
नमागिएको सल्लाह :
रुस-युक्रेन युद्ध सुरु हुँदा लागेको थियो रुस जस्तो शक्तिशाली देशले एकदिनमै युक्रेनलाई कर्यापझ्याप पारिहाल्छ तर त्यसो भएन । युद्ध हो, के हुन्छ भन्नै सकिँदैन । अरब-इजरायल युद्धमा हावी भएको इजरायलसँग पंगा लिन प्यालेस्टाइनको लडाकु संगठन हमासलाई कस्तो कुविचारले आक्रमण गर्यो-७ अक्टोबर २०२३ देखि लम्बिएको लडाइँको कारण प्यलेष्टिनी जनताको वंश विनाश हुन लागिसक्यो । जो बाँचेका छन्–मरेतुल्य छन्, खाना र पानीको लागि संघर्ष छ । इजरायलको पूर्ण नाकाबन्दीको कारण प्यालेस्टाइन क्षेत्र अस्तबयस्त छ ।युद्धविरामका चर्चाले झिनो आशा जगाउँछ, केही समयको अन्तरालमा निराशामा परिणत हुन्छ । इजरायल-हमास युद्धविराम पनि बन्दी साटासाटको विषयले भत्किरहेको छ । सर्वसाधारण पीडित जनताले जीवनदान ठानेको युद्धविराम भंग गर्न युद्ध पिपासुहरूलाई कुनै अप्ठ्यारो लाग्दैन-जनता मरेको मर्यै, घाइते छट्पटिएको छट्पटियै, भोक, प्यास र पीडाको अवर्णनीय कारुणिक शृंखला चलेको चल्यै, हामी जस्ता निमुखा हेरेको हेर्यै । अवतारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएमा २४ घन्टाभित्र रुस-युक्रेन युद्ध समाप्त पार्ने घोषणा गरेका थिए । जनबरी २० बाट हिसाब गर्दा आज ठीक पाँच महिना पूरा भएछ २४ महिनामा पनि के कसो होला भन्न सकिँदैन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँग नौवटा आणविक बम बनाउने पदार्थ रहेको कारण इजरायलको अस्तित्व समाप्त हुने भएकाले आत्मरक्षाका लागि यो आक्रमण गरेको बताएका छन् । यसको जवाफमा इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि भएको बताउँदै आएको छ ।
अल्पकालीन युद्धविराम पनि हुनसकेको छैन, युद्धको समाप्ति युद्धको आफ्नै नियम अनुसार हुनुबाहेक अन्य कूटनीतिक प्रयास सार्थक हुने लक्षण हालसम्म देखिएको छैन । गएको शुक्रबारबाट नयाँ युद्ध थोपरिएको छ । मध्य एशिया थप तनावग्रस्त बनेको छ । इजरायल-हमास, इजरायल हिजबुल्लाह, इजरायल-हुथी, सिरियाको असद शासनका अवशेषसँग लडिरहेको इजरायलले शुक्रबारको बिहानीपख इरानमाथि भीषण आक्रमण गर्यो-सैन्य इलाका लक्षित आक्रमणको क्रममा सेनाप्रमुख, उपप्रमुखलगायत उच्च सैनिक अधिकारीहरू र ६ जना परमाणु वैज्ञानिकहरूको हत्या भयो । ताजुब त के भयो भने नयाँ सेनाप्रमुख पनि दुई दिनमै इजरायली आक्रमणको सिकार बन्न पुगे ।
सहजै अनुमान लगाउन सकिन्छ-यस्तो अवस्थामा इरानी नेतृत्व र इरानी फौजको मनोबल कस्तो होला । हामी शृंखलाबद्ध रूपमा ठूला युद्ध भोग्न बाध्य भएका छौं । युद्धको पीडा सुरु भइसकेको छ । ऊर्जा क्षेत्रमा महँगीको प्रभाव देखापरिसकेको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम जारी छ । यो प्रतिग्यालेन १२० डलरसम्म पुग्ने अनुमान गरिएको छ । अब जनताको भागमा परेको छ-अनन्त पीडा ।
इजरायल-इरान युद्धको कारण
पौराणिक समयमा शक्ति, स्रोत र यौनका लागि लडाइँ हुने गरेको पाइन्छ । आधुनिक समयमा शक्ति र स्रोतका लागि युद्धहरू बढिरहेका छन् । अब इजरायलले पश्चिम एशियामा शक्तिशाली रहेको इरानमाथि आक्रमण किन गर्यो भन्ने विषयमा चर्चा गरौं । १३ मे शुक्रबार बिहान ३ बजेको ब्रहृममुहूर्तमा ‘अपरेसन राइजिङ लाइन’ अपरेसन सुरु गरेको इजरायलले २०० भन्दा बढी विमानबाट १०० भन्दा बढी निसानामा आक्रमण गरेको थियो । इरानको आणविक कार्यक्रमले इजरायलको अस्तित्वलाई नै समाप्त पार्ने भन्दै इजरायल आक्रमणमा उत्रेको हो ।
१३ मे साँझबाट इरान पनि प्रत्याक्रमणमा उत्रेको छ । ‘अपरेसन ट प्रमिस थ्री’ नामक सैन्य कारबाहीमा इरानले सयौं ड्रोन र ब्यालेष्टिक मिसाइलको प्रयोग गरेको छ । यो कारबाहीमा चार जनाको मृत्यु र ६० जना घाइते भएको बताइएको छ । सयौं मिसाइल एकै पटक प्रयोग गरेको कारण इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ पूर्ण प्रभावकारी हुन नसकेको विश्लेषण गरिँदैछ । ताजुब त के भयो भने इरानको आणविक कार्यक्रम र उसमाथि जारी नाकाबन्दीको विषयमा ओमनको मस्कटमा वार्ताको तयारी भइरहेको केही समयअगाडि मात्र युद्ध सुरु भएको छ । यसबाट बुझ्न सकिन्छ-इजरायल त्यो वार्ता प्रक्रियासँग असन्तुष्ट थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँग नौवटा आणविक बम बनाउने पदार्थ रहेको कारण इजरायलको अस्तित्व समाप्त हुने भएकाले आत्मरक्षाका लागि यो आक्रमण गरेको बताएका छन् । यसको जवाफमा इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि भएको बताउँदै आएको छ । जसलाई इन्टरनेसनल एटोनोमिक इनर्जी एजेन्सी (आइए इए) र पश्चिमा जगतले विश्वास गरेका छैनन् । सन् १९४८ मा इजरायलको स्थापना हुँदा उसलाई सुरुमा मान्यता दिनेमा इरान पनि थियो । इरानलाई यहुदीको दोस्रो घर पनि भनिन्थ्यो । सन् १९७९ मा इस्लामिक क्रान्ति भएर धार्मिक कट्टरपन्थीहरू शासनमा हावी भएपछि इजरायल-इरान सम्बन्ध दुश्मनीमा परिणत भएको हो ।
सर्वोच्च नेता अयातोल्ला रोहल्ला खोमेनीले इजरायलसँगका पुराना सम्झौता तोडेर इजरायललाई ‘जायनिष्ट’ राज्य घोषणा गर्दै प्यालेस्टाइनलाई समर्थन गरेको कारण परिस्थितिमा बदलाव आएको हो । इरानको परमाणु कार्यक्रम, इजरायलको लागि मात्र होइन संयुक्त राज्य अमेरिकालगायत पश्चिमा देशहरूका लागि नै टाउको दुखाइको विषय बनेको छ । अमेरिकाले पटक-पटक परमाणु कार्यक्रम रोक्न दबाब दिएको छ । वर्षौंदेखि इरान आर्थिक नाकाबन्दी झेलिरहेको छ । नाकाबन्दीको अप्ठ्यरो त छ तर यसले इरानलाई आत्मनिर्भर बनाइरहेको छ । सुरुवाती केही वर्ष कठिन भए तापनि क्रमशः आत्मनिर्भर अर्थतन्त्रतर्फ इरान बढिरहेको छ । इजरायलले बुझेको छ-अब नाकाबन्दीले परमाणु कार्यक्रम रोकिने अवस्था छैन ।
ट्रम्प जस्तो मुस्लिमविरोधी र आफूलाई पहिलेको भन्दा बढी समर्थन गर्ने राष्ट्रपति भएको मौकामा इजरायल इरानमाथि हावी हुन चाहन्छ । ऊ, अमेरिकालाई प्रत्यक्ष लडाइँमा तान्न चाहन्छ । इजरायललाई थाहा छ-नन्ताज आणविक केन्द्रमा क्षति पुर्याए पनि पहाडको भित्रीभागमा युरेनियम लुकाएर राखेको आणविक केन्द्र-फोर्डोमा क्षति पुगेको छैन । उक्त केन्द्रमा क्षति पुर्याउने क्षमता अमेरिकासँग मात्र भएको कारण इजरायल चाहन्छ-अमेरिकाले फोर्डो आणविक केन्द्रमा ‘बंकर बष्टर बम’ ले आक्रमण गरोस् ।
इरानमा धार्मिक आधारमा चलेको शासन व्यवस्था भएका कारण धेरै अन्धविश्वास मान्ने समाज छ । पारदर्शिताको नितान्त अभाव छ । धार्मिक गुरुको विरोध गर्नु अपराध मानिन्छ । नेतृत्व जनताप्रति जवाफदेही छैन । देशका हर्ताकर्ता धर्मगुरु खुमेनीलाई लाग्यो भने परमाणु हतियार प्रयोग हुनसक्ने खतराबाट केही कट्टर मुस्लिमदेश र इरानलाई समर्थन गर्ने ठूला देशबाहेक अन्य त्राहिमाम छन् । यसै कारण पनि इरानको आणविक कार्यक्रमप्रति चासो बढेको हो ।
अब के होला ?
नेपाली उखान छ-थुतुनो र....जोगाउनु भन्ने । धेरै लडाइँहरू तत्कालीन अवस्थाका शासकका भड्किलो बोलीका कारण भड्केका छन् । अहिलेको लडाइँमा इजरायलको सफल र अत्यासलाग्दो आक्रमणबाट इरान तंग्रिँदै थियो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले भनिदिए कथित धार्मिक नेता कहाँ लुकेका छन्, हामीलाई थाहा छ, आफ्नो कारणले मर्नबाट जोगिएका हुन्–आत्मसमर्पण गर्नु । यस्तो हेपाहा कथन कसैलाई पनि रुचिकर हुँदैन । त्यसमा पनि एकछत्र तानाशाही चलाएका धर्मगुरु, जसले त्रासको कारण भए तापनि, देशभित्र कसैको आलोचना सुन्नु पर्दैन, उनलाई लक्षित गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको कारण उनी रुष्ट हुनु स्वाभाविक थियो । उन्ले बुधबार इजरायलविरुद्ध युद्धको घोषणा गरिदिए ।
ट्रम्प युद्धमा सामेल भए भने यो युद्धको विस्तार हुनेछ । इरान नजिक रहेका अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गर्न सक्नेछ । चीन, रुस, उत्तर कोरिया जस्ता देशमाथि पनि दबाब बढ्नेछ । अमेरिकाका नजिक मानिएका देशलाई पनि मुस्लिमवादका कारण दबाबमा राख्नेछ ।
ट्रम्पले फोर्डो आणविक केन्द्रलगायतमा आक्रमण गरेर इरानलाई आणविक विस्तार कार्यक्रमबाट रोक्ने सम्भावना बढेर गएको छ । भनिँदै छ-आफ्नो अन्तरंग सहयोगीको विमतिका बाबजुद युद्धमा जोडिने मनःस्थिति ट्रम्पले बनाएका छन् । यद्यपि, ‘मेक अमेरिका ग्रेट अगेन’ नाराले युद्धमा सामेल हुन नैतिक बल दिँदैन । एक सर्वेक्षणमा ६० प्रतिशत अमेरिकीहरू युद्धमा सामेल हुन नचाहने पक्षमा रहेका छन् ।
ट्रम्प युद्धमा सामेल भए भने यो युद्धको विस्तार हुनेछ । इरान नजिक रहेका अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गर्न सक्नेछ । चीन, रुस, उत्तर कोरिया जस्ता देशमाथि पनि दबाब बढ्नेछ । अमेरिकाका नजिक मानिएका देशलाई पनि मुस्लिमवादका कारण दबाबमा राख्नेछ । अमेरिका युद्धमा प्रवेश गर्नेबित्तिकै युद्ध समाप्त भइहाल्छ भन्नु हतारो हुनेछ । युक्रेन पछिल्लो उदाहरण हो । यो युद्ध लम्बियो भने तेस्रो विश्वयुद्धको अभ्यास पनि हुनेछ । यो लडाइँबाट क्षेत्रीय अशान्ति त हुने नै छ । विश्वका धेरै देश प्रभावित हुने निश्चित छ । यो लडाइँले इरानको भूगोल परिवर्तन गर्न सक्छ । धार्मिक शासनको पतन हुनसक्छ भने अमेरिकाले अर्को भियतनामको नियति भोग्न सक्नेछ । तर, यसो नहुन सक्छ, कारण हो-युद्धको अभ्यास गरिरहेको र अतुलनीय गुप्तचर प्रणाली भएको इजरायलको साथ ।
पूर्वानुमान गर्न त कठिन छ-८ करोड ८० लाख जनसंख्या भएको इरान र जम्मा ९० लाख जनसंख्या र सानो भूगोल भएको देश इजरायल बीचको लडाइँमा कस्को बलियो उपस्थिति रहला तर पहिलो दिनको आक्रमणबाट इजरायलले इरानको सैन्य पंक्तिमा पु¥याएको क्षति, अहिले पनि इरानको आकाशमा इजरायलको कब्जालाई दृष्टिगत गर्दा इजरायलमाथि विजय हात पार्न इरानलाई कठिन छ । इरानले बहुप्रचारित फताह क्षेप्यास्त्र पनि प्रयोग गरेको छ । यो क्षेप्यास्त्रलाई पूर्णतया रोक्न इजरायली प्रतिरक्षा प्रणाली सफल त भएन तर प्रचार गरिएको जस्तो क्षति व्यहोर्नु परेको अवस्था पनि देखिँदैन ।
युद्ध र लडाइँकै संस्कार, संस्कृतिमा बाँचिरहेको देश इजरायलको साइरन प्रणाली, हरेक घरमा बंकर, युद्धमा जोगिने सीप भएको कारण इजरायलतर्फको क्षति इरानको तुलनामा कम देखिएको छ । प्यालेस्टाइनको हमास, लेवनानको हिजबुल्लाह, यमनको हुथी र सिरियाका वसद अल समर्थकविरुद्ध लडिरहेको इजरायल क्षेत्रकै शक्तिशाली देश इरानमाथि जाइलाग्न जानुले पनि इजरायलको मनोबलको सहजै अनुमान लगाउँन सकिन्छ । फोर्डो आणविक केन्द्रको चिन्ता नहुँदो त इजरायल यो लडाइँमा कसैको साथको याचना पनि गथ्र्यो अथवा आफैं निप्टारा गथ्र्यो अनुमान लगाउन कठिन छ । यो लडाइ चाँडै समाप्त भएन भने ‘स्ट्रेट अफ हर्बुज’ भनिने जलमार्ग बन्द भएको अवस्थामा तेलको आपूर्ति र मूल्यमा व्यापक प्रभाव पर्नेछ । यस्तै अन्य वस्तुको मूल्यवृद्धिले पनि सताउनेछ ।
इजरायलमा केयर गिभरलगायतका काममा गएका नेपालीहरूको सुरक्षामा सरकारी चासो पुगेन भने नेपाली असुरक्षित बन्न सक्दछन् । चीनले आफ्ना नागरिकको उद्दार गरिसकेको छ, भारत तत्परतापूर्वक लागिरहेको छ । हाम्रो राजदूतावास पनि उद्दारको प्रसंग त निकालिरहेको छ । छिमेकी देश भारतसँग सहयोग मागेर भए पनि आउन चाहने नेपालीको उद्दारमा सरकार चनाखो बन्नुपर्दछ । अहिलेसम्मको परिस्थितिमा नेपालीहरू ‘पर्ख र हेर’ को मनस्थितिमा रहेका छन्, बंकर, साइरन, आइरनडोम उनका साथी भएका छन् । यो सहाराले पुगेन भने राज्य आफ्ना नागरिक बचाउन पछि पर्नु हुँदैन ।
युद्धमा प्राविधिक जित कुनै पक्षको भएको देखिए तापनि त्यसमा पनि ठूलो क्षति भएको हुन्छ र लगानी परेको हुन्छ । बिनाप्रयोजन दैनिक अर्बाैं डलरको नोक्सानी भइरहेको हुन्छ । युद्धको बाटो समाधान होइन । सबै पक्ष युद्ध समाप्तितर्फ लाग्नु उपयुक्त छ । युद्ध मानवता र करुणाले हार्ने खेल हो । विश्व वन्धुत्व विछृंखलित हुने खेल हो । पुस्ता/पुस्तासम्म प्रभाव रहने खेल हो । यो खेलमा हारे जस्तो भए पनि युद्धको बाटोबाट शान्तिको बाटोमा डोहोर्याउने पात्र कालजयी बन्दछ । त्यसैले, आजैका मितिबाट अहिले नै युद्ध, लडाइँ र झगडा बन्द गरौं । उफ् ! कति पढ्नु युद्धका खबर, कति सुन्नु युद्धका कुरा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच