इलाम । इलामको हरियो पहाडहरूलाई चिर्दै नागबेली घुम्तीहुँदै अघि बढ्ने मेची राजमार्ग पछिल्लो समय यातायातको बाटो मात्र नरहेर महिला उद्यमीहरूको लागि आशा र समृद्धिको नयाँ ढोका बनेको छ ।
राजमार्गको छेउछाउमा विशेषगरी इलाम खण्डमा आफ्नै बारीमा फलेका ताजा फलफूल र तरकारी बेच्न व्यस्त महिलाहरू प्रशस्तै देखिन्छन् । यी महिलाहरूले यसै व्यवसायलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाएका छन्, जसले दैनिक हजारौँ यात्रुहरूलाई स्थानीय, अर्गानिक उत्पादनको स्वाद चखाउँदैछ।
प्रकृतिको उपहार, महिलाहरूको मेहनत
मेची राजमार्गको इलाम खण्डमा, प्रत्येक मौसममा फरक-फरक तरकारी र फलफूलको रौनक देख्न पाइन्छ।
सिजन अनुसारको तरकारी र फलफूलको बिक्रीले यी महिलाहरूलाई राम्रो आम्दानीको स्रोत दिलाएको छ। बिहानैदेखि साँझसम्म व्यस्त रहने यो सडकमा यात्रुहरू आफ्ना गाडी रोकेर स्थानीय उत्पादन किन्न लालायित देखिन्छन् । "यहाँको तरकारी र फलफूलको स्वाद नै बेग्लै हुन्छ, ताजा र अर्गानिक," राजमार्गमा यात्रारत पाँचथरका निस्चल भण्डारीले बताउनुभयो ।
गोदककी स्थानीय कोशी कुमारीको अनुभवले पनि यो व्यवसायको सफलताको गाथा बनेको सुनाउनुहुन्छ । उहाँले दैनिक ५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताउँनुभयो । उहाँले भन्नुभयो ,"अहिले घर खर्च मज्जाले धानेको छ ,यो आम्दानीले परिवारमा आर्थिक स्थिरता ल्याएको छ भने बालबच्चाको शिक्षामा पनि सहयोग पुगेको छ।"
यो किसिमको व्यवसायले ठूलो लगानी नगरी पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचलाई प्रमाणित गरिदिएको छ । सामान्यतया, जीविकोपार्जनका लागि ठूला व्यवसाय वा भारी लगानी आवश्यक पर्छ भन्ने आम धारणा छ तर, मेची राजमार्गका यी महिलाहरूले आफ्नै घरपछाडिको बारीमा फलेका उत्पादनहरू बेचेर पनि सफल हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
यो केवल आर्थिक सफलताको कथा मात्र होइन, यो ग्रामीण महिला सशक्तिकरणको पनि एउटा सशक्त उदाहरण रहेको इलाम नगरपालिका १० गोदककी पुर्ण माता पाठकले बताउनुभयो । पाठकले भन्नुभयो ," महिलाहरूलाई आत्मनिर्भर बन्न, आफ्नै पौरखमा बाँच्न र परिवारमा आर्थिक योगदान पुर्याउन प्रेरित गरेको छ। "
मेची राजमार्गको यो ब्यबसायले इलामको कृषि पर्यटनलाई पनि प्रोत्साहन दिएको छ। यात्रुहरूले ताजा उत्पादन किन्न पाउने मात्र होइन, स्थानीय संस्कृति र जीवनशैलीबारे पनि नजिकबाट बुझ्ने अवसर पाउँछन्। आगामी दिनमा यस प्रकारको व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सकिएमा यसले अझै धेरै महिलाहरूलाई रोजगारी दिन सक्छ र ग्रामीण अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ । यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले सहयोग र प्रवर्द्धनका कार्यक्रमहरू ल्याउनु आवश्यक देखिएको मात्र छैन राजमार्गको डिलमा फस्टाएको यो तरकारी र फलफूलको बजारले महिलाहरूको लगनशीलताले सबैलाई सानो प्रयासबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणा समेत दिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच