
वासिङ्टन डिसी । क्लब विश्वकप फुटबलमा म्यानचेस्टर सिटीले सहज जित दर्ता गरेको छ । बुधबार राती सम्पन्न खेलमा सिटीले मोरक्कोको क्लब विदादविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । खेलको सुरुवातमै फिल फोडेनले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । खेलको दोस्रो मिनेटमै फोडेनले सहज गोल गर्नुभएको थियो । ४२औँ मिनेटमा जेरिमी डोकुले दोस्रो गोल गर्नुभयो । ८८औँ मिनेटमा सिटीका रिको लुइसले सामुएल ओबेन्गमाथि ट्याकल गर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभएको थियो । त्यसपछि सिटी १० खेलाडीमा सीमित रहृयो । सिटी समूह ‘जी’ मा शीर्ष स्थानमा छ । अब आइतबार अटलान्टामा अल-आइनको सामना गर्नेछ । विदाद भने फिलाडेल्फियामै रहेर अर्को प्रतिद्वन्द्वी युभेन्ट्ससँग भिड्नेछ ।
खेलमा सिटीका समर साइनिङ रयान चेरकी र टिज्जानी रेजिन्डर्सले पहिलोपटक सुरुवाती खेलाडीका रूपमा डेब्यु गर्नुभयो । डिफेन्डर रयान एइट-नुरी भने मैदानमा देखिनुभएन ।
यसैगरी, मुख्य प्रशिक्षक जाभी आलोन्सोको स्पेनिस क्लब रियल मड्रिडमा डेब्यु खेल सुखद रहेन । क्लब विश्वकपको पहिलो खेलमा अल हिलालले रियललाई १-१ को बराबरीमा रोक्दा उहाँले जितको स्वाद चाख्न पाउनुभएन । अमेरिकाको हार्ड रक स्टेडियममा भएको समूह ‘एच’ अन्तर्गतको यो खेलमा रियलका गोन्जालो गार्सियाले ३४औँ मिनेटमा गोल गर्नुभयो ।
आलोन्सोले भन्नुभयो, ‘हामीलाई थाहा छ, परिवर्तन गर्न समय लाग्छ । दोस्रो हाफमा राम्रो प्रतिक्रिया देखियो । हामीलाई यो प्रतियोगितामा राम्रो नतिजा चाहिन्छ । तर, सबै कुरा विस्तारै ठीक हुन समय लाग्छ ।’ दोस्रो हाफको अतिरिक्त समयमा फ्रान गार्सियालाई बक्सभित्र मोहम्मद अलकाहतानीले लडाएपछि भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा रियललाई पेनाल्टी दिइएको थियो ।
तर, खेलको ९२औँ मिनेटमा फेडेरिको भाल्भेर्डेले प्रहार गरेको पेनाल्टीलाई अल हिलालका गोलकिपर यासिन बोनुले रोक्नुभयो । साउदी अरबको सबैभन्दा सफल क्लबमध्ये एक अल हिलालले प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा युरोपेली जायन्ट रियलसँग बराबरी खेल्दै प्रतियोगितामा बलियो उपस्थितिको सन्देश दिएको छ । स्टार स्ट्राइकर अलेक्जान्डर मित्रोभिचको अनुपस्थितिमा पनि अल हिलालले रियलसँग बराबरी खेल्नु उल्लेखनीय उपलब्धि रहृयो । यदि मार्कोस लियोनार्दोले आफ्ना तीन अवसरमध्ये एकमा गोल गर्नुभएको भए सायद अल हिलाल विजेता बन्न सक्थ्यो ।
यसैबीच, युनाइटेड अरब इमिरेट्स (युएई)को टोली अल–एैनविरुद्ध ५-० को फराकिलो जित निकाल्दै इटालियन क्लब युभेन्ट्सले सानदार सुरुवात गरेको छ । बिहीबार बिहान औडी फिल्डमा युभेन्ट्सलाई जित दिलाउन रान्डाल कोलो मुआनी र फ्रान्सेस्को कोन्सेइकाओले समान दुई गोल गर्नुभयो । केनान यिल्डिजका नाममा एक गोल रहृयो । युभेन्ट्सले पहिलो हाफमा चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थपेको हो । प्रतियोगितामा युभेन्ट्स समूह ‘जी’मा छ । पहिलो जितसँगै तीन अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ । फराकिलो हार बेहोरेको अल-एैन तालिकाको पुछारमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच