
काठमाडौं । लामो प्रतीक्षापछि अन्ततः ग्वार्को ओभरपास (फ्लाई ओभर) सञ्चालनमा आउने भएको छ । ललितपुरको ग्वार्कोस्थित मुलुकको पहिलो ओभरपास निर्माण थालेको ३९ महिनापछि आज (शुक्रबार)देखि सञ्चालनमा आउने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनसँगै शुक्रबारदेखि नै ओभरपासमा सवारीसाधनले ओहोरदोहोर गर्न पाउनेछन् । ओभरपासको कोटेश्वरतर्फ ३२० मिटर तथा सातदोबाटोतर्फ भने १८० मिटर बाटोमा प्यानल जडान भएको छ । ओभरपासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भएको छ । ६ मिटर उचाइ र ४५५ मिटरको लम्बाइ रहेको ओभरपासमा ग्राउण्ड क्लियरेन्स ६ मिटर तथा सवारीसाधन चढ्न १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिएको छ ।
कोटेश्वर-ग्वार्को-कलंकी खण्डमा दैनिक ट्राफिक जाम बढेपछि विकल्पमा ओभरपास निर्माण थालिएको थियो । इमाडोल–सातदोबाटो र कोटेश्वरबाट आउने सवारीको जम्काभेटले ग्वार्कोमा लामो समय जाम रहने गरेको छ । तर, नेपालमै पहिलोपटक निर्माण गरिएको ग्वार्को ओभरपास सञ्चालनमा आएसँगै जाम हट्ने आशा पलाएको छ । ओभरपास सञ्चालनपछि सवारीले ग्वार्कोमा रोकिनु नपर्ने र अनवरत घुम्न पाउनेछन् । ग्वार्कोबाट लुभुतिर जाने गाडी ओभरपास मुनिबाटै वारपार गर्ने र कोटेश्वरबाट कलंकी जाने सवारीसाधनले ओभरपास प्रयोग गर्नेछन् । ओभरपास सञ्चालनमा आएसँगै चक्रपथको सातदोबाटो-कोटेश्वर सडक खण्ड, मंगलबजार-इमाडोल-लुभु सडक खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ । तर, यसले सवारी जामको दीर्घकालीन समाधान नगर्ने यातायात विज्ञहरू बताउँछन् । चौडा सडकले ट्राफिक जामको समस्या केही समयका लागि राहत दिए पनि विस्तारै सवारीसाधनको संख्या बढेपछि पुनः जामको समस्या दोहोरिने उनीहरूको भनाइ छ ।
करिब १४ लाख सवारीसाधन गुड्ने काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन निकै ठूलो चुनौती बन्दै आएको छ । चार प्रतिशतभन्दा कम सार्वजनिक सवारी संख्या भएको नेपालमा ६५ लाख सवारी दर्ता छन् । सवारीको कुल संख्याको ८० प्रतिशत मोटरसाइकल छन् ।
एक वर्षमा सकिनुपर्ने काम तीन वर्ष बढी लाग्यो
ठेकेदार कम्पनी आशीष समानन्तर रेलिगेट कम्पनीले ओभरपास निर्माण गरेको हो । ओभरपासको काम गत पुस ९ गते नै सम्पन्न हुनुपर्ने थियो । तर, समयमै नसकिएपछि कम्पनीले दैनिक ८५ हजार रुपैयाँ हर्जना तिरेर जेठ अन्तिमसम्म काम गरेको हो । अन्तिम म्यादसम्म पनि काम सम्पन्न नगरेपछि दैनिक ०.०५ प्रतिशतको दरले उक्त कम्पनीले हर्जना तिर्नुपरेको हो । दैनिक हर्जना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रत गतिमा अघि बढाएको थियो । ग्वार्को ओभरपास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो । सुरुमा ठेक्का सम्झौता हुँदा २०८० साल फागुन ११ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद तोकिएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा काम गर्न सकेन । त्यसपछि आयोजनाको म्याद थप गरियो । दोस्रोपटक म्याद थप गरी २०८१ पुस ८ गते काम सक्ने अन्तिम म्याद तोकिएको थियो । दोस्रोपटक पनि थप गरिएको म्यादमा पनि काम हुन सकेन । दोस्रोपटक थपिएको म्याद अन्तिम पटकका लागि थियो । त्यसैले दोस्रोपटक थपिएको म्यादभित्र पनि काम हुन नसकेपछि ठेकेदार कम्पनीले दैनिक हर्जना तिरेर काम गरेको हो ।
काम भइरहेको बेला सातोदोबाटोतर्फ जगबाटै प्यानल वाल भत्काएर पुनः काम गर्नुपरेको थियो । करिब ४० मिटर जति ठाउँमा प्यानल वाल भत्काउनु परेको आयोजनाको भनाइ छ । आयोजनाका अनुसार प्यानल इन्टरलिंक हुँदा बिग्रिएको पर्खाल पूरै भत्काउनु परेको थियो ।
गुणस्तर केन्द्रका इञ्जिनियरहरूले सातदोबाटोतर्फ प्यानल वालमा ग्याप देखेपछि ४० मिटर दूरीमा प्यानल वाल भत्काउन लगाएका थिए । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
त्यसपछि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सदस्यहरूले पनि ओभरपासको स्थलगत अनुगमन गरेका थिए । समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा बुधबार समितिका सदस्यहरूले ओभरपासको स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा समितिका सभापति सिंहले पहिलोपटक निर्माण भएकोले यसलाई सकारात्मक सोच्नुपर्ने बताउनुभएको थियो । जामलाई व्यवस्थित र नियन्त्रण गर्न एउटा मात्रै ओभरपासले नपुग्ने बताउँदै १७/१८ ठाउँमा बनाउनुपर्ने उहाँको भनाइ थियो । ओभर ब्रिजमाथि जाम नभए पनि तल्लो सडकमा जाम हुने जिकिर गर्दै त्यसको नियन्त्रणको लागि पनि नीति बनाएर काम सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
स्थलगत अनुगमनका क्रममा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले ओभरपास आफैँमा नयाँ प्रोजेक्ट भएकोले निर्धारित बजेटमै सम्पन्न हुनु सुखद पक्ष भएको बताउनुभयो । ट्राफिक लाइट र दुर्घटना न्यूनीकरणको लागि सिसिटिभी क्यामेरा जडानलगायत प्राविधिक हिसाबले यात्रालाई सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ओभरपाससँगै यसको दायाँबायाँबाट हुने यात्रालाई सुरक्षित बनाउन सुरक्षा मापदण्डको खोजी हुने भएकोले त्यसमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच