
नेपाली नाटक बालकृष्ण समदेखि आधुनिकतामा प्रवेश गरेको हो । नाटकमा समले नेपाली समाजलाई उतारेर बाहिर ल्याए । समको समयदेखि आजसम्म नेपाली नाटकले विभिन्न चरण पार गरिसकेको छ । ती चरणमा नेपाली नाटकको क्षेत्रमा रिमाल, मल्लबन्धुहरू देखापरे । नाटकको नाटकीय कार्यव्यापारलाई जीवन्त बनाउने उद्देश्यका साथ भित्रिएको नेपाली नाटकमा समाजको प्रतिबिम्ब उतारिएको हुनुपर्दछ । नाटक दृश्यकाव्य हो । दृश्य भएका कारण नाटकमा अविश्वनीय घटनाको समावेश हुनुहुँदैन । यो सत्य हो । यही सत्यलाई टेकेर नाटककारले जीवनको वास्तविकतासित मितेरी गाँसेको हुनुपर्दछ । नाटक सत्यको निकट हुनु अनिवार्य मानिन्छ । नाटकको पहिचान र त्यसले निर्वाह गर्ने भूमिकामा नाटककार सजग हुनु अनिवार्य मानिएको हुन्छ ।
आधुनिक नाटक क्षेत्रमा देखापरेका व्यक्ति हुन् प्रवीण पुमा । उनले नेपाली नाटकका क्षेत्रमा प्रशस्त नाटकहरू लेखेका छन् । उनी समसामयिक धाराका नाटककार हुन् । नेपाली समाजको आजको सन्दर्भलाई नाटकमा समाहित गरेर लेखिने उनका नाटकले मानव सभ्यताको इतिहास र त्यसले निर्वाह गरेको भूमिकालाई समाहित गरेका हुन्छन् । उनका नाटकहरू मञ्चन भइसकेका हुन्छन् । मञ्चन गरेरमात्र साहित्यका फाँटमा पठाउने उनको नाटकगत पहिचान भने भिन्न किसिमको रहेको पाइन्छ । उनको मञ्चन भइसकेको नाटक हो सुम्निमा पारुहाङ (२०८१) । नेपाली नाटकका क्षेत्रमा यो कृति मिथकीय स्वरूपलाई वरण गरेको नाट्यकृति हो ।
मिथकमा गुथिएको नाटक
प्राचीन परम्परालाई आधुनिक ढाँचामा ढाल्नु मिथक हो । अझ प्राच्यकथावस्तुलाई आधुनिकताको साँचोमा ढालेर पस्कनु मिथक हो । यही मिथकको एउटा उदाहरणका रूपमा सुम्निमा-पारुहाङ नाटक देखापरेको छ नेपाली साहित्यमा नाटकको इतिहासमा । मानिस आफैँमा संसारको गतिशील प्राणी हो । यसको पहिचान समाजको सामाजिक अवस्थालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने आदर्श प्राणीका रूपमा लिने गरिएको पाइन्छ । विसं २०५९ मा तयार पारेर मञ्चन गरिएको यो नाटकको प्रकाशन भने २०६४ मा भएको थियो । यो नाटकको तेस्रो संस्करण २०८१ मा भएको हो ।
यो मुन्दुमी मिथकलाई लिएर लेखिएको नाटक हो । मुन्दुमले सुम्निमा र पारुहाङलाई निराकार निगुर्ण र अपरिमेय रूपमा प्रस्तुत गरेको छ । पुमाले त्यही निराकार रूपलाई साकार बनाएर नाटकमा प्रस्तुत गरेका छन् । उनी निराकार निर्गुण साकार सगुणमा पनि उपस्थित हुनसक्छ भन्ने मान्यतालाई यसमा प्रस्तुत गरेका छन् । छोटा संवादलाई जीवन्त बनाएर प्रस्तुत यो नाटकले मानवको जीवनलाई नजिकबाट हेरेको देखिन्छ । मानिसको जीवन बुझिनसक्नु छ । यो जीवनको सत्यलाई बुझ्न मानिसको मानवीय चेतनाले आफूलाई तरोताजा रूपमा उतार्न सक्नुपर्दछ ।
जीवनको रहस्यलाई सम्झँदै सुम्निमा नाटकमा भन्छिन् :-
यो जिन्दगी पनि अचम्मको रहेछ । यो चर्खा जस्तै मेरो जिन्दगी पनि निरन्तर घुमिरहन्छ, घुमिरहन्छ । कहिले पनि रोकिँदैन । आफैँलाई अचम्म लाग्छ (पृ.१००) । जीवनलाई गतिलो तरिकाले बुझेका व्यक्तिलाई यहाँ उल्लेख गरिएको पाइन्छ । यही अवस्थाको चित्रण जीवन बुझाइमा पुमाले राखिदिएका छन् । मिथकलाई नाटकमा ढाल्नु अति गम्भीर विषय हो । यो गम्भीरतालाई बुझेर पुमाले नाटकमा प्रवेश गराएका छन् ।
यो मुन्दुमी मिथकलाई लिएर लेखिएको नाटक हो । मुन्दुमले सुम्निमा र पारुहाङलाई निराकार निगुर्ण र अपरिमेय रूपमा प्रस्तुत गरेको छ । पुमाले त्यही निराकार रूपलाई साकार बनाएर नाटकमा प्रस्तुत गरेका छन् । उनी निराकार निर्गुण साकार सगुणमा पनि उपस्थित हुनसक्छ भन्ने मान्यतालाई यसमा प्रस्तुत गरेका छन् ।
ईश्वरलाई साकार रूपमा प्रस्तुत गर्नु पुमाको मूल पहिचान हो । यही पहिचानलाई पुमाले गतिलो तरिकाले नाटकमा उठाएका छन् । तत्कालीन समाज कस्तो थियो भन्ने सन्दर्भलाई हामीले आफ्नै धर्मशास्त्रमा अध्ययन गर्ने हो । त्यस अध्ययनलाई समाजसित जोडेर हेर्नुलाई साह्रै कठिन विषय मान्न सकिन्छ । पुमाले सजिलो तरिकाले यसमा प्रस्तुत गरेका छन् । वर्तमान समाजको नाडी छाम्न सफल भएका छन् पुमा । समाजको सामाजिक अवस्थालाई चित्रण गर्न सफल भएका छन् पुमा । मिथकलाई समाजको संरचनामा बाहिर ल्याउनु चानचुने कुरा होइन । पुमाले यो खुबीलाई नाटकमा देखाएका छन् ।
मानिस समाजको त्यो प्राणी हो । समाजका सबै समस्यासित जुध्न सक्ने क्षमता मानिससित हुनु अनिवार्य मानिन्छ । एउटी आमाले भोगेको सामाजिक समस्यालाई लिएर सुम्निमा भन्छिन् :-
हुन त आफ्नो सन्तानको मृत्युले कुन आमालाई पो पीडैपीडाबाहेक खुशी बनाउँछ र ? तर त्यो पीडा नसहेर पनि के गर्नु र ? सहनै पर्दोरहेछ । जीवनमा धेरै पीडाहरू सहनुपर्ने रहेछ । तर पीडैपीडामा बसेर पनि हुँदैन (पृ.११९) । कति गम्भीर तरिकाले व्यक्त भएका छन् नाटककार । यही खुबी छ पुमाको नाट्यकारितामा । ईश्वरको मानव सृष्टि आफैँमा पूर्ण हुन्छ । सृष्टिमा आएको मानिसले सदा सङ्घर्ष गर्नु अनिवार्य मानिन्छ तर सङ्घर्षको पहिचान उसको आफ्नो स्वरूप पनि हो ।
नाटक दृश्यमा विभाजन छ । अङ्कलाई यसमा स्थान दिइएको छैन । आधुनिक वा समसामयिक धाराको पहिचान यस नाटकले अक्षरशः निर्वाह गरेको देखिन्छ । संवादमा देखापरेको सरलपनले नाटकलाई सहज बनाएको छ । पुमा एक सबल नाटककार हुन् । उनको नाट्यकारित नेपाली नाटकका क्षेत्रमा बेग्लै किसिमको देखापरेको पाइन्छ ।
मानिसको विकासलाई जीवन्त बनाउने उद्देश्यले सुम्निमालाई पारुहाङ भन्छन् :- यस धर्तीमा तिम्रै शाखासन्तानहरूले ढाक्नेछ । तिम्रै शाखासन्ताहरूले यो धर्तीमा राज्य गर्नेछन् (पृ.१४८) । यसरी प्रकृति र मानवलाई जीवन्त रूपमा पुमाले नाटकमा उतारेका छन् ।
संवादमा सरलता
नाटकको सबैभन्दा महत्वपूर्ण पक्ष संवाद हो । प्रवीण यो नाटकको संवादमा सारै मितव्ययी बनेर देखापरेका छन् । दृश्यको आरम्भमै स्थान, समय, पात्र र घटनाको जानकारी गराएर पाठकलाई सजिलो बनाइदिएका छन् । यस प्रसङ्गले मानौँ पढिरहेको पाठक नाटक हेरिरहेको अनुभवमा पुगेको देखिन्छ । यही परिवेशलाई सबै दृश्यमा अपनाएका कारण नाटकलाई बुझ्न सहज बनेको छ पाठकका लागि । लामा लामा संवादको प्रयोग प्रवीणले नाटकमा गरेका छैनन् । सरल र सहज तरिकाबाट संवाद व्यक्त हुनुले पाठकको मनलाई खिच्न नाटकका प्रत्येक पात्र सफल भएको देखिन्छ । सरल वाक्यमा अभिव्यक्त भएका नाटकका संवादले पाठकलाई तानेको देखिन्छ ।
पूर्वमा खेम्पालुङ छ । पश्चिममा खुम्बुलुङ छ । पोखरीको वरिपरि जङ्गल छ (पृ.६६) । यति सरल तरिकाले संवादलाई व्यक्त गर्नु पुमाको मूल पहिचान हो । यही सरल र सहज संवादको पहिचानमा रमेका छन् पुमा । छोराहरूलाई सम्बोधन गर्दै सुम्निमा भन्छिन् ः– तिमीहरू एक्लै भए पनि सधैँ खुशी रहनू । सुखी रहनू । दाजुभाइ मिलेर बस्नू । एकले अर्काको कुभलो कहिल्यै नचिताउनू । यदि तिमीहरू मिलेर बस्यौ भने कुनै पनि शत्रुले छुन सक्दैन । सधैँ तिमीहरूको जित हुनेछ । तिमीहरूले सधैँ जितेर खानू (पृ.१२७) । कति मीठो संवाद छ । पूर्वको दर्शनलाई पुमाले यति सरल भाषामा नाटकभित्र राखिदिए । यही हो पुमाको नाटकीय खुबी पनि ।
प्रकृति आफैँमा पूर्ण छ । प्रकृतिमा देखापरेका सबै पक्षको चित्रण यो नाटकमा पाइन्छ । प्रकृतिलाई मानवीकरण गर्ने क्षमता प्रवीण खचाखच भरिएको पाइन्छ । भाषामा सरलता भए पनि पुमाले मुन्दुमी भाषाको प्रयोग गरेको देखिन्छ । सुम्निमा र पारुहाङ नाटक मिथकमा आधारित नाटक हो । यसले सृष्टिको क्रमलाई बताएको छ । कार्य हुनुपूर्व कारणको आवश्यकता न्यायदर्शनको पहिचान हो । यस पहिचानलाई पुमाले सरल तरिकाबाट नाटकमा राखिदिएका छन् । प्रकृतिको भव्य चित्रण नाटकमा गरिएको पाइन्छ । प्रकृति मानवको सृष्टिक्रमलाई मुन्दुमी सन्दर्भबाट उठाएर उनले सुटुक्क नाटकमा समावेश गरेका छन् ।
चौध दृश्यमा संरचित यो नाटकले जीवनको सत्यलाई उद्घाटन गरेको छ । मानव जीवनका सबै पक्षलाई केलाएको छ । मानवीय सन्दर्भलाई बाहिर ल्याएको छ । मुन्दुमी सन्दर्भबाट सृष्टिको उपक्रम बताएको छ । समाजलाई गहिरो तरिकाले नियालेको छ । मानिस आफैँमा सबै होइन है ! ईश्वरीय देन हो भनेको छ । समाजको परिवर्तनमा मानिसलाई गतिशील हुन आग्रह पनि गरेको छ । सुम्निमा र पारुहाङले धर्तीमा मानिसको उत्पत्ति गराएर आफूहरू यो धर्तीलाई छोडेर गएको देखाइएको छ । संसार सृष्टिको क्रममा देखिएका सन्दर्भलाई प्रवीणले बाहिर ल्याएका छन् ।
नाटक दृश्यमा विभाजन छ । अङ्कलाई यसमा स्थान दिइएको छैन । आधुनिक वा समसामयिक धाराको पहिचान यस नाटकले अक्षरशः निर्वाह गरेको देखिन्छ । संवादमा देखापरेको सरलपनले नाटकलाई सहज बनाएको छ । पुमा एक सबल नाटककार हुन् । उनको नाट्यकारित नेपाली नाटकका क्षेत्रमा बेग्लै किसिमको देखापरेको पाइन्छ । उनको नाटकले देखाएको बाटोमा आजको समाज गतिशील बनेको छ ।
वर्तमान युग वैज्ञानिक युग हो । यस युगले हामीलाई आणविक शक्ति प्रदान गरेको छ । वैज्ञानिक सम्पन्नतामा रमेका हामी प्रकृतिलाई समाप्त पार्न उद्दत देखिएका छौँ । पुमाले प्रकृतिको संरक्षणमा आफूलाई समर्पित गरेका छन् यो नाटकका माध्यमबाट । उनले प्रयोग गरेको भाषामा किरात भाषाका शब्दहरूको प्रयोगले नाटक सामान्य पाठकका लागि भने बोधगम्य हुनसकेको छैन । शब्दको अर्थ त उनले बताएका छन् तर दृश्याङ्कनमा सबल भए पनि पाठकको मनलाई शब्दको दुरुहताले रससिक्त बनाउन सकेको छैन ।
समग्रमा प्रकृतिको रक्षा, मानवीय भावनाको कदर, ईश्वरीय सृष्टिको संरक्षण, एकअर्काप्रतिको सद्भाव नाटकको मूल पहिचान हो । मिथकलाई अहिलेको समयमा देखिएका सामाजिक संरचनामा ढाल्नु चानचुने कुरा होइन । पुमा यो नाटकमा सफल देखिएका छन् । उनको कलमले अझ सशक्त नाट्यकृति नेपाली नाटकलाई दिनेछ भन्ने साधुवाद सहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच