
विद्यमान नेपाली राजनीतिको परिदृश्यता हेर्दा उदेग लागेर आउँछ । कपोकल्पित भ्रम र झुटको फेरिस्ताबाहेक नेतृत्व वर्गले नेपाली जनतालाई केही दिन सकेका छैनन् । दबाब, अभाव, प्रभाव जे भनौ निर्वाचनमा भने पुरानै दलको बर्चस्व हावी देखिन्छ । त्यति मात्र कहाँ हो र सत्ताको रजगजभित्र सधैं एउटै अनुहारका पात्रहरू देखिरहन्छन् । उनीहरू भोट मागिरहन्छन् हामी भोट दिइरहन्छौं । वास्तवमा भन्ने हो भने हामीभित्र आलोचना पनि छ समालोचना पनि छ यही हामीभित्रको सम्यमतालाई उनीहरू हतियार बनाएर पटकपटक शासन गरिरहन्छन् । खासमा मौजुदा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा उच्च आदर्शको एक थान संविधानबाहेक हामीले के प्राप्त गर्यौ र शासन गर्नेहरूका लागि त्यो ठूलो उपलब्धि हुनसक्छ तर शासित वर्गले त्यसको सारत्व र फल प्राप्त गर्न सकेन भने त्यो फगत सावित हुन्छ । अहिले नेपाली जनमानसमा संविधानप्रतिको वितृष्णा, शासन व्यवस्थाविरुद्धको वितृष्णा र नेतृत्वप्रतिको विस्तृष्णा तीव्र रूपमा मुर्जिँदै गएको छ । यसको सांकेतिक अर्थ भनेकै अर्जुन दृष्टि नभएका नेतृत्वप्रतिकै गैरजिम्मेवारीपन हो । राजनीतिका आधारभूत सैद्धान्तिक र वैचारिक रोड म्यापहरू हुन्छन् रेलले ट्रयाक छोडे जस्तै राजनीतिकर्मीले राजनीतिक ट्रयाक छोडे भने मूलतः त्यो दुर्घटनाको संकेत हो । अहिले मुलुक दुर्घटनाग्रस्ततर्फ उन्मुख छ भन्दा किमार्थ गलत हुँदैन ।
अहिले ‘सुखी नेपाली समृद्ध नेपाली’को नारा त घन्किएको छ तर व्यवहारमा ‘दुःखी नेपाली भ्रष्ट शासक’ जस्तो कथन स्थापित हुन पुगेको छ । देशप्रतिको माया, राष्ट्रिय चिन्तनको बहसमा नेतृत्वको लगाव हुनुपर्नेमा अस्थिरता, अराजकता र नियन्त्रणवादमा मात्र सीमित हुन पुगेको छ ।
विश्वमा भइरहेका तमाम परिवर्तनबाट हामीले पाठ सिक्नैपर्छ । सन् २०२२ मा अफ्रिकी मुलुक बुर्किनोफासोमा सत्ताको तक्ता प्लट गरेर सत्ता कब्जा गरेका इब्राहिम टाउरेको निकै चर्चा सुन्न पाइन्छ । उनले राष्ट्रपति कार्यालयको एसी कटान गरेर हरेक विद्यालयमा पंखाको व्यवस्थापन गरेका छन् । फ्रान्स अमेरिका र युरोप जस्ता मुलुकहरूले साम्राज्यवादको आडमा अफ्रिकालाई डार्क एजमा रूपान्तरण गर्ने प्रयास गरेको आक्षेप लगाएका छन् । वामपन्थी विचारबाट प्रभावित इब्राहिम टाउरे बुर्किनफासोको प्राकृतिक स्रोतसाधनलाई राष्ट्रियकरण गरी आन्तरिक अर्थतन्त्र निर्माणको प्रक्रियालाई सहज बनाउने पक्षमा छन् । भला लोकतन्त्रका मसियाहरू इब्राहिमको यो राष्ट्रिय नीतिविरुद्ध संघर्ष नगरलार्न भन्न सकिँदैन । चरम भ्रष्टाचार बेरोजगारीता र गरिबीले थिचिरहेको बुर्किनोफासोलाई राष्ट्रिय चिन्तनको माध्यमबाट विकासको गतिमा ल्याउनका लागि अर्जुन दृष्टि राख्ने काम गरेका छन् ।
लोकतन्त्रको मुखिया ठान्ने अमेरिकाले आप्रवासन समस्या समाधानदेखि लिएर राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणको मार्गलाई मुख्य ध्यह ठानेका छन् । बेलायत जस्तो मुलुकले देशको अर्थतन्त्र बिग्रिँदै गर्दा ऋषि सुनक जस्तो अर्थविज्ञलाई नेतृत्व प्रदान गरेको उदाहरण तपाईं–हामीबीच छर्लंग छ । हामीलाई एउटा गभर्नर नियुक्तिका निमित्त महिनौं संघर्ष गर्नुपर्ने तीतो यथार्थ छ । यी उतार चढावहरूबाट हामीले शिक्षा किन लिँदैनौं यो महत्वपूर्ण विषय रहेको छ ।
नेतृत्व भनेको व्यवस्थापकीय जिम्मेवारी बहन गर्नुमात्र नभएर व्यवस्थापन गर्ने विधि पनि हो । नेतृत्वले व्यवस्थापन गर्न नसक्नु भनेको त्यो अक्षमता हो, असक्षम व्यक्तिले नेतृत्व हस्तान्तरण गरेर योग्य र क्षमतायुक्त पात्रलाई राष्ट्रिय जिम्मेवारी दिनु बान्छनीय हुन्छ तबमात्र देशको विकास हुन सक्दछ । नेतृत्वमा चिन्तन, एकाग्रता दूरदृष्टि आवश्यक पर्दछ योजना र दृष्टि नै नभएको नेतृत्व प्रकारान्तरमा सुयोग्य ठहरिँदैन । लि वान क्युले समृद्ध सिंगापुरको सपना देखे, मोहम्मद माथिरले मलेसियाको सम्पन्नताको दृष्टि देखे, महात्मा गान्धीले स्वतन्त्र भारतको सपना देखे, राजा महेन्द्रले विश्वसामु नेपालको परिचय देखे, विश्वेश्वरप्रसाद कोइरालाले संविधानसभाको सपना देखे, रामराजा सिंहले गणतन्त्रको सपना देखे । ती वास्तवमा सपनामात्र थिएनन् दीर्घकालीन योजना र रणनीति पनि थिए । अहिले ‘सुखी नेपाली समृद्ध नेपाली’को नारा त घन्किएको छ तर व्यवहारमा ‘दुःखी नेपाली भ्रष्ट शासक’ जस्तो कथन स्थापित हुन पुगेको छ । देशप्रतिको माया, राष्ट्रिय चिन्तनको बहसमा नेतृत्वको लगाव हुनुपर्नेमा अस्थिरता, अराजकता र नियन्त्रणवादमा मात्र सीमित हुन पुगेको छ ।
‘उडी छुनु चन्द्र एक’ जस्ता उक्तिहरूको अध्ययन र अनुसरण गरेर हुर्किएका हामी नेपालीहरू नीति निर्माण र योजना निर्माणको तहमा किन चुक्यो होला ? भनेर समीक्षा कहिले गर्न सकेनौ । हामी विग्रहको दिशातर्फ उन्मुख भयौं । नेतृत्वमा अर्जुन दृष्टि हुन आवश्यक छ । उचित व्यक्ति संस्था वा पात्रका कारण संसारमा ठूलै परिवर्तनहरू हासिल भएका छन् ।
सम्पूर्ण न्याय क्षेत्र, संवैधानिक निकायहरू, अख्तियार र कर्मचारीतन्त्रमा समेत राजनीतिक नियुक्तिका कारण जनताको जनविश्वास घट्दै गएको छ । यो अवस्थामा हामीले नेतृत्वबाट के परिणाम अपेक्षा गर्न सक्दछौ र ? पक्कै पनि नेतृत्वको प्रवृत्ति र आचरणमा सुदृढीकरण नहुन्जेल विश्वास गर्ने वातावरण विल्कुल तय हुँदैन । नेपालमा आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि दीर्घकालीन रणनीति र योजनाहरू निर्माण हुन जरुरी छ । इब्राहिम टाउरेले मातृभूमिका लागि स्वयंसेवक कार्यक्रम अघि सारे जस्तै नेपाल र नेपालीको जीवनस्तर उकास्नका लागि ठोस योजना र रणनीति अघिसार्नु आवश्यक देखिन्छ्र । कृषि पर्यटन र जलस्रोत विकास छलाङका रणनीतिक योजनाहरू हुन् यी क्षेत्रलाई प्रभावकारी बनाउन नेतृत्व पंक्ति जिम्मेवार बन्नुपर्दछ ।
पश्चिम सेती र बुढीगण्डकी जस्ता जलस्रोत परियोजनाहरूमा हामी कति गैरजिम्मेवार थियौ भनेर इतिहासले हामीलाई जिस्काइरहन्छ्र । बुटवल नारायणघाट सडकखण्डले जनतालाई कति शास्ति दियो भनेर शासकले कहिल्यै मनन गर्ने प्रयत्न गरेनन् । यो त बिम्बमात्र हो यस्ता दर्जनौं सडक सञ्जालहरूमा जनताले भोग्नुपरेको शास्ति दुःखदायी छ । शिक्षा, स्वास्थ्य, नापी, यातायात, मालपोत आदि इत्यादि जस्ता क्षेत्रमा जनताले भोग्दै आएका शास्तीहरू नेतृत्वलाई के मतलब । सत्ता र शक्तिको लुच्छाचुडीमा केन्द्रित राजनीतिक कर्मीहरू चुनाव आउँदाका बखतमात्र जनताका घरदैलोमा पुग्ने गर्दछन् । झुठा आश्वासन र सपनामा अचेत नागरिकहरू फसिरहेका छन् । यावत् घटनाक्रम हुँदाहुँदै पनि सोझा जनताहरूले अयोग्य नेतृत्वलाई चुनिरहेका छन् । यसर्थमा आजभोलि नागरिक पनि दोषी छन् भनेरभन्दा फरक नपर्ला ।
अतः यावत् विकृति विसंगति रहँदारहँदै पनि सम्भावनाका ढोका भने बन्द भएका छैनन् । नेतृत्वमा सद्बुद्धि, सत्कर्म र सद्ज्ञान आउने हो भने नेपालले छिट्टै फड्को मार्न सक्दछ । मेरो रूपान्तरणको साटो हाम्रो रूपान्तरण, समग्र देशको रूपान्तरण भन्ने मूल मान्यता र सिद्धान्तमा अढिक रहयो भने हाम्रा आशाहरू निराशामा बदलिने छैनन् । अफ्रिकाका नेल्सन मण्डेलाले स्वतन्त्रताका लागि आन्दोलन गरे ढिलै भए पनि अफ्रिकाले फल प्राप्त गर्यो । विस्मार्कले जर्मनी एकीकरणको सपना देखे त्यो पनि सफल हुन पुग्यो । पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तारसँगै नेपाल एकीकरणको अभियानमा सफल हुन पुगे । देशको हितलाई मियो ठानी दूरगामी योजना निर्माण गर्न सके सफल किन भइँदैन ? मात्र देश निर्माणको हुटहुटी जाग्न जरुरी छ । विज्ञानको नवीनतम् आविष्कारले मान्छे चन्द्रमासम्म पुगिसकेका छन् । सिगात्सेदेखि ज्ञात्सोला भञ्ज्याङसम्म पाँच हजार हाइटको उचाइमा रेल कुदिरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्सले विश्वलाई एउटै डालोभित्र राख्ने प्रयत्न गरिरहेको छ । यी सबै भौतिकशास्त्रमा मान्छेका योजनाको शृंखलाबद्ध निर्माण प्रक्रिया हो ।
‘उडी छुनु चन्द्र एक’ जस्ता उक्तिहरूको अध्ययन र अनुसरण गरेर हुर्किएका हामी नेपालीहरू नीति निर्माण र योजना निर्माणको तहमा किन चुक्यो होला ? भनेर समीक्षा कहिले गर्न सकेनौ । फलस्वरूप हामी विग्रहको दिशातर्फ उन्मुख भयौं । त्यसकारण नेतृत्वमा अर्जुन दृष्टि हुन आवश्यक छ । उचित व्यक्ति संस्था वा पात्रका कारण संसारमा ठूलै परिवर्तनहरू हासिल भएका छन् । हामीले पनि तन, मन र शुद्ध विचारद्वारा देश निर्माणको परिकल्पनालाई आत्मसात गर्दै एवं मुलुकका नेतृत्वहरूले गरिरहेको परिवर्तनलाई अंगीकार गर्न सके हामी सबैको जयजय हुनेछ । शुद्धोधन-४ रूपन्देही ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच