
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको असार महिनाको पहिलो पाक्षिक क्यालेण्डर तय भएको छ । बजेट पारित गर्नेगरी यसअघि तयार भएको क्यालेण्डर संसद् अवरुद्ध भएर प्रभावित भएपछि संसद् सचिवालयले नयाँ क्यालेण्डर बनाएको हो । पाक्षिक क्यालेण्डरमा असार १४ गतेसम्म ११ वटा बैठक बस्ने उल्लेख छ । क्यालेण्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ । यद्यपि, विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सदन अवरोधका कारण क्यालेण्डरअनुसार बुधबार प्रतिनिधिसभाको बैठक बस्न सकेन ।
अब असार १४ गतेसम्म प्रतिनिधिसभा बैठक ५, ६, ७, ८, ९, १० र १४ गते बस्नेछ । नयाँ क्यालेण्डरअनुसार असार १० गते प्रतिनिधिसभाबाट बजेटको मूल विधेयक (विनियोजन विधेयक) पारित गर्ने नयाँ तालिकामा उल्लेख छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकलगायत बजेटका अन्य विधेयक असार १४ गते पारित गर्ने कार्यतालिकामा उल्लेख छ । विधेयक पारित गर्नुअघि संसद्मा छलफल र मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय गरिएको छ । बजेटसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलका लागि शनिबारसमेत संसद्को बैठक राख्नेगरी नयाँ तालिका बनेको छ । साउन १ गतेदेखि कार्यान्वयनमा आउने बजेट सरकारले जेठ १५ गते संसद्मा पेस गरेको थियो ।
संघीय निजामती सेवा विधेयक तत्काल संसद्मा प्रस्तुत नहुने
संघीय निजामती सेवा विधेयक, २०८० असार १५ गते अगाडि प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत नहुने भएको छ । बजेट पारित गर्नुपर्ने भएकाले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ असार १५ गते अगाडि प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत नहुने भएको हो । संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिकामा यो विधेयकमाथि छलफल र पारित गर्नका लागि पेस गर्ने कार्यसूची छैन । बजेटसम्बन्धी विषयबाहेक राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफल र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची मात्रै समावेश गरिएको छ । सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले निजामती कर्मचारी विधेयक असार १४ गतेसम्मको कार्यतालिकामा नराखिएको जानकारी दिँदै भन्नुभयो, ‘बजेट पास गर्ने चाप छ । त्यसैले निजामती कर्मचारीसम्बन्धी विधेयक परेको छैन ।’
असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
प्रतिनिधिसभामा यही असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । संघीय संसद् सचिवालयले असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रबार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । सभामुख देवराज घिमिरेले यसअघि बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिइसक्नु भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गरिँदै आएको छ ।
एमालेले संसद् खुलाउन चाहेको छैन : शर्मा
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रकी सांसद सांसद रेखा शर्माले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसद् खुलाउन नचाहेको आरोप लगाउनुभएको छ । केही दिन रास्वपाको विरोधलाई पेलेर लगेको एमालेले मंगलबारको बैठक भने रास्वपाको विरोधको बहाना बनाएर निजामती सेवा विधेयकलाई रोक्न बैठक नै स्थगित गराएको टिप्पणी गर्दै शर्माले भन्नुभयो, ‘नेकपा एमालेले संसद् खुलाउन चाहेको छैन । हामीले विरोध जनाउँदासम्म बहाना भइरहेको थियो । मंगलबार निजामती सेवा विधेयकमाथि छलफल गरेर पारित गर्ने कार्यसूची भएकाले किन रोकियो संसद् बैठक ? यत्रा दिन रास्वपाको नारा जुलुसका बीचमा पनि पेलेर लानेले मंगलबार किन पेलेर जान सकेन ? समितिबाट दुई वर्ष कुलिङ पिरियड पारित भइसकेको छ । तर, कुलिङ पिरियड राख्न प्रधानमन्त्री केपी शर्मा ओली नै रुचाउनुहुन्न ।’
शीर्ष नेताहरूबीच छलफलको तयारी
संसद्मा जारी अवरोध हटाउन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफलको तयारी भएको थियो । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार छलफल हुने तय भएको थियो । तर, अध्यक्ष प्रचण्ड बुधबार चितवनमा रहेकाले छलफल हुन भने सकेन । अध्यक्ष प्रचण्ड आज (बिहीबार) मात्रै काठमाडौं आउने हुनुभएको छ । भरतपुर महानगरपालिकाद्वारा बनाइएको प्रज्ञा स्मार्ट पार्कको अवलोकन तथा विभिन्न कार्यक्रममा भाग लिन प्रचण्ड सोमबार चितवन पुग्नुभएको थियो । प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले काठमाडौं फर्किएपछि निजामती विधेयक लगायतका विषयमा छलफल हुनसक्ने जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड काठमाडौं फर्किएपछि मात्रै प्रमुख तीन दलको बैठक बस्ने भनिएको उहाँको भनाइ छ । दुई बुँदे सहमति गरेर माओवादीले संसद्को अवरोध हटाए पनि रास्वपाले नाराबाजी जारी राख्दा शिक्षा, निजामतीलगायत विधेयक प्रभावित हुने देखिन्छ ।
सबै विपक्षीलाई विश्वासमा लिनुपर्छ : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्ष दलहरूलाई विश्वासमा लिएर सदन सञ्चालन गर्न ध्यानाकर्षण गराउनुभएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले सदन सञ्चालन गरेर निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटो अगाडि बढाउन आग्रह गर्दै भन्नुभयो, ‘सरकार र सभामुखज्यूबाट रास्वपालगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोसिस भइरहेको छ । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । त्यसप्रकारले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटोभन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।’
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको हो । यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सरकारले विधेयक ल्याएको हो । स्वास्थ्यका जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्नसक्ने व्यवस्था गरिएको छ । सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच