
व्यवसायिकीकरण र आधुनिकीकरणका नाममा पछिल्लो समय कृषि क्षेत्रमा विषादी प्रयोग बढ्दै गएको छ । विषादीको अत्यधिक र असुरक्षित प्रयोगले गम्भीर रूपमा स्वास्थ्य जोखिम बढाएको भन्दै अर्गानिक अभियान पनि सुरु भएको छ । तथापि, खाद्य सुरक्षा, खाद्य समप्रभूता र आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउन उन्नत बीउ, विषादी र रासायनिक मलको विकल्प नरहेको बताइन्छ । यसअर्थमा कृषिमा विषादीका सकारात्मक र नकारात्मक दुवै पक्ष देखिन्छ । सोही विषयमा केन्द्रित रही विषादी व्यवसायी संघ, नेपालका अध्यक्ष गणेश बानियाँसँग गरिएको कुराकानी :-
विषादीलाई नकारात्मक रूपमा लिने गरेको पाइन्छ, व्यवसायमा कत्तिको चुनौती छ ?
हो, पछिल्लो समय विषादीलाई अलि निगेटिभ रूपमा हेर्ने चलन छ । सरकारी निकायहरूले समेत त्यसरी हेर्ने गरेको पाइएको छ । विषादी व्यवसायीले अन्धाधुन्ध रूपमा विषादी बेच्ने, किसानलाई मर्कामा पर्ने, जनतालाई विषादीयुक्त खानेकुरा खुवाउने त होइन ? त्यो निगेटिभ रूपमा हेर्ने चलनलाई पोजेटिभ बनाउनुपर्ने जरुरी देखिन्छ । खासगरी डलरसँग खेल्ने साथीहरू अलि बढी निगेटिभ हुनुहुन्छ । उहाँहरू शून्य विषादी र अर्गानिकको खेतीको कुरा गरिरहनुभएको छ तर बढ्दो जनसंख्यालाई सुरक्षित रूपमा खाना पाउने अधिकार पनि संविधानमा छ । त्यसका लागि त उत्पादन बढाउनुपर्यो । उत्पादन बढाउन उत्पादकत्व बढाउनुपर्यो, उत्पादकत्व बढाउन आधुनिक किसिमका मल, बीउ, विषादी प्रयोग गर्नुपर्ने हुन्छ । अर्गानिकमा मात्रै भरपर्दा फसिने रहेछ भन्ने कुरा हामीलाई श्रीलंकाले पनि सिकाएको छ । विषादी प्रयोग गर्नै नहुने होइन, त्यसको सही र सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ ।
सूचीकृत बाहेकका अति हानिकारक विषादी पनि प्रयोग हुन्छ भन्छन् नि ?
लुकीछिपी आएको त हामीलाई थाहा हुँदै छ तर वैधानिक रूपमा त्यस्ता प्रतिबन्धित विषादी कुनै व्यवसायीले ल्याएका छैनन् । विषादीका चार क्याटोगोरी हुन्छन् । चारवटा क्याटोगोरीमा रेड लेवलको विषादी सरकारले प्रतिबन्ध लगाएपछि आयात भएको छैन । त्यसमा अहिले मुसा र किरा मार्ने विषादी मात्रै छ । सरकारले २४ प्रकारका विषादीलाई प्रतिबन्ध लगाइसकेको छ । पहेँलो, नीलो र हरियो लेवलका विषादी भने प्रयोगमा छन् । त्यसरी आधिकारिक रूपमा आएका विषादी सुरक्षित नै छन् । तर, सुरक्षित रूपमा प्रयोग भने हुनुपर्यो ।
त्यस्ता कुरा किसानले कसरी जान्ने ?
त्यसका लागि जनचेतना जगाउनुपर्छ । त्यसो त विषादी कसरी र कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा विषादीमै लेखिएको हुन्छ । त्यसरी विषादी प्रयोग गरेको तरकारी फलफूल यति दिनसम्म खान हुँदैन भन्ने पनि लेखिएको हुन्छ । हुन त विषादी बिक्री गर्ने एग्रोभेटहरूले पनि किसानलाई प्रयोग विधि सिकाएका हुन्छन् तर त्यो मात्रै पर्याप्त हुँदैन । यसको पूर्ण जिम्मेवारी त सरकारले नै लिनुपर्ने हुन्छ । किनभने त्यस्तो संयन्त्र सरकारसँग मात्रै छ । केन्द्रदेखि स्थानीय तहसम्म सरकारको संयन्त्र छ । किसानसँग फिल्डमै जानुपर्यो नि !, त्यति पनि नगर्ने भए कृषि प्राविधिकहरू किन राखेको ? तथापि, प्रयोगका हिसाबले नेपाल त्यत्ति धेरै विषादी प्रयोग गर्ने मुलुकमा पर्दैन । तर, जहाँ बढी व्यावसायिक खेती गरिएको हुन्छ, त्यहाँ विषादी प्रयोग अलि बढी देखिएको छ । बढी कमाउन मानिसमा लोभी पापीपनले पनि विषादी बढी प्रयोग हुने गरेको छ । विषादी हालेको तरकारी फलफूल लगत्तै बजारमा पठाउनै हुँदैन । कमजोरी भनौँ वा बदमासी त्यहीँ छ ।
त्यस्तो तरकारी फलफूलमा विषादीको असर कति समयसम्म रहन्छ ?
विषादीको क्याटोगोरीअनुसार हुन्छ । कुनै विषादी तीन दिनमै नष्ट भएर जान्छ भने कुनै विषादीको असर तीन महिनासम्म पनि रहिरहन्छ । त्यही भएर बालीको प्रकृति अनुसारको विषादी प्रयोग गनुपर्छ भनिएको हो । सागबाली हो भने तीन दिनमै नष्ट हुने विषादी प्रयोग गर्नुपर्यो, अन्य धान लगायतका खाद्यान्न बाली हो भने तीन महिनासम्म रहने विषादी प्रयोग गरे पनि खासै फरक परेन ।
तरकारी, फलफूल तथा खाद्यान्न बालीमा विषादी रोग किरा मार्न मात्रै प्रयोग हुने हो कि त्यस्ता लामो समय टिकाइराख्न पनि विषादी प्रयोग हुन्छ ?
चाँडै बिग्रन नदिन विषादी प्रयोग हुँदैन । लगाएको बाली रोग किराबाट जोगाउन नै विषादी प्रयोग हुने हो । २०७६ सालको विषादी ऐनले रोग किरा, ढुसी, सुलसुेल, मुसा मार्न प्रयोग गरिने वस्तु वा प्रविधि विषादी मानेको छ । मुसा मार्न ट्र्याप प्रयोग गरिन्छ भने पनि त्यो विषादीअन्तर्गत नै पर्ने भयो । कुनै किरा मार्न अर्को किरा प्रयोग गरिन्छ भने पनि त्यो विषादी हो ।
माछा लामो समयसम्म बिग्रिन नदिन फर्मालिन प्रयोग हुने गरेको सुनिन्छ, तरकारीमा पनि त्यस्तो कुनै वस्तु प्रयोग गरिन्छ कि भन्ने खोजेको ?
लामो समय टिकाउनकै लागि तरकारी फलफूलमा त्यस्तो वस्तु प्रयोग हुँदैन । तर, समस्या चाहिँ कहाँ छ भने कतिपय एग्रोभेटकै साथीहरूले पनि सिफारिस गरिएभन्दा बढी विषादी डोज दिने, अनि फेरि किसानले एग्रोभेटलाई पनि विश्वास नगरेर थप विषादी प्रयोग गर्ने चलन भने छ । त्यो मिसयुज हो । त्यसैले एग्रोभेटका साथीहरूले पनि आफूले बेचेको विषादी प्रयोग गरिएका कृषि उपज अन्ततः आफू र आफ्ना छोरा छोरीसम्म पुग्छन् भन्ने सोचेर मात्रै विषादी सिफारिश र प्रयोग गर्नुपर्यो ।
विषादी व्यवस्था कसरी गर्ने त ?
२०७६ सालको कानुन बनाउने बेला म आफैँ पनि संलग्न थिएँ । हामीले विषादीको सुरक्षित रूपमा प्रयोग वा न्यूनीकरण गर्न नेपालमा विषादी टेष्ट गर्ने ल्याब हुनुप¥यो भनेका थियौँ तर कानुनमा छ, लागू भएको छैन । म्याद नाघेका विषादी सुरक्षित रूपमा भण्डारण गर्ने, सम्भव भएसम्म नष्ट गर्ने भनिएको छ, त्यो पनि कार्यान्वयन हुन सकेको छैन ।
विषादी नष्ट गर्ने प्रविधि बढी खर्चालु हुने हो ?
हो, नष्ट गर्ने भट्टी बनाउने हो भने धेरै लगानी चाहिन्छ । हुन त सरकारले पहल गर्यो भने इँटा भट्टाले पनि त्यस्ता विषादी नष्ट गर्न नसक्ने होइन । अर्को प्रविधि भने सुरक्षित स्थान डम्प गर्दा कम खर्चिलो हुन्छ तर व्यवसायी आफैँ भने त्यस्तो गर्न सक्दैनन् । सरकारले नै गर्नुपर्ने हुन्छ ।
इँटा भट्टामा नष्ट गर्दा पनि वातावरणलाई असर गर्ला नि ?
त्यस्तो असर गर्दैन । डढेपछि त्यसको कुनै पनि विषादी अवशेष नै रहँदैन । सबै नष्ट भएर जान्छ ।
अहिले डेटस्पायर विषादीहरू एग्रोभेटहरूले कसरी व्यवस्थापन गरेका छन् त ?
विगतमा औलो उन्मूलन लगायतका लागि जर्मनबाट आएका विषादीहरू नेपालमै अमलेखगञ्जमा थुपारेर राखिन्थ्यो । पछि अनेक तिकडम गरेर ती विषादी जर्मनीमै फर्काउने काम भयो । तर, त्यसपछि आएका विषादीहरू भने त्यसरी फर्काइएका छैनन् । अहिले त्यसरी फर्काउन सजिलो पनि छैन । हाम्रो अहिलेको कानुनमा फर्काउन सकिने व्यवस्था त छ तर सरकार सरकारबीचको कूटनीतिक पहलबाट मात्रै त्यो हुनसक्ने भएकाले व्यवसायीले गर्न सक्दैनन् । अहिले सरकारको भण्डारण गृह बनिनसकेकाले व्यवसायी आफैँले डेटस्पायर विषादी छुट्टै कोठामा राखिरहेको अवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच