
भक्तपुर । नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा चाँगुनारायण नगरपालिकामा आयोजना गरिएको जिल्लास्तरीय खुला एकल नृत्य प्रतियोगिता ‘डान्स भक्तपुर डान्स’को फाइनल चरण आज शनिबार सम्पन्न भएको छ।
प्रतियोगिता कृषि विकास बैंकको तालिम केन्द्र, बोदेमा आयोजना गरिएको थियो।
प्रतियोगितामा भक्तपुर जिल्लाका ३८ वटै वडाबाट प्रतिनिधित्व गर्दै आएका २७२ जना प्रतिस्पर्धीबीच प्रारम्भिक चरणबाट छनोट हुँदै फाइनलमा पुगेका १६ जना प्रतिस्पर्धीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए।
फाइनल चरणमा स्नेहा खत्री प्रथम भइन्। उनले नगद १ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। दोस्रो स्थानमा म्हामेन दोङ रहिन्, जसले ५० हजार रुपैयाँ पुरस्कार पाएकी छन्। युनिसा तामाङ तृतीय भइन् र उनले २५ हजार रुपैयाँ हात पारिन्। स्मारिका प्रसाईं र मेलिना घर्ती मगरले जनही १० हजार रुपैयाँको सान्त्वना पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद माननीय दर्लभ थापा हुनुहुन्थ्यो । उहाँले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्षलाई सार्थक बनाउन यस्तो स्तरको नृत्य प्रतियोगिता आयोजना गर्नु अत्यन्त सराहनीय कदम भएको बताउनु भयो ।
उहाँले भन्नुभयो , “संस्कृति हाम्रो पहिचान हो। यस्ता कार्यक्रमहरूले युवा पुस्तामा आफ्नो कला, प्रतिभा र परम्पराप्रतिको आस्था झन् गाढा बनाउने छन्। यसले चाँगुनारायण मात्र होइन, सिङ्गो भक्तपुरको सांस्कृतिक परिचयलाई व्यापक बनाउनेछ। पर्यटन प्रवर्द्धन, स्थानीय सशक्तीकरण र समावेशी अभिव्यक्तिको सशक्त माध्यमका रूपमा यो प्रतियोगिता उदाहरणीय छ।”
कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भडेल, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, वरिष्ठ अभिनेता कृष्ण मल्ल, कलाकार तिर्थ थापा, प्रभाकर थापा र राजेन्द्र केसीको पनि कार्यक्रममा उपस्थिति थियो।
प्रतियोगिताको मूल्याङ्कन नृत्यकर्मी केपी पौडेल, विदुर सिवाकोटी र सूर्य कार्कीको निर्णायक मण्डलमा हुनुहुन्थ्यो । निर्णायक मण्डलका सदस्य केपी पौडेलका अनुसार आजको प्रस्तुतिको आधारमा उनीहरूको लय, अनुशासन, सिर्जनात्मकता, तालमेल र शारीरिक समन्वय हेरि मुल्यांकन गरिएको भन्नुभयो।
कार्यक्रम संयोजक दिनेश अवालका अनुसार प्रतियोगिताको पहिलो चरणमा २७२ प्रतिस्पर्धी सहभागी थिए। दोस्रो चरणमा १३६ जना, तेस्रोमा ६४, चौथोमा ३२ र अन्तिम चरणमा १६ जना प्रतिस्पर्धी चयन भएका थिए। आयोजक समूहमा अवालसँगै एस.आर. कासुला र नरोत्तम न्यौपानेले समन्वयात्मक भूमिका निभाएका थिए।
‘डान्स भक्तपुर डान्स’ प्रतियोगिता राइजिंग स्टार डान्स सेन्टर चाँगुनारायण नगरपालिका वडा नं १ दुवाकोटको आयोजना र चाँगुनारायण नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो। चाँगुनारायण नगरपालिकाले भ्रमण वर्षको अवसरमा आयोजना गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आगामी दिनमा अझ फराकिलो सहभागिता र प्रभावसहितका सांस्कृतिक र विकासात्मक गतिविधि सञ्चालन गर्ने जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच