काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको छ । मदन जयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पुनः नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो । पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको उहाँले घोषणा गर्नुभयो । भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुञ्जिएको थियो । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उहाँको भनाइ थियो । ‘फरक ढंगले राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
उहाँले आफ्नो कुनै ठूलो महत्वाकांक्षा नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जन नेताले भन्ने गर्नुहुन्थ्यो- जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो- राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उहाँले भन्नुभयो, ‘आज तपाईँहरूबीच हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्वसमेत बनाएका छन् ।’ ‘मलाईजस्तै विगतले अरूलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदाझैँ सबैको सधैँभरि माया र विश्वास पाइरहुँ,’ उहाँले भन्नुभयो ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उहाँले बताउनुभयो । ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु,’ उहाँले भन्नुभयो । देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै आफू विद्यालय तहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले)मा आबद्ध भएर सामाजिक-आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएको स्मरण गर्नुभयो । यसअघि पूर्वउपराष्ट्रपति वर्षमान पुन पनि नेकपा (माओवादी केन्द्र)को सक्रिय राजनीतिमा फर्किसक्नु भएको छ । भण्डारी राष्ट्रपति हुँदा पुनः उपराष्ट्रपति हुनुहुन्थ्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादव भने सक्रिय राजनीतिमा फर्किनुभएको छैन ।
एमाले एक छ, एकजुट भएर बस्छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)मा कुनै तनाव नआउने स्पष्ट पार्नुभएको छ । एमाले अध्यक्षसमेत रहनुभएका ओलीले मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा उहाँले एमाले सधैँ एक रहने बताउनुभएको हो । एमालेलाई कमजोर बनाउने प्रयास सफल नहुने उहाँको भनाइ थियो । एमाले अब कसैले फुटाउन नसक्ने दाबी उहाँले गर्नुभयो । ओलीले एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गर्नुभयो । केही विरोधीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कने र उहाँले ‘बम’ पड्काउने आस गरेको ओलीले टिप्पणी गर्नुभयो । ‘हाम्रा विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयो मात्रै, एमाले त्यति मजबुत छ । विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु हुन्छ भन्ने सपना देखेर बसेका छन् । मदन भण्डारीको जन्मजयन्तीमा हामीले वृक्षरोपण गर्दै वातावरणमैत्री कार्यक्रम गरेका छौँ । तर, कतिपयले वृक्षरोपण कार्यक्रम कार्यक्रम भाँडिन्छ भनेर पनि लेखे,’ उहाँले भन्नुभयो, ‘एमाले जहाँ छ, एमाले निकटका संगठनको कार्यक्रम भाँडिन्छ ? म आउने र विद्या भण्डारी आउने कसरी भाँडिन्छ ? यस्तो विश्लेषण गर्ने ? कुनै बम बारुद, पड्कँदैन । एमाले एक छ, एकजुट भएर बस्छ । कुनै आशा नगरे हुन्छ,’ उहाँले भन्टनुभयो ।
ओलीले मदन भण्डारीको विचार देशको मियो बनेको बताउनुभयो । विश्वमै वामपन्थी र समाजवादी आन्दोलनमा संकट पैदा हुँदासमेत भण्डारीले नयाँ बाटो लिएको ओलीको भनाइ थियो । ‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो । उहाँलाई महासचिव बनाउनु ऐतिहासिक महत्वको घटना थियो । नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने नबढ्ने कुरा भर पर्छ । हामीले छैटौँ महाधिवेशनमा पारित गरेको कुरा मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे,’ उहाँले भन्नुभयो, ‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो । किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन । हामीले नै बनाएका थियौँ ।’
दोस्रो महाधिवेशनले ठीकै नीति लिएको भए पनि नेतृत्व गलत छानेको स्मरण अध्यक्ष ओलीले गर्नुभयो । केशरजंग रायमाझीलाई नेता बनाएपछि महाधिवेशनको नीति त्यहीबाट हराएको उहाँको बुझाइ छ । मदन भण्डारीको मृत्युपछि जबजका आवाजको बढी चर्चा भएको ओलीको भनाइ थियो । ‘जबजका तीन दशकलाई गणना गर्दा पाँचौँ महाधिवेशनबाट गर्न हुँदैन । त्यतिबेलासम्म त जबजले काम देखाइसकेको थियो, नाम नराखिएको मात्रै हो,’ ओलीले भन्नुभयो, ‘०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । तीन दशक त जननेता मदन भण्डारीका आवाजका दशक रहे । उहाँ बितिसक्नु भएपछि ०५० साल जेठ ३ गतेदेखिका तीन दशक हुन् । यी तीन दशक अत्यन्तै चुनौतीका दशक रहे ।’
उहाँले कुन जिम्मेवारी लिने भन्ने कुरा सल्लाह र समझदारीमा हुन्छ : पोखरेल
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले आफ्नो विधानमा राखेको दुई कार्यकाल अध्यक्ष र ७० वर्षे उमेरहद लहडको विषय नभएको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण जबजको मुख्य आत्मा भएकाले तलमाथि गर्न नमिल्ने बताउनुभयो । उमेरहद र कार्यालय तलमाथि गर्ने कुरा नहुने उहाँले चेतावनी दिनुभयो । ‘दशौँ महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्तावेज हामीसँगै छन् । महाधिवेशनले पारित गरेको कार्यकाल, उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौँ,’ उहाँले भन्नुभयो, ‘त्यो कुनै झोँकमा राखेको थिएन, त्यो सुविचारित ढंगले लामो समयदेखि तीन दशकदेखिको बहसपछि राखिएको हो । यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।’
ओलीले जबजलाई विकास निर्माणमा मात्र व्याख्या गरेको भन्दै जबजको खोजी पार्टीभित्र र आन्तरिक लोकतन्त्रको सन्दर्भमा खोजिनुपर्ने बताउनुभयो । पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताउनुभयो । पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले नै टुंगिने उहाँको भनाइ छ । ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ,’ उहाँले भन्नुभयो ।
मदन भण्डारी फाउन्डेसनलाई ‘षड्यन्त्रको सिद्धान्त’ बनाउन जरुरी छैन : उषाकिरण
मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जननेताका बाँकी सपना पूरा गर्न बनेको फाउन्डेसनलाई ‘कन्स्पिरेसी थ्योरी’का रूपमा हेर्न जरुरी नरहेको बताउनुभएको छ । मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले फाउन्डेसनलाई षड्यन्त्रको सिद्धान्त बनाउन जरुरी नरहेको बताउनुभयो । यस्ता षड्यन्त्रका सिद्धान्त जति चले पनि विचलित नभई फाउन्डेसन आफ्नो अभियान र उद्देश्यमा लागिरहने उहाँको भनाइ थियो । स्वर्गीय मदन भण्डारीकी जेठी छोरी उषाकिरणले फाउन्डेसनको मुख्य उद्देश्य जनताको बहुदलीय जनवादबारे चर्चा, परिचर्चा, अध्ययन अनुसन्धान गर्दै समाजमा स्थापित गर्ने रहेको बताउनुभयो ।







सात निर्माण कम्पनीसँग सडक डिभिजन
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल
ब्रिक्स शिखर सम्मेलनमा नेपाल सहभागि
कांग्रेस संस्थापनइतर पक्षले मंसिरमा छुट्टै
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३