
काठमाडौं । स्कटल्यान्डमा जारी टी-२० त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । कुशल भुर्तेलको ११औं अर्धशतकसँगै नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा व्यहोरेको पराजयको बदलासमेत लिएको हो । ओपनर कुशल भूर्तेलको प्रभावशाली प्रदर्शनमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले सजिलै पराजित गर्यो । १७५ रनको लक्ष्यनेपालले चार विकेट गुमाएर दुई बल छँदै पूरा गरेको हो ।
अन्तिम ओभरमा नेपाललाई जितका निम्ति ७ रन आवश्यक थियो । १९औं ओभरको अन्तिम बलमा आरिफ शेख रिटायर्ट हर्ट हुनुभयो । उहाँको स्थानमा आउनुभएका लोकेश बमले अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाउनुभयो । ज्याच लायनको पहिलो बलमा छक्का हान्नुभएका लोकेशले दुई बल डट खेल्दै चौथो बलमा फेरि छक्का प्रहार गरेर नेपाललाई जित दिलाउनुभएको हो ।
त्यसअघि आरिफले आक्रामक इनिङ्स खेल्ने क्रममा २३ बलमा ३९ रन बनाउनुभयो । उहाँले ३ चौका र २ छक्का प्रहार गर्नुभयो । त्यसअघि १६औं ओभरमा आउट हुनुभएका कुशलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाउनुभयो । ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा टी-२० आईमा डेब्यु गर्नुभएका भीम सार्कीले २७ रन जोड्नुभयो । उहाँले १६ बलमा दुई चौका र एक छक्का हान्दै डेब्युलाई स्मरणीय बनाउनुभयो । ओपनर आरिफ शेख ७, कप्तान रोहित पौडेल ६ रनमा गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित १६ रन बनाउनुभयो ।
नेपालले टस जितेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्सले ओपनर माइकल लेभिटको सानदार अर्धशतकमा १७४ रन बनाएको थियो । ७ विकेट गुमाएको डच टोलीका लागि लेभिटले ८६ रन बनाउनुभयो । करण केसीको बलमा कप्तान रोहितबाट छैटौं विकेटका रूपमा क्याचआउट हुनुअघि लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्नुभयो ।
४५ रनमै ४ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि रोइलोफ भान डेर मर्बीले अविजित ३६ रन बनाउनुभयो । उहाँले २१ बलमा ४ चौका र एक छक्का हान्नुभयो । उहाँसँगै आर्यन दत्त अविजित रहनुभयो । आर्यनले १७ रन जोड्दा १ चौका र १ छक्का प्रहार गर्नुभयो । सफिब जुल्फिकरले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सक्नुभएन ।
नेपालबाट करणले २, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १-१ विकेट लिनुभयो । पहिलो ओभरको पाँचौं बलमा विक्रमजित सिंहलाई दीपेन्द्रबाट क्याचआउट गराएर ललितले विकेट लिन सुरुवात गर्नुभएको थियो ।
अघिल्लो खेल खेलेका अनिल शाह, बसिर अहमद र किरण ठगुन्नाको स्थानमा बिहीबार भीमसहित शेख दाजुभाइ आरिफ र आसिफले टोलीमा स्थान बनाएका थिए । टी-२० शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर खेल गुमाएको नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । डच टिमले बुधबार स्कटल्याण्डविरुद्धको खेल १७ रनले जितेको थियो । स्कटल्याण्डले आफ्नो पहिलो खेल नेदरल्याण्ड्समाथि ३९ रनको जित पाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच