मानव, जनावर र सवारीसाधनको आवागमन तथा सामान ओसारपसारको माध्यमको नाम हो सडक । सडक भनेको भूमिको सतहमा निर्मित त्यस्तो मार्ग हो जुन मानिस, सवारीसाधन साथै जनावरलाई एकस्थानबाट अर्को स्थानमा आवागमनका लागि बनाइन्छ । सडकको उत्पत्तिको इतिहास मानव उत्पत्तिको इतिहास जत्तिकै पुरानु छ तर आधुनिक सडकको विकास-निर्माण मोटरकार, बस, ट्रक आदिको आविष्कार र आमप्रयोगको विषय जहिलेदेखि बन्यो तत्पश्चात् नै सुरुवात भएको हो । आधुनिक मोटर, कार, बस आदिको आविष्कारपछि बढ्दो प्रयोगका कारण अहिले संसारका सबै देशहरूको प्रयत्न गुणस्तरीय सडक निर्माणमा केन्द्रीकृत छ ।
सडक यातायातको आधुनिक, भरपर्दाे व्यवस्था सभ्यता र विकासको ज्वलन्त प्रमाण हो । मोटर, कार, बस जस्ता सवारीसाधनको आविष्कार सँगसँगै सडकका नयाँ संरचनाहरूको आविष्कार अन्ततः समयको माग र युगको चाहना बन्यो । आधुनिक युगमा भएका विकासमध्ये मानवले सवारीसाधनका माध्यमले अत्यधिक प्रयोग गर्ने विकासको माध्यम नै सडक हो । नेपाल जस्तो भूपरिवेष्टित देशमा सडक यातायातको सर्वाधिक महत्वछ । देशको आर्थिक, सामाजिक, औद्योगिक साथै पर्यटन क्षेत्र आदिको विकासमा मात्रै होइन देशको चौतर्फी विकासमा सडकको महत्वपूर्ण भूमिका हुन्छ । सडक परिवहनका माध्यमले एक ठाउँबाट अर्को ठाउँमा जान तथा सेवाको ओसारपसार गर्न सडक वास्तवमा वरदान हो । देशभित्र र देशबाहिर मानिस आवतजावत गर्न, वस्तु तथा सेवाको ओसारपसारलाई सहज र भरपर्दाे सेवा प्रदान गर्ने मुख्य माध्यम नै सडक हो । व्यापार, पर्यटन, कृषि क्षेत्रको उत्थान र विकासका अतिरिक्त मानवीय जीवनलाई सुखमय बनाउन नेपालमा सडक यातायातको सर्वाधिक योगदान छ । देशमा जल यातायात, रेल यातायात शून्य प्राय : छन् भने हवाई यातायात सेवा सीमित छ । तसर्थ सडक यातायातको भूमिका सर्वाधिक हुन्छ नै ।
सडक भनेको यातायात, व्यापार, सेवाप्रवाह, आपत्कालीन सेवा तथा रोजगारी आदिको आधारभूत पूर्वाधार हो । बस, ट्रक आदि ती सडकमा सञ्चालन हुने र सेवाप्रदान गर्ने साधन हुन् । सडक यदि भएन भने ती साधन न त उत्पादन स्थलसम्म जान सक्छन् न तिनीहरूले सेवा प्रवाह नै गर्न सक्छन् ।
शरीरमा मुटुलाई सुसञ्चालन गर्न रक्तनलीहरूको जस्तो भूमिका हुन्छ नेपालमा उत्पादित र आयातित वस्तुको वितरण र बजार विस्तारमा सडक यातायातको त्यस्तै भूमिका छ । उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थको आपूर्तिदेखि उत्पादित वस्तु कुनाकाप्चाका उपभोक्तसम्म पु¥याउन सडकको अवर्णनीय भूमिका छ । एकछिन् मात्रै सडकबिनाको जीवनलाई कल्पना मात्रै गर्दा पनि सडकको महत्व झल्कन्छ । गाँस, बास र कपासपछिको मुख्य प्राथमिकतामा क्रमशः सडक, पानी र बिजुली पर्छन् । सडकको लम्बाइ, चौडाइ र त्यसको गुणस्तरीयता विकासको मापनको भरपर्दो माध्यम हो । सडक केवल यातायातको पूर्वाधारमात्रै नभएर यो समाज र देशको अर्थ व्यवस्थाको आधारभूत मेरुदण्ड हो ।
सडक यातायातको अभावमा कुनै पनि देशको विकासको कल्पनासम्म गर्न सकिँदैन । सडक वास्तवमा यातायातलाई सुगम र सहज बनाउने माध्यम मात्रै नभएर वस्तु तथा सेवालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने महत्वपूर्ण माध्यम हो । नेपालको सन्दर्भमा सडक आवागमन र वस्तु ओसारपसार गर्ने निर्विकल्प माध्यम हो । सडक परिवहन दुर्गम क्षेत्रको कृषि उत्पादन शहरी उपभोक्तसम्म लैजाने र शहरी वस्तु गाउँगाउँमा पु¥याउने प्रमुख माध्यम हो । सडकको विस्तारले देशका किसान, उत्पादक र उपभोक्त एकैसाथ लाभान्वित हुन्छन् । सडक परिवहनले प्राकृतिक विपत्तिका बेला राहत सामग्रीको ओसारपसार र मानवमात्रको सुरक्षा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । एउटा कुशल परिवहन प्रणालीले देश र समाजले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक लाभ प्राप्त गर्छ । मानवीय सन्तुष्टिको कोणबाट पनि सडकको भूमिका, उपयोगिता र महत्वलाई मापन गर्नुपर्छ । सडक, रेलमार्ग, हवाई मार्ग आदि यातायातका पूर्वाधार हुन अनि बस, ट्रक, कार, मोटरसाइकल, साइकल, रेक्सा, गाडा, ट्याक्टर जस्ता सवारीसाधन सबै साधन हुन् ।
सडक भनेको यातायात, व्यापार, सेवाप्रवाह, आपतकालीन सेवा तथा रोजगारी आदिको आधारभूत पूर्वाधार हो । बस, ट्रक आदि ती सडकहरूमा सञ्चालन हुने र सेवा प्रदान गर्ने साधनहरू हुन् । सडक यदि भएन भने ती साधनहरू न त उत्पादन स्थलसम्म जान सक्छन् न तिनीहरूले सेवा प्रवाह नै गर्न सक्छन् । देशको विकासको मेरुदण्ड सडक हो र सवारीसाधन त्यस मेरुदण्डमा चल्ने रक्तसञ्चार रूपी साधन हुन् । साधन लक्ष्य प्राप्त गर्न आवश्यक हुने स्रोत वा वस्तु हो । माध्यम भनेको त्यो साधन, विचार वा उद्देश्यलाई लक्ष्यसम्म पुर्याउने बाटो वा माध्यम हो । त्यसैले साधनबिना माध्यम अर्थहीन हुन्छ र माध्यमबिना साधन उपयोग हुन सक्दैनन् । गुणस्तरीय सडक र यातायात साधन आधुनिक विकास र मानवीय सन्तुष्टि साथै सुशासन र समृद्धिका पूर्वाधार हुन् । समग्रमा देश विकासका मेरुदण्ड पनि ।
महत्वपूर्ण माध्यमको रूपमा रहेको सडकलाई गुणस्तरीय र भरपर्दो बनाउन के हामीले ध्यान र प्राथमिकता दिएका छौं ? यो महत्वपूर्ण विषयमा के सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको छ ? के हाम्रा सडक सेवा प्रवाह गर्न चुस्त दुरुस्त छन् ? यी विषयमा प्रवेश नगरीकन नेपालको सडकको विषयमा चर्चा र विश्लेषण अपूर्ण हुन्छ । सवारीसाधनको आविष्कार र उपयोगभन्दा पहिल्यै पनि सडक थिए तर त्यसबेलाका सडक मानिस पैदल हिँड्न र पशु चौपाया आवतजावत गर्न, गोरेटो र धोडेटोको रूपमा रहेका गोरेटोलाई मोटरको आविष्कार, आयातपछि तिनै गोरेटो र घोडेटोलाई नै विस्तार गरेर सडक बनाउन प्रारम्भ गरेका कारण सडकको गुणस्तरीयता प्रारम्भिक कालदेखि दयनीय थिए ।
आज जस्तो सडक निर्माण गर्ने आधुनिक मेसिन, औजार र प्रविधिसमेतको अभावमा निर्माण भएका कारण प्रारम्भिक चरणमै सडकहरूको गुणस्तरीयता कमजोर थियोे । प्रारम्भदेखि कमजोर गुणस्तरीयता दुर्भाग्य बन्यो । विकासलाई गति दिन नसक्नु र विकासका पूर्वाधारलाई सक्षम र भरपर्दाे बनाउन नसक्नुको मुख्य कारण नै सडकको गुणस्तरहीनता हो । संसारका विकसित देशहरूको सडकको अवस्थासँग तुलना गर्ने हो भने हाम्रा सडकहरूको अवस्था र गुणस्तरीयता दयनीयमात्रै होइन लाजमर्दो छ । देशको राजधानीलाई बाँकी भू–भागसँग जोड्ने सडकमा सवारीसाधन निर्वाध चल्नसक्ने अवस्था-वातावरणसम्म निर्माण गर्न नसक्नु सरकारको लाचारीपन र असफलताको प्रमाण हो । गुणस्तरहीन सडक र सवारीसाधनका कारण संसारकै धेरै सवारीसाधन दुर्घटना हुने देशभित्र नेपाल पर्छ ।
सुदृढ सडक संरचनाले जनताको आवागमनलाई मात्रै सजिलो बनाउने होइन, कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र आपत्कालीन लगायत विविध सेवामा समेत क्रान्तिकारी परिवर्तन ल्याउँछ तर नेपाल जस्तो भौगोलिक रूपले जटिल र विविधतायुक्त देशमा सडक संरचना अपेक्षाकृत कमजोर, अव्यवस्थित र अल्पकालीन सोचमा आधारित देखिन्छ । सडकको अव्यवस्था र गुणस्तरहीनताले देशको समग्र विकास यात्रालाई निरन्तर चुनौती दिइरहेको छ । अहिलेसम्म यस्ता चुनौतीको सामना गर्ने राजनीतिक नेतृत्वको खडेरी नै हाम्रो सडकको मात्रै होइन समग्र अर्थतन्त्रको समस्या हो । नेपालमा सडक योजना धेरैजसो अवस्थामा राजनीतिक लाभ वा बजेट खर्चका आधारमा बनाइन्छन् । दीर्घकालीन पूर्वाधार विकासको दृष्टिकोणको अभावले गर्दा सडक निर्माण अल्पकालीन, खण्डित र असंलग्न हुन्छ । धेरैजसो सडक समग्र यातायात सञ्जालको दृष्टिकोणले होइन जहाँ आवश्यक त्यहीँ निर्माण भन्ने मानसिकताबाट गरिन्छ । परिणामस्वरूप सडक न त नियमित छन्, न त भरपर्दो । सार्वजनिक निर्माण क्षेत्रमा व्याप्त रहेको भ्रष्टाचार सडक निर्माण साथै गुणस्तरीय सडक निर्माणका लागि प्रमुख बाधक हो । सडक निर्माण ठेक्का राजनीतिक पहुँचका भरमा वितरण हुने, लागत कटौती गरेर मुनाफा आर्जन गर्ने र गुणस्तरहीन सामग्री प्रयोग गर्ने प्रचलन व्यापक छ ।
सडक आधुनिक सभ्यता र समृद्धिको मेरुदण्ड मानिन्छन् । यिनैले शहर–बस्ती जोड्छन्, बजारलाई चलायमान बनाउँछन् । विकासको गति तीव्र पार्छन् तर विडम्बना यिनै सडक आज यातायातको माध्यमभन्दा पनि मृत्युको पासो बनेका दृश्य देख्नु परेको छ । दिनहुँ मृत्युका समाचार पढ्नु परेको छ ।
परिणामस्वरूप निर्माणपछिका केही महिनामा नै सडक भत्कन थाल्छन् । त्यसको असर भौतिक संरचनामा मात्रै होइन राज्यप्रतिको जनविश्वासमा पनि पर्छ । आजको युगमा सडक निर्माण केवल कच्चा, अस्थायी वा अल्पकालीन उद्देश्यका लागि सीमित रहन सक्दैन र हँुदैन । वर्तमान विश्व जलवायु परिवर्तन, जनसंख्या वृद्धि र वातावरणीय संकटको सामना गरिरहेको छ । यस्तो अवस्थामा दिगो र भरपर्दाे सडक संरचना अत्यन्तै आवश्यक विषय हुन् । नेपाल जस्तो भौगोलिक विविधता भएको राष्ट्रका लागि झन् यो विषय अझ संवेदनशील र प्राथमिकताको विषय बन्न अनिवार्य छ । दिगो सडक संरचना भन्नाले यस्तो सडक प्रणालीलाई जनाउँछ जुन वातावरणमैत्री, सामाजिक रूपमा समावेशी, आर्थिक रूपमा लाभदायक तथा दीर्घकालसम्म सेवा दिन सक्षम भन्ने अर्थ लाग्छ । यसले निर्माण, सञ्चालन, मर्मत तथा उपयोगको सम्पूर्ण चक्रमा स्रोत साधनको संरक्षण, कार्बन उत्सर्जनमा न्यूनता र वातावरणीय प्रभावमा नियन्त्रण सुनिश्चित गर्छ । दिगो सडक निर्माणको आधारशिला भनेको स्थानीय भूगोल र जलवायु अनुसारको योजना साथै प्रत्येक क्षेत्रमा अनुकूल प्रविधि र निर्माण सामग्रीको छनौट, संक्षम जलनिकास प्रणालीका माध्यमले बाढी, पानी जम्ने र पहिरो नियन्त्रणमा सहयोगी वातावरणका साथै हरियालीयुक्त सडक जस्तो सडक छेउछाउमा वृक्षरोपणबाट धुलो नियन्त्रण, तापमान सन्तुलनमा सहयोग आदि पर्दछन् ।
कम ऊर्जा प्रयोग हुने प्रविधि सामाजिक सहकार्य र स्थानीय सहभागिता आदि दिगो सडक निर्माणका सूत्र हुन् । दिगो सडक संरचनाको विकास केवल भौतिक विकासको विषय होइन, यो समग्र समाज, अर्थतन्त्र र वातावरणको सन्तुलनमा आधारित नयाँ सोच हो । नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि दिगो सडक संरचना अपनाउनु अब विकल्प होइन अपरिहार्यता हो । समयमै दिगो सोच र योजना कार्यान्वयन गर्न सकियो भनेमात्र भविष्यका पुस्तालाई सुरक्षित, समुन्नत र समावेशी यातायात सुविधा सुम्पन सकिनेछ । अस्थायी सडक संरचनाले अस्थिर भविष्य दिन्छ दिगो सडकले दीर्घ विकास र समृद्धिलाई सुनिश्चित गर्छ । सडक आधुनिक सभ्यता र समृद्धिको मेरुदण्ड मानिन्छन् । यिनैले शहर–बस्ती जोड्छन्, बजारलाई चलायमान बनाउँछन् र विकासको गति तीव्र पार्छन् तर विडम्बना यिनै सडक आज यातायातको माध्यमभन्दा पनि मृत्युको पासो बनेका दृश्य देख्नुपरेको छ । दिनहुँ मृत्युका समाचार पढ्नु परेको छ । के सडक स्वयं घातक छन् ? कि तिनीहरूको प्रयोग गर्ने मानवीय कमजोरी र लापरबाहीले यस्तो स्थिति उत्पन्न भएको हो ? यो प्रश्नको मौखिक उत्तरभन्दा पनि व्यवहारमै समाधान निकाल्नु आजको आवश्यकता र राज्यका जिम्मेवारीमा रहनेको कर्तव्य हो ।
सडक नै मानव मृत्युको पासो बन्नुभनेको राज्यसंरचना नै पूरै असफल भएको प्रमाण हो । राजधानी जोड्ने अत्यन्तै सीमित सडकलाई पनि चुस्तदुरुस्त राख्न अक्षम विकास र समृद्धिका शत्रु हुन् भन्ने विषयलाई निर्वाचनको समयमा विशेष ध्यान दिनुपर्छ । अब भोट मेरो पार्टीलाई भनेर यिनैलाई दिने प्रवृत्ति र सोचबाट मुक्त हुनसके अहिले जस्तो सडकहरू अभिशाप नभएर वरदान हुनसक्छन् । नेपालमा सडक दुर्घटनाले महामारीकै रूप लिएको छ । दैनिक औसत छ-सातजनाको मृत्युु हुने तथ्यांक छ । यसका मुख्य कारणहरू भनेको सडकको कमजोर सतह, खाल्डाखुल्डी, वर्षाको पानी र पहिरो, रेलिङ, संकेत चिहृन र डिभाइडरको अभाव, मापासे, तीव्र गति, ओभर टेक, सवारी लाइसेन्समा घुसको बिगबिगी, अव्यवस्थित सवारी र यातायात व्यवस्थापन, सडक नियम बारे जनचेतनाको कमी, दुर्घटनापछि हुने उद्धार प्रणालीका कमजोरी जस्ता विषयको सम्बोधनबिना यो समस्याको समाधान सम्भव छैन । सडक निर्माणलाई ठेकेदारको भरमा छोड्यौं, प्रयोगमा लापरबाही गर्यौं भने सडक मृत्युको पासो हो तर चेतनशील, विवेकपूर्ण प्रयोगमा राज्य र नागरिक दुबै जिम्मेवार भएमा सडक मृत्युको पासो नभएर जीवनको सेतु बन्नसक्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच