समाचार सारांश
-
निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ।
-
सांसद दीपक बोहराको निधनपछि प्रतिनिधिसभा सदस्य पद रिक्त भएको हो।
-
संविधान अनुसार कार्यकाल बाँकी रहँदा उपनिर्वाचन अनिवार्य छ।
-
निर्वाचनको तयारीस्वरूप मतदाता नामावली दर्ता हाललाई स्थगित गरिएको छ।
काठमाडाैं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो ।
नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य पद रिक्त भएको भनी सङ्घीय संसद् सचिवालयले गत चैत ३१ गते आयोगलाई जानकारी गराएको थियो ।
प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै स्थान रिक्त भएमा जुन निर्वाचन विधिबाट रिक्त भएको हो सोही प्रणालीबाट पूर्ति गरिने कानुनी प्रावधान छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको नयाँ उपनिर्वाचन मिति घोषणा गरेको हो ।
आयोगका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सरोकार भएका सबैलाई आग्रह गरिएको बताउनुभयो ।
आयोगले निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्तासम्बन्धी कार्य स्थगन हुने कानुनी प्रावधानअनुसार तत्कालका लागि नामावली सङ्कलन कार्य रोकिएको प्रवक्ता अर्यालले बताउनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…