
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा-१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ । नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा बुनपा वडा-१० ले कपनस्थित हृयाण्डबल बहुउद्देश्यीय स्पोर्ट्स सेन्टरमा बुधबारदेखि ११ दिने फुटबल क्याम्प सुरु गरेको हो । उक्त क्याम्पको बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा-१० का वडाध्यक्ष नवराज भट्टराईले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक दीपक दुलाललगायतको उपस्थिति थियो । नर्थ स्टार फुटबल एकेडेमी राष्ट्रिय टोलीका पूर्वगोलकिपर विशालले नै सञ्चालनमा ल्याउनुभएको हो । उहाँ पनि यसै वडाका बासिन्दा हुनुहुन्छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई पनि यसै मैदानबाट खेल्दै उदाउनुभएको थियो ।
यस वडाबाट थप प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सात वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै क्याम्प सुरु गरिएको वडा-१० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । यस क्याम्पमा कुल ६० जना बालबालिका सहभागी छन् । हरेक बिहान ६ः३० देखि ८ः३० बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय टोलीका पूर्वसदस्य विशालको प्रशिक्षण टोलीमा महेश श्रेष्ठ, कपिल ढकाल, सन्दीप खड्का, मनिष पौडेल र जयप्रकाश बोमजन हुनुहुन्छ । ११ दिने प्रशिक्षणका क्रममा फुटबलको आधारभूत अभ्यास, बल नियन्त्रण तथा कौशलको विकास, टिम भावना र नेतृत्व विकासका साथै खेलकुदमार्फत् अनुशासन र प्रोत्साहनजस्ता पक्षमा बालबालिकालाई प्रशिक्षण गराउने मुख्य प्रशिक्षक विशाल श्रेष्ठले बताउनुभयो ।
उद्घाटनका अवसरमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरभित्र खेलकुद विकासलाई नयाँ उचाइमा पु¥याउन विभिन्न खेल विधाहरूलाई प्रोत्साहित गरिँदै आएको बताउनुभएको छ । मेयर अधिकारीले हृयाण्डबल बहुउद्देश्यीय स्पोटर््स सेन्टरको दोस्रो चरणमा स्तरोन्नतिको काम छिट्टै अगाडि बढ्ने उल्लेख गर्नुभयो । सोही अवसरमा वडा-१० का वडाध्यक्ष नवराज भट्टराईले स्थानीयस्तरमै बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्दै उनीहरूको प्रतिभा, अनुशासन, आत्मविश्वास र सामाजिक समावेशिताको भावना विकास गर्नु क्याम्पको मुख्य उद्देश्य रहेको बताउनुभयो । यस किसिमको कार्यक्रमले भविष्यका खेल प्रतिभाहरू उत्पादन गर्ने उहाँको विश्वास छ ।
बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा खेलकुदको भूमिका सशक्त बनाउने लक्ष्यसहित समर क्याम्पको सुरुवात गरिएको बुढानीलकण्ठ नगरपालिका वडा-१० का वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । वडाध्यक्ष भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो अनुभव र व्यावसायिक रूपमा सफल खेलाडीको प्रशिक्षणबाट राम्रो जुनियर खेलाडी उत्पादनसँगै कुशल नागरिक बन्न प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच