
कालीकोट । 'स्थानीय दायित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नारासहित कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
बालबालिकाको स्वास्थ्य सुरक्षामा ऐतिहासिक कदमका रूपमा हेरिएको यो उपलब्धिलाई शनिबार एक विशेष समारोहका बीच पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटकी उपप्रमुख तथा खोप समन्वय समितिकी संयोजक मिना रावत विक, जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत कटक महत, गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी, उपाध्यक्ष पार्वती सिंह संज्याल, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपप्रमुख रावतले पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्ष संज्याललाई हस्तान्तरण गर्दै पालिकाको ऐतिहासिक उपलब्धिमा बधाई ज्ञापन गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख शुदर्शन बमका अनुसार, राष्ट्रिय खोप तालिका अनुसार पालिकाका ९ वटै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप प्राप्त गरिसकेको पुष्टि भएपछि यो घोषणा सम्भव भएको हो । स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले पनि बालबालिकाले खोप नलगाएको एक घरधुरीसमेत नभेटिएकाले आज यो सम्भव भएको बताउनुभयो ।
उपाध्यक्ष पार्वती सिंह संज्यालले खोप अभियानको प्रभावले आमाहरूमा गर्भावस्थासँग सम्बन्धित जोखिम र बालबालिकाको मृत्युदर कम भएको अनुभव सुनाउँदै आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य रणनीतिहरू लागू गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
जिल्ला समन्वय उपप्रमुख मिना रावत विकले स्वास्थ्य सेवामा पालिकाले देखाएको प्रतिबद्धतालाई प्रशंसा गर्दै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सबै तहबाट सहकार्यको आवश्यकता औंल्याउनुभयो ।उहाँले खोपको अनुगमनको क्रममा गाउँहरूमा खोप नलगाएका बालबालिका नपाइएको समेत जानकारी दिनुभयो ।
घोषणा कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष मोहन बहादुर केसीले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको पालिकाको प्रतिबद्धता स्मरण गराउँदै अभियानमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू र समुदायस्तरका सहयोगीहरूलाई विशेष धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “आज घोषणा गर्यौं, अब भइहाल्छ भन्ने हैन, कोही पनि नछुटुन् भनेर हामी सबै मिलेर लाग्नैपर्छ ।”
गाउँपालिकाका अनुसार, खोप सुनिश्चितताको लागि प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको टोली पुगेको थियो । सर्वेक्षणका क्रममा ० देखि ५९ महिना उमेर समूहका करिब ९५ प्रतिशत बालबालिकाले खोप लगाइसकेको पुष्टि भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच