
दैलेख । दैलेखमा देशलाई ५० वर्षका लागि पुग्ने ग्यास भण्डार रहेको प्रारम्भिक नतिजा प्राप्त भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजाले यस्तो निष्कर्ष निकालेको हो । चिनियाँ प्रतिनिधि टोलीले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा जलजलेमा मात्रै एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास हुनसक्ने उल्लेख छ । खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सिएनपिसी सिबु इञ्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिामाणमा मिथेन ग्यास भएको पत्ता लागेको हो ।
जलजलेमा २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवा (जमिनमुनि भएको भण्डारण स्थान)मा चार हजार १३ मिटर ड्रिलिङ गरिएको थियो । त्यतिबेला जमिन मुनिबाट ग्यासको गन्ध आएको थियो । तर, ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगिएको थियो । अहिले प्रारम्भिक प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाएको हो । चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरी ग्यास हुनसक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालको लागि अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययनको रूपमा लिइएको यो परियोजनाले केही आशा जगाएको छ । प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्यास देखिएको र यसको परीक्षण उत्पादन सुरु गरेर ग्यासको प्रकृति, व्यावसायिक उत्पादनका कामहरू सुरु हुनेछन् । चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्नपश्चात् डिसेम्बरभित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्नपछि यसको वास्तविक तथ्य बाहिर आउनेछ ।
नेपाल सरकारलाई प्राप्त दोस्रो चरणको प्रारम्भिक प्रतिवेदनका अनुसार पहिलो भण्डारण कुवा रहेको स्थानमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको र अन्य तीनवटा ग्यास भण्डारणका कुवाहरू पनि दैलेखमै रहेका र जम्मा चारवटा कुवामा करिब ४३० अर्ब घनमिटर मिथेन ग्यास हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएकोे छ ।
सम्भावित अन्य जिल्लामा पनि अध्ययन गरिन्छ : उद्योगमन्त्री भण्डारी
उद्योगमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थको सम्भावना देखिएका देशका अन्य स्थानमा समेत अध्ययन गरिने बताउनुभएको छ । दैलेखबाट यसको सुरुवात भइसकेको बताउँदै उहाँले अब दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा राखेको बताउनुभयो । उहाँले सरकारले प्राप्त प्रतिवेदनलाई कुरेर बसेको र अब जतिसक्दो चाँडो थप कार्य प्रारम्भ गर्नका लागि तयारी सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यही रिपोर्ट कुरेर बसेका थियौँ, जुन उत्साहजनक देखियो । रिपोर्टमा उल्लेख्य मात्रामा प्राकृतिक ग्यास छ भन्ने पुष्टि भएको छ ।’ उहाँले करिब ६५ करोड लागतमा उत्पादन परीक्षण सम्पन्न हुने प्रारम्भिक प्रतिवेदनले देखाएकाले सोहीअनुसार काम अगाडि बढाउने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।
मिथेन ग्यास पेट्रोल-डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । मिथेन ग्यासबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि सकिन्छ । मिथेन ग्यासबाट हाइड्रोजन छुट्याएर अमोनिया ग्यास निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ ।
यसरी भयो अन्वेषणको सुरुवात
२०७२ सालमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति भएसँगै २०७५ सालमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भई पेट्रोलियम पदार्थको उत्खनन र अन्वेषण गर्न दुई अर्ब ४० करोड रुपयाँको लगानीसँगै प्राविधिक सहयोग गर्नेगरी चीन र नेपाल सरकारबीच दुईपक्षीय सम्झौता भएको थियो । पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चारवटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरेको थियो । पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सिएनपिसी इञ्जिनियरिङले उत्खननको काम अगाडि बढाएको थियो । पहिलो चरणको सफलताका साथ अन्वेषण सकिएपछि दोस्रो चरणको ड्रिलिङ गर्ने उपयुक्त स्थानको लागि दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अधिग्रहण गरी २०८१ वैशाखबाट काम बढाएको थियोे ।
धार्मिक रूपमा लिँदै आएको क्षेत्र
जिल्लाका विभिन्न स्थानहरूलाई धार्मिक कथासँग जोडिएर पनि हेर्ने गरिन्छ । जहाँ हाल पेट्रोलियम पदार्थ अन्वेषणका लागि उपयुक्त स्थानको रूपमा समेत लिइएको छ । महादेवले सत्यदेवीको मृत शरीरलाई काँधमा राखेर विश्व परिक्रमा गर्दा दैलेखको पादुकामा आउँदा सत्यदेवीको पैतला, शिरिस्थानमा पुग्दा शिर, कोटिलामा पुग्दा कोटी, नाविस्थानमा पुग्दा नाभी र धुलेश्वरमा पुग्दा धुलोहरू झरेको जनविश्वाससहित मन्दिरहरूमा पूजापाठ हुँदै आएका थिए । यसरी सत्यदेवीको विभिन्न अंगहरू झरेको स्थानहरू शिरिस्थान, नाविस्थानमा परापूर्वकालदेखि जमिनमा ज्वाला बलिरहेको छ । यी स्थानमा भएर बग्ने नाभिस्थान खोलाको बीचबीचमा पानीमा आगो बल्ने गर्दछ । मानिसको मृत्यु भएपछि दागबत्ती दिने बेलामा त्यही बलिरहेको ज्वालाको आगो ल्याएर दादबत्ती दिने गरिन्छ । जसले गर्दा मृतकको आत्माले स्वर्गमा बास पाउँछ भन्ने किम्वदन्ती हालसम्म पनि कायम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच