
इलाम । सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ इलाममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागु पदार्थ सेवन (लापसे) परीक्षण र सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरेको छ।
मङ्गलबार भएको यो कार्यक्रम जिल्ला ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको ट्राफिक सप्ताह कार्यक्रमको एक महत्त्वपूर्ण हिस्सा बनेको हो ।
जिल्ला ट्राफिक प्रमुख लीलानाथ न्यौपानेले जानकारी दिएअनुसार, ट्राफिक सप्ताहका अवसरमा इलामका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसै क्रममा आज सवारी चालकहरूको लापसे परीक्षणका साथै सामान्य स्वास्थ्य परीक्षण पनि गरिएको छ। यो परीक्षण विशेषगरी सार्वजनिक सवारी साधनका चालक र लामो दूरीका सवारी चालकहरूलाई लक्षित गरी गरिएको हो। लापसे परीक्षणमा शङ्कास्पद देखिएका चालकहरूलाई थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा पठाइनेछ।
न्यौपानेका अनुसार, 'सडक सुरक्षा हाम्रो प्राथमिकता हो। चालकहरू स्वस्थ र सचेत भए मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ,' न्यौपानेले भन्नुभयो, 'यो अभियानले चालकहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउनुका साथै लागुऔषधको प्रयोगबाट टाढा रहन प्रेरित गर्नेछ।'
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले ट्राफिक सप्ताह अन्तर्गत लापसे र स्वास्थ्य परीक्षणबाहेक अन्य विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि गरिरहेको छ। यसमा विद्यालय तथा कलेजहरूमा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम, सवारी साधनहरूको यान्त्रिक अवस्था जाँच, पैदलयात्रु सुरक्षासम्बन्धी जानकारी, र सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियम पालना गर्न प्रोत्साहित गर्ने पर्चाहरू वितरण गर्ने जस्ता गतिविधिहरू समावेश छन्।
इलाम ट्राफिक प्रहरीले थालेको यो अभियान छोटो अवधिको मात्र नभई दीर्घकालीन रूपमा सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा राखिएको छ। लागुऔषध प्रयोग घटाउने र चालकहरूलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बनाउने यो पहलले भविष्यमा हुने सवारी दुर्घटनाको संख्या उल्लेख्य रूपमा घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ भने अभियानले इलामको सडकलाई सबैका लागि सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने समेत बिश्वास लिईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच