
काठमाडौं । बहुप्रतिक्षित ललितपुरको ग्वार्काेस्थित ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित ओभरपासको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएको बताउनुभयो । ओभरपास सञ्चालनमा आएसँगै ग्वार्काेसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान हुने उहाँको भनाइ थियो ।
उहाँले ओभरपास निर्माण भएको, दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको भन्दै नेपाल विकासको चरणमा प्रवेश गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘फ्लाई ओभर जस्तै दैलेखमा ग्याँसको सुरुवात पनि मैले नै गरेको हुँ । धौवादी फलाम कारखाना अगाडि बढाउँदैछौं । त्यो सम्पन्न हुनेबित्तिकै नेपाललाई सयौँ वर्षलाई पुग्ने आइरन, स्टिल कारखाना स्थापना गर्नेछौं । त्यसले देशको अर्थतन्त्र धेरै अगाडि बढाउँछ ।’
ओभरपास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएको बताउनुभयो ।
उहाँले अन्य खनिज कारखाना स्थापना, कृषिको आधुनिकीकरण भइरहेको भन्दै देश नयाँ चरणमा प्रवेश गरेको जिकिरसमेत गर्नुभयो । पहिलेभन्दा धेरै उद्योग सञ्चालनमा रहेका, हुलाकी राजमार्गले तराईको मुहार फेरेको उहाँको भनाइ थियो । काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डमा निर्मित ग्वार्काे ओभरपासको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गरेको हो ।
गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
नेपालकै पहिलो उक्त प्लाई ओभर दुर्ई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेकोमा पाँच महिना ढिलो गरी सम्पन्न भएको हो । दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष-समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० साल फागुन ११ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि पटक-पटक म्याद थप्नुपरेको थियो । ठेकेदार कम्पनीले पटक-पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको हो । त्यसैगरी अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको बताइएको छ । त्यसको असर स्वरूप सातदोबाटोतर्फको भागमा असमान रूपमा माटो दबिँदा प्यानल-४ र प्यानल-५ बीचको अन्तराल बढेको थियो । उक्त समस्या समाधान गर्न दुवै प्यानललाई खोलेर पुनः सन्तुलनसहित जडान गर्नुपरेको थियो । ग्वार्को ओभरपासको कुल ¥याम्प र पुलको लम्बाई ५७६.२ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको ¥याम्पको दूरी भने १०.२ मिटर रहेको छ । बीचको पुल खण्डको लम्बाई भने ३६.२ मिटर छ ।
तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरुको सम्झौताभन्दा १४ करोड लागत थप भएको थियो । करिब १७ करोड छ लाख ८८ हजार आठ सय ८८ मा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएकोमा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार चार सय ४० पुगेको छ । सम्झौताअनुसार निर्माणपछि निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुटि सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच