
शीर्षक पढ्दा धेरैजनालाई यो कतै पूर्वाग्रही लेखन त होइन भन्ने लाग्ला कुरा त्यसो होइन । महावीर पुन स्वयंले आफ्नो पुस्तकमा ठाउँठाउँमा भनेका शब्दहरू हुन् । विश्वले चिनेका सामाजिक अभियन्ता महावीर पुन उनी आफैँले माने जस्तै मूर्ख मानिस नै होलान् त ? हामी कसैलाई पनि त्यस्तो लाग्दैन तर यति कुरा पक्कै हो उनी हामी धेरै जस्ता सामान्य मानिस भने होइनन् । म्याग्दीको विकट गाउँ नागीमा जन्मिएर संयुक्तराज्य अमेरिकाको नेब्रास्का कर्नी स्टेट युनिभर्सिटीबाट छात्रवृत्तिमा स्नातक, स्नातकोत्तर अनि मानार्थ विद्यावारिधि गरेका महावीर पुन आज संसारले चिन्ने व्यक्ति भएका छन् ।
उनकै भाषामा भन्दा म कुनै अतिरिक्त प्रतिभा सम्पन्न व्यक्ति होइन न त मैले मेरो विशेष योग्यताका कारणले अमेरिकामा पढ्ने अवसर पाएको हुँ । मैले जेजति काम गर्न सकेको छु मेरो एकोहोरो लागिरहने बानी र अथक परिश्रमका बलले प्राप्त गरेको छु । पुनका अनुसार कर्नी युनिभर्सिटीका डा.स्कोभ भन्ने प्रोफेसरलाई ‘चीन र भारतका बीचमा नेपाल भन्ने एउटा सानो देश छ र माउण्ट एभरेण्ट त्यही देशमा पर्छ भन्ने कुरा थाहा रहेछ । त्यसबाहेक नेपालका बारेमा केही कुरा थाहा रहेनछ । मैले छात्रवृत्तिका लागि पठाएको पत्र पढेपछि भौगोलिक र सांस्कृतिक विविधता भएको सुन्दर देशका मानिस कस्ता हुँदा रहेछन् र के के गर्दा रहेछन् ? भनेर हेर्न मन लागेछ त्यसैले मलाई छात्रवृत्ति दिनाउन मद्दत गरेका रहेछन् ।
डा.स्कोभको नेपालका मान्छे हेर्ने रहरले मैले छात्रवृत्ति पाएको रहेछु । छात्रवृत्ति पाउने प्रतिभा भएको राम्रो शैक्षिक योग्यता भएको जेहेन्दार व्यक्ति भएका कारण मैले छात्रवृत्ति पाएको होइन (पृ.७६-७७) ।’ दुर्गम पहाडी गाउँमा जन्मिनु, आइएस्सी गरी तेह्र वर्ष विद्यालय शिक्षक भएर काम गर्नु, सिडियोसँग खटपट परेर जागिर छोड्नु, अठार महिनासम्म काठमाडौँमा बसेर छात्रवृत्तिका लागि प्रयत्न गर्नु, अमेरिकामा आई ब्याचलर सकेर गाउँमा गएर समाजसेवामा लाग्नु, चार वर्षपछि पुनः अमेरिका आएर स्नातकोत्तर गर्नु त्यसपछि लगातार बीस वर्ष दुर्गम गाउँमै बसेर शिक्षा, सञ्चार र स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्नु, राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र प्रवर्धनमा लाग्नु, शिक्षा, स्वास्थ्य र विज्ञानप्रविधिका माध्यमले समाजसेवालाई तिव्रता दिँदै जानु, विश्वले प्रदान गरेका पुरस्कार थाप्दै अनि विश्वका विभिन्न मुलुकमा घुमेर ज्ञान र अनुभवहरू बटुल्दै जानु आदि यस पुस्तकका र पुनको जीवनका पनि मुख्य विषय रहेका छन् । यिनै कुराको प्राप्तिका चरणमा भएगरेका यावत् कुराहरू पुस्तकमा समाविष्ट छन् ।
नेपालका ती असाधारण प्रतिभालाई भौतिक रूपमा अहिलेसम्म भेटेको छैन । उनका कर्म र कीर्तिका कथा भने सुन्दै आएको छु । अहिले म त्यही राज्यमा छु जहाँ केही वर्ष पहिले वैज्ञानिक महावीर पुनले अध्ययन गरेका थिए । संयोगले उनले लेखेको महावीर पुन सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक पनि यहीँ आएर पढ्ने सुयोग जुर्यो ।
मानिस जति असाधारण हुन्छ उसको जीवनका कथाहरू पनि त्यत्तिकै रोचक र घोचक हुन्छन् अनि मानिसको विचार र स्वभाव पनि त्यत्तिकै पृथक् र महान् पनि हुन्छ । माथिका केही स्वीकारोक्तिहरूमा पनि सत्यता अवश्य होला साथै पुनको महानता पनि त्यत्तिकै झल्किएको हुनसक्छ । नेपालका ती असाधारण प्रतिभालाई भौतिक रूपमा अहिलेसम्म भेटेको छैन । उनका कर्म र कीर्तिका कथा भने सुन्दै आएको छु । अहिले म त्यही राज्यमा छु जहाँ केही वर्ष पहिले वैज्ञानिक महावीर पुनले अध्ययन गरेका थिए । संयोगले उनले लेखेको महावीर पुन सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक पनि यहीँ आएर पढ्ने सुयोग जु¥यो । अभिरुचिपूर्वक पढिने थोरै पुस्तकहरू हुन्छन् । यो पुस्तक त्यसरी नै पढियो ।
तीन सय छ पृष्ठको अठार शीर्षमा विभक्त यो पुस्तक अक्षरशः पढेर सिध्याएपछि मन हलुको त भयो तर पुस्तकले धेरै जिज्ञासाहरू सँगसँगै जन्मायो । उनले पढेको देश, राज्य र विश्वविद्यालयको नजिकै आएर उनैले लेखेको पुस्तक पढ्दा केही गर्वको अनुभूतिका साथै उनीप्रति श्रद्धा पनि बढेर गयो ।
मानिसभित्र जस्तो छ बाहिर त्यस्तै नदेखिनु, जस्तो देखिएको छ त्यसभन्दा फरक किसिमले अर्थ गरिनु, मानिस स्वयंले एकथरि छु भन्दाभन्दै पनि अर्कोथरि ठानिनु, मानिसका बारेमा जेजसरी मूल्याङ्कन हुनुपथ्र्यो त्यसरी नगरिनु, मानिसको प्रतिभा र क्षमताको सही आँकलन नहुनु, उसलाई काम गर्ने वातावरण प्राप्त नहुनु, सम्मान र प्रोत्साहन गर्नुको साटो उपेक्षाभाव बढ्दै जानु र हदैसम्मको वितृष्णा बढ्दैजाने अवस्था सिर्जना हुनु जस्ता धेरै कुराहरूको संयोग महावीर पुनमा चरितार्थ भएजस्तो लागेको छ । आज पनि देशका प्रतिभा सम्पन्न युवाहरू पुन जस्तै निराश छन् । मनमस्तिष्कमा उम्रिएका देशप्रतिका सुन्दर सपनाहरू ओइलाउँदै मर्दै जाने विडम्बना जारी छ ।
पुनले देशलाई कसरी उन्नत पार्न सकिएला ? के चलिरहेकै अवस्थाले देश बन्ला त ? वा केकसो गर्नु उचित होला ? आफ्नो जीवनको महŒवपूर्ण समय देशकै लागि कसरी प्रयोग गर्न सकिएला ? भन्ने विषयमा आफ्नो ज्ञान र अनुभव मिसाएर यो पुस्तक तयार गरेका छन् । पुस्तक पढ्दा कति ठाउँमा गम्भीर भइन्छ, कति ठाउँमा उत्साहित भइन्छ, कति ठाउँमा उत्तेजित भइन्छ अनि कति ठाउँमा निराश पनि भइन्छ । जीवन सिकाइको पाठशाला हो । कर्मको आधार हो । परिश्रमको थलो हो । कर्तव्यको आँगन हो । श्रम, सीप र अठोटको मैदान हो । देश आफ्नै घर हो । देशलाई उजिल्याउने हाम्रो कर्तव्य हो । हामीले नगरे कसले गर्ने ?
अहिले नगरे कहिले गर्ने ? भन्ने शिक्षा यस पुस्तकले दिन चाहेको छ । यसरी देशकै स्वार्थमा आफूलाई समर्पित गर्ने व्यक्ति कम हुन्छन् । पुस्तक पढ्दा लाग्छ महावीर पुनहरू जस्तै मानिसको खाँचो छ । केही सीमाहरू होलान् तिनलाई सच्याउँदै जानुपर्छ । एकोहोरो हुनु लागिपर्नुको अर्को नाम हो । दायाँबायाँ नभड्किएर आफ्नो लक्ष्यमा निरन्तर लागिरहनु नै एकोहोरो हुनु हो अनि कहीँकतैबाट आफूलाई प्रभावित पार्न खोज्दा पनि नभड्किनु उद्देश्यमा लागिपर्दा आइलाग्ने कुतर्कका पछाडि नलागेर असम्भवलाई पनि सम्भव पारेर देखाउने अडान राखिराख्नु मूर्ख हुनु पनि हो ।
यो देशमा विद्वान् भनिनेहरू, भद्रभलाद्मी ठानिनेहरू, ज्ञानी महापुरुष कहलिएकाहरूका नक्कली कुरा, थोत्रा भाषण, ऐँजेरु पलाएका विचार र दर्शनहरू धेरै फलाकिएका छन् । अब त देशमा महावीर जस्तै कम बोल्ने, एकोहोरो लक्ष्यलाई पछ्याउने मूर्ख मानिस चाहिएको छ । हो महावीरले अलिकति रुखो बोलेका छन्, जिद्दी गरेका छन् । लोलोपोतो घसेर काम पट्याउने कला उनीसँग छैन होला तर जायज कुरा गर्ने मानिस यस्तै लहडी र जिद्दी हुन्छन् । उनी निर्दोष लाग्छन् । पटक–पटक उनले आफूलाई कतिपय कुरा पटक्कै ज्ञान नभएका विषयमा चर्चा गरेका छन् ।
त्यसपछि के हुन्छ भन्ने बारेमा कत्ति पनि जानकारी नहुँदानहुँदै पनि उनी अगाडि बढेको देखिन्छ । धेरै पटक उनी काममा आफ्नै भुल र अज्ञानताका कारणले असफल भएका छन् तर पनि लागिरहेका छन् । उनको निर्दोषपन पनि उनको अभियानको साक्षी बनेरै रहेको छ । धेरै बुझेजस्तो गरेर कत्ति काम नहुनुभन्दा कम बुझेर पनि धेरै कुरा हात लाग्नु निर्दोष अभियानको सफलता हो ।
पुनले गरेका केही सामाजिक कामहरूका बारेमा सार्वजनिक सञ्चारमाध्यममा आउने गरेका भएपनि उनलाई नै भेटेर कुरा गर्ने समय जुराउन सकिएको छैन । नेपालबाट अमेरिका पुगेर पढेका अनि नेपालका दूरदराज गाउँमा बसेर काम गरिरहेका उनका बारेमा जेजति कुरा बाहिर आएका भए पनि मैले र मजस्ता अरू धेरैले बनाउने धारणा उनी स्वयंले व्यक्त गर्ने गरेका धारणाभन्दा फरक नै छन् भन्ने लाग्छ । उनले त धेरै ठाउँ मलाई अरू सबैले जेजस्ता धारणा बनाएका छन् म ती धारणाभन्दा फरक छु भनिरहेका छन् ।
न म धनाड्य व्यक्ति हुँ, न म धेरैले भनेजस्तो अतिरिक्त प्रतिभा भएको व्यक्ति हुँ, न म अमेरिकाको राम्रो जागिर छोडेर नेपाल आएको व्यक्ति हुँ, म त अत्यन्त साधारण व्यक्ति हुँ जो आफ्नो अथक परिश्रम र मिहिनेतले यत्तिको भएको हुँ इत्यादि । वास्तवमै उनले लेखेको पुस्तक पढेपछि उनका बारेका मेरा पनि धेरै धारणाहरू फेरिएका छन् । उनको बाल्यकाल, उनले गरेको सङ्घर्ष, उनको मिहिनेत, उनले भनेजस्तै उनको एकोहोरो र मूर्खपन आदि साँच्चै प्रेरणादायक रहेछन् । उनको जीवनी र कर्मबाट धेरै कुराहरू सिक्ने मौका मिल्दो रहेछ ।
उनले आफ्नो किताबमा अनुसन्धान, आविष्कार र नवप्रवर्तनका धेरै कुरा गरेका छन् । अझ भनौँ उनको जीवन नै अनुसन्धान, आविष्कार र नवप्रवर्तनमै बितेको रहेछ । उनले संसारका धेरै मुलुक घुमेका छन् । धेरै विश्वविद्यालयहरूमा पुगेका छन् । धेरै ठाउँ आफ्नो दृष्टिकोण राखेका छन् । अरूका कुरा सुनेका छन् । आफूले गरेको योगदानको कदर गरेर विश्वले प्रदान गरेका ठूला ठूला पुरस्कार र सम्मानहरू ग्रहण गरेका छन् । संयोगले नेपालको कुनै विश्वविद्यालयको प्रोफेसर भएर पनि उनीसँग आजसम्म भेट हुन नसकेको अनि उनका बारेको जानकारी समेटिएको पुस्तक पढ्न पनि अमेरिकामै जुरेको कुरालाई संयोग मात्र भनेर नपुग्ला जस्तो लागेको छ । आफ्नै छिमेकी जिल्ला म्याग्दीमा जन्मिएर संसारले चिन्ने सामथ्र्य बनाएका उनलाई हामीले धेरै पहिल्यै पढ्नुपथ्र्यो । उनको प्रतिज्ञा र सङ्कल्पको सहयात्री हुनुपथ्र्यो ।
उनले आफ्नो किताबमा अनुसन्धान, आविष्कार र नवप्रवर्तनका कुरालाई यति धेरै महत्व दिनुका पछाडि उनको गहिरो ज्ञान र अनुभव समेटिएको रहेछ । यति धेरै क्षमता भएका व्यक्ति किन यसरी खरो कुरा गर्छन् ? किन सधैँ सत्ताको प्रतिपक्षी कित्तामा उभिएजस्ता देखन्छन् ? देशको मुहार फेर्न लागि परेको व्यक्ति किन यति धेरै उपेक्षित हुन्छ ? किन सुनिँदैनन् उनका कुराहरू ? किन यस्तै भइरहन्छ देशमा ? के महावीर पुन लहडी व्यक्तिमात्रै हुन् त ? उनले उठाएका मुद्दाहरू साँच्चै उनकै हितमा प्रयोग हुनका निम्ति हुन् त ? यतिका वर्ष देशमा सङ्घर्ष गरिहँदा पनि सत्ताका कान किन बहिरामात्रै हुन्छन् ? सत्ताले उनी र उनका कर्महरूलाई हेर्ने समदृष्टि किन राख्न सक्दैन ? किन महावीर पुनहरू कुनै सत्ताका प्रिय बन्न सक्दैनन् ? यी धेरै प्रश्नहरूका उत्तर उनको यस पुस्तकमा पाउन सकिन्छ । के कुनै व्यक्ति यति धेरै राष्ट्रवादी हुनु देशका निम्ति घातक कुरा नै हो त ?
यतिका वर्ष देशमा सङ्घर्ष गरिहँदा पनि सत्ताका कान किन बहिरामात्रै हुन्छन् ? सत्ताले उनी र उनका कर्महरूलाई हेर्ने समदृष्टि किन राख्न सक्दैन ? किन महावीर पुनहरू कुनै सत्ताका प्रिय बन्न सक्दैनन् ? यी धेरै प्रश्नहरूका उत्तर उनको यस पुस्तकमा पाउन सकिन्छ ।
पुनको जीवनका आरोहअवरोह समेटिएको देशको समग्र मुहार झल्किएको उनको पुस्तकले धेरै कुराको जानकारी गराउँछ । एकजना फकिर व्यक्तिले ज्यायजेथा, श्रीसम्पत्ति, बुद्धि विवेक, श्रमसौन्दर्य सबै देशकै निम्ति समर्पण गर्नु अपराध हो ? यदि अपराध हो भने उनलाई अब देश निकाला पो गर्ने हो कि ? अहिलेको सत्तासँग यो कुरा सोध्ने जिज्ञासा बढेर आएको छ ।
महावीर पुनले केही जिद्दी गरेका छन् । केही एकोहोरो देखिएका छन् । नमिठो बोलेका छन् । केही खरो अनि मूर्ख स्वभाव देखाएका छन् तर ती कुनै पनि कुरा आफ्ना लागि, आफन्तका लागि र आफ्नो निजी स्वार्थका लागि गरेका छैनन् । अवश्य पनि पुन मानिस हुन् । अनगिन्ती कमीकमजोरीहरू उनीसँग छन् । उनले देवता बन्ने रहर गरेकोजस्तो लाग्दैन । देश बनाउनका निम्ति पुन आफ्नो नामको किताब लिएर गाउँगाउँ, घरघर, गल्लीगल्ली डुलेको हामीले देखेका छौँ पढेका छौँ । यो कुरा हामीलाई पनि राम्रो लागेको छैन र कसैका लागि पनि राम्रो लाग्ने कुरा थिएन । मैले पनि यति ठूला मानिस आफ्नै नामको किताब बेच्न किन यति मरिहत्ते गरेका होलान् भन्ने लागेकै हो तर देखे जस्तो र सुने जस्तो रहेनछ ।
देशले जिम्मा लगाएको कृषि औजार कारखानाको पुनर्निर्माण बापतको आफूले बेहोर्नुपर्ने दायित्व एक करोड बराबरको ऋण सरकारले बेहोर्न अस्वीकार गरेपछि आफ्नै जीवनको कथा बेचेरै भए पनि राष्ट्रऋण चुकाउनकै निम्ति यतिसारो जिद्दी र दुःख गर्दै रहेछन् । अहिले आएर लागेको छ जब एकजना व्यक्ति सत्ताको व्यवहारबाट अघाउँछ तर देश बनाउने अभूतपूर्व लालसाबाट मुक्त हुन सक्दैन । तमाम निराशा र वितृष्णाहरूलाई शक्ति र सामथ्र्यका रूपमा बुझ्न थाल्छ त्यसपछि व्यक्ति बन्ने भनेकै महावीर पुन हो भन्न मन लागेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच