हाल नेपालको सन्दर्भमा राजनीतिमा नैतिकताको खडेरी छ भनेर सबैतिरबाट प्रायः सुनिन्छ । देशको राजनीतिक प्रणाली अन्य शैक्षिक, आर्थिक, पर्यावरणीय, व्यापारिक अर्थात् सामाजिक प्रणालीको अभिभावक हुन्छ । यदि देशको राजनीति नै धमिलिन्छ भने अन्य क्षेत्रमा नकारात्मक असर पर्ने निश्चित हुन्छ ठीक त्यस्तै बजारमा तेलको भाउ बढ्दा स्वतः ढुवानी आदिको कारणले खाद्य पदार्थदेखि निर्माण सामग्री सबै वस्तुको मूल्यवृद्धि हुन्छ तर यति महत्वपूर्ण राजनीति बिग्रनुमा युनिभर्सिटीको हाथ हुन्छ भन्ने दिशाबोध हामीमा हुँदाहुँदै नसुधारिकन अगाडि बढ्छौं अनि जति प्रयास गरे पनि समग्र देशको स्थितिमा सुधार आउँदैन । यस लेखमा यही अन्तर्सम्बन्धलाई झल्काउने प्रयास गरिएको छ ।
राजनीतिक विचलन
नेपालमा राजा वीरेन्द्र शाहको २०५८ जेठ १९ गते सपरिवार वंशनाश हुँदा भारतीयहरूले हामीलाई भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरून् भनेर जिस्काउँथे । प्रष्टीकरण सोध्दा तिमीहरू पशु हौ र तिम्रा जो नक्कली राजा छन् उनी तिमी पशुहरूको नाथ हो । अर्थात्, तिमीहरूको स्वयंको विवेक त छैन, उसले जे जति भन्छ, त्यही ध्रुवसत्य हो मानेर सन्तोषले बस्ने घाँस खान पाए अघाउने पशु हौ । पशु नभई मनुष्य हौ तिमीहरू भने तिम्रो असली राजालाई मार्नेलाई पत्ता लगाउने, दण्ड दिने हो नि तर तिमीहरू चुप्की साँधेर नक्कलीले जे–जे भन्यो, त्यही त्यही पत्याएर बसेका छौ ।
गणतन्त्र ल्याएको भनेर दाबी गर्ने दलहरूले दलभित्रै लोकतन्त्र र गणतान्त्रिक संस्कार झल्काउँदैनन् । नमरुञ्जेल पद छाड्दैनन्, एउटै परिवारका सदस्यले पार्टीमा हालीमुहाली गर्छन् । जेहेन्दार र सक्षमलाई भन्दा घरायसी सदस्य, नातावाद, गोत्र, मालपानी कताबाट झर्ने आदि मिलाएर जिम्मेवारी र अवसरहरू दलमा वा दलको तर्फबाट बाँड्छन् ।
आज २०६३ सालको लोकतन्त्र र २०६५ सालको गणतन्त्र घोषणापछि नेपालबाट राजसंस्थाको समूल नष्ट भइसकेको अवस्थामा उनै नक्कली पूर्वराजाले पुनः मलाई राजा बनाइदेउ भनेर एक प्रकारले जनताबाट भिख माग्दै हिँडेका छन् । न त उनका २०६३ सम्मको विगत राम्रो छ न उनी २०६३ सालपछि देशमा रोग, शोक, प्राकृतिक विपत्ति आदि पर्दा एक सुको असली पीडित जनता मधेसी वा पहाडी कसैलाई दिएका छन्, न कतै अस्पतालमा अति निर्धनको निःशुल्क उपचार गराएका छन् । भित्रबाट मधेसी र पहाडीको फिलिंगो नक्कली राजामा उत्तिकै छ । यदि स्वलगानी गरिएको सुनिन्छ भने पुनः राजा बनाइदिनलाई माहौल बनाउन र संसद्मा बोलीदिनलाई टाउकाको संख्या बढाउनलाई चुनावहरूमा खर्च गर्छन् ।
पाखण्ड कति भने गद्दीबाट हटाइएपछि मन्दिर-मन्दिर नेपालभित्र र बाहिर गएका छन् तर अध्यात्म र जनसेवाको लागि नभई गद्दी पाउनलाई । त्यही भएर पछिल्लो समयमा आएर राजावादीहरूमै संसदवादी-शुद्ध राजावादी र बुढा-युवा गरी विभक्त भई आन्दोलन सेलाइसक्यो तर बुझ्नेले बुझे पो । यथार्थमा अब नेपालमा राजतन्त्रको काम छैन, धर्मसापेक्षता भने अस्तित्वका लागि र देशको पहिचानको लागि भए पनि चाहिन्छ । त्यही चेत पूर्वराजामा भइदिँदा उनी अध्यात्म, जनसेवामा समर्पित हुन्थे र देश शान्त भई सबैको ध्यान सुशासनमा पुग्ने वा शासकलाई बलजफ्ती ध्यान सुशासनतर्फ पुर्याइने थियो ।
सबैतिर उस्तै छ । जसले पूर्वराजाको पैसा खाए, उसैले गाई बेचेर थप डलर कमाइदिए । स्वयं पूर्वराजाले बैंकका डिफौल्टरलाई राजा फर्काउने आन्दोलनका कमाण्डर बनाइदिए अनि उनी पनि जेलमा छन् । यता गणतन्त्रवादीमा हेर्दा सारांशमा लेख्दा उस्तै नैतिकताको खडेरी छ । स्वयं नेपाल पुराना दलबाट नबन्ने भएकोले म बनाउनेछु भनेर प्रतिज्ञा गरेर आएकाको केटी काण्ड, दोहरो पास्पोर्ट र राहदानी, सहकारी काण्डैकाण्ड छन् तर हिँडेका थिए अन्य नेतामाथि औंला ठड्याउन । अरूलाई एक औंलाले चोर भनिरहँदा कम्तीमा तीनवटा औंला आफैंलाई चोर भनिरहेका हुन्छन् ।
गणतन्त्र ल्याएको भनेर दाबी गर्ने अन्य दलहरूले दलभित्रै लोकतन्त्र र गणतान्त्रिक संस्कार झल्काउँदैनन् । नमरुञ्जेल पद छाड्दैनन्, एउटै परिवारका सदस्यहरूले पार्टीमा हालीमुहाली गर्छन् । जेहेन्दार र सक्षमलाई भन्दा घरायसी सदस्य, नातावाद, गोत्र, मालपानी कताबाट झर्ने आदि मिलाएर जिम्मेवारी र अवसरहरू दलमा वा दलको तर्फबाट बाँड्छन् । कोही स्वयं मन्त्री वा प्रधानमन्त्री बनेर सदाचारीताको पाठ पढाईकन घरको सदस्यलाई विज्ञापनमा जागिरको लागि ब्याकडोरबाट टेण्डर आहृवान गर्छन् । यसका केहीमात्र उदाहरण हेरौं तल ।
प्रचण्ड किन विपक्षी दलको अलायन्समा गृहमन्त्रीको राजीनामा र छानविन बटमलाइन बनाएर फेरि साथीलाई छोडेर सत्तासँग मिले ? रास्वपाका सभापति स्वयं जेलमा रहे पनि पद नछाड्ने तर अरूमाथि पद छाड्न भन्ने कसरी मिल्यो ? रास्वपाले संसद्को अवरोध नीति सभापतिको जेल स्थानान्तरण काठमाडौंलाई बनाउने कुरा हो ? वर्तमान गृहमन्त्रीले पदमा रहेर अनैतिकता गर्न मिल्छ ? मिल्दैन भने राजीनामा किन नदिने ? दिन गएको भए कसले र किन रोके ? अनैतिकता गरेको छैन भने डिफेन्सिभ मुडमा रुन्चे भाषा र अनुहार मिडियामा किन आउँछ ?
कुनै बेला केपी ओली र प्रचण्डले नै रवि लामिछानेलाई छानविन विनै प्रधानमन्त्रीको कुर्सीको दुरुपयोग गर्दै निर्दाेष हो भन्ने र पछि ओलीले कांग्रेससँग सरकार बनाएपछि रविलाई जाकिदिने अनि प्रचण्डले रास्वपालाई बीचमै छोडिदिने मिल्छ ? यिनीहरूको त्यसो भए विगतका काँध थपाइ वा अहिले एक्लाएको कुन कुरा जनताले ठीक हो भनेर बुझ्ने ? त्यस्तै, बाबुराम भट्टराईले रवि, बालेन, हर्क, रेशम आदिसँग मिलेर नयाँ शक्ति अभ्यास गर्ने रे । सहकारीको रकम अब भट्टराईले फिर्ता रविको तर्फबाट गर्ने त ? अनि उच्च शिक्षाबारे बहस, छलफल कांग्रेसबाट हिजोका विद्यार्थी नेताले गराउँछन् तर विज्ञलाई दश मिनेटमा कुरा टुंग्याऊ भनेर स्वयं डाइसमा तीन चोटि चढेर कम्तीमा दशदेखि २५ मिनेट बोल्छन् अनि मिडियामा छाएर भोलिको शिक्षामन्त्रीको पद सुनिश्चित गर्न खोज्छन्, आदि ।
युनिभर्सिटीमा विचलन
यो सामान्य ज्ञान हो कि औंठाछाप केही अपवादबाहेक अब नेता बन्न सम्भव छैन र साक्षर बन्नलाई विद्यालय, महाविद्यालय, विश्वविद्यालय जानु जरुरी छ । तर, शैक्षिक थलो अर्थात् मान्छेलाई सुन झैँ तिखार्ने आगोको भट्टी नै यदि अशुद्ध, आचरणहीन, अनैतिकले भरे भने तिनले दिने शिक्षा र आचरण विद्यार्थीले नपढ्ने, जाँचमा चिट चोर्ने, सित्तैमा अधिकतम् अंक खोज्ने, बन्द, हड्ताल, तोड्फोड, शैक्षिक थलोबाट कमाइको साथैविपरीत लिंगीप्रति कुदृष्टि लगाउने, गुरुलाई नमस्तेको साटो आँखा तर्ने र कुटपिटबाहेक के नै सिक्नेछन् र ? तर दुर्भाग्य, २०६३ पछि राजनीति कमजोर हुँदा यी सबैथोक भइरहेका छन्, थपमा नेताहरू अझै विद्वत नयाँ जिम्मेवार नागरिक युवा जनशक्ति दलमा खोज्नुको साटो युवा लठैत आफ्नो पद टिकाउन खोजे, गड्बडी यहीँ भयो ।
नेपालमा आज राजनीतिदेखि मान्छेलाई घिनलाग्न थालेको छ, जसरी भारतमा हिजो थियो तर मोदीले परिभाषा बदल्नुभयो, त्यो युनिभर्सिटीको करामातले भयो । नेपालमा हाम्रा युनिभर्सिटीका स्टेकहोल्डर्सका अवस्थामाथि केही चित्रित गरियो र तल शिक्षा र असल नागरिकका परिभाषा पनि । युनिभर्सिटीले आफ्नो कर्तव्य पूरा नगर्दा राजनीति बिग्रेको होइन ? कसले सपार्ने अब ?
देशको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र हो भन्छ, नन् कन्फोर्मिस्ट टेक्स्ट अर्थात् शासकको चाकडीवाला नभएर जनताको कुरा संविधानको परिधिभित्र रहेर पढाउ, अनुसन्धान गराउ भन्छ । नेपालका युनिभर्सिटीका धेरै जानकार उच्चकोटिका स्वघोषित गुरु अझै अधिकांशले थेसिसमा परम्परागतबाहेक मधेसी, आदिवासी, जनजाति, महिला, दलितको विषयमा विषय वस्तु प्रोपोजलकै बेला अनेकथरी दुःख दिएर बन्नै दिँदैनन् । वर्तमान संविधानबारे अज्ञानी भनौं वा गणतन्त्रलाई अवरोध पार्ने को हुन्, चिनौं । उता प्राध्यापक संघहरूमा नियमित अधिवेशन हुँदैनन् भने भ्रष्टाचारी र कार्यालयमै दुराचार गर्नेलाई पदाधिकारी बनाइन्छ र सबैले जाने पनि डरले कोही बोल्दैनन् । तीन वर्षे कार्यकालमा सात र आठ वर्षसम्म पद छोड्दैनन् ।
युनिभर्सिटीमा विज्ञापन हुन्छ तर षड्यन्त्र धेरैतर्फबाट हुन्छ । पदाधिकारीले फाष्टट््याकको परिभाषाविपरीत दलका नितान्तलाई आफ्नो पद टिकाउनलाई ध्यानमा राखेर विज्ञापन खुलाउँछन् । सोको विरोधमा कसैले लेख नपुग्दा वा पिएचडी पूरा गर्नलाई वा म्याथमा प्रश्नपत्र आउट गरेर जसोतसो स्थायी भई अन्य विषयमा लेख, अनुसन्धान गरेर कथित् आन्दोलनको नाममा बाहिर मास देखाएर भित्र पदाधिकारीलाई खुलाबाट पदोन्नति सहित स्थायी गरिदिन बिन्ती बिसाउन वा कोही बैंककमा पिएचडी, नेपालमा आजीवन पद खाई राजनीति गरिरहेको भनेर प्रमोसन खानलाई यो त्यो मिलेन भनी विज्ञापनमाथि मुद्दा हालेर केही समय तन्काएर कोही अधुरा तयारी पूरा गर्ने अनि कोही पुनः ब्ल्याकमेलमै पदोन्नति खोज्ने छन् ।
शिक्षा र प्राज्ञिकताको सदुपयोग नै भएन
शिक्षा र असल नागरिकका परिभाषा हामीले पढ्दा धेरै विशेषणयुक्त योग्य नागरिक भनेर लेखिएका भेटिन्छन् जसमा कम्तीमा निडर, सत्य बोल्ने, सच्चरित्र, दोहरो कुरा नगर्ने, गलतलाई तत्काल विरोध गर्ने, निष्ठावान, निरन्तर प्रगतिशील र नवीनतम् कुरा सिक्ने, राजनीति बुझ्ने तर जागरुक भई सरकार वा नेताले जनताको पक्षबाट हेर्दा यो यो गर्न नहुने र पत्रपत्रिका पढेर सरकारलाई लेखरचनामार्फत् सुझाव दिने, निर्वाचनमा विवेक प्रयोग गरेर असल जनप्रतिनिधि चुन्ने जस्ता कर्म गर्नेहरू बुझिन्छन् । भारतमा बजेटको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौंको संख्यामा एकसाथ यस्ता योग्य र साक्षर युवालाई राजनीतिमा उत्रन आहृवान गरे ।
नेपालमा आज राजनीतिदेखि मान्छेलाई घिनलाग्न थालेको छ, जसरी भारतमा हिजो थियो तर मोदीले परिभाषा बदल्नुभयो, त्यो युनिभर्सिटीको करामातले भयो । यता नेपालमा हाम्रा युनिभर्सिटीका स्टेकहोल्डर्सका अवस्थामाथि केही चित्रित गरियो र तल शिक्षा र असल नागरिकका परिभाषा पनि । के युनिभर्सिटीले आफ्नो कर्तव्य पूरा नगर्दा राजनीति बिग्रेको होइन ? कसले र कहाँबाट सपार्ने अब ? यसको उत्तर खोजौं । कम्तीमा उत्तर नभेट्टाए हामी स्वयंलाई नैतिकवानमा परिणत गर्दा नेपाल आमाको धेरै पीडा कम हुनेथियो, नत्र पूत वा पुत्री कपूत वा कपुत्रीमा बदलिँदा हामीले पद र प्रमोसन त पाउनेछौं तर अवकाश वा मरेपछि आफ्नै सन्ततिले देश बिगारेको भनी हामीलाई घृणा गर्नेछन् ।







रास्वपा नेतृत्वको सरकारको उडानलाई गन्तव्यमा
एनपीएलको तेस्रो संस्करण कात्तिक ९
प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा