काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरूमा उपनिर्वाचनको तयारी सुरु गरेको छ । उपनिर्वाचनको मिति तोक्ने गृहकार्य गरिरहेको आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई नामावली दर्ता गराउन अपिल गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेको हो । २०७९ सालमा सम्पन्न भएको विभिन्न तहका निर्वाचनपछि विभिन्न कारणले केही पदहरू रिक्त हुन गएका छन् । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्वारा बिहीबार जारी गरिएको सूचनामा भनिएको छ, ‘रिक्त भएका पदमा निकट भविष्यमा उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति घोषणा हुने तयारी भइरहेको हुँदा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा ‘निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था भएबमोजिम निर्वाचनको मिति घोषणा भएपश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ ।’
कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने आयोगको प्रस्ताव
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त दुई स्थानमा कात्तिक दोस्रो सातामा उपनिर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले प्रधानमन्त्री केपी ओलीसँग गत शुक्रबार भेट गरी प्रस्तावित मितिबारे परामर्श गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीसँगको छलफलमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्न सकिने बताएका हुन् । सो अवसरमा राष्ट्रियसभामा २० फागुनमा रिक्त हुने १८ सिटका लागि पनि निर्वाचनको तयारीबारे छलफल भएको थियो ।
प्रतिनिधिसभाका सदस्यको रूपन्देही क्षेत्र नं.३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं.१ (२) रिक्त रहेको छ । रूपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद गएपछि रिक्त भएको हो । यसैगरी, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि सरकारबाट आवश्यक सहयोग रहने विश्वास दिलाउनुभएको थियो । साथै, ०८४ को निर्वाचनका लागिसमेत अग्रिम तयारी थाल्न आयोगलाई प्रधानमन्त्रीले सुझाव दिनुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलमा आयुक्तहरू जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए । निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यही असार २० गतेभित्र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन मिति तोक्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो, ‘प्रतिनिधिसभा र प्रदेशसभाको एकै दिनका लागि मिति तोकिन्छ, स्थानीय तहको निर्वाचन मिति फरक दिन पनि हुनसक्छ । हामी आन्तरिक छलफलमै छौँ ।’
आन्तरिक तयारीमा दलहरू
निर्वाचन आयोग प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारीमा जुटेसँगै राजनीतिक दलहरू पनि आन्तरिक गृहकार्यमा जुट्न थालेका छन् । निर्वाचन आयोगले मिति नतोक्दै राजनीतिक दलहरूले उम्मेदवार र चुनावी गठबन्धनका विषयबारे अनौपचारिक छलफल सुरु गरेका हुन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताहरूसँग उपनिर्वाचनका विषयमा छलफल गर्नुभएको छ । नेताहरूका अनुसार माओवादी केन्द्र अब हुने उपनिर्वाचनमा एक्लै लड्ने सोचमा छ । माओवादी केन्द्रले यसअघि नै संस्थागत रूपमै चुनावमा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू पनि उपनिर्वाचनमा गठबन्धन गर्ने सोचमा छैनन् । राष्ट्रियसभाको निर्वाचन आगामी माघमा हुनेछ । आगामी फागुन २० गते १९ जना सांसद कार्यकाल सकिएर बिदा हुँदै छन् । राष्ट्रियसभाको चुनावमा भने सरकार सञ्चालन गरिरहेका दल नेकपा एमाले र नेपाली कांग्रेस नै गठबन्धन गर्ने तयारी गरेका छन् । राष्ट्रियसभाको चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुन्छन् ।
रूपन्देही-३ को उपनिर्वाचनमा एमालेबाट खिमलाल भट्टराई
प्रतिनिधिसभा उपनिर्वाचनका लागि रूपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । पूर्वराष्ट्रियसभा सदस्यसमेत रहनुभएका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुनुहुन्छ । ०७९ को निर्वाचनमा भट्टराई रूपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बन्ने योजनाअनुसार राष्ट्रियसभा सदस्य पदबाट राजीनामा गरे पनि त्यसबेला दोहोरो उम्मेदवारी परेपछि उक्त स्थानमा वासुदेव घिमिरेको उम्मेदवारीलाई आयोगले मान्यता दिएको थियो । गत शुक्रबार प्रधानमन्त्री ओलीले उपनिर्वाचनबारे आयोगका पदाधिकारीहरूसँग छलफल गरेलगत्तै एमालेले रूपन्देही-३ मा भट्टराईलाई उम्मेदवार बनाउने तयारीअनुसार क्षेत्रमा खटाएको बताइएको छ । भट्टराईले पार्टीको निर्देशनअनुसार आफू भूगोलमा खटिएको जानकारी दिँदै भन्नुभयो, ‘अध्यक्षसहित शीर्ष नेताको सुझाव र दिर्नेशनअनुसार म उपनिर्वाचनको तयारीका लागि भूगोलमा निस्केको छु । अब जरुरी काम नपर्दासम्म भूगोलमै रहन्छु ।’ भट्टराईले रूपन्देही–३ मा चुनाव जित्ने स्थिति दाबीसमेत गर्दै भन्नुभयो, ‘चुनाव जित्ने स्थिति छ । विगतमा अन्तरविरोध थियो । अहिले छैन । पार्टीको आन्तरिक समस्या पनि छैन । २०७९ को स्थानीय तह चुनाव अन्तरविरोधले राम्रो भएन । त्यो समीक्षा गरेर हामी तयारी अवस्थामा छौँ ।’ २०७९ को चुनावमा रूपन्देही-३ मा एमालेले राप्रपालाई सघाएको थियो । निर्वाचनमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित हुनुभएको थियो । बोहराले त्यसबेला कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गर्नुभएको थियो । बोहराको गत चैत १९ गते निधन भएपछि उक्त स्थान रिक्त बन्न पुगेको हो ।
संघीय लोकतान्त्रिक मोर्चामा सहकार्य गर्नेबारे छलफल
मधेस केन्द्रित सात राजनीतिक दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा आगामी कात्तिकको दोस्रो साता हुने भनिएको उपनिर्वाचनबारे छलफल भएको छ । उपनिर्वाचनमा मोर्चाबाट साझा उम्मेदवार तय गर्ने तयारी भएको जानकारी दिँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भन्नुभयो, ‘कांग्रेस, एमाले, रास्वपाले आन्तरिक रूपमा तयारी थालिसकेका छन् । कात्तिकभित्रै चुनाव हुने गरी आयोगले मिति तोक्दै छ । अन्य दलहरू मैदानमा गइसकेका छन्, तर हाम्रोबाट कसैले तयारी थालेको पाइएन । त्यसैले छलफल गरौँ भनेर बैठक राखेका हौँ । मोर्चा गठन भइसकेकाले सबै दलहरूबीच सहमतिमा साझा उम्मेदवार तय गरेर अघि बढ्छौँ ।’






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…