मेरा सामु नवकृतिहरूको चाँङ छन् । केही पुराना तर मेरा लागि नयाँ । कतिपय असाध्य नयाँ । कुनै कथा, कुनै कविता, कुनै जीवनी, केही यात्रा, केही उपन्यास र कुनै राजनीतिक, फरक विषयका कृतिहरूको माझमा बस्दा कहिलेका त आहासो लाग्छ । तीमध्ये छानेर कुनै समीक्षाका लागि साथीहरू समक्ष पठाउँछु त कुनै आफैं अध्ययनको शृंखलाभित्र जोड्छु । ती कृतिमाथि लेख्ने जाँगर समय दुवै अपुग जस्तो लाग्छ ।
(क) तीनोटा कृतिमा ईश्वर :
यतिखेर मेरा हातमा ईश्वर पोख्रेलका तीनोटा कृति एकसाथ छन् । झट्ट हेर्दा कुनै काव्यमहाकाव्य जस्तो लाग्ने : आमा सपना र ताराहरू, पूर्वको रातो तारा र माघ १९ । सबैभन्दा पछिल्लो कृति हो आमा सपना र ताराहरू (२०८१) त्यसअघिका कृतिहुन् : पूर्वको रातो (२०७२) र माघ १९ (२०६३ पहिलो संस्करण र ०६५ दोस्रो संस्करण) । आमा सपना र ताराहरूले मलाई निकै भावुक बनायो । वर्ग संघर्षको कठोर पाठ पढेका ईश्वरको आफ्नी आमाका विषयमा स्मृति अनुभव र एक प्रकारको आफ्नो पारिवारिक आत्मकथा जस्तो छ यो कृति ।
ईश्वरकी आमा यदि कुनै सामन्ती र साम्यवादी वर्गचरित्रभन्दा बाहिरी विश्लेषणकी नायिका भनेर ईश्वरजीले बुझ्नुभएको भए आमाको स्मृतिरूप कसरी परिभाषित हुन्थ्यो होला कलममा ? पढ्दै गर्दा यो प्रश्न मेरा मनमा हठात् उब्जियो । तर मलाई लाग्यो ईश्वर पोख्रेलले राजनीतिमा कठोर संघर्ष गरेर पाउनुभएको पदीय, आर्थिक वा सामाजिक सुखभन्दा धेरै महान् सुख आमा सपना र ताराहरूमा व्यक्त गर्दा पाउनुभएको छ । आखिर आमा जसका भए पनि त्यो सृष्टिजन्य कोमलता समान हो भन्ने सोच्ने हो भने कुनै पनि आमाले, कुनै पनि कालखण्डमा, कुनै पनि पीडा र यातना भोग्नुपर्ने थिएन ।
(ख) नजानिकन राजनीतिको मियोमा :
ईश्वर पोख्रेल नजानीकन राजनीतिको मियोमा बाँधिनु भएको रहेछ । धेरै हामी जस्तो पाखापखेराका मानिसहरू पहिले पढेर, जानेर राजनीतिको मौलोमा पुगेका हुँदैनौं । परिस्थितिले तानेपछि र त्यसमा डुब्न लागेपछि सिद्धान्त, शक्ति, स्वतन्त्रता, समानता, राज्य, शासन, शासक, न्याय, विवेक आदि बारे अध्ययन गर्न लागेका हुन्छौं । असहमतिको अधिकार विनालोकतन्त्र हुन सक्दैन भन्ने सत्यलाई अझै कतिले बुझेकै हुँदैनन् । स्वतन्त्रता भनेको आत्मनियन्त्रण हो भन्ने अथ्र्याउन अझै सकिएको छैन ।
संयोगवश हामी एउटै जिल्ला ओखलढुंगाको माटोमा जन्मेर हुर्केका हौं । आफ्ना जागिरे दाजु गोविन्दको सरसहयोगमा उहाँ जनकपुर पुग्नुभएछ, म अलिकति नुनका ढिक्का र सातु बोकेर किशोर वय नलाग्दै एक प्रकारले बाल्यावस्थामा नै राजधानीको सडकमा श्रम गर्न आइपुगेको थिएँ । उमेरले मभन्दा केही बढी भोटा फटाउनुभएको छ ईश्वरजीले । जनकपुरमा विद्यालय र कलेज पढ्दै गर्दा राष्ट्रियता र प्रजातन्त्रको आन्दोलनमा जानीनजानी उहाँ सक्रिय हुनुभयो र अन्त्यमा साम्यवादी आन्दोलनको एक हिस्सा हुँदै भूमिगत भएर संघर्षको अग्लो शिखर पूरा गर्नुभयो । ईश्वर पोख्रेल आज जस्तो र जुन उचाइमा देखिनुहुन्छ त्यो उचाइमा पुग्न उहाँले खेपेको हण्डर अब कुनै किंवदन्ती वा दन्त्यकथा जस्तो हुन्छ होला पढ्ने र सुन्नेलाई । अलि भावुक मानिसका आँखा रसाउनेमात्रै होला ।
ओखलढुंगाको माटोमा अनेक स्वतन्त्रता आन्दोलनका नायकहरू जन्मिनु भएको छ । लोकतान्त्रिक आन्दोलनका क्रममा करिब बीसजनाले यसै जिल्लाबाट शहादत प्राप्त गर्नुभएको छ । साहित्यका महारथि, सामाजिक आन्दोलनका मनिषी, कलाकार तथा राष्ट्रसेवकहरूको ठूलो पंक्तिदेखि सञ्चारकर्मीहरूको संख्या पर्याप्त विकसित छ । शिक्षाको क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ ।
बीपी कोइरालाको २००१ देखि २००६ सम्मको र २०१७ देखि २०२६ सम्मको जेल र पछिल्लो निर्वासनका अनुभव पढ्दा अब कतिलाई कथा जस्तै लाग्दो हो । गणेशमान वा कृष्णप्रसादका, खड्गमानसिंह वा टंकप्रसाद आचार्यका, मनमोहन अधिकारी वा केपी ओलीका, मंगलादेवी सिंहका, महेन्द्रनारायण निधिका, अनि माओवादी सशस्त्र हिंसाकालका कालकोठरीमा बस्नेहरू र माओवादीको चरम यातना भोग्नेका भोगाइ पनि अब कथा जस्तै कतिलाई स्वादिला लाग्न सक्छन् । राजनीतिको नियन्त्रणवादी चिन्तन, असहमतहरूलाई पूर्ण उन्मूलन गर्ने विचार र प्रेरणा, धार्मिक र जातीय अतिवाद करिब समान हुन् ।
त्यस्तै अतिवादी चिन्तनको सिकार हुनुभएका पूर्वको रातो ताराका नायक रत्नकुमार बान्तवाको शहादत् त्यही राजनीतिक नियन्त्रणवादको परिणाम हुनपुग्यो । नेपालको इतिहासमा अनेक शहीदहरू अतिवादमा पर्नु भएको छ । ईश्वर पोख्रेलको राजनीतिको एक कालजयी क्षणको अनुभव रत्नकुमार बान्तवासँग जोडिएको हुनाले पूर्वको रातो तारामा यसबारे भावुक प्रसंगहरू समेटिएको छ यसमा । यो कृति र आमा सपना र ताराहरूका लागि छुट्टै समयमा चर्चा गरौं जस्तो लागेको छ । आज भने म माघ १९ मा केन्द्रित हुन चाहन्छु ।
(ग) गोयबेल्स शैलीको प्रचारविरुद्ध :
यो कृति गोयबेल्स शैलीको आरोप, प्रचार रहल्लालाई प्रत्युत्तर दिन ईश्वर जीले लेख्नुभएको रहेछ । उहाँले कृति लेख्नु र प्रकाशन गर्नुको भेद खोल्दै लेख्नुभएको छ : तपाईं र तपाईं जस्ता लेखकलाई बजारमा बिक्री हुने दुईपैसे सन्सनीपूर्ण सत्यकथाहरू जस्ता कथाहरू कथ्नु नपरोस्, तपाईं जस्ता लेखकका कलमबाट यस्तो भयो भने केहीले त स्वाद मान्छन् होला तर सत्यतथ्यका गवाह (साक्षी)हरूले त्यसलाई दुत्कार्ने छन् । यस्तो हुनुभनेको दुर्भाग्य हो ।
यो भनाइ कसप्रति लक्षित होला ? प्रगतिशीलताको आवरणमा अनेक भ्रम छर्नेहरूविरुद्ध नै हो । २०४६ को जनआन्दोलनका समय मूर्धन्य प्रगतिशील बुद्धिजीवीले पम्फादेवीको हाँके हल्लाएपछि आन्दोलनको बजार तातेको थियो भने अर्को एकजनाले जिउँदै रहेकी एक स्वास्थ्यकर्मीको हत्या भयो भनी एक मिनेट मौनधारण गर्न लगाएपछि आन्दोलनको राँको बलेको थियो । यस्तो गोयबेल्स शैलीमा नै प्रगतिशीलताको आवरणमा छपक्क छोपिनु भएका अग्रज लेखक, वरिष्ठ साहित्यकार, चर्चित अनुवादक खगेन्द्र संगौलाले यदि ईश्वरजीको गिरफ्तारीपछि उहाँको घरको ट्यांकीको बिर्कोलाई आफ्नो माक्र्सवादी कलमले न उघार्नुभएको भए र त्यसभित्र तीन करोडको बन्डल नभेट्नुभएको भए सायद ईश्वरजीको बन्दी जीवन अरूका कृति पढ्दै वा कथाकविता मात्रै लेखेर बित्ने थियो होला ।
एकातिर प्रतिगमन भन्ने र अर्कातिर त्यही प्रतिगमनले जेलमा कोचेका नेताहरूका विरुद्ध प्रतिगमनलाई मद्दत पुर्याउने गरी गोयबेल्स शैलीको प्रचार गर्ने खगेन्द्रजीहरूको कलमकै कारण ईश्वरजीको माघ १९ कृति जन्मन पुग्यो । (संग्रौलाजीको लेख कान्तिपुर राष्ट्रिय दैनिक २०६१ चैत १७ र नेपाल २०६२ वैशाख ११ को जवाफमा) । अरू केही स्वनामधन्य सञ्चारका राष्ट्रवादी मठाधीशहरूको योगदान पनि गोयबेल्स शैलीमा रहेको अनुभव ईश्वरजीलाई नभएको होइन ।
(घ) ओखलढुंगाको माटोबाट :
ओखलढुंगाको माटोमा अनेक स्वतन्त्रता आन्दोलनका नायकहरू जन्मिनुभएको छ । लोकतान्त्रिक आन्दोलनका क्रममा करिब बीसजनाले यसै जिल्लाबाट शहादत प्राप्त गर्नुभएको छ । साहित्यका महारथि, सामाजिक आन्दोलनका मनिषी, कलाकार तथा राष्ट्रसेवकहरूको ठूलो पंक्तिदेखि सञ्चारकर्मीहरूको संख्या पर्याप्त विकसित छ । शिक्षाको क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ । साम्यवादी आन्दोलनमा भने लोककृष्ण भट्टराई, डीआर पोख्रेल र तिलक गुरुङहरूको कठोर योगदान देखिन्छ ।
डीआर यतिखेर माक्र्सवादी कित्ताबाट पृथक भएर साहित्य र पत्रकारितामा सक्रिय हुनुभएको छ भने लोककृष्णले लेख्नुभएको नेपालको संस्कृतिक इतिहासको धरोहर बनेको छ । अहिले त धेरै जना साम्यवादी आन्दोलनमा हुनुहुन्छ । लोकतान्त्रिक आन्दोलनको ऊर्वर भूमिमा यतिखेर साम्यवादीहरूको बलियो उपस्थिति देखिन्छ । कठोर संघर्षकालमा लोककृष्ण भट्टराई र ईश्वरजीहरूले देखाउनु भएको साहस र निष्ठाको राजनीति अब किंवदन्ती जस्तै हुनसक्छ । अहिलेको जमातलाई रमाइलो कि पट्यारलाग्दो कथा जस्तो होला त्यो संघर्षको अनुभव । त्यही ओखलढुंगाबाट जनकपुरमा पुग्नुभएका ईश्वरजीको यो कृति पनि राजनीतिको खुट्किलोमा पुग्दै गर्दाको एककालखण्डमा केन्द्रित छ ।
(ङ) कृतिको संयोजन :
२८६ पृष्टमा १३६ जनाको नाम, परिशिष्ट चारवटा, भूमिका, समाविष्ट छन् । यो कृतिप्रकाशित गर्न प्रेरित गर्ने र नामकरण गर्ने वरिष्ठ साहित्यकार कमलमणि दीक्षित हुनुन्छ । दीक्षितको प्रेरणा अविस्मरणीय रहेको छ कृतिकारका लागि । कृतिबारे वरिष्ठ साहित्यकार नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता मोदनाथ प्रश्रितको भूमिका र प्राडा.रामप्रसाद दाहालको भूमिकाले कृतिलाई थप गहन तुल्याएको छ । स्वयं लेखकको मन्तव्यर स्पष्टीकरणले त धेरैको मनलाई छुन्छ ।
कृतिमा माघ १९ को पृष्टभूमि आशंका र अवस्थाको सूक्ष्म विश्लेषण छ । गोरखाली राजाले न्याय दिएको निष्कर्षका साथ नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो र प्रतिगमन आधा सच्चिएको निष्कर्षका साथ नेपाल कम्युनिष्ट पार्टी एमाले सरकारमा सहभागी भएको थियो । सात महिना चलेको त्यो सरकारको नेतृत्वको अवस्थालाई मूल्यांकन गर्दा दयनीय देखिन्छ । ईश्वरजीका अनुसार : राजा ज्ञानेन्द्रले केही गर्दैछन् भन्ने अनेक पटक चिन्ता गरिए पनि प्रधानमन्त्री देउवा जतिखेर पनि हेरौं बाहेक केही नभन्ने र अन्तिम समयमा पनि स्थितिमाथि विश्लेषण गर्न खोज्दा सुकला होइस्सिएको सूचनबाहेक केही नआउने भएकाले दुर्दिन टार्न सम्भव भएन ।
(च) कठोरतापूर्वक भुक्त समय :
सरकार र पार्टीको कामविशेषले पत्नी मीरासँग सल्लाह गरी सप्तरीको राजविराज पुग्नुभएका तत्कालीन मन्त्री ईश्वर पोख्रेललाई पहिले प्रहरी थाना, दोस्रो दिन जेल, पुनः प्रहरी थानामा राखिन्छ । उहाँलाई लगाइएको अभियोग पनि गज्जब थियो । शाही घोषणाको विरोधका लागि आक्रोशित जुलुस निकाल्ने, पुत्ला जलाउने, टायर बाल्ने, आमसभा गर्ने, तोड्फोड् गर्ने, रोक लगाए सार्वजनिक सम्पत्ति तोड्फोड् गर्ने, उच्छृंखल कार्यमा संलग्न भूपूमन्त्रीलाई आवश्यक कारबाही सिफारिश भन्ने व्यहोराबाट बन्दी बनाइएको रहेछ ।
यसरी बन्दी बनाइनु भएका पोख्रेलले सायद अरूको जस्तै पहिले परिवारसँग भेट्न पाउनुभएन । यसै पनि उहाँको परिवार काठ्माडौंमा रहेको र उहाँ राजविराज रहेको हुनाले सम्भव पनि भएन । पहिले पुस्तक कलम-कापी पनि दिइँदैनथ्यो तर बिस्तारो सम्भव भयो । प्रहरीको गिरफ्तारीमा बस्दा सानो कोठा, फोहोरयुक्त, सफा हत्तपत्त नहुने, खाना मेसको अत्यन्त असन्तुलित, ओढ्ने-ओछ्याउने मैला र थोत्रा ।
कोठामा नै बस्नुपर्ने बाहिर निस्कन नपाउने तर राजविराजका प्रहरी अधिकृत, प्रशासनिक कर्मचारी र प्रहरी जवानहरूको सहृदयी व्यवहारले स्थिति सहज र अनुकूल भएको चर्चा कृतिमा छ । थोरै दिन जेलको बसाइमा चर्पीको, पानीको समस्या, मेसको दुर्गति, ६५ जना अट्ने जेलमा १३५ सम्म कोच्ने कार्य । भयावह र कारुणिक अवस्थाको चित्रण यसमा छ । यो चित्रण गर्दैगर्दा २०४६ पछि जेललाई सुधार गर्न नसकेकोमा ईश्वरजी आफैं जेल परेपछि अनुभव गर्नुहुन्छ र पश्चाताप पनि । अहिले पनि जेल सुधारको विषय गौण नै होला ।
(छ) जेलभित्रका केही अविस्मरणीय स्मृति :
जेलभित्रका केही पात्रहरूको उल्लेख गर्नुभएको छ र विगत सन्दर्भसम्म कृतिमा पुग्ने प्रयास गर्नुभएको छ । राजविराजको बन्दी बसाइमा श्रीमती मीरा पुग्नुभएको प्रसंग छ । आफ्नै पोख्रेलबन्धु विष्णुको असाध्य मीठो सम्झना छ । पार्टीका अत्यन्त सक्रिय सदस्यहरू सुमन प्याकु¥याल र दिवाकर देवकोटाको सान्निध्य डा.अशोकानन्द मिश्रको सहानुभूतिसमेत कृतिमा उल्लेख छ । जेलभित्र पुगेका इन्द्र विक, तिलक राई, गेन्नालालहरूको पीडादायी अवस्थाले मानिसलाई त्यसै अभिभूत गराउँछ । जेलमा उहाँको भेट माओवादीका पुष्प बस्नेतसँग हुन्छ र व्यंग्यवाण सुनिरहनुपर्छ तर खोटाङको कुनै गाउँका दुई दाजुभाइ कमल र विचारीको पीडा फरक छ । दुवै विपन्न परिवारका सदस्य माओवादीको आतंक खेप्न नसकेर राजविराजमा छन् र प्रहरीकोमा सानोतिनो काम गरेर जिवीका चलाएका छन् ।
जेलको प्रसंगमा ईश्वरजी लोकतान्त्रिक आन्दोलन क्रममा जनकपुरमा शहीद हुनुभएका केशव कोइरालासहित धेरै योद्धाहरूलाई सम्झिनुहुन्छ । आन्दोलन र सरकार सञ्चालन गर्ने क्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको स्मरण पनि गर्नुहुन्छ र सप्तरीको संघर्षका पर्याय शिवमधुकरको योगदानको चर्चा गर्नुहुन्छ । उहाँ राजविराज जेलमा नै रहेका कांग्रेस नेता नरेन्द्रकी आमाको दाहसंस्कार समेतमा प्रशासनको क्रूरतालाई छर्लंग पार्नु हुन्छ । भोजनदेखि, पत्रपत्रिकासम्मका, स्वास्थ्यदेखि खेलसम्मका अनेक विषयहरू डायरीका रूपमा ईश्वरजीले कृतिमा समेट्नुभएको छ । जेलमा नै बसेर लेखिएको बीपी कोइरालाको जेल डायरी, जेलजर्नल, फेरि सुन्दरीजल आदिको स्मृति हुन्छ माघ १९ का पाठकहरूलाई ।
(ज) ममता चरित्रले ग्रस्त राजनीति :
ईश्वरजी कुनै ममता पात्रको चरित्रबारे रमाइलो पारामा तर गम्भीर मुद्दा उठाउनुहुन्छ । कुनै समय एमालेका अनेक मूर्धन्य नेताहरूको बासस्थान, खानपिनको अनुकूल निवास र प्रभावविस्तार गर्न समर्थ ममता पात्र माघ १९ पछि पुर्लुक्क ज्ञानेन्द्रको समर्थनमा जुलुस निकाल्न पुगेको घटना गज्जब छ । उहाँकै पार्टीका कतिपय नेताकार्यकर्ता पनि इष्र्यावश वा नियोजित हिसाबले हो ईश्वरजीहरूका विरुद्ध प्रचारमा लाग्नुभएको थियो । यसको संकेत गर्नुभएको छ तर नाम दिनुभएको छैन । नाम नदिँदा अपूरो लाग्छ । कमसेकम पार्टीको यस उचाइमा पुगेका नेताले आफ्ना पार्टीका कोही रिसाउलान् भनेर लुकाउनु आवश्यक थिएन । तर, कतिपय सन्दर्भमा तिनीहरूका नाम लेख्न डराउनु भएको जस्तो लाग्छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेमा मात्रै होइन हरेक पार्टीमा ममता चरित्र प्रखर छ । ममता नारी पात्र होस् कि पुरुष पात्र दुवै लिंगमा व्याप्त छन् र सुकला होइस्सिने रोग सबैतिर संक्रमित छ । विवेक, न्याय भन्ने शब्द नै दलभित्र हराएको छ । यसमा केही न केही दोष त ईश्वरजीहरूले पनि लिनुपर्ने हुन्छ भन्ने मलाई लाग्छ ।
(झ) केही कृतिहरूको अध्ययन :
जेल प्रसंगमा प्रहरी अधिकृत चूडाबहादुर श्रेष्ठको अनुसन्धानात्मक कृति (पिएचडीका लागि) नेपाल कपिङ विथ माओइष्ट इन्सर्जेन्सीको गहिरो अध्ययन गर्नुभएछ । यो कृति महत्वपूर्ण भएको टिप्पणी गर्नुभएको छ तर कृतिका बारे टिप्पणी गर्दा माओवादीको विषयमा गहिरो विश्लेषण आउनुपर्ने थियो । खास गरी संसदीय प्रजातन्त्र स्थापना भएको तीन वर्ष नपुग्दै यो व्यवस्था असफल भएको निष्कर्ष मओवादीले किन निकाल्यो ? २०४६ को संयुक्त जनआन्दोलनमा डा.बाबुराम भट्टराईको नेतृत्वमा किन अर्को समूह बन्यो ? बाबुरामहरूले बन्द आयोजन गरेकै दिन चैत २४ मा मरिचमान सिंहको सरकार किन विघटनमा पर्यो ?
यसमा दरबार र दरबारियाहरूको संलग्नता कति थियो ? शाही सेनाको भूमिका कति विवादास्पद थियो ? भारतीय भूमिमा सेल्टर र तालिम सरकारी निगरानीमा माओवादीहरूले कसरी पाए ? धर्मान्तर र सांस्कृतिक अतिक्रमणमा सक्रिय शक्तिहरूले अनेक योजनामार्फत माओवादीका लागि आर्थिक सहयोग कसरी जुटाएका थिए ? जस्ता प्रश्नहरू पनि २०६१ सम्म विवेच्य थिए तर यसमा ईश्वरजीको कलम प्रवेश गरेको छैन । चूडाबहादुरको कृतिसँगै यी विषयमा पनि कलम चल्नुपर्ने थियो ।
सात महिने सरकारमा सहभागी हुनुलाई उहाँ दृष्टान्तसहित लेख्नुहुन्छ : बग्दै गरेको भिरालो पाखोमा हिँड्नु र भत्कदै गरेको घरमा बस्नु जस्तो भयो । यही सन्दर्भमा त्यो सात महिनाका गल्तीहरू समेत उल्लेख गर्नुहुन्छ : असोज १८ को कदम प्रतिगामी भनेपछि सरकारमा जानु अवसरवादी सोच भयो, नेता केपी ओलीको अभिव्यक्तिले राजाको पक्षपोषण गर्ने काम गर्यो ।
ईश्वरजीले माघ १९ पछि रिहा नभएसम्म विमल मित्रसहित विभिन्न लेखकका साहित्यिक कृतिको अध्ययन गर्नुभएको जानकारी दिनुभएको छ । जेल कस्तो रहेछ भन्ने प्रसंगमा ईश्वरजीको निष्कर्ष बडो घतलाग्दो छ । उहाँ भन्नुहुन्छ : जेलभित्र प्रजातन्त्रको उज्यालो छिर्न सकेको देखिएन । उहाँले जेलमा बस्ता बिबिसी एकमात्र सहारा र त्यसबेला माओवादीले सञ्चालन गरेको जनगणतन्त्र रेडियो प्रहरीदेखि बन्दीका लागिसमेत सहयोगी भएको उल्लेख गर्नुभएको छ । बिबिसीका लागि रविन्द्र मिश्र, सुमन खरेलहरूलाई धन्यवाद पनि दिनुभएको छ । जेलमा उज्यालो नपुगेको जस्तो टिप्पणीलाई विगत २०६३ यता कति अनुभव गरिएको छ विचारणीय छ ।
(ञ) गल्ती-कमजोरी र आत्मसमीक्षा :
सात महिने सरकारमा सहभागी हुनुलाई उहाँ दृष्टान्तसहित लेख्नुहुन्छ : बग्दै गरेको भिरालो पाखोमा हिँड्नु र भत्कँदै गरेको घरमा बस्नु जस्तो भयो । यही सन्दर्भमा त्यो सात महिनाका गल्तीहरू समेत उल्लेख गर्नुहुन्छ : असोज १८ को कदम प्रतिगामी भनेपछि सरकारमा जानु अवसरवादी सोच भयो, नेता केपी ओलीको अभिव्यक्तिले राजाको पक्षपोषण गर्ने काम गर्यो, साझा सहमतिमा विवाद र कार्यान्वयन अभाव, बाँडफाँटमा मन्त्रालय विस्तार, शान्ति समितिको असफलता, उपसमितिबाट भीम रावलको राजीनामा, प्रवक्तामा राप्रपाका नेता डा.मोहम्मद मोहसिनको नियुक्ति, हेलेन शाहलाई उपचारका नाममा १ करोड २० लाखको सहयोग, आतंककारी तथा विध्वंशात्मक कार्य नियन्त्रण गर्न बनेको कानुन, राजदरबार खर्चमा वृद्धि, सैनिक कल्याणकारी कोष र व्यवसायमा सेना, पेट्रोलियम पदार्थको मूल्यवृद्धि जस्ता कामहरू भए जो प्रत्युत्पादक रहे । तर, गर्नुपर्ने काम : स्थानीय तहको पुनर्वहाली, शान्तिवार्तामा दबाब, ४३ सूत्रीय सहमतिको कार्यान्वयन हुनुपर्ने थियो, भएन भन्ने उहाँको स्वीकारोक्ति छ ।
(ट) माघ १९ किन भयो होला ?
यो विषय गम्भीर छ । मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय मृत्यु, टनकपुर विवाद, २०४८ को निर्वाचनमा प्रमुख प्रतिपक्ष हुनपुगेको नेकपा एमालेको अराजक र उत्तेजक व्यवहार, २०५१ मा कोइरालाद्वारा संसद् विघटन, गठबन्धन र गैरराजनीतिक संस्कारको विकास, राजा वीरेन्द्रको तीव्र शासकीय भोक, वीरेन्द्रको वंश उन्मूलन, राजा ज्ञानेन्द्रको उदय र २०१७ को सपना, माओवादीहरूको हिंसा, हिंसामा शाही सैनिक नेतृत्वले दिने गरेको भित्री समर्थन, माओवादीको मालिकसँग सम्वाद गर्ने तर नोकरसँग नबोल्ने सार्वजनिक प्रतिबद्धता, व्याप्त भ्रष्टाचार, दलहरूमा फूट र कलह, जनतामा छाएको निराशा, असफल सरकार आदि कारण होलान् माघ १९ को पृष्टभूमि । यिनको मिहीन विश्लेषण हुनु आवश्यक छ । कमसेकम ईश्वरजीको कलमले यी पक्षलाई थोरै छोए पनि सूक्ष्म विमर्श जरुरी छ ।
(ठ) अन्त्यमा शुभकामना :
माघ १९ एक कालखण्डको ऐतिहासिक दस्तावेज हो । यो समयको ऐना पनि हो । विगतको संघर्षको शृंखला लेख्दा जनकपुरमा भएको राजनीतिक आन्दोलन, भूमिगत भएर पूर्वका जिल्लाको बसाइ, दोलखाबाट सीमापार गरी चीन प्रवेश र कम्युनिष्ट पार्टीको स्वागत उल्लेख गर्नुभएको छ । चीन प्रवेशको सन्दर्भ पढ्दा माओकालीन चीन वा डेङकालीन चीन निरपेक्ष थियो भन्ने भ्रम अन्त्य हुन्छ । नेपालमा कम्युनिष्ट पार्टीलाई प्रकारान्तरले हिजो पनि सहयोग थियो भन्ने स्पष्ट हुन्छ । अहिले त चीन राजनीतिदेखि समृद्धिसमेत निर्यात गर्न समर्थ भइसकेको छ ।
पढ्दै गर्दा कतिपय पृष्टमा मानिस भित्रैदेखि भावुक हुन्छन् भने कति ठाउँमा अत्यन्त क्रुद्ध । कठोर मन बनाउनुपर्छ कतिपय ठाउँमा द्रविभूत हुनुपर्छ । सुरु गर्दा कुनै उपन्यास जस्तो लाग्ने तर इतिहासको कठोर यथार्थको दस्तावेज हो यो । कृति प्रकाशनका लागि प्रेरित गर्ने, सबैलाई सम्मान गर्न चाहन्छु । श्रीमान् कठोर बन्दी भएको अवस्थामा पनि विचलित नभई सहयोग गर्ने मीराजीको पनि प्रशंसा गर्दछु । परिवार दृढ भएन भने जतिसुकै परिवर्तनमा दृढ अठोट भए पनि त्यो बालुवाको घर सिद्ध हुन्छ । ईश्वरजीको राजनीतिसँगै साहित्य लेखन अझ प्रभावकारी देखियो । मेरो आग्रह छ ः यस्तै कृतिहरू अरू पनि सार्वजनिक होऊन् । भविष्य थप सुखद् होस् शुभकामना ।
बुनपा-१०, कपन
दाहाल निवास, नारायणचोक ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर