
नेकपा एमालेको राजनीतिक वृत्तमा केही महिनाअघिदेखि बारम्बार एउटै विषयको पुनरावृत्ति हुँदै आएको छ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन । यो विषय प्रारम्भमा केवल प्रतिकात्मक चर्चा वा आन्तरिक नेताहरूलाई सन्देश दिन गरिएको रणनीतिक अभिव्यक्तिमात्र हो कि भन्ने प्रश्न उठाइयो । तर, अब भने स्वयं भण्डारीले औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसक्नुभएको छ, जसका कारण अब यस विषयमा अड्कलबाजी गर्न आवश्यक नरहेको देखिन्छ ।
यस घोषणाअघि नै उहाँले उत्तरी छिमेकी चीनको भ्रमण गर्नुभएको थियो । सो भ्रमणको समापनमा चीनले ‘नेपालका कम्युनिष्टहरू एक हुन् भन्ने हाम्रो चाहना हो’ भन्ने सन्देश दिँदै उहाँलाई बिदाइ गरेको थियो । सोही सन्देशले उहाँको राजनीतिक अभिप्रायलाई थप पुष्टि गरेको मानिएको थियो । चीनबाट फर्केपछि भण्डारीले सुनसरी, मोरङ, झापालगायत जिल्लामा देखाएको तीव्र सक्रियताले पनि उहाँको पुनरागमनको संकेत प्रारम्भिक रूपमा स्पष्ट बनाएको थियो । उहाँको यस सक्रियताको विपक्ष र समर्थन दुवैतर्फबाट प्रतिक्रिया आएको छ ।
नेकपा एमालेभित्र उहाँको घोषणापछि विरोधको स्वर उचाल्नेहरूको पंक्ति सबल रूपमा अगाडि आएको छ भने अर्कातर्फ उहाँलाई खुलेर स्वागत र समर्थन जनाउने नेताहरूको जमात पनि उत्तिकै ठूलो देखिन्छ । केपी शर्मा ओलीसँग लामो समयसम्म सहयात्रा गर्नुभएकी भण्डारी अहिले भने राजनीतिक रूपमा फरक बाटोमा उन्मुख देखिनुभएको छ, जसले धेरैलाई अचम्ममा पारिरहेको छ ।
एक समय मिलेर हिँडेका यी दुई प्रमुख पात्र अहिले राजनीतिक र वैचारिक हिसाबले फराकिलो दूरीमा पुगेका छन् । कतिपय विश्लेषकहरूले ओलीले जानाजान भण्डारीलाई स्वतन्त्र मार्ग दिँदै पार्टीभित्रका असन्तुष्टहरूको पहिचान गर्न र तिनलाई व्यवस्थापन गर्न सघाएको भन्ने अनुमानसमेत लगाएका छन् । पार्टीभित्र दुई कार्यकाल र ७० वर्षे उमेरहदको प्रावधान लागू गर्नुपर्ने विषयमा बहस चर्किरहेका बेला ओलीले वैकल्पिक नेतृत्वका रूपमा भण्डारीलाई अगाडि ल्याएको हो भन्ने अड्कल पनि गरिन्छ ।
जसरी भए पनि अहिले यी दुईबीचको मतमतान्तर सार्वजनिक रूपमा देखिएको छ । भण्डारीले आफ्ना दिवंगत पति मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजित समारोहमा आफू सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गर्नुभयो । तर, उहाँको कमब्याकले पार्टीमा कुनै चमत्कार ल्याउने अपेक्षा गरिएको छैन । किनभने एमालेमा उहाँजस्तै हैसियत भएका अन्य धेरै नेता छन् । यद्यपि ओलीको नेतृत्वमा असन्तुष्ट रहेकाहरू र वैकल्पिक आश्रय खोजिरहेका नेताहरूका लागि भण्डारीको कमब्याक उत्साहको विषय अवश्य बनेको छ ।
साथै, एमालेमा टिक्न नसकेर छरपष्ट भएका र पृथक रूपमा क्रियाशील नेताहरूलाई समेट्ने सम्भावना भने विद्या भण्डारीको नेतृत्वमा बलियो देखिन्छ । ओलीकै कारण टुक्रिएर बनेका एकीकृत समाजवादीका वरिष्ठ नेताहरू-झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावलहरू भण्डारीको छातामुनि पुनः एकत्रित हुने सम्भावना एकदमै नकार्न सकिँदैन । तर, राजनीतिमा व्यक्तित्वको टकरावलाई बेवास्ता गर्न सकिन्न । पूर्वप्रधानमन्त्री वा महासचिवजस्ता भूमिकामा पुगिसकेका नेताहरूले नयाँ नेतृत्व स्वीकार्ने वा नस्वीकार्ने भन्ने विषय टुंगोमा पुगिसकेको छैन । अर्कोतर्फ, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले हालै आफ्नै पार्टी अध्यक्ष माधव नेपालमाथि कडा आलोचना गर्दै वैचारिक असहमति प्रकट गर्नु भएको छ । तिनै सन्दर्भमा प्रतिभाशाली नेता घनश्याम भुसाललगायतका नेताहरूको पनि पुनः सक्रियता देखिने सम्भावना उत्तिकै बलियो छ ।
संयोगवश राष्ट्रपतिको गरिमामय पदमा पुग्नुभएकी विद्या भण्डारी सो पदमा रहँदा निर्विवाद पात्र बन्न सक्नुभएन । विशेषगरी तत्कालीन प्रधानमन्त्री ओलीका कतिपय विवादास्पद राजनीतिक निर्णयहरूमा भण्डारीले निरन्तर समर्थन जनाउँदै राष्ट्रपतिको भूमिकालाई दल विशेषको पक्षमा उपयोग गरेको आरोप उहाँमाथि लाग्दै आएको थियो । भण्डारीको राजनीतिक उदय पनि विशुद्ध राजनीतिक क्षमताको परिणाम थिएन । दिवंगत पति मदन भण्डारीको निधनपछि उहाँले सेता सारीमा चुनावी मैदानमा उत्रेर मतदाताको सहानुभूति बटुलेर विजयी हुनु, माक्र्सवादी दर्शनको ‘धर्म अफिम हो’ भन्ने नाराबाट अलग धर्म र भावनालाई अँगालेर चुनावी लाभ उठाउनु–यिनै कारणले उहाँ जनतामाझ स्थापित हुन सक्नुभएको थियो । त्यतिमात्र होइन, कृष्णप्रसाद भट्टराईजस्ता सन्त नेता उम्मेदवारको पराजयमा राज्य संयन्त्र, शक्तिशाली विदेशी हित र कांग्रेसभित्रकै विरोधीहरू लागिपरेका थिए । अन्ततः भट्टराई जस्तो नेता पराजित हुँदा ‘भगवानको इच्छा’ भनेर प्रतिक्रिया जनाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।
यसरी हेर्दा, नेपाली राजनीतिमा पात्र फेर्दैमा परिवर्तन आउने इतिहास देखिँदैन । नीतिगत, प्रणालीगत र मूल्यमा आधारित नेतृत्व नआएसम्म मुलुकको कायापलट सम्भव देखिँदैन । सिंगापुरका लि क्वान युजस्ता नेतृत्व उदाहरणका रूपमा प्रस्तुत गरिए पनि, नेपालमा अहिलेसम्म त्यसनुसारको परिपक्वता र परिणाम देखिएको छैन । विद्या भण्डारीको पुनरागमनले एमालेभित्र गुटगत प्रतिस्पर्धा चर्काउनेछ, असन्तुष्टहरूलाई केन्द्रित गर्नेछ, केही पुराना अनुहारहरूलाई पुनः सक्रिय बनाउनेछ । तर, यस्ता राजनीतिक पुनरागमनहरू राष्ट्रनिर्माणको दीर्घकालीन एजेण्डामा कति सार्थक हुन्छन् भन्ने विषय खुलै रहन्छ । व्यक्तिवादी राजनीति र गुटगत स्वार्थको परिधिभित्रै सीमित हुने हो भने, भण्डारीको पुनरागमन पनि केही समयको तरंगमात्र बनिरहनेछ ।
भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनसँगै तीन प्रमुख सम्भावना उठेका छन् । एमालेको पहिलो महिला अध्यक्ष, नेपालको पहिलो महिला प्रधानमन्त्री र वाम एकताको सशक्त केन्द्रको रूपमा उदय । यद्यपि, यी सम्भावनाहरू तत्काल सहज देखिँदैनन् ।एमालेभित्रको शक्ति सन्तुलन, ओलीको प्रभाव र दलगत राजनीतिभित्रको रणनीतिमा निर्भर रहने यी विकल्पहरू कठिन भए पनि असम्भव भने छैनन् । भण्डारीको अनुभव, पूर्वप्रतिष्ठा र कार्यकर्तास्तरको समर्थनले यिनमा नयाँ मोड ल्याउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच