको छ । राष्ट्र निर्माणको समययता हिसाब गर्ने हो भने पृथ्वीनारायण शाहदेखि अनेक महान् मानिसहरूको योगदानको अभिलेख यही माटोमा छ । त्यही अभिलेखको जगमा बनेको नेपाल नामको घरमा बसेका, हिजोका दिनमा स्वतन्त्रता, अधिकार र सार्वभौम सर्वोच्चताका लागि संघर्ष, निष्ठा, विवेकका पर्याय महानायकहरूको इतिहासको सिरानीमा अडेस लाग्नेहरूको वर्तमान कति उदाहरणीय भइरहेको छ विचारणीय हुनुपर्ने हो । नेपाल बहुभाषिक, बहुधार्मिक सांस्कृतिक र विधितायुक्त भूगोलका कारण राज्यलाई संघीय प्रणालीमा लैजानुपर्छ भनेर प्रस्ताव गरेकै कारण ढुण्डीराज शास्त्रीलाई तत्कालीन नेतृत्वले एकप्रकारले विस्थापित गरायो । तर, उहाँ विचारका कारण विस्थापित हुनु भएन । अहिले देश संघीयताको डोरीमा आबद्ध छ । उहाँको प्रस्ताव अनुरूप त्यस समयमा संघीयताको स्वरूप र भौगोलिक सीमांकन गरिएको भए सायद यति ठूलो अराजनीतिक राजनीतिको आरम्भ हुने थिएन । यी त बितेका कुरा हुन्, कुनै समयमा स्मरणमात्रै गरिने हुन् । आज चाहिँ संघर्ष, आन्दोलन, विवेक, निष्ठाको माथिल्लो पुस्ताका एक अविस्मरणीय नेता ढुण्डीराज शास्त्रीप्रति हार्दिक श्रद्धासुमन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच